सागर रिजाल
प्युठान,३ बैशाख ।
धार्मिक तथा पर्यटकीय तिर्थस्थलका हिसाबले स्वर्गद्धारी पछिको तीर्थस्थल गौमुखी हो । गौमुखी गाउँपालिका–२ अर्खाको लेखमा पर्ने गौमुखीमा स्थानिय कला संस्कृतीसंग रम्न, पर्यटकीय स्थलकको अवलोकन गर्न पर्यटकहरु पुग्ने गर्दछन् ।झिमरुक नदीको उद्गम स्थल गौमुखी हो । गाईको मुखको आकारबाट पानीको वहाव शुरु हुने ठाउँका रुपमा गौमुखी परिचित मानिन्छ । विकट ठाउँमा रहेको गौमुखी पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर ठाउँ र मनोमोहक दृश्यको अवलोकन गर्न सकिन्छ ।
के पाईन्छ गौमुखीमा
गौमुखीको बिशेषता कलाकौशल,भेषभुषा र संस्कृती हुन् । कृषि र पशुपालन गौमुखी क्षेत्रका बासिन्दाको मुख्य पेशा हो । उत्तरी प्यूठानको बाग्लुङसँग सीमा जोडिएको गौमुखीबाट निस्केको पानीले नुहाएपछि मागेको पुग्ने विश्वास छ । जोडा नभएकोलाई जोडा हुने, छोराछोरी नभएकोलाई छोराछोरी हुने , बिरामी भएको मान्छे त्यहाँ पुगेर दर्शन गर्यो भने निको हुने विश्वास रही आएको छ जनविश्वास रहिआएको छ ।
यहाँ प्यूठान, रोल्पा, गुल्मी बाग्लुङ र अर्घाखाँचीका तीर्थयात्री नुहाउनकै लागि आउने गर्छन् । मुक्तिनाथ पुगेका तीर्थयात्री गौमुखी आएर नुहाएर स्वर्गद्वारीतर्फ लाग्ने गर्छन् । गौमुखीमा गाईको दुधको धार दिईन्छ । त्यस्तै शान्ती प्राप्ती गर्नका लागि परेवा उडाउने,फलफुल चढाउने, बाटेका दाम्ला चढाउने चलन रहेको अर्खा ईनामका स्थानिय दुजमान घर्तिले बताउनुभयो ।
गौमुखीको संरक्षणमा जुट्दै स्थानिय
गौमुखी क्षेत्रको साविकका दस वटा गाविसलाई समेटेर समुदायको प्रयासमा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न थालिएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो । गौमुखीको विकासका लागि गौमुखी पुग्नको लागि फराकिला बाटो र रेलिङ निर्माण गरिएको उहाँले बताउनुभयो । दुर्गममा रहेको यस क्षेत्रकोे पर्यटन प्रबद्धनका लागि सबैको ध्यान पुग्नुपर्ने उहाँले बताउनुभयो ।
गौमुखिको पर्यटन प्रबर्द्धनका लागि गाउँपालिकाले गत बर्ष दस लाख र यो बर्षमा रु आठ लाख रुपियाँ बिनियोजन गरि काम गरेको उहाँले बताउनुभयो । ओखरकोटको रक गार्डेन,ऐतिहासिक कोटघर, झिमरुक आसपासका साना खोचबेशी,बाढिकोटको गढिकोट,पुजाँको तामाखानी,लिवाङको स्नाथान,दियाल्नाचौर,तुषाराकोट, गुफाहरु , रजवाराको मगर संस्कृती ,जातजातीको संगमस्थल गौमुखिका मुख्य आकर्षण मानिन्छन् ।
गौमुखी मगरसमुदायहरुको बाहुल्यता वढी भएको ठाउँ हो । नागरिकको आर्थिक जीवनसंग सरोकार राख्ने गौमुखी क्षेत्रको कृषि पर्यटन उर्जा बन र उद्यमको बिकासमा लगानी भएको छैन् । योजनाबद्ध बिकासको अभावमा पर्यटकिय गन्तव्य गौमुखी क्षेत्र छायाँमा परेको छ । आन्तरिक तथा बाह्रय पर्यटनका लागि गौमुखी भौगोलिक बिकटताले ओझेलमा परेको हो ।
गौमुखीलाई नुहाउने केन्द्रको गन्तव्य बनाउने अभियान सुरु गरिएको छ । केही वर्ष अघिदेखि भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढेको छ । गौमुखीसम्म पुग्ने पदमार्ग निर्माण भएको छ ।
गौमुखी जाने पदमार्ग !
भौतिक संरचनाको अभाव
धार्मिक तथा पर्यटकीय तिर्थस्थल गौमुखीमा भौतिक संरचनाको अभाव छ । अर्खा गाउँबाट करिब १ घण्टाको पैदल यात्रा पछि पुगिने गौमुखीको संरक्षण नभएको पाईन्छ । पैदल अनि साघुरो बाटोको जोखीमपूर्ण यात्रा गरेर गौमुखीमा पुगेपनि त्यस क्षेत्रमा बास बस्नको लागि भवन, खाना नास्ताको लागि होटलको व्यवस्था नभएको स्थानिय दुजमान घर्तिले बताउनुभयो । अर्खासम्म सड्क बिस्तार भएपनि गौमुखी सम्मनै सड्क विस्तार गरि सवारीसाधनमै यात्रा गर्ने वातावरण गाउँपालिकाले मिलाउनुपर्ने उहाँले बताउनुभयो ।
गौमुखीको संरक्षण पनि छैन् । मन्दीर वरिपरी काडेतार, सरसफाई गरिनुपर्ने उहाँ बताउनुहुन्छ । मन्दीरमा गेटको व्यवस्थ ागर्न उहाँले गाउँपालिकालाई आग्रह गर्नुभएको छ । पर्यटकहरु गौमुखीको दर्शनका लागि पुग्नुहुन्छ, घर्तिले भन्नुभयो,–‘मन्दिरको आजापुजा गरेपछि फर्किने पर्यटकहरुलाई बस्ने खानेको व्यवस्था नहुँदा खिन्न बनाएर फर्कनुपर्ने बाध्यता छ । ’ नजीकका पर्यटकहरु भन्दा बाहिरी जिल्लाबाट आउने पर्यटकहरुलाई बस्ने , खाने स्थान नहुँदा समस्या भएको उहाँले बताउनुभयो । पर्यटकहरु बस्नका लागि पौवा बनाईएपनि बासबस्न नमिल्ने उहाँले बताउनुभयो । साथै यस क्षेत्रको छेउछाउ खोला रहेकाले पहिरोको जोखीम रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यसलाई जोगाउन तारजाली लगाउनुपर्छ । ’
कसरी पुगिन्छ गौमुखी
महेन्द्र राजमार्ग अन्र्तगत दाङको भालुबाङदेखि ५९ किलोमिटर कालोपत्रे सड्क पार गरेपछि व्यापारिक केन्द्र बाग्दुला पुगिन्छ । बाग्दुलादेखि करिब ४२ किलोमिटर कच्ची सड्क पार गरेपछि अर्खाको ठूलाचौर भन्ने गाउँमा पुगिन्छ । ठूलाचौरदेखि करिब १ घण्टा पैदल यात्रा पार गरिसकेपछि गुल्मी र बाग्लुङको सिमानामा पर्ने गौमुखी पुगिन्छ ।
समुद्री सतहबाट १५ सयदेखि २५ सय मिटरसम्मको उचाइमा गौमुखी क्षेत्र अवस्थित छ । करिब डेढ सय वर्षअघि बाग्लुङ निसीका तगारा बुढामगरले भैंसी चराउँदा गौमुखीको १२ मिटर लम्बाइ ६ फिट चौडाइ र ७ मिटर उचाइ क्षेत्रफल रहेको गुफा भेटेको किंवदन्ती छ । त्यही गाईको मुखजस्तो पत्थरको आकारबाट पानी आएको दृश्यका आधारमा गौमुखी नामकरण गरिएको हो ।
गौमुखीमा पर्यटक वढे
गौमुखी मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक वढेका छन् । गौमुखी गाउँपालिका–२, अर्खा ठूलाचौरसम्म सडक राम्रो भएसँगै झिमरुक नदीको उद्गम स्थल गौमुखी पुग्ने पर्यटक पनि वढ्न थालेका हुन् । गौमुखीमा माघेसक्रान्तिको दिन नुहाउने मेला लाग्छ । माघी संगै औंसी, पूर्णिमामा विभिन्न स्थानबाट तीर्थयात्री नुहाउन आउने गर्छन् ।
०७५ सालको माघे संक्रान्ति मेलामा एकै दिन १० हजारजति तीर्थयात्री गौमुखीमा नुहाउन आएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताउनुभयो । त्यस्तै ठूलाचौर सम्म गाडी सञ्चालन भएपछि अरु दिनमा पनि पर्यटकहरु आउने गरेको उहाँले बताउनुभयो । गौमुखीमा प्राकृतिक गुफा छ । त्यसैको एक कुनाबाट गाईको मुखजस्तो आकृतिबाट छङछङती पानी निस्कन्छ । यसैलाई गौमुखी भनिएको गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
धार्मिक महत्वसंगै उच्च हिमशृंखलाको काखमा रहेको गौमुखी अवलोकन गर्न पर्यटक गौमुखीसम्म पुग्ने गरेको स्थानिय दुजमान घर्तिले बताउनुभयो । ठूलो प्राचीन गुफा हेर्न चाहनेका लागि गौमुखी उपयुक्त ठाउँ भएको उहाँले बताउनुभयो । डाँफे, मुनालजस्ता चराचुरुंगी, विभिन्न रंगमा फूल्ने लालीगुराँसको दृश्य अवलोकन गर्न प्यूठानसहित छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको घर्तिले बताउनुभयो ।
#गौमुखी परिसर
प्रचार प्रसारका लागि मिडिया सम्मेलन
प्युठानकै विकट क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय तिर्थस्थल गौमुखीलाई राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा चिनाउनका लागि ५ नंम्बर प्रदेश स्तरिय मिडिया सम्मेलन गरिएको छ । सोमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठान र गौमुखी गाउँपालिकाको सयुक्त आयोजनामा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थितीमा मिडिया सम्मेलन गरिएको हो ।
जिल्ला, प्रदेश र केन्द्रका १ सय ५० वढी पत्रकारहरुको उपस्थिती गराई मिडिया सम्मेलन गरेको गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिनुभयो । गौमुखि क्षेत्रको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व उजागर गर्नुका साथै त्यस क्षेत्रको पर्यटन पर्वद्धनमा टेवा पुर्याउने अपेक्षा सहित मिडिया सम्मेलन गरिएको उहाँले आग्रह गर्नुभयो । उहाँले मिडिया सम्मेलनमा उपस्थित पत्रकारहरुलाई गौमुखी क्षेत्रको विकासका लागि मिडियाका मार्फत प्रचारप्रसार गर्न आग्रह गर्नुभएको छ ।
गौमुखी पुग्नका लागि बाटो स्तरउन्नती, बस्नको लागि राम्रो धर्मशाला, होटल रेष्टुरेण्टको विकास र यसको प्रचारप्रसारका लागि सूचना सञ्चार तथा प्रविधिमन्त्री समक्ष माग गरेको बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बास्कोटाले गौमुखीको विकासका निम्ती तयार भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘केन्द्रिय सरकारले केहि सहयोग गर्ने अपेक्षा लिएको छु । ’
त्यस्तै लुम्बिनी, स्वर्गद्धारी, गौमुखी र रेसुङगालाई एकैसाथ पर्यटकीय गन्र्तव्यको रुपमा अगाडी वढाईने लुम्बीनी विकास कोषका उपाध्यक्ष मिसु मैत्यले बताउनुभयो । लुम्बीनी आएका पर्यटकहरुलाई प्युठान र गुल्मीमा रहेका यी पर्यटकीय तिर्थस्थलमा पुर्याउन आफु प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
सम्मेलनमा घोषणा पत्र
गौमुखी मिडिया सम्मेलन घोषणा पत्र २०७६ तयार गरिएको छ । गौमुखी क्षेत्रका सबै पर्यटकीय गन्तव्यहरुको पहिचान गरि गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिकाको सयुक्त पहलमा डिपीआर तयार गरि गौमुखी पर्यटन क्षेत्रको घोषणा प्रक्रिया अगाडी वढाउने, गौमुखी पर्यटकीय क्षेत्रमा स्वास्थ्य क्षेत्रको सहज पहुँचका लागि गाउँपालिका स्तरिय अस्पतालका निम्ती पहल गरिने, गामुखी पुग्नका लागि सडक, पूर्वाधारको निमार्ण कार्य यथासिघ्र सम्पन गरिने, ग्रामिण पर्यटन सञ्चार प्रवद्धन कार्यक्रम तथा सूचना केन्द्र स्थापना गरिने लगाएतका घोषणाहरु गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष महाविर रानामगरले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !