त्यसो त उनी नयाँ परिचय होइनन् ,जनमानसमा नयाँ बिश्वास कायम राख्दै राजनीतिक क्षेत्रमा स्थापित हुँदै अगाडि बढेका ब्यक्तित्व हुन सरुमारानीका झग बहादुर बिश्वकर्मा ।
मुलुकको प्रमुख राजनीतिक पार्टी एमालेमा आबद्ध रही नेपालमा चलेका राजनीतिक घटनाक्रमका उथलपुथल एवम बिभिन्न आरोह अवरोहमा कहिलेपनि बिचलित नभई निरन्तर अगाडि बढेका बिश्वकर्मा जिल्ला पार्टी कमिटी सदस्य तथा सचिवालय सदस्य समेतको भूमिकाबाट उक्लेर अहिले नेकपा एमाले प्यूठानको उपाध्यक्षको जिम्मेवारीमा छन् । यसभन्दा अगाडि बिश्वकर्माले २०७४ सालको स्थानीय तह निर्वाचनमा यथेष्ट बहुमतका साथ जिल्लाको दक्षिणी भेग सरुमारानी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । सिमित स्रोत साधन र कैयन जटिलताको बीचमा पनि जनताको पक्षमा तल्लीन रहेर कुशलतापूर्वक भूमिका प्रस्तुत गरेकै कारण ०७९ सालको स्थानीय तह निर्वाचनमा पनि उनले एमालेको तर्फबाट उमेदवार भई आफू बिरुद्धको ५ दलीय गठबन्धनलाई हराउन सफल भए ।
२०३१ साल जेष्ठ २१ गते बुवा दान बहादुर सुनार र आमा इमादेवी सुनारको कोखबाट सरुमारानी–३ पालुथानमा जन्मेका बिश्वकर्मा सानैदेखि मेघावी प्रतिभा भएका ब्यक्ति मानिन्छन् । २०४५ सालमा सरस्वती माबि बांगेशालमा अध्ययन गर्दैगर्दा स्थानीय अग्रज चन्द्र बहादुर थापाको प्रेरणाबाट राजनीतिक क्षेत्रमा लागेको उनी बताउछन् । अनेरास्वबियू एकताको पाँचौ महाधिबेशन तत्कालीन मालेको बिद्यार्थी संगठनबाट राजनीतिक यात्रा आरम्भ गरेका उनले ०४७ सालमा बुटवल बहुमुखी क्याम्पसमा अनेरास्वयिूमा संगठित भएपछि राजनीतिमा थप सक्रियता थालेका थिए । त्यतिबेला बहुमुखी क्याम्पसमा आइएससी अध्ययनकै शिलशिलामा खिमलाल भटराईको संगत पनि राजनीतिक यात्राको लागि थप प्रेरक बनेको थियो उनका लागि ।
शैक्षिक योग्यता हेर्दा स्नातक तहमा गणित र त्रिभूवन बिश्वबिद्यालय कृतिपूरबाट ग्रामीण बिकास बिषयमा स्नातकोत्तर गरेका उनमा शिक्षण सेवाको लामो अनुभव छ । शिक्षण र राजनीतिक यात्रा दुवैको एउटा कोर्षबाट स्थानीय सरकारको नेतृत्व गर्ने तहमा उनी आईपुगेका हुन । अरनिको इंगलिश स्कुल भलवारी रुपन्देहीमा ५० साल ताका एक बर्ष शिक्षण गर्दागर्दै एउटा बाध्यता र परिस्थितिले ०५१ मा उनी भारतको गुजरातमा हान्निएर केही बर्ष मजदुरी गरे । उनी फर्किए अनि श्रमरानी माबि बुढीचौरमा अध्यापन गर्न थाले र ०५४ देखि ०६३ सम्म सरस्वती मावि चाभामा रहेर लामो समय शिक्षणमा बिताए ।
्बिगत ५ बर्षको कार्यकालमा केही समय आन्तरिक कार्यप्रणाली र ब्यवस्थापनमा नयाँ अनुभव र सिकाईले केही समय अन्यौलता रहे त्यसैमा कोरोना महामारीको पीडा पनि ब्यहोर्नु पर्यो । कोरोना महामारीले थलिएको समग्र अर्थतन्त्रको त्यो परिबेशमा नागरिकका ज्यान बचाउने पक्षलाई पहिलो प्राथमिकतामा राखेर कार्यपालिका टीम सहित अहोरात्र खटिएका थिए झग बहादुर बिश्वकर्मा । महामारीकै सामना गर्नु परेपनि जनतामा परिबर्तनको अनुभूति आउने गरी प्रयासमा उनी बेसरी नै लागे । त्यस अबधिमा उनले बिशेष गरी बडडाडा बजार क्षेत्रलाई कालोपत्रे, बडडाडा देखि पर्यटकीय तीर्थ स्थल ऐराबती सम्म पुग्ने सडकमा ग्राभेल,स्थानीय सडक संजाल निर्माण, कृषिमा पकेट क्षेत्र दर्ता नै गरी सामुहिक अनुदान प्रणाली, तथा कैयन बिद्यालय तथा सेवा प्रदायक निकायहरुमा भौतिक संरचना निर्माण, सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत बिपन्न बस्तीमा खरका छाना मुक्त गर्ने कार्य लगायत बिभिन्न जनसरोकारका बिषयमा नेतृत्वदायी भूमिका खेलेका झग बहादुर बिश्वकर्माले पुनः दोस्रो कार्यकालमा नेतृत्व गर्ने अवसर पाएपछि नमुना ढंगले काम गर्ने जाँगर देखाउन थालेका छन् । यो कार्यकालमा उनले कृषि क्षेत्रमा रुपान्तरण ल्याई स्वरोजगारका लागि नयाँ अवसर सृजना गर्ने र जीवनयापनमा आधारभूत बर्गका लागि सुनिश्चतता ल्याउने, प्रादेशिक राजधानी देउखुरी दाङको सिमाना नजिकै भएका कारण पर्यटकीय गन्तब्यको बिकास गर्ने संभावना प्रचुर रहेका कारण यसका लागि नयाँ संभावनाको खोजी गर्ने, शिक्षा क्षेत्रमा गुणस्तरीयता ल्याउन नयाँ संभावनाको खोजी गर्ने, बिपन्न बस्तीका नागरिकहरुलाई पालिकाले बेहोर्ने गरी २० युनिट सम्म बिद्युत महशुलमा छुट सिंचाइमा लिफ्ट खानेपानी संभावनाको खोजी गर्ने लगायतका पक्षमा आप्नो मुख्य ध्यान केन्द्रित गरेका छन् । बिगतमा रेडक्रस, शिक्षक संगठन र सहकारी जस्ता सामाजिक क्षेत्रमा समेत आबद्ध रहेर योगदान पुरयाएका झग बहादुर बिकले शिक्षा मन्त्रालयबाट उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुने अवसर समेत पाएका थिए । साहित्य दर्शन र दार्शनिकहरुको जीवनी अध्ययनमा मुख्य रुचि राख्ने संगीतमा पनि उत्तिकै रमाउन चाहन्छन् । पढे लेखेका ब्यक्तिहरु प्रायः शहर पस्ने संस्कृतिले गाउँमा दक्ष श्रमशक्ति अर्थात मानव संशाधनको अभाव हुन पुग्दा बिकास निर्माणमा अवरोध आउने गरेकाले युवा श्रमशक्तिलाई गाँउमै टिकाउने बातावरण सृजना गर्न अहिलेका जनप्रतिनिधिहरुको मुख्य ध्यान जानु पर्ने उनको धारणा छ । यसै पक्षलाई ध्यानमा राखी आफूपनि जीवनभर गाँउमै जनताको बीचमा रहने र पार्टीको केन्द्रिय तहसम्म पुग्ने अठोट छ । २०४९ फागुन २४ गतेका दिन धनकला बिक संग बिवाह बन्धनमा बाँधिएका बिकका १ छोरी र २ छोरा छन् ।
जिल्लामा दलित आन्दोलनका बलिया खम्वाका रुपमा रहेका झग बहादुर बिक राजनीतिक भूमिकामा राम्रो संभावना बोकेका ब्यक्ति हुन । प्रतिबद्धता र संकल्प अनुसार आगामी दिनमा आफ्नो कार्यकुशलता कसरी प्रदर्शन गर्छन त्यो भने हेर्न बाँकी छ ।
कमेन्ट गर्नुहोस !