
तीज पर्व नेपाली महिलाहरूका लागि विशेष महत्त्व बोकेको सांस्कृतिक पर्व हो। यसको पौराणिक पक्षलाई अध्ययन गर्दा सनातन धर्म(परम्पराअनुसार महिलाहरूले सौभाग्य, समृद्धि तथा आफ्नो इच्छित जीवनसाथी प्राप्तिको कामनासहित यो पर्व मनाउँदै आएको पाइन्छ। हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न गरेको कठोर तपस्या र व्रतसँग हरितालिका तीजको पौराणिक कथा जोडिएको छ।
किंवदन्ती अनुसार हिमालयले आफ्नी पुत्री पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने वचन दिएका थिए। तर पार्वतीलाई आफूले मन पराएका शिवलाई नै पति रूपमा प्राप्त गर्ने इच्छा थियो। त्यसैले उनी साथीहरूसँग जंगलमा गई भगवान् शिवको कठोर तपस्यामा लीन भइन्। लामो समयसम्म तपस्या गर्दा पनि आफ्नो मनोकामना पूरा नभएपछि उनले एक दिन बालुवाको शिवलिङ्ग निर्माण गरी पानीसमेत नपिई निराहार व्रत बसिन्। उनको कठोर तपस्या देखेर भगवान् शिव प्रकट भई इच्छित वर प्राप्त हुने आशीर्वाद दिए। अन्ततः शिव र पार्वतीको विवाह भाद्र शुक्ल तृतीयाकै दिन भएको मानिन्छ। यही पौराणिक प्रसङ्गसँग जोडिएको पर्वलाई हरितालिका तीजका रूपमा मनाइँदै आएको हो।
प्रेम र समर्पणको प्रतीकका रूपमा स्थापित यो पर्व समयक्रमसँगै परिष्कृत हुँदै महिला समानता, स्वतन्त्रता तथा हक(अधिकारका आवाजसँग पनि जोडिँदै आएको छ। आधुनिक नारीवादी दृष्टिकोणबाट हेर्दा पनि पार्वतीको त्यो निर्णय र संघर्षमा महिलाको आफ्नो इच्छा, अस्मिता र स्वतन्त्रताका लागि गरिएको विद्रोहको सूक्ष्म रूप देख्न सकिन्छ। आफूले रोजेको जीवनसाथी प्राप्त गर्न सामाजिक तथा पारिवारिक दबाबको सामना गर्दै संघर्ष गर्नु आफैंमा महिला स्वतन्त्रताको एउटा प्रतीकात्मक अभिव्यक्ति हो। त्यसैले यस किंवदन्तीलाई सकारात्मक सन्देशका रूपमा लिन सकिन्छ।
तीजका गीतहरू पनि नेपाली लोकजीवन, संस्कृति र महिलाका अनुभूतिसँग गहिरोसँग जोडिएका छन्। समय, सन्दर्भ र युग परिवर्तनसँगै तीजका भाका, गीतका विषय र अभिव्यक्तिका स्वरूप पनि बदलिँदै आएका छन्।
सदा झैं यस वर्ष पनि नेपालीका घर–आँगनमा तीजको रौनक भित्रिएको छ। तर आजको तीज केवल पौराणिक तथा धार्मिक पर्वमा सीमित छैन। महिला समानता, अधिकार, आत्मसम्मान र सामाजिक न्यायका विषयमा प्रगतिशील गीतहरू गाइने क्रम बढेको छ। यो आफैंमा सुखद र सकारात्मक परिवर्तन हो। हिजोका दिनमा महिलाहरूले वर्षभरि भोगेका अभाव, दुःख, पराई घरको बुहार्तन, घरेलु हिंसा, माइती जान नपाएका पीडा र मनका कुण्ठाहरू तीजका गीतमार्फत पोख्ने गर्थे। तीज उनीहरूका लागि आफ्नो वेदना अभिव्यक्त गर्ने एउटा महत्वपूर्ण अवसर थियो। हिमालयकी पुत्री पार्वतीले शिवलाई प्राप्त गर्न गरेको कठोर व्रतसँग जोडिएको यही पर्व आज समयको गतिसँगै फरक र नयाँ स्वरूपमा प्रस्तुत हुन थालेको देख्दा गौरवको अनुभूति हुन्छ।
अब महिलाहरूले वर्षभरि भोगेको दुःख र वेदनालाई मात्र गीतको विषय नबनाई सुख, सम्मान, समानता, अधिकार र उपलब्धिका लागि गरिएको संघर्षलाई पनि उत्सवका रूपमा तीजमा प्रस्तुत गर्नुपर्छ। यसका लागि अझ धेरै संघर्ष आवश्यक छ। चुप लागेर बस्ने होइन, अन्याय र विभेदविरुद्ध विद्रोहका आवाजलाई बुलन्द गर्दै परिवर्तनको मादल घन्काउनुपर्छ।
एक्काइसौं शताब्दीको अन्त्यतिर आइपुग्दा समेत यदि हामी उही घर(माइती, श्रीमान्(सासु(ससुराका तिता(मीठा व्यवहार र व्यक्तिगत पीडाका गीत मात्र गाइरह्यौं भने तीजको सिर्जनात्मक विकास इतिहासकै एउटा पानामा सीमित हुने खतरा रहन्छ। त्यसैले आज हामीले मनाउने तीजमा हाम्रा संघर्ष, बलिदान, साहस, उपलब्धि र परिवर्तनका कथा गाउनु अझ सान्दर्भिक हुन्छ।
परम्परा, संस्कृति र संस्कारको संरक्षण गर्नु भनेको हिजोको समाजमा रहेका सबै यथास्थितिको निरन्तरता दिनु होइन। बरु समाजमा विद्यमान अन्याय, अत्याचार, विभेद र महिला हिंसा अन्त्य गर्न गरिएका प्रयास, संघर्ष र उपलब्धिका घटनाहरूलाई सिर्जनात्मक रूपमा गीत, कला र सांस्कृतिक अभिव्यक्तिको विषय बनाउनु हो। त्यसो गर्न सकियो भने मात्र तीज पर्वले आफ्नो सामाजिक र सांस्कृतिक सार्थकता अझ गहिरो बनाउन सक्छ।
तीजका गीतमा महिलामाथि हुने अन्याय, अत्याचार, हिंसा, बलात्कार र हत्याका घटनाविरुद्ध आवाज उठ्नुपर्छ। मानवता नै लज्जित हुने यस्ता घटनाविरुद्ध संघर्ष र विद्रोहका गीतमार्फत समाजलाई झकझकाउनुपर्छ। तीज रमाइलो गर्ने पर्व मात्र होइन, सामाजिक चेतना जगाउने र परिवर्तनको आवाजलाई अझ बलियो बनाउने अवसर पनि बन्नुपर्छ।
तीजमा व्रत बस्ने परम्परालाई लिएर पनि विभिन्न दृष्टिकोण छन्। सनातन परम्परामा तीजमा मात्र होइन, विभिन्न धार्मिक तथा सांस्कृतिक अवसरमा व्रत बस्ने चलन रहिआएको छ। आधुनिक समयमा स्वास्थ्यका लागि गरिने निश्चित अवधिको उपवास वा ‘फास्टिङ’सँग यसको केही समानता देखिए पनि धार्मिक व्रत र चिकित्सकीय उपवासलाई पूर्ण रूपमा एउटै ठान्नु उपयुक्त हुँदैन। व्रत बस्दा आफ्नो स्वास्थ्य, उमेर, शारीरिक अवस्था र चिकित्सकीय आवश्यकतालाई ध्यान दिनु आवश्यक छ।
विज्ञान र अध्यात्मका कतिपय अभ्यासबीच संवाद र समानता देखिन सक्छ। मानव सभ्यताको विकाससँगै जीवनशैली, सोच र संस्कार पनि स्वाभाविक रूपमा परिवर्तन हुँदै आएका छन्। हिजोका महिलाहरूले आफ्नो परिवार र श्रीमान्को सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा थियो भने आजका महिलाहरू आफ्नो अधिकार, सम्मान, समानता र सामाजिक न्यायका विषयलाई राज्य र समाजसमक्ष पुर्याउँदैछन्। यो परिवर्तनलाई सकारात्मक सामाजिक विकासका रूपमा लिनुपर्छ।
तर रमाइला चाड(पर्वहरूले नेपालीका घर(आँगनमा खुसी ल्याइरहेका बेला देशले भोगेको प्राकृतिक विपत्तिको पीडा पनि हामीले बिर्सनु हुँदैन। भोटेकोशी, रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। धेरै परिवारले आफन्त गुमाएका छन्, धेरै अझै बेपत्ता छन् र कतिपय घाइते भएका छन्। सुरुङ, बालुवा र पुरिएका भग्नावशेषबाट लामो समयपछि पनि मानिसहरू जीवितै उद्धार भएका खबरले आशाको सञ्चार गराएका छन्।
त्यो हृदयविदारक प्राकृतिक विपत्तिले सम्पूर्ण नेपालीको मन दुःखाएको छ। यस दुःखद घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। दुःख र सुख, आँसु र हाँसो, मिलन र बिछोड, जन्म र मृत्यु तथा ध्वंस र निर्माणको प्रक्रियाबाट नै जीवन अघि बढ्छ। त्यसैले यस्तो पीडालाई मनमा राख्दै हाम्रा परम्परागत पर्वहरूलाई तडकभडक र अनावश्यक प्रतिस्पर्धाभन्दा पर रही सरल, सभ्य र मानवीय ढंगले मनाउनु आजको आवश्यकता हो।
समयको क्रमसँगै महिलाहरूले पुरानै तीजका भाका र लयमा नयाँ विषय र अधिकारका गीत गाउन थालेका छन्। तीज पर्व व्यापक र आधुनिक बन्दै जाँदा महिलाहरूले आफ्ना पीडा माइतीघरमा दिदीबहिनीका बीचमा मात्र व्यक्त गर्ने होइन, राज्यसँग आफ्ना अधिकारका प्रश्न राख्दै गाउन थालेका छन्। हिजो सामाजिक संरचनामा दबिएर बस्न बाध्य महिलाहरू आज राज्यसँग अधिकार र समानताका लागि प्रश्न गर्न सक्ने अवस्थामा पुग्नु आफैंमा ठूलो परिवर्तन हो।
यो परिवर्तन सानोतिनो त्याग र बलिदानबाट आएको होइन। इतिहासका विभिन्न कालखण्डमा महिलाहरूले गरेका संघर्षदेखि नालापानीको युद्ध हुँदै दशवर्षे सशस्त्र जनयुद्धसम्म महिलाहरूले गरेको त्याग, श्रम, साहस र बलिदानको महत्वपूर्ण भूमिका रहेको छ। ती संघर्ष र बलिदान नभएको भए आज हामीले प्राप्त गरेका धेरै अधिकार र उपलब्धिहरू सायद सपनामै सीमित हुने थिए।
यद्यपि महिलाले रोजेको र खोजेको पूर्ण समानता र अधिकार अझै प्राप्त भइसकेको छैन। त्यसैले सम्पूर्ण महिला दिदीबहिनीहरूले आफ्नो अधिकारका लागि मात्र होइन, नेपालमा विद्यमान पितृसत्ता, शोषण, पूँजीवादी असमानता, हिंसा, अपहरण, बलात्कार, हत्या तथा सबैखाले अन्यायका विरुद्ध पनि आफ्नो आवाज निरन्तर बुलन्द गर्नुपर्छ। तीजमा मात्र होइन, वर्षभरि नै न्याय र समानताको संघर्षलाई निरन्तरता दिनुपर्छ।
तीजको वास्तविक सौन्दर्य केवल नयाँ कपडा, गहना, नाचगान र रमाइलोमा होइनस यसले बोकेको सामाजिक चेतना, सांस्कृतिक निरन्तरता र परिवर्तनको सन्देशमा पनि छ। त्यसैले हाम्रो तीज यस्तो बनोस्, जहाँ परम्पराको सम्मानसँगै परिवर्तनको आवाज सुनियोस्स जहाँ संस्कृतिसँगै समानताको चेतना फैलियोस्स जहाँ गीतमा पीडा मात्र होइन, संघर्ष र उपलब्धिको गौरव पनि गाइयोस्।
अन्त्यमा, देश(विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा, दिदीबहिनी, साथी(सङ्गी तथा दाजुभाइहरूमा हरितालिका तीज पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो अवस्था र स्वास्थ्यअनुसार सरल, सभ्य, सुरक्षित र खुसीका साथ तीज मनाउनुहोस्। यस पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, समानता र नयाँ आशा ल्याओस्।
सम्पूर्णमा हरितालिका तीज २०८३ को हार्दिक मंगलमय शुभकामना
धन्यवाद।
कमेन्ट गर्नुहोस !