शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

शेयर बजार बारे केहि कुरा


प्यूठानमा हामी झिमरुक विकास  बैंक खोल्ने अभियानमा लाग्दा शुरुमा शेयर पुँजी दुइ करोड अधिकृत पुँजी आवश्यक थियो । त्यो समयमा अधिकृत पुजी २ करोडमा एक जिल्ला कार्यक्षेत्र रहने गरि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिन सक्ने ब्यवस्था गरिएको थियो । सोही क्रममा प्यूठानमा हामी ५५ जना प्यूठानीको प्रयासको बावजुद एक जिल्ले विकास बैंक खोलियो । त्यसै गरि झिमरुक विकास वैंक बाग्दुलामा खोलेको लगत्तै प्यूठानकै अर्को समुहको पहलमा गौमुखि विकास बैंक पनि त्यति नै पुँजीमा विजुवारमा केन्द्रीय कार्यालय खूल्यो । तर यी दुइ बैकको स्वामित्वको संरचनामा झिमरुक विकास बैंकमा संस्थापक शेयर ६० प्रतिशत र पब्लीकको लागि ४० प्रतिशत गरि पुँजी जम्मा गर्ने र गौमुखिको हकमा ७०ः३० को अनुपातमा क्रमश संस्थापक र पब्लीक स्वामित्व रहने गरि लाइसेन्स प्राप्त भयो ।
गौमुखिको हकमा त म संग खास त्यस्तो सुचना छैन तर हाम्रो झिमरुक विकास बैंकको हकमा शुरुमा ६० प्रतिशत संस्थापक लिन मन्जुर गर्ने झण्डै १० जना मित्रहरु सो कर्मबाट पछि हटनु भैसकेपछि एउटा अप्ठयारो अवस्था आइलाग्यो । नेपाल राष्ट्र बैंक र कम्पनि रजिस्टार कार्यालयमा लिन कबुल गर्नेहरुको लिष्ट बनेर प्रवन्धपत्र र नियमावलीमा नाम चढी सकेपछि त्यो बीचमा बदल्न सक्ने अवस्था थिएन । तर पनि २ करोडको ६० प्रतिशतले हुने रु एक करोड २० लाख जम्मा गरि लाइसेन्स प्राप्त गरि बैक उदघाटन गरि कार्यारम्भ गरियो । उक्त पुँजी बाग्दुला कार्यालय, भिंग्री शाखा र मछि शाखा खोल्दा खोल्दै झण्डै ४० लाखको हाराहारिमा खर्च भैसकेपछि बैकको लागि अन्य संचालन खर्च र कर्मचारी खर्च गरि कर्जा प्रवाहको लागि पुजी निक्षेप अनुपात कम रहन गयो । बैंक खोलेको ३ बर्षमा पब्लीकमा जानु पर्ने त छंदै थियो । निक्षेपको तुलनामा शेयर पुजी नपुग्नाले फेरि एक बराबर एकको हिसावले पुँजी बृद्दि गर्न अनिवार्य भएको कारण साविक शेयर होल्डरको लागि फेरी पहिले जति पुँजी संकलन गरेको हो त्यति नै पुँजी जम्मा गर्न माग गरियो । यो दोश्रो चरणमा फेरि उल्लेखनिय संख्यामा संस्थापक शेयरहोल्डरले पुनः पुँजी जम्मा गर्न अर्घेल्याइ गरे पछि साविक शेयरहोल्डर बाट नै बाकि पुजि उठाउन पाइने भएकोले संस्था प्रति माया गर्ने साथीहरु बाट आफनो हिस्सा बाहेक जम्मा गर्नु पर्ने बाहेक अरु नपुग रकम थपाइ रु एक करोड २० लाख पुँजी जम्मा गराई बैंकको आफनो कार्य अगाडी बढाइयो । अव यसरी संस्थापक शेयर पुँजी कुल २ करोड ४० लाख पुगाइयो । संस्थापकको जिम्माको शेयर पुँजी नपुर्याई पब्लिक शेयर आव्हान गर्न नमिल्ने भएकोले यसो गर्नु अनिवार्य नै थियो ।
तेश्रो बर्ष पनि पार गरियो किनकि पब्लीकको लागि शेयर पुजी आव्हान गर्न पर्ने खण्ड खातिर आइलाग्यो । यो अवधि सम्म बैंक नाफामा अनिवार्य गैसक्नु पर्ने थियो । नाफा नभएको बैंकमा शेयर हाल भन्ने  अवस्था पनि त आउदैनथ्यो । पहिलो बर्ष घाटामा, दोश्रो बर्ष लाभ हानी पार विन्दु बराबरीमा र तेश्रो बर्ष ८ प्रतिशत नाफा भएपछि अव वैंक लौ नाफामा गएको संस्था प्युठानको पहिलो विकास बंंैकले आगामी ५ बर्षसम्म यो यो तरिकाले निक्षेप जम्मा गर्ने र यो यो तरिकाले कर्जा प्रवाह र अन्य आम्दानी गरेर गरेको नाफाबाट शेयर होल्डरलाई यति यति लाभांस दिने छ भनेर पब्लिकबाट कुल अधिकृत पुँजी मध्ये संस्थापक पुँजी साविक शेयरहोल्डरको तर्फबाट जम्मा भैसकेको र बांकि चुक्ता पुंजी चुक्ता पुँजी एक करोड साठीलाख जम्मा गर्न आव्हान पत्र जारि गरियो । प्युठानका पत्रिका लगाएत सवै एफएमबाट सुचना सम्प्रेषण गरियो । त्यो पुँजी जम्मा गरिसक्नु पर्ने अवधि छिटोमा ७ दिन र ढिलोमा उक्त अवधि भित्र जम्मा नभए एक महिने आव्हान पत्र थियो त्यो तर सातै दिनमा बाग्दुला, भिंग्री, मछी र दरभान क्षेत्रका इच्छुक व्यक्तिहरुबाट पब्लीक शेयरमा दरखास्त हाल्ने ब्यवस्था मिलाइयो । शेयर रजिष्टार तत्कालीन ग्रोमोर मर्चेन्ट बैंकबाट पनि नेपालको उपयुक्त स्थानमा रहेका विकास बैकका शाखाहरु बाट दरखास्त दिन पाउने ब्यवस्था मिलाइयो ।
सात दिनको अवधि भन्दा बढी कुर्नु नपर्ने अवस्था आयो । शेयर बारे जिल्लाबासीलाइ कम जानकारी रहेकोले कतिपयको त घर घरमै चाहारेर शेयर हाल्न लगाइयो । कतिपय ससंस्थापक शेयरहोल्डर हुन इच्छा हुदा हुदै विभिन्न कारणबश सहभागी नहुनु हुने हरुले राम्रै रकम पब्लीक शेयरमा राख्नु भयो । न्युनतम कित्ता १०० र बढीमा १० हजार कित्ताको परिधि भित्र रहेर प्यूठानका बढी भन्दा बढी ब्यक्तिहरु पब्लीक शेयर होल्डर बनुन् भन्ने उद्धेश्यले यस प्रकारको आव्हान गरिएको थियो । कुल जम्मा रकम मध्ये ९१ प्रतिशत शेयर बांडफांड हुदा एक लाख जम्मा गर्नेले नौसय दश कित्ता प्राप्त गरयो भने बाँकि ९ हजार नियमानुसार सम्वन्धित ब्यक्तिको खातामा जम्मा गरियो ।
तत्पश्चात बैंकले १८ प्रतिशत सम्म लाभांश दिदै गर्यो । नेपाल राष्ट्र बैंकले मर्ज गर्ने कडा नीति ल्याउदा चुक्ता पुँजी ५० करोड पुर्याउनु पर्ने अवस्था आइलाग्नु र साविक शेयरहोल्डरको विगतको राइट शेयर आव्हान गर्दा बडो अनिच्छा देखाएको पृष्ठभुमिमा उक्त पुँजी जम्मा हुन नसक्ने अवस्था विद्यमान रहेकोले अर्को कुनै बैंक संग मर्ज गर्नु अनिवार्य भयो त्यो पनि २ बर्ष भित्र । तसर्थ ज्योति बिकास बैंक संग मर्ज गरियो । यसरी झिमरुक बिकास बैंकमा शेयर रकम लगानि गर्न त्यतिवेला जिल्लाका सर्वसाधारणलाई प्रोत्साहन गरिएको थियो भने झिमरुक बिकास बैंकवाटै देशका विभिन्न बैंकका पव्लिक शेयरमा लगानि गर्नका लागि आवेदन दिन सक्ने ,रकम जम्मा गर्न सक्ने व्यवस्था समेत हामीले मिलाएका थियौ । शेयर बारे अनविज्ञ रहेका समुदायलाई गाउँ गाउँ गएर विभिन्न बैंकमा पव्लीक शेयर लगानि गर्नका लागि जनचेतना समेत हामीले जगाउने गरेका थियौ ।
केहि दिन अगाडीको कुरा हो बुटवल तिरका प्युठान तिर पनि महिन्द्रा गाडी सप्लाई गर्ने एक जना ब्यवसायी संग फोनमा कुरा भो । उनी बडो हर्षित मुद्रामा मलाई धन्यबाद दिंदै थिए । झिमरुक विकास बैंकले पब्लीक शेयर आव्हान गर्दा प्युठान चुदाराका एक जना र ती ब्यवसायीले सवैभन्दा धेरै शेयर किनेका थिए । त्यो भनेको प्रत्येकले पांच पांच हजार कित्ता किनेका थिए र हामीले साविक झिमरुक विकास बैंकको साधारण सभामा दुवैलाइ बोलाएर सम्मान समेत गरेका थियौ ।
फोनमा खुसि हुदै उहाँले ब्यक्त गरेको उदगार के थियो भने मलाइे ५ लाख रकम को ५ हजार कित्ता किन्न भन्नु भो, भनेको भए त अधिकतम दशैहजार किन्ने थिएँ. नि ! हेर्नुस त अरु एक पटक थपाउन लगाउनु भएको राइटशेयर र बीच बीचमा बैंकले प्रदान गरेको बोनस शेयर मिलाएर अहिले मेरो शेयर कित्ता त गत बर्षकै हिसाव गर्दा त २१ ह्जार कित्ता भन्दा बढी भएछ । अहिले ज्योति विकास बैंकको पब्लीक शेयर प्रति कित्ता रु ६०० को हाराहारीमा त मेरो शेयरको मुल्य त एक करोड ३० लाख पुग्यो । म तपाईको गुनले गर्दा बडो हर्षित छुँ । त्यसै गरि मछिका र अन्य स्थानका साथीहरुलाई पनि यसै किसिमले फायदा भएर कतिले त बेचि पनि सके । सानो शेयर पुजी २५० कित्ताको लागि शुरुमा २५ हजार राख्नेले अस्ति आफनो उपचार खर्चको लागि आवश्यक पर्दा ५ लाख मा शेयर बेचेर अरुसंग सापटी माग्नु पर्ने अवस्थाबाट छुटकारा पाउदा ती महिला ज्यादै खुशी थिइन ।
शेयर बांडफांड हुदा अधिकाम्स पव्लिक शेयर झण्डै ८० प्रतिशत शेयरमा दरखास्त प्युठानीहरुको नै सहभागिता रहोस भन्ने हाम्रो जोड सदा रह्यो र ग्रोमेर मर्चेन्टलाई बाहिर संकलन केन्द्र बढीनराख्न पाए हुन्थ्यो भन्ने हाम्रो मनशाय अनुसार धेरे सहभागिता प्युठान बासिको रह्यो नै । सोहि मुताविक जिल्लामै केन्द्रिय कार्यालय खोल्ने र शेयर सहभागिता गराउने कार्य गौमुखि विकास बैंकले पनि गरयो । पब्लिक शेयर होल्डर प्युठानका के कति भए त्यो जानकारी नभए पनि राम्रै प्रतिशत सहभागिता रहे होलानै । तर मेरो जानकारीमा रहेसम्म कुल आव्हानको दरखास्त मध्ये सवैलाई बांडफांड भएता पनि उपलब्ध कित्ता भन्दा दोब्बर माग भएकोले एक हजार कित्ता माग गर्नेले ५०० कित्ता परेको अवस्था रह्यो ।
एक समय यस्तै १० बर्ष पहिले नेपालको शेयर बजारमा सक्रिय र कम सक्रिय गरि १५ लाख संख्यामा छन् भनिन्थ्यो । अहिले अनलाइन सेवा शुरु भै मेरो शेयरबाट पनि दरखास्त दिन पाइने भएको हुदा यो संख्या ४० लाखको हाराहारिमा रहेको जानकारहरु बताउछन । लोग्ने जागिर खान अफिस गए पछि घरमा बसेर सुतेर घर गृहस्थ ीगर्ने महिलाहरु शेयर बजार दिनको ११ बजे देखि ३ बजे सम्म खुल्ने हुनाले शेयर बजारमा अनलाइन खरिद विक्रिको कारोबार गरेर लाभान्वित भएका समाचार पनि बग्रेल्ती आइरहन्छन । हप्तामा आइतबार देखि विहिबार सम्म कारोबार हुने गर्दछ ।
नेपालका सवै बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी हरुको पव्लिक शेयर यस भन्दा पहिले नै शेयर बजारमा आइसकेकोले ती मा सहभागी हुने भनेको अहिले खरिद विक्री भइरहेको दोश्रो बजार नै हो । अहिले शेयर बजारमा विकास बैंक, लघु विकास बैंक, हाइड्रो, कमरसियल बैंक, विमा कम्पनि आदिमा कतिपय दिनहरुमा २० ÷२१ अरबको दैनिका कारोबार भैरहेको छ । ठीक अहिलेको समयमा दोश्रो बजारमा सवै जसो शेयरहरु कहिले काँहि बाहेक सधै बढी रहेको छ । कुन कम्पनिले बार्षिक आम्दानी कति गरयो, शेयर होल्डरलाई के कति लाभाँस दिने छ भनेर विभिन्न कम्पनिका चौथो त्रैमासिक रिपोर्ट माथि आखा नियाल्दै ब्यापक रुपमा किन बेच कमाइ धमाइ भनैरहेको अवस्था विद्यमान छ ।
मेरो अनुभवका कुराको हकमा मैले हिमालयन बैंकको २५ कित्ता शेयर किनेको थिए आजभन्दा ३० बर्ष अगाडीबाट शुरु गरेको थिए । पछि ५८ सालमा रकमको आवश्यकता पर्दा रु १ लाख २५ हजारमा बेचेर आफनो दर्द समन गरेको थिए । त्यस पछि विस्तारै शेयर बजारमा चाख लाग्दै गरयो एक समय म संग ३२ वटा कम्पनिको सम्म पहिलो बजार र दोश्रो बजार गरि किनेको थिए । त्यो बेला शेयर पर्ने सम्भावना पनि थियो । शेयर बारे सचेतना पनि कम थियो । पछि सन्तानहरुको विहे बारी गर्दा तिनै शेयर बेचेर आफनो गर्जो टारको थिएँ ।
अव यत्रो कारोबारमा कुन शेयर किन्ने कुन नकिन्ने भन्ने द्धिविधा रहन्छ नै । तसर्थ यो त सामान्य ज्ञानको नै कुरा रहयो कि जुन कम्पनि को नाफा बढी रह्यो त्यसैको माग बढी हुने त स्वभाविकै हुने भो । जस्ले धेरै आम्दानी गरयोे उसैले धेरै लाभांस दिने त स्वभाविकै भैहाल्यो । तर शेयर बजार कतिपय अवस्थामा माथि भनेझै गरि ठ्याक्कै आम्दानी बढी भएका संस्थाको शेयर दोश्रो बजारमा कारोबार हुदा माग कम हुने हुन्छ । अरवौ रुपैयाको खेल खेल्ने ठुला खेलाडीको चक्करमा पनि बजार चलिरहेको हुन्छ ।
यसको अलावा म एउटा पुर्व बैंकर भएकोले बैकिङ्ग क्षेत्रका
संस्थाहरु मध्ये कुन बैंकको बैलेन्स सीट कस्तो छ भनेर हेरेको आधारमा राम्रा बैंक कुन हुन र कुन होइनन भन्ने जानकारीको आधारमा सरसरती निम्न कुराहरु ख्याल राखेर खरिद विक्री गर्न उपयुक्त देख्दछु ।
१ कुनै बैंकको विगत बर्षहरुको कारोबार र आम्दानीका साथै शेयरहोल्डर लाई दिने गरेको लाभाँस र भविष्यमा पनि ।
२ खराव कर्जा के कति अवस्थामा रहेको छ, यदि यो १ प्रतिशत भन्दा बढी छ भने त्यो पछि उठाउने अवस्था रहेपनि तत्कालको लागि स्वस्थ नरहन सक्ने अवस्था ।
३ कुल कर्जा लगानीमा निक्षेपको अंश कति र शेयरहोल्डरको पुँजी अंश कति । यो नेपाल राष्ट बैंक अनुसार न्युनतम ११ प्रतिशत भन्दा कम त हुनै मिल्दैन तर त्यो भन्दा माथि भयो भने बैंकको अहिलेकै निक्षेप र स्वपुजीको आधारमा अझै कर्जा प्रवाह गर्न सक्ने अवस्था विध्यमान रहन्छ ।
४ सिडी रेसियो यो भनेको कुल निक्षेपको कति कर्जा गै सकयो भनने अवस्था हो । निक्षेप कर्जा अनुपात हालै नेरावैंकले निर्देशन जारी गरेको अवस्थामा त्यो कुल निक्षेपको ९० प्रतिशत भन्दा बढी हुन मिल्दैन ।
५ फण्डको लागत ब्याज खर्च कर्मचारी खर्च घर बहाल खर्च विमा खर्च लगाएत बैंकमा तमाम खर्च हुन्छन यसले गर्दा कति प्रतिशत यस्तो खर्च छ भन्ने कुरा बताउछ । यसले कति किफायती तरिकाले बैंकले अनिवार्य खर्च बाहेक फण्डको ब्यवस्थापन गरेको छ भन्ने कुरा हेर्नु पर्ने हुन्छ ।
६ प्रति शेयर आम्दानी यो मापदण्ड जति बढी भयो त्यति राम्रो मानिन्छ । कम्तीमा २० प्रतिशत भन्दा कम भएको बैंक अथवा संस्था त्यति स्वस्थ तत्कालको लागि यो छैन भन्ने कुरा हुन्छ । यसलाई अंग्रेजीमा EPS  भनिन्छ ।
यस्ता अनगिन्ती मापदण्ड हुन्छन जस्तो रिजर्भ पुँजी बढी छ भने त्यसलाइ पनि आधार बनाउन सकिन्छ ।

आर्थिक प्यूठान मासिक बाट

(लेखक तत्कालिन झिमरुक बिकास बैंक लि. प्यूठानका प्रमुख कार्यकारी अधिकृत हुन् )

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top