शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

राजनीतिमा तेस्रोे धारको चर्चा





नेपालको राजनीतिमा विभिन्न प्रयोग र अभ्यास हुंदै आएको छ । यहि प्रयोग र अभ्यासको बारम्बारको पुनरावृतिले गर्दा राजनीतिले लामो कोर्स पूरा गर्दासम्म पनि निश्चित आकार लिन सकेको छैन । राजनीतिक मामला मात्र होइन सबै मामलामा नेपाल प्रयोगसाला जस्तो देखिन्छ । यसको पछाडि आन्तरिक र वाह्य दुबै शक्ति केन्द्र तथा स्वार्थ समुहहरुको भूमिका जिम्वेवार मानिएको छ । यिनै घरेलु र वाह्य शक्ति केन्द्रहरुको दवाव र प्रभावलाई रोक्न सक्ने सामथ्र्यतता नभएका कारण र कतिपय नेताहरु सत्तामा टिकी रहनका लागि नेताहरुले यिनै शक्ति केन्द्र धाएका कारण पनि नेपालको राजनीतिले स्थायीत्व लिन सकेको छैन । अस्थिर राजनीतिकै वीचमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । संघ र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने प्रक्रिया अघि बढेको छ । स्थानीय तहको निर्वाचनको समिक्षा गर्दै राजनीतिक दलहरुले आगामी संघ र प्रदेशको निर्वाचनका लागि चुनावी रणनीति बनाउंदैछन् । यहि चुनावी रणनीति या सत्ता छिनाझपडीका वीच राजनीतिमा तेस्रो धारको राजनीतिक शक्ति निर्माणको चर्चा चलेको छ ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइको शव्दलाई सापटी लिने हो भने नेपालमा २००७ साल देखि २०६२÷०६३ साल सम्म सम्पन्न भएका राजनीतिक क्रान्तिहरु हलाल (छ्याक छ्याके) प्रकृतिका थिए । क्रान्तिका लक्ष्यहरु पूरा भएनन् । क्रान्तिहरु जनअपेक्षा विपरित संझौतामा टुंग्याइयो । अपूर्ण क्रान्तिले सधै पूर्ण क्रान्तिको माग गरी राखेकोे हुन्छ । अपूर्ण क्रान्तिको वीचमा एउटा ग्याप (दरार) पैदा भएको हुन्छ । यो ग्यापले राजनीतिक प्रणालीलाई सधै अस्थिरतर्फ डोरयाउं छ । यो अस्थिरता घरेलु र वाह्य शक्ति केन्द्रहरुकालागि स्वर्णिम र अनुकुल हुन्छ । वाह्य र आन्तरिक शक्ति केन्द्र तथा स्वार्थ समुहहरुलाई निस्तेज गरी नेपालको धरातलीय अवस्थाले सिर्जना गरेको बस्तुगत अवस्था र विश्वपरिवेशलाई समेत विश्लेषण गरी नेपालको समकालीन राजनीतिमा तेस्रो धारको नयां वैकल्पिक राजनीतिक शक्तिको उदय हुन आवश्यक छ । यो आवश्यकताको पुष्टि स्थानीय तहको चुनावको मत परिणाम र स्वतन्त्र उम्मेदवारहरुको विजयले पनि प्रमाणित गरि सकेकोे छ ।
प्रगतिशील समाजशास्त्रीय दृष्टिकोणका आधारमा समाजको विश्लेषण गर्दा हरेक राजनीतिक समाजमा ३ खाले वैचारिक दृष्टिकोणलाई समर्थन या प्रतिनिधित्व गर्ने मानिसहरु रहेका हुन्छन् ,पहिलो पश्चागामी,दोस्रो यथास्थितिवादी र तेस्रो प्रगतिशील । नेपालको राजनीतिक समाजमा पहिलो समुहको नेतृत्व राजतन्त्रवादी सोंच तथा पुरातन मान्यतालाई अंगिकार गर्ने व्यक्तिहरुले गर्र्दछन् ,दोस्रो बैचारिक सोंच या मान्यता राख्ने व्यक्तिहरुको समुहको प्रतिनिधित्व नेपाली कांग्रेस र नेकपा एमालेलाई समर्थन गर्ने व्यक्तिहरुको समुहले गर्दछन् भने तेस्रो समुहको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (विपल्प), (वैद्य),नेपाल कम्युनिष्ट पार्र्टी मसाल, नारायणमान विजुक्छेले नेतृत्व गरेको नेपाल मजदुर किसान पार्टी र माओवादी पार्टी भित्र रहेको क्रान्तिकारी स्प्रीट र आर्दश बोकेका ठूलो पंक्तिले तेस्रो धारको प्रतिनिधित्व गर्दछन् ।
२०१७ साल देखि २०४६ साल सम्म झण्डै ३० वर्षसम्म पुरातनवादी (दैविय शक्ति)सोंचमा आस्था वा मान्यता राख्ने राजनीतिक शक्ति जसको नेतृत्व राजाले गरे त्यसले राजकीय सत्ताको कार्यकारिणी तहमा बसेर शासन गरे । यो शक्तिको परीक्षण भै सकेको छ । समाज विकासको सरल नियम के हो भने इतिहांस दोहोरिन्न तर विकास हुन्छ । समाज विकास सम्बन्धी सामान्य नियमका आधारमा हेर्दा पुरातनवादी सोंच राख्ने पहिलो समुहले आफूलाई उन्नत ढंगले परिष्कृत नगरेसम्म यो धाराले राजकीय सत्ताको नेतृत्व गर्न सक्ने अवस्था छैन । दोस्रो धारको नेतृत्व गर्ने नेकपा एमाले र नेपाली कांग्रेसले २०४६ साल देखि २०६२÷०६३ साल सम्म र त्यसपछि पनि निरन्तर रुपमा राजकीय सत्ताको नेतृत्वमा रहेर शासन गरी रहेका छन् । २०६२÷०६३ सालपछि नेकपा माओवादी भित्रको संशोधनवादी धारले पनि सत्ताको नेतृत्व गरी सकेको छ । यी राजनीतिक दलहरुले बोकेको राजनीतिक विचार,आर्दश र नेतृत्व शैली समेत पूर्णतः असफल भै सकेको अवस्था हो । यो अवस्थामा तेस्रो राजनीतिक शक्तिले मात्र नेपाली जनतामा केही थप उत्साह जगाउन सक्दछ । राजनीतिक व्यवस्था प्रतिको जनआक्रोस र वितृष्णतालाई मथ्थर गर्न सक्दछ ।
राजनीतिशास्त्रीय दृष्टिकोणबाट हेर्दा कुनैपनि विचार र नेतृत्व आकस्मिक रुपमा पैदा हुंदैन । कुनै विशिष्ट राजनीतिक घटनाक्रमले विचार र नेतृत्वको विकास हुन्छ भन्ने मान्यता रहंदै आएकोे छ । विचार र नेतृत्व विकास सम्वन्धि अन्तर्राष्ट्रिय घटनाक्रमहरुको अध्ययनले पनि यहि मान्यतालाई पुष्टि गर्दछन् । नेपालको अहिलेको परिवेशमा चर्चामा आए जस्तो तेस्रो धारको राजनीतिक शक्तिको विकास चमत्कारपूर्ण या आकस्मिक रुपमा विकास हुन संभव छ ? के नेपालको सत्ता राजनीतिमा पूर्णतः परीक्षण भै सकेका उमेरका हिसावले पनि उत्तरार्ध तर्फ ढल्कंदै गरेका माधव कुमार नेपाल,झलनाथ खनाल,वामदेव गौतम र आंशिक रुपमा परीक्षण भएका बाबुराम भट्टराई र पुष्पकमल दाहालले आफूले सत्ताको नेतृत्व गर्दा गुमाएको जनविश्वासलाई पुनजिर्वीत गर्न सक्दछन् ? प्रश्न विचारको भन्दा पनि पहिलो र महत्वपूृर्ण प्रश्न भनेको नेतृत्वको हो । यी नेतृत्व जसले राजकीय सत्ताको नेतृत्वमा रहेर प्रत्यक्ष या परोक्ष लामो समय सम्म शासन गरे उनीहरु हजार पटक दुधको कुण्डमा डुबुल्की मारेर हामी शुद्ध भयों भने पनि जनताले हत्पत्तै या तुरुन्तै विश्वास र स्वीकार्ने अवस्था देखिन्न । भनिन्छ ,भोगटेको बोटमा सुन्तला फल्दैन ।
नेतृत्वपछि दोस्रो महत्वपूर्ण प्रश्न हो विचार । नेपालको कम्युनिष्ट आन्दोलनको टुटफुट र विभाजनको इतिहांस हेर्ने हो भने यी चर्चामा आएका नेताहरुले नेतृत्व गरेका पार्टीहरुले अंगिकार गरेका राजनीतिक आर्दश वा बैचारिक दृष्टिकोणमा देखिएको बिचलन या बैचारिक मत भिन्नताकै कारण नेपालका कम्युनिष्टहरु बारम्बार विभाजन हुंदै आएको तितो अनुभव हाम्रो सामु छर्लङ्गै छ । नेपालको कम्युनिष्ट आन्दोलन कमजोर हुनुमा यी परिदृश्यमा देखिएका नेताहरु जिम्वेवार छन् । अहिले नेपालमा के त्यस्तो विशिष्ट परिघटना घट्यो या घट्दै छ , जसले यी नेताहरुको चेत रातारात खुल्यो या खुल्दै छ ? यी नेताहरुले तत्कालै आफ्ना राजनीतिक दस्तावेजलाई पुनर्लेखन या खारेज गर्ने आधार र औचित्य कसरी प्रमाणित गर्ने आधार के र त्यो संभव छ ? के वषौं देखि थांति रहेका विवादित विषय या मतभिन्नताहरु जादुको छडि जस्तै गरी तत्कालै घटाउन या सल्टाउन सक्ने अवस्था छ ? एकले अर्काको नेतृत्व स्वीकार गर्न नसकेकै कारण विगत्मा विभाजित भएका नेताहरुमा यो उमेरमा सबैले सबैलाई स्वीकार गरेर तत्कालै सर्वसम्मत विचार र नेतृत्व स्वीकार र निर्माण गर्ने संभवना र अवस्था छ ? यस्ता थुप्रै प्रश्नहरुको चित्तबुझ्दो जवाफ नेताहरुले नदिंदा सम्म यी उदृत नेताहरुबाट तेस्रो धारको वैकल्पिक शक्ति निर्माण गर्ने संभावना र अवस्था देखिन्न ।
सत्ता र शक्तिको स्वादको परख गरेका नेताहरुलाई सत्ता बाहिर बस्दा पानीविनाको माछा जस्तै छट्पटि हुने गरेको अनुभव नेपालीहरुले राम्रै गरी अनुभुत गरेका छन् । संघ र प्रदेश सांसदहरुको कार्यकाल मंसिरमा सकिदै छ । नेकपा माओवादी लगाएत साना पार्टीहरुलाई सत्ताको नेतृत्वमा पुग्नका लागि नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला पार्टीहरुको सहरा आवस्यक छ । त्यो सहराको खोजीमा यी साना दलहरु लागेका छन् । धेरै सिट यी दुई स्थापित शक्तिहरु मध्ये कोबाट पाउन सकिन्छ भन्ने मनसायले तेस्रो उपगठनबन्धनको चर्चा चलाएको भन्ने आरोप यी चर्चामा आएका नेताहरुलाई लागेको छ । यो तर्क र आरोपमा धेरै सत्यता छ । जवजव चुनाव आउंछ तवतव यस्ता फण्डा निकालेर नेताहरुले सस्तो लोकप्रियताका लागि मिडियावाजी गर्दछन् । निर्वाचन सकिएको भोलिपल्ट देखि नै यस्ता चर्चाहरु सेलाउन थाल्दछन् । सत्तामा रहंदा आफ्नो आदर्श र जनताका सामू गरेका बाचाहरु भुल्ने प्रवृत्ति र मनोदसाबाट ग्रसित नेताहरुबाट तेस्रो वैकल्पिक शक्ति निर्माण गर्ने सतत् प्रयास गरेका होलान भन्ने भरपर्दो आधार र विश्वास देखिन्न ।
कम्युनिष्ट र गैर कम्युनिष्ट नेताहरुले वृहत समाजवादी केन्द्रको निर्माण गरेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गरी नेकपा एमाले र नेपाली कांग्रेसको विरासत तोड्नका लागि तेस्रो वैकल्पिक राजनीतिक शक्ति निर्माण आजको आवस्यकता हो । तेस्रो शक्तिको आवस्यकताको महसुश गरी बहस चलाउनु समय सान्दर्भिक छ । यो समयको माग पनि हो । माक्र्सवादमा आस्था राख्ने सबै नेताहरुले आफ्ना विगत् कमिकमजोरीहरुबाट पाठ सिकेर त्यागको भावनालाई शीर्षस्थानमा राखेर अघि बढ्ने प्रण गर्दा यो संभव पनि देखिन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top