प्यूठान, विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. जुम्री प्यूठानको दुई दिने रणनीतिक योजना निर्माण कार्यशाला हिजो शुक्रवार सम्पन्न भएको छ ।
संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) को प्राविधिक सहयोगमा स्वर्गद्धारी नगरपालिका वडा न. २ धनवाङ्गमा अवस्थित स्वर्गद्धारी सामुदायिक मगर होमस्ट्रेमा उक्त कार्यशाला सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको कार्यशालाको उद्घाटन स्वर्गद्धारी नगरपालिकाका उपमेयर मिनराज रानाले गरेका थिए । उद्घाटन समारोहमा मन्तव्य राख्दै उपमेयर रानाले वर्तमान परिवेशमा सहकारी क्षेत्रमा कतिपय समस्याहरु देखापरेको सन्दर्भमा प्यूठान जिल्लामा विजय फूलवारी बचत तथा ऋण सहकारी संस्था लि. ले रचनात्मक काम गरी सकारात्मक भुमिका प्रदर्शन गरेको चर्चा गरे ।
दुई दिने कार्यशालाले संस्थाले सदस्यमैत्री सेवा तथा सामाजिक क्रियाकलापलाई अझ प्रभावकारी ढंगले अघि बढाउन तीन वर्षे रणनीति तयार गरी त्रिवर्षिय रणनीतिक व्यवसायिक योजना निर्माण गरेको साथै उक्त योजना अनुसार आगामी आर्थिक वर्ष देखी संस्थाले कार्य अघि बढाउने संस्थाका अध्यक्ष नेत्रमणी आचार्यले बताए । कार्यशालाको सहजिकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन)का तालिम अधिकृत कोमल राज अधिकारीले गरेका थिए ।
कार्यशालामा बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.का लेखा समिति संयोजक एवं जिल्ला सहकारी संघ लि.प्यूठानका अध्यक्ष सुशील पोखरेल,पूर्व अध्यक्ष लोक बहादुर बस्नेत,पूर्व अध्यक्ष छन्द बहादुर बस्नेत,सञ्चालक समितिका पदाधिकारीहरु,सल्लाहकार,विभिन्न उपसमिति तथा व्यवस्थापनका उच्च तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस !