सोमवार, मंसिर १६, २०८२ | Monday 1st December 2025

नेपालको राजनीतिमा जेन्जी आन्दोलन


पृष्ठभूमिः
नेपालको राजनैतिक प्रणालीमा दशकौं देखि संचित विकृति र विसंगति विरुद्धको सशक्त प्रतिरोध थियो जेन्जी पुस्ताको भाद्र २३ र २४ गतेको विद्रोह । २००७ देखि २०६२⁄०६३ सालसम्म आउंदा भिन्न प्रकृति र स्वरुपमा राजनैतिक आन्दोलनहरु भए नेपालमा । आन्दोलनको बलमा राजनैतिक प्रणालीमा आंशिक सुधारहरु भएपनि जनअपेक्षा अनुसार जनताले अनुभुत हुने गरी शासकको शैलीमा परिवर्तन हुन सकेन । देश एक प्रकारले गोलचक्करमा फस्यो । जनस्तरबाट संगठित असंगठित रुपमा विसंगति र विकृतिका विरुद्धका अन्दोलनहरु उपलव्धिबिना नै विचमै स्थगित भए या गराइयो । सिंहदरवार र बालुवाटारमा बस्नेहरुका सोंच,चिन्तन र व्यवहारमा परिवर्तन आउनुको वदला उल्टो दम्ब,अलोकतान्त्रिक चिन्तन शैलीको विकास हुंदै गयो । यो परिवेशका विरुद्ध पहिलो पटक नेपालका युवाहरुले आफ्नै नेतृत्वमा आन्दोलन⁄विद्रोह गरे । कतिपयलाई लाग्यो युवाहरुको आन्दोलन अनपेक्षित । तर आम मानिसहरुको बुझाईमा यो आन्दोलन अपेक्षित नै थियो । जेन्जी युवा समुहले गरेको व्यवस्था विरुद्धको आन्दोलन विश्वव्यापी प्रकतिको छ । विगत् एक वर्ष अवधिको विश्वघटनाक्रमलाई हेर्ने हो भने यस प्रकारका शहरी विद्रोह अफ्रिका,ल्याटिन अमेरिकी देश र दक्षिण एशियाका अधिकांश देशहरुमा भएको देखिन्छ । जेन्जी आन्दोलनको स्वरुप प्रकृति,उदेश्य आदिका आधारमा विश्लेषण गर्दा जेन्जी आन्दोलन हुनुका पछाडि निम्न कारणहरु जिम्वेवार देखिन्छन् ।
१. उत्तर आधुनिकतावादको प्रभावः
आधुनिकतावादले अन्तर्राष्ट्रिय ढांचाका रुपमा विकसित गरेको शहरी कला,उच्च वर्गको ऐतिहासिक व्याख्या–विश्लेषण,सामाजिक सांस्कृतिक पक्षको व्याख्या, साहित्यको एकल पद्धति,विज्ञानको व्याख्या, दार्शनिक बिचारधाराको व्याख्या र स्थापित मूल्य, मान्यता आदिका विरुद्धको आन्दोलनलाई उत्तर आधुनिकतावाद भनिन्छ । मूलतः उत्तर आधुनिकतावादले २० औं शताव्दीका उपलव्धिहरुलाई अस्वीकार गर्दछ । अर्थात २० औं शताव्दीका विरुद्ध २१ औं शताव्दीमा विकास भएको मानवतावादी दार्शनिक साेंच या मान्यतालाई उत्तर आधुनिकतावाद भनिन्छ । जेन्जी आन्दोलनको स्वरुप,फैलावट,आन्दोलन लक्षित कार्यक्रम आदिका आधारमा हेर्ने हो भने यो आन्दोलनमा उत्तर आधुनिकतावादको प्रभाव परेको देखिन्छ । आन्दोलनको स्वरुप विश्वव्यापी हुनु, आन्दोलनको निशाना कला,साहित्य,पुरातात्विक महत्वका मठ मन्दिर,भवन,दस्तावेज नष्ट गर्ने तर्फ लक्षित हुनु आदिले उक्त कुरालाई पुष्टि गर्दछ । सिंहदरवार,शितल निवास,पुरातत्व विभाग जस्ता सरकारी भवनहरु राज्यका उच्च पदस्थ पदाधिकारीहरु बस्ने मात्र भवनहरु थिएनन् नेपालको इतिहांस, कला,साहित्य ,पुरातात्विक दस्तावेजहरुको जिउंदो दस्तावेजहरु थिए ,ति जलाइए । हिन्दुहरुको पवित्र धार्मिक आस्थास्थल पशुपतिनाथको मन्दिर पनि आन्दोलनकारीको निशानाका प्रतिनिधिमूलक घटनाहरुको आधारमा हेर्दा पनि जेन्जी आन्दोलनमा उत्तर आधुनिकतावादको प्रभाव रहेको प्रष्ट हुन्छ ।
२. विकृति र विसंगति विरुद्धको स्वतःसर्फुत आन्दोलन
२०४६ सालको परिवर्तनपछि राज्यसत्तामा संचित भएको फोहर विष्फोट भएको हो । विस्फोटकको माध्यम मात्र युवाहरु भएका हुन । यो विष्फोट ढिलो या चाडो हुने वाला थियो । कसले, कहिले र कसरी हुन्छ भन्ने मात्र अनुमान र आशंका थियो । त्यो आशंकाको निवारण युवाहरुले गरे । कुशासन र सामाजिक संजाल माथिको प्रतिबन्ध त केवल बाहानामा मात्र हुन । राज्यसत्तामा थुप्रिएको फोहोरलाई बाहिर ल्याउन युवा शक्तिको चेतना र साहासले प्रमुख भूमिका खेलेको थियो । राज्यले युवाहरुको सिप,पूंजी,सिर्जनालाई देश विकासमा लगाउने स्पष्ट नीति र कार्यक्रम ल्याउन सकेन । जसको कारण लाखौं युवाहरु विदेशमा तल्लो तहको काम गर्न वाध्य हुन परिरहेको छ भने स्वदेशमा पनि सम्मानजनक रुपमा बस्ने वातावरण निर्माण हुन सकेको छैन । यो पीडा भोगी रहेका युवाहरुलाई सामाजिक संजाल माथिको प्रतिवन्धले थप उत्तेजित हुने वातावरण निर्माण भयो । भ्रष्टाचार प्रति सून्य सहनशीलताको नीति लिएको सरकारले व्यवहारमा भ्रष्टाचार र व्यथितीलाई अघोषित रुपमा संस्थागत नै गरयो । ट्रान्सपेरिन्सी इन्टरनेशनल लगायतका विभिन्न संस्थाहरुको प्रतिवेदनले पनि नेपालको कुशासन कुन स्तरको छ भन्ने कुरा प्रष्ठ हुन्छ । तहतहको अदालतको फैसलाबाट अपराधी प्रमाणित भएकाहरुलाई आममाफीबाट उन्मूक्ति दिइयो । यसले दण्डहिनतालाई प्रश्रय दियो । यो सबै विकृतिहरु जो कतिपय सतहमा देखिएका र कतिपय नदेखिएका या लुकाइएका विसंगति र व्यथितीहरुलाई युवाहरुले नजिकबाट अध्ययन गरी रहेका थिए । हजारौं युवाहरुको विदेश पलायन, सरदर ३⁄४ जना साथीहरुको शव विमानस्थलमा देख्नु परेको पिडा, सरकारका ३ वटै अंगको सेवा प्रवाहमा ढिलासुस्ती ,मोलमोलाइ आदिले आजित भएका युवाहरुमा चरम र व्यापक असन्तुष्ठि थियो । यो असुन्तुष्ठिको जगमा युवाहरुले राज्य सत्तका विरुद्ध स्वतःस्फुर्त विद्रोह गरेका हुन ।
३, विकासात्मक मनोविज्ञानको प्रभावः
सन् १९९७ देखि २०१२ को अवधिमा जन्मेका वालवालिकाहरु (१३ देखि २७ वर्ष उमेर समुह) लाई जेन्जी समुह भनिएको छ । पश्चिमा विकासात्मक मनोवैज्ञानिकहरुले १३ वर्ष देखि १८ वर्ष उमेर समुहका वालवालिकाहरुलाई किशोरावस्था भनेका छन् । पश्चिमा वालवालिकाहरुको तुलनामा नेपाल जस्ता अल्पविकसित देशका वालवालिकाहरुको शारीरिक,मानसिक र संवेगात्मक विकास ढिलो हुने भएकोले १३–२५ वर्षको उमेर समुहका वालवालिकाहरुलाई किशोरावस्था मान्नु पर्ने तर्क गरेको पाइन्छ । किशोरावस्था वाल्यकालको अन्त्य र प्रौढ अवस्थाको सुरुवातको संक्रमणकालीन अवस्था हो । विकासात्मक मनोवैज्ञानिकका अनुसार यो उमेर समुहका वालवालिकाहरुमा अमुर्त चिन्तन,आत्मकेन्द्रीत सोंच, हठ स्वभाव, आफूले गरेको कार्यको दीर्घकालीन असर के हुन्छ सो कुराको विवेकसम्मत ढंगले सोच्न नसक्ने अवस्था यो उमेर समुहका किशोर किशोरीहरुको विशेषता मानिन्छ । यो पृष्ठभूमि भएका किशोरकिशोरीहरुको मनोविज्ञान वुझ्न नसक्नु शासकहरुको ठूलो कमजोरी हो । प्रौढहरुमा धैर्यता र सहनशिलता हुन्छ तर यो उमेर समुहका किशोरकिशोरीहरुमा ति गुणहरु हुदैनन् । ध्वंसको प्रकृति र समयावधिको समग्र विश्लेषण गर्दा युवाहरुको होस(चेतना) ले भन्दा जोसले बढी काम गरेको देखिन्छ । युवाहरुले जोस गुमाउंदा पुरातात्विक र ऐतिहासिक महत्व बोकेका खरावौंको सार्वजनिक र व्यक्तिगत सम्पत्ति नष्ट भयो । यो दुखद् पक्ष हो । तर यसको सकारात्मक पक्षको रुपमा राजनैतिक आग्रह पूर्वाग्रहबाट माथि उठेर राज्यसत्तामा थुप्रिएको फोहोर हटाउन तत्मतयार हुनु राम्रो पक्ष हो । विगत्का राजनैतिक आन्दोलनमा यो उमेर समुहका युवा प्रौढहरु (वयस्क⁄नेता)ले प्रयोग गर्दै आएका थिए । तर यस पटक भाद्र २३ र २४ गतेको आन्दोलन भने युवाहरु आफैले नेतृत्व गरे प्रौढहरुले साथ र समर्थन दिए । नेपालको राजनैतिक आन्दोलनमा संभवत युवाहरुले नेतृत्व(दलका भगिनी मोर्चा वाहेक) गरेको विद्रोह पहिलो हो ।
४.राजनीतिक प्रणालीको असफलता ः
जेन्जी आन्दोलनलाई केपी शर्मा वली नेतृत्वको सरकारको असफलताको रुपमा मात्र बुझन र सिमीत गर्न हुदैन । यसको पछाडि हामीहरुले अंगालेको सिंङ्गो संसदीय राजनैतिक प्रणालीको पनि उत्तिकै दोष छ । प्रणाली मै खोट छ भने त्यसको नेतृत्व गर्नेलाई मात्र दोष दिनु न्यायोचित हुंदैन । २०४६ सालको राजनैतिक परिवर्तनपछि नेपालमा वेलायती मोडेलको संसदीय व्यवस्था अवलम्बन गरियो । २०५२ सालमा नेकपा माओवादीले संसदीय व्यवस्थाको विरुद्धमा १० वर्षे सशस्त्र विद्रोह गरे । यो विद्रोहको जगमा संसदवादी दलहरु (कांग्रेस,एमाले समेत) २०७२ सालमा नयां संविधान जारी भयो । यो संविधानले पनि शासकीय स्वरुपमा आंशिक परिवर्तन गर्दै गणतन्त्र,धर्मनिरपेक्षता,समावेशीता जस्ता थप केही नयां विषयवस्तुहरु समावेश त भए तर संविधानको मर्म अनुसार कार्यान्वयन हुन सकेनन् । यो व्यवस्था पनि आधारभूत रुपमा संसदीय व्यवस्था नै हो । संविधानले ग्यारेन्टी गरेका मौलिक हक लगायतका विषयहरु राज्यको सक्षमताले भरथेक गर्ने खालका थिएनन् र छैनन् । संविधानले आसा जगाइदियो तर राज्यको समग्र प्रणाली त्यो रुपमा विकास गर्ने तर्फ नेताहरुको ध्यान जान सकेन । संसदीय व्यवस्थाको यही फोहोरी खेलको पुनरावृत भैरहयो, सरकार बनाउने, गिराउने । यसले व्यवस्था प्रति आम जनताको विश्वास टुटदै गयो । प्रदेश सरकारहरुले आफनो औचित्यता सावित गर्न सकेनन् । समावेशिताको नाममा आफना श्रीमती,भाइ छोरा,भतिज,आफन्तलाई समानुपातिक कोटा बाडियो । समग्रमा संविधानको स्प्रीट र मर्म भन्दा बाहिर गएर शासन सत्ता संचालन गरियो । यसले सिंगो व्यवस्थालाई दुर्गन्धित बनायो । संविधान संशोधनको मूल मुद्धालाई आधार मानेर तत्कालीन सत्तासीन एमाले र कांग्रेसले सरकार संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेपनि त्यो मुद्धालाई अगाडी बढाउन सकेनन् । यसले पनि अन्यौलता थपिरहेको थियो । चुनाव देखि चुनाव सम्म मात्रको कुरा नेताहरुले गर्न थालेका थिए । मिसन– ८४ को रटानले जनतामा कुनै प्रकारको आसा जगाउन सकेको थिएन । वितिष्णता सर्वत्र व्याप्त थियो । यही धरातलीय यथार्थताको पृष्ठभूमिमा जेन्जी युवाहरुले राज्यसत्ताका तमाम विकृतिका विरुद्ध विद्रोह गरेका हुन । विद्रोहलाई नैतिक र भौतिक रुपले प्रौढहरुले समर्थन गरे ।
५.भूराजनीतिक प्रभावः
नेपालको भूराजनीतिक अवस्थिति राजनैतिक विद्रोह वा आन्दोनका लागि अनुकुल वा प्रयोग हुने गरेको तथ्य खुल्ला तर गोप्य (इउभल कभअचभत ) जस्तै छ । नेपाली जनताले सहज रुपमा अनुभुत हुने गरी २००७ साल देखि नै राज्यसत्ता विरुद्ध भएका शसस्त्र हुन या शान्तिपूर्ण आन्दोलन हुन दुवै प्रकारका आन्दोलन⁄विद्रोहहरुमा वाह्य शक्तिको प्रत्यक्ष प्रभाव रहंदै आएको देखिन्छ । विश्व राज्यव्यवस्थामा हुने शक्ति सम्बन्ध,शक्ति संघर्ष र शक्ति सन्तुलनमा आउने फेरबदलसंगै हाम्रा जस्ता देशहरु प्रत्यक्ष प्रभावित हुने गरेको पाइन्छ । त्यसरी प्रभावित हुने देशहरु मध्ये पनि नेपाल अग्रपंक्तिमा देखिन्छ । विश्व शक्तिराष्ट्रको रुपमा उदीयमान समाजवादी देश चीन र त्यसकै हाराहारीमा विकसित हुंदै गरेको दक्षिण तर्फको छिमेकी देश भारतको दवाव र प्रभाव नेपालको राजनीतिक व्यवस्थामा प्रत्यक्ष रुपमा पर्दै आएको छ । छिमेकी देशको दवाव र प्रभावसंगै यतिवेला पश्चिमा देशहरु (अमेरिका लगायत युरोपेली देश समेत) र रुस र युक्रेन वीचको द्वन्द्वको अप्रत्यक्ष प्रभाव नेपालको राजनीतिमा परेको विश्लेषण गरिएको छ । यसरी हेर्दा नेपालमा भारत,चीन,अमेरिका र रुस समेतको चौकोणात्मक प्रत्यक्ष वा परोक्ष हस्तक्षेप वा प्रभाव रहेको वताइन्छ । जेन्जी युवाहरुको भाद्र २३ र २४ गतेको विद्रोहलाई दुई भागमा अध्ययन गर्नु पर्ने तर्क भाद्र २५ गते देखि नै उठाउंदै आइएको छ । पहिलो दिनको आन्दोलनको आयोजक सुधन गुरुङ्ग,रक्षा बम जस्ता युवाहरु विद्रोहको अग्र मोर्चामा रहेकाहरु अमेरिका निकट बारबारा फाउण्डेसनसंग आवद्ध भएको पाइयो । दलाइ लामाको शुभकामना सन्देशसंगै फ्रि तिव्वत मुम्भमेन्ट समर्थक युवाहरुको संलग्नता समेतका घटनाक्रमहरुले सहजै अनुमान गर्न सकिन्छ कि जेन्जी आन्दोलनमा अमेरिकी प्रभाव थियो । दोस्रो दिनको आन्दोलन⁄ विद्रोह युवाहरुको नियन्त्रण भन्दा बाहिर गएको देखियो । विभिन्न माध्यमहरुबाट जानकारी गराए अनुसार दोस्रो( भाद्र २४) गतेको आन्दोलनको स्वरुप संलग्न व्यक्तिहरुको हुलिया,आन्दोलनमा संलग्न व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा हेर्दा वा अवलोकन गर्दा छिमेकी देश भारतको हात रहेको देखियो । अहिले नेपालको युवा विद्रोहलाई अमेरिकाले भारतलाई दोष दिएको छ भने भारतले अमेरिकाले सहयोग गरेको भन्ने भ्रम फैलाएको छ । यथार्थमा दुवै देशको प्रभाव जेन्जी आन्दोलन या विद्रोहमा परेको देखिन्छ ।

आन्दोलनको उपलव्धि या दूरगामी प्रभावः
जेन्जी आन्दोलनले नेपालको परम्परागत राजनीतिक परिपाटी⁄प्रणालीमा नविनतम् सोंच तथा मान्यताको विकास गर्न सहयोगी हुन सक्दछ । युवाहरुको राजनीतिमा प्रवेश,उनीहरुको नेतृत्व विकास र सहभागितासंगै शासन शैलीमा नविनतम् सोंचको विकास हुने देखिन्छ । लोकतान्त्रिक संघीय गणतान्त्रिक शामसन व्यवस्थालाई पुनरावलोकन गर्ने आधार तयार हुने देखिन्छ । यो संगै संविधानलाई समयानुकुल संशोधन र परिमार्जन गर्दै जेन्जी आन्दोलनको क्रममा उठाइएका शासकीय स्वरुप,सुशासन,पारदर्शिता र जवावदेहि शासन प्रणालीको विकास गर्न यो आन्दोलन सहायक हुने देखिन्छ । संसदीय व्यवस्थाका दुस्कृतिहरुलाई हटाउन, राज्यको सेवा प्रवाहमा देखिएका ढिलासुस्ती ,अनियमिततालाई हटाउन,प्रविधिमैत्री शासन व्यवस्था स्थापना गर्न पनि यो आन्दोलन⁄विद्रोह सहयोगी हुने देखिन्छ ।
.










कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top