शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सहकारी अध्ययन अवलोकन भ्रमण एक सिकाई


भोज बहादुर बस्नेत
भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय प्रदेश न. ५ को आयोजनामा २०७५ चैत्र २६ गते देखि गते सम्म प्रदेश ५ का पश्चिम तिरका विभिन्न उदाहरणिय कार्य गरेका सहकारी संस्थाहरुको अध्ययन अवलोकन गर्ने अवसर प्राप्त भयो जस अनुरुप यस अवलोकन भ्रमणले सहकारी अभियानमा लागि रहदा थप सिकाई एवं अनुभव प्रदान गरेको छ । अध्ययन अवलोकनका क्रममा सिकेका विषय वस्तु एवं यो सहकारी भ्रमणको अनुभुति तथा सिकाईलाई जस्ताको तस्तै व्यक्त गर्न खोजेको छु ।
प्रदेश न. ५ का माननिय सांसद चेतनारायण आचार्यको संयोजकत्वमा ५ जना माननिय सांसदहरु तथा प्रदेश ५ का ११ जिल्लाका सहकारी संघ ,विषयगत संघ ,प्रदेश ५ का सहकारी मन्त्रालयका कर्मचारी तथा विभिन्न सहकारी कर्मीहरु सहितको हाम्रो टिम ४० जनाको थियो । प्यूठान जिलाबाट बचत तथा ऋण सहकारी संघ प्यूठानका अध्यक्ष ॐ भक्त पण्डित र संघको सचिव तथा फुलबारी बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षको हैसियतले मेरो सहभागिता रहेको हो ।
सहकारी अभियानको २० बर्षे यात्रामा यो अवलोकन भ्रमण अत्यन्त अविस्मरणिय ,फलदायी तथा नयाँ नयाँ विषयको अपडेटेड हुन गयो । सहकारी संस्था सञ्चान गर्ने क्रममा हामीमा भएको शिपलाई सहकारीका माध्यमबाट सफल भएका सहकारीहरु तथा तीनिहरुका रचनात्मक कार्य देख्दा साँच्चै एउटा सहकारी अभियानकर्मीेले सहकारीका माध्यबाट सभ्य समाज निर्माण गर्न असल स्वयंसेवकको भुमिका निर्वाह गर्नु पर्दछ भन्ने बोध भयो । वास्तवमा सहकारी संस्थाका सञ्चालक भनेका स्वयंसेवी नै हुन् उनिहरुले न त तलव पाउँदछन् न त कुनै सेवा नै तर स्वयंसेवी भावनाका साथ समाज बदल्न हिडेका अभियानकर्मीहरुले साँच्चै नै समुदाय बदल्न तन मन र बचनले काम गर्नु पर्दछ भन्ने कुरामा थप उर्जा मिल्यो ।
भ्रमणको पहिलो दिन हाम्रो टोली एभरेष्ट कृषि सहकारी वैजनाथ बाँकेको अवलोकन गर्न पूग्यो । सहकारीले कृषिमा यान्त्रिकरण ,बजारीकरण र सुपथ मुल्य पसल सफल रुपमा सञ्चालन गरेको रहेछ । सो सहकारीले कृषकहरुको उत्पादनलाई मध्यनजर गरी कोल्ड स्टोर समेत बनाउने तयारीमा रहेछ सो हेर्दा तथा सहकारीको प्रगति देख्दा प्यूठान जिल्लामा पनि कृषि सहकारीका माध्यमबाट यस्तै रचनात्मक कार्य गर्न सकिने प्रशस्त सम्भावना रहेको अनुभुति भयो ।
त्यस्तै सोहि दिनै बर्दियाकै सिको बचत तथा ऋण सहकारी संस्था अवलोकन गर्न हाम्रो भ्रमण टोली पुग्यो । साविकका सृजना ,कोशेली र लक्ष्मी ३ वटा सहकारीहरु एकिकरण भएर बनेको सिको साकोसको बृहत्तर योजनता तथा सदस्यहरु माझ गरेका रचनात्मक क्रियाकलापहरु देख्दा प्यूठान जिल्लामा पनि धेरै सहकारीहरु संख्यात्मक रुपमा रहने गुुणात्मकता विकास हुन नसकेको सन्दर्भमा जिल्लाका धेरै सहकारीहरु एकिकरण गरेर बिशाल एवं गुणस्तरीय संस्था बनाउन सके सदस्यको ,समुदायको तथा जिल्लाको बृहत्तर हित हुने खालका विभिन्न सेवाहरु प्रदान गर्न सकिने सम्भावना रहेको कुरा मनमा जागृत भयो । सिको साकोसमा लालुपाते साकोस सहित थप २ वटा साकोस पनि एकिकरण भएका रहेछन् । कुल पुुँजि २५ करोड ,शेयर सदस्य ६ हजार ८सय रहेको सिको साकोस २०७३ साल देखि लगातार नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेप्स्कुन को पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोवेशनमा भाग लिए पछि राष्ट्रिय स्तरको प्रोबेशन ब्राण्ड प्राप्त गरी हाल अन्तराष्ट्रि स्तरको ब्राण्ड प्राप्तीका लागि एक्सेस कार्यक्रममा सहभागि भएको संस्था रहेछ । सिको संस्थाले गरेका थप रचनात्मक एवं नयाँ कार्यको कुरा गर्दा सदस्यहरुलाई गर्ने ऋण लगानिमा कुल लगानिको ३० प्रतिशत कृषि क्षेत्रमा लगानि गरेको , सिको जिविकोपार्जन क्लव गठन गरी कार्य गरेको , कृष्टल माला बनाउने , चिउरी हर्वल सावुन उत्पादन , व्यवसायीक तरकारी खेती , विद्यालय वित्तिय साक्षर कार्यक्रम , प्रहरी संग सामुदायिक सचेतना कार्यक्रम , जेष्ठ नागरिक तिर्थाटन कार्यक्रम , तीज र माघी बचत कार्यक्रम झनै मनै लोभ्याउने कार्यक्रमहरु रहेछन् ।
भ्रमणको दोस्रो दिन हाम्रो भ्रमण टोली नवजीवन सहकारी संस्था लि. धनगढी को अवलोकन गर्न पुगेको थियो । नवजीवन सहकारीको सदस्य १९ हजार तथा कर्मचारी १०० जना रहेछन् । सहकारीको कुल पुँजि ३ अर्व रहेछ । सहकारीले ए.टि एम संचालनमा ल्याएको रहेछ । संस्थाको संचालकमा आउन संस्थाबाट ऋण नलिएको हुनु पर्ने नीतिगत व्यवस्था तथा समाजका प्रतिष्ठित व्यक्तित्वलाई सदस्य बनाएकोले पनि संस्था प्रति समाजको विश्वास रहेको पाईयो ।
भ्रमणको तेस्रो दिन हामी उदयदेव बहुउद्धेश्यीय सहकारी संस्था कञ्चनपुरको अवलोकन गर्न पुग्यौ । २०५६ सालमा स्थापना भएको सो संस्थाको कुल पुँजि २ अर्व भन्दा बढि भएको तथ्यांक पाउँदा प्यूठान जिल्लामा रहेका २०० भन्दा बढि सवै सहकारीको जोड्दा पनि सो पुँजि नपुग्ने अवस्थामा अब प्यूठान जिल्लामा संख्यात्मक मात्र नभएर गुणात्मकता दिने संस्थाको रुपमा सहकारीहरुलाई एकिकरण गरेर अगाडि बढ्नुको बिकल्प नरहेका थप प्रष्ठ भयो । ए.टिएम समेत प्रयोगमा ल्याएको सो सहकारीको सेवा देख्दा सहकारीले पनि कुनै अत्याधुनिक बैंक सरह सुविधा दिन सक्दा रहेछन् भन्ने कुरा आम जनमानसले बुझ्नु पर्ने र सहकारी क्षेत्रलाई हेर्ने साँघुरो दृष्टिकोण फराकिलो पार्नु पर्ने कुरा मनमा जागृत भयो । सोहि दिनै किसान बहुउद्धेश्यिय सहकारी लम्की कैलाली को हामी अवलोकन गर्यौ । २ अर्व ३० करोड कारोवार रहेको सो सहकारीको सदस्य मात्रै ५१ हजार रहेछन् । १ सय ५४ जना कर्मचारी रहेछन् । लघुवित्त कार्यक्रम संचालन गरेको सो संस्थाले पेपर लेस विधि अपनाएको पाईयो जुन प्रविधीका हिसावले अत्यन्त सह्रानिय लाग्यो । ट्यावलेट प्रयोग गरेर लघुवित्त संचालन गरेको सो संस्था अत्यन्त प्रविधि विकास , आइ भि आर टेक्नोलोजि मार्फत सुचना प्रवाहको व्यवस्था मिलाएको देख्दा सहकारी पनि अव प्रविधिमा अगाडि बढि सके भन्ने लाग्यो ।
यसरी नमुना काम गरेका सहकारी संस्थाहरु अवलोकन गरेर हाम्रो भ्रमण सम्पन्न भएको थियो । सवै सहकारीकर्मीहरु विच सहकारीका वारेमा भ्रमण टिमका संयोजक सांसद चेतनारायण आचार्यले प्रदेश सरकारले प्रदेश सहकारी ऐन पास गरि सकेको र संघ सरकारले सहकारी नियमावली पास भएको जानकारीका साथै महत्वपूर्ण सरकारका जानकारी गराउँदा थप ज्ञान हासिल भएको थियो ।
समग्रमा अत्यन्त फलदायी एवं उत्साहजनक रुपमा हाम्रो अवलोकन भ्रमण सम्पन्न भयो । सहकारीलाई विभिन्न पक्षबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्दछ र सो परिवर्तन हुनका लागि सहकारी संस्था पनि हाम्रो होइन राम्रो तथा नीति ,विधि र प्रविधीमा आधारित भएर संचालन हुनु पर्दछ भन्ने महत्वपूर्ण सिकाई भयो । यात्राका क्रममा बचत तथा ऋण सहकारी संघ प्रदेश न. ५ का तदर्थ समितिका अध्यक्ष प्रेम सुवेदीले यात्रालाई सहजिकरण एवं रोमाञ्चक बनाउनु भएको थियो ।
सहकारी संस्थाका सञ्चालक ,कर्मचारी ,शेयर सदस्य सवैको दृढता र लगनशिलताबाट नै संस्थाले प्रगति उन्नती गर्न सक्दछ भन्ने कुरा उल्लेखित संस्थाका प्रगतिबाट प्रष्ट हुन्छ तसर्थ सहकारीलाई साँच्चै नै समुदायको आवश्यक्ताको केन्द्र ,समुदायको छहारीको रुपमा विकास गर्न सञ्चालक ,कर्मचारी ,सदस्य सवैको हातमा हात काँधमा काँध मिलाएर आधुनिक प्रविधिको भरपूर्ण उपयोग गर्दै अघि बढ्नु यतिवेलाको आवश्यक्ता हो । आर्थिक प्यूठान मासिकबाट

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top