शनिबार, कार्तिक ८, २०८३ | Saturday 24th October 2026

स्थानीय तहमा सेवा प्रवाहको प्रभावकारिता


डा.शिवराज पण्डित
वरिष्ठ पत्रकार विजय कुमार पाण्डेले केही वर्ष पहिले कान्तिपुर दैनिकमा राजा विरेन्द्रसंग लिएको अन्र्तवार्ताको संस्मरण लेख प्रकाशन गरेका थिए । उक्त संस्मरण लेखमा उनले विरेन्द्रसंग राखेको एउटा प्रश्न सत्ता राजनीति तथा सत्ता संचालनको प्रसंगसंग सम्वन्धित थियो । त्यो प्रसंग सत्ता राजनीतिमा सदैव प्रसांगिक मानिन्छ । विजय कुमार पाण्डेले तत्कालीन राजा विरेन्द्रलाई राखेको एउटा प्रश्न थियो–सरकार हजुरले आफ्नो कार्यकालमा धेरै प्रधानमन्त्रीहरु नियूक्त गर्नु भयो, कुन प्रधानमन्त्रीको कार्य कुसलता कस्तो पाउनु भयो ? विजय कुमारको उक्त प्रश्नको जवाफमा राजा विरेन्द्रले मुसुक्क हांसेर जवाफ दिएका रहेछन् – “ सबै टाउकाहरु बराबर थिए ,तर सबैको स्वाद फरक फरक थियो ।” राजाको यो भनाइले के प्रष्ठ पार्दछ भने व्यवस्था एउटै प्रकृतिको भए पनि शासन संचालनमा नेतृत्व लिने व्यक्तिको कार्यशैलीले शासन संचालनमा प्रत्यक्ष प्रभाव पार्दछ ।
मैले अघिल्लो हप्ता प्यूठान नगरपालिका र झिम्रुक गाउंपालिकामा दुईवटा स्थानीय तहमा दलित समुदायको क्षमता विकासका लागि कानूनी शिक्षाको बारेमा एक हप्ता प्रशिक्षण दिएको थिए । प्रशिक्षणका सहभागीहरु स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरु थिए । दुईवटा भिन्न भिन्न भूगोल, र भिन्न भिन्न वैचारिक नेतृत्वमा संगठित भएका जनप्रतिनिधिहरुले नेतृत्व गरेको प्यूठान नगरपालिका र झिम्रुक गाउंपालिकामा सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिने अवसर मिल्यो । यद्धपि दुईवटै स्थानीय तहमा वामपन्थीको नेतृत्व छ । प्यूठान नगरपालिकाका मेयर माओवादी समर्थक हुन भने झिम्रुक गाउंपालिकाका प्रमुख ने.क.पा. मसालका जिल्लास्तरका पुराना नेता पनि हुन । यी दुईवटा स्थानीय तहबाट प्रदान गरिएको सेवा प्रवाह प्रति जनता कति सन्तुष्ठ छन् भनीे जान्ने जिज्ञासा जाग्यो । त्यसका लागि मैले चारवटा सन्तुष्ठी सर्वेक्षणको मापनको औजार तयार पारेंं । पहिलो स्थानीय तहमा सूचनाको पहुंच, दोस्रो साधन स्रोतमा मा पहुंच तेस्रो अवसरको उपलव्धता, चौथो कार्यक्रममा जनताको स्वामित्व । यी चारवटा औजारका आधारमा यी दुईवटा स्थानीय तहमा स्थानीय सरकारको सेवा प्रभावको स्तर र जनगुनासो के कस्तो छ भन्ने जानकारी मूलक सामाग्री तयार भएको हुं । यद्धपि सेवा प्रवाहको सन्तुष्ठी सर्वेका लागि मैले छुट्टै फारम निर्माण गरेको भए यो लेखको विश्वसनीयता र वैद्यता अझ बढी हुने थियो ।
सर्वेक्षणको पहिलो मापन थियो दलितको स्थानीय तहमा सूचनाको पहुंच कस्तो रहेछ भनी गरिएको सर्वेक्षणमा प्यूठान नगरपालिकाको तुलनामा झिम्रुक गाउंपालिकाका दलितहरुमा सूचनाको पहुंचको सुनिश्चितता बढी रहेको पाइयो । प्यूठान नगरपालिकाका दलितहरुले दलितका लागि स्थानीय सरकार,नीजि र गैर सरकारी निकायबाट उपलव्ध हुने तालिम तथा अन्य कार्यक्रमको सुचना तथा जानकारी निश्चित टाठाबाठा दलितहरुमा मात्र सिमीत हुने गरेको गुनासो व्यक्त गरे । तालिममा सहभागि पठाउंदा पारदर्शीताको कमि हुने गरेको धारणा व्यक्त गरे । दोस्रो साधन स्रोतमा लक्षित वर्गको पहुंचको सुनिश्चिता नभएको धारणा दुवै स्थानीय तहका जनप्रतिनिधिहरुले व्यक्त गरे । स्थानीय तह गठन हुनु भन्दा पहिले गाउं विकास समिति अर्थात पुरानो संरचनाको स्थानीय निकायमा लक्षित बर्गका लागि गाउं विकास समितिले वार्षीक वजेट निर्माण गर्दा दलित वर्गको लागि अनिवार्य रुपमा ९ प्रतिशत रकम विनीयोजन गर्नु पर्ने र सो विनीयोजन नगरेमा या विनियोजन गरे पनि खर्च नगरेमा गाउं विकास समितिको शर्त मापन निर्देशिका बमोजिम कार्वाही गर्ने या अनुदान रकम कटौति गर्ने व्यवस्था थियो । तर दुवै तहको स्थानीय सरकारले दलितको जनसंख्याको अनुपातमा निश्चित मापदण्ड तय गरी दलितको उत्थानका लागि लक्षित वर्गको कार्यक्रम मार्फत निश्चित प्रतिशत दलित छुट्टाउनु पर्नेमा त्यसो नगरेको पाइयो । अर्थात स्थानीय तहको साधन स्रोतमा दलितको पहुंचको सुनिश्चितता देखिएन ।
दलितको लागि संविधान र स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए बमोजिमको विभिन्न रोजगारी,तालिम तथा अन्य अवसरमा समानुपातिकताका आधारमा निश्चित मापदण्ड हुनु पर्ने थियो । त्यसको साथै सकारात्मक विभेदका आधारमा पछाडि परेको दलितहरुलाई अवसरमा सुनिश्चतताका लागि मापदण्ड बनाउनु पर्ने थियो । तर त्यस तर्फ दुबै स्थानीय तहहरु उदासिन भएकोे पाइयो । चौथो मापन थियो कार्यक्रममा स्वामित्व । दलितहरुलाई छुट्टाइएको लक्षित वर्गको कार्यक्रम प्रति झिम्रुक गाउंपालिकाका दलितहरुमा स्वामित्वको अनुभूति गरेको पाइयो । दलितहरुकै नेतृत्वमा गठित एकीकृत विश्वकर्मा समाज आफै आयोजक भै कार्यक्रमको नेतृत्व गरेको र सम्पूर्ण जनप्रतिनिधि तथा सहभागिहरुमा यो हाम्रो कार्यक्रम हो भन्ने अनुभूति र स्वामत्वि लिएको पाइयो भने प्यूठान नगरपालिकाका दलितहरुमा लक्षित वर्गको कार्यक्रम प्रति स्वामित्व तथा अपनत्वको महशुस गरेको पाइएन । प्यूठान नगरपालिकाले दलितहरुको संजाल वा समुह मार्फत कार्यक्रम संचालन नगरी नगरपालिका स्वंयले कार्यक्रम संचालन गरेको र दलितको कार्यक्रमबाट गैर दलित पनि फाइदा लिएको प्यूठान नगरपालिकाका दलितहरुको रहेको पाइयो ।
यसरी तुलनात्मक रुपमा प्यूठान नगरपालिकाको भन्दा झिम्रुक गाउं पालिकाको सेवा प्रवाहको अवस्था सुदृढ र प्रभावकारी देखियो । सेवा प्रवाह प्रभावकारी हुनुमा झिम्रुक गाउंपालिकाको प्रशानिक निकायको नेतृत्व युवाले गरेका रहेछन् । युवा कार्यकारीले जनतालाई परिवर्तनको अनुभूति हुने गरी सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित गरेको पाइयो । त्यसको तुलनामा प्यूठान नगरपालिकाको सेवा प्रवाह कमजोर देखिनुमा तत्कालीन जि.वि.स.मा कार्यरत कर्मचारीहरुको वाहुल्यता हुनुले पनि सेवा प्रवाहमा नयांपन नदेखिएको जनगुनासो भेटियो । अर्को पक्ष स्थानीय तहको नेतृत्वमा राजनीतिक क्षेत्रबाट प्रवेश गरेको व्यक्तिको नेतृत्व जनमूखी र प्रभावकारी देखियो भने गैर राजनैतिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेको व्यक्तिले गरेको नेतृत्वकोे सेवा प्रवाहको स्तर कमजोर भएको तर्क पनि एकाथरीको छ ।
मैले यो लेखको सुरुको हरफमा विजय कुमार पाण्डेले राजा विरेन्द्रसंग लिएको अन्तर्वार्ताको प्रसंग उठाएको थिएं । प्रसंगको तात्पर्य थियो व्यवस्था आफैमा पूर्ण हुंदैन । व्यवस्थालाई समृद्ध र सक्षम बनाउने काम नेतृत्वको हो । नेतृत्व शासन संचालन सम्वन्धि कला कौशलले निपूर्ण हुनु पर्दछ । राजनीति कला हो । इमान्दारीता र निष्ठा पनि हो । नेतृत्व दिने व्यक्तिमा नयांपन अर्थात प्रर्वतनात्मक कार्यशैलि,सोंच र चिन्तन भएन भने व्यवस्था परिवर्तन भए पनि जनताले परिर्वतनको अनुभूति गर्न सक्दैनन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top