छोरी जातको बुहारी बन्न अत्यान्तै कठिन छ । छोरी जातलाई बुझ्नेले बुझ्छन् नबुझ्नेले छोरी जातलाई दासी समान मान्छन् त्यो चाहे पराई घरमा होस् अथबा माइती घरमा ! जुन ठाउँमा, जुन घरमा, जुन आमाबाबुमा, जुन लोग्नेमा, जुन सासू ससुरामा र नन्द, आमाजू, जेठाजु, देवर, जेठानी, देउरानीले पढे लेखेका छैनन् र चेतना विहिन छन् त्यस्तो घरमा घर धानेर खान जीवन गुजार्न बुहारीलाई अत्यान्तै कठिन हुन्छ । त्यसमध्य जेठाजु, देवर, जेठानी, देउरानी, नन्द, आमाजू क्षणिकको लागि हुन् उनीहरु छुट्टिएर जान सक्छन् । नन्द, आमाजूको विहा भएर अन्त घरमा जान सक्छन् । उनीहरुसंग दुईचार कुरा भनासुन भएपनि खासै फरक पर्दैन किनभने उनीहरुसंग जीवन जाने होइन ।
तर, एउटा समस्या छ बुढाबुढी सासू, ससुराको ! उनीहरु बुढाबुढी भएभने न त काम गर्न सक्छन् न त आफ्नो पुराना ढर्रा छोड्न सक्छन् । मानिसहरु कहाँबाट कहाँ पुगिसकेका हुन्छन् । पुरानै पाराका अधिभूतवादी चिन्तन् लिएर छोराबुहारीमाथि पुराना कुराहरु लाड्न थाल्छन् । आजको भोली परिवर्तन हुने जमानामा के को पच्चीस, तीसबर्ष पहिलेका कुरा गरेर व्यावहार लाडेर पनि हुन्छ त ? गाउँ समाजमा मानिसहरु नजाने पनि जानेजस्तो गरेर धेरै बोलिराखेका हुन्छन् । नबोल भनेको होइन, चाहिने कुरा मात्र गर ! नचाहिने कुरा नगर ! धेरै बोल्नाले कुरा खस्छ । खसेको कुरा टिप्न पाइदैन । हाम्रा जिनाघाटुले त्यसै भनेका होलान् त ! “मकैको गेडा खसे टिप्न पाइन्छ , कुरा खसे टिप्न पाइदैन ।”
सबैभन्दा ठूलो समस्या बुहारीको लागि श्रीमान राम्रो छ वा छैन, त्यसमाथि भर पर्छ । श्रीमानले जाँड, रक्सी खान्छ कि खादैन् ! जुवातास खेल्छ कि खेल्दैन् ! तरुनी खोच्छ कि खोज्दैन् ! आमाबाबु र श्रीमती प्रति कति दयाँभाव राख्छ ! उमेर पुगिसकेको छ भने आमाबाबु जहान परिबार छोराछोरीप्रति कति कर्तव्यपरायण छ ! गाउँ समाजमा भएको विहा तथा पूजापाठ, सैसभा, मर्दोपर्दोमा जान्छ जादिन वा सहयोग गर्छ गर्दैन, कति कर्तव्य निभाउन सक्छ ! आमाबाबुले कमाएको इष्टमित्र अब मेरै हो भनेर धान्न सक्छ कि सक्दैन ! गाउँ समाजमा कति इमान्दार छ ! कति पढे लेखेको छ ! कति चेतनाले अभिप्रेरित छ ! बुहारी हुनुभन्दा पहिले छोरी जातिले यही कुरो सोचेर बुझेर बिहा गर्नु राम्रो हुन्छ । भावनामा बगेर जवानी धान्न नसकेर हत्त न पत्त विवाहमा अनुबन्धन् भएमा त्यो दोष आमाबाबु, दाजु, भाउजुलाई अर्थात जिम्मेवारी अभिभाबकलाइ होइन त्यो दोष आपैmलाई हुन्छ ।
हुन त जमानालाई दोष दिने होइन, राज्यसत्तामा बस्ने राज्य प्रमुखहरुलाई दोष दिने जमाना आएको छ । किनभने उनीहरुले बनाएको नीति नियम नै त्यस्तै किसिमले बनाएका छन् । बुढाबुढीलाई सामाजिक भत्ता दिने, युवायुवतीलाई बाह्र कक्षा पास गराए विदेश लखेट्ने, अपाङ्गलाई अपाङ्ग भत्ता दिने ताकि अपाङ्गले केही काम गर्न सक्दैनन् । बुद्धी र बल भएका सबै युवालाई विदेश पठाउने र उनीहरुले पठाएको रेमिन्टान्समा भ्रष्टाचार गर्ने जस्ता क्रियाकलापहरु गर्दै आइराखेका छन् भने गरिराखेका छन् । यो त केवल देशमा भइराखेको केही प्रतिनीधि पात्र मात्र हुन् । छोरी जाति जब बुहारी बनेर अर्काको घरमा गई भने त्यस घरमा लोग्नेबाहेक उसको को हुन्छ र ! किनभने जीवन गुजार्ने नै उसैसंग हो । उसैले नै हेला गर्ने, कुट्ने, पिट्ने, सौता खपाई दिने, दिनरात जाँड रक्सी खाने, जुवातास खेल्ने, साँझ आएर राम्रोसंग खान बस्न नदिए अब पराईको घरमा बुहारीको के नै पो हुन्छ र !
यसै कारणले गर्दा त चेली छोरीहरु, बुहारीहरुले रुदै गाउँदा रहेछन् “हे आमा म छोरी हैन र ! दाइलाई अंश मलाई केही छैन र ! दाइ तिमी अंशको धनी, म बहिनी धुरीका बलेनी !” अझै अघि बढेर रुँदै भन्छिन् “आर्जन गर्ने दाजुले भर्जन गर्ने भाउजूले, राखराख मेरी भाउजू तिम्रै सम्पत्ति ।” यो धर्तीमा मानब भएर जन्मेपछि दुबै पाटो हेर्नपर्छ भन्छन्–अध्यारो र उज्यालो पाटो । यहाँ बुहारी जातिले मात्र दुःख पाउदैन छोरा जातिले पनि दुःख पाउँछ । बुहारी जाति र छोरा जातिको कारणले गर्दा दुबैमध्य एकले ज्यादै दुःख पाउँछन् । त्यो कुरो छोरा जातिले पनि बुहारी जातिले पनि खुब ख्याल गरेर बुझ्न पर्छ । हाम्रा बुढापाकाहरुले कहानि हाल्ने गर्छन–“पानी खानु मूलको, चेली ल्याउँनु कुलको ।” “छोराले निहुराएको बुहारी, छोरीले निहुराएको ज्वाँइ ।”
यहाँ छोरा जातिले पाएको दुःखको कथा शुरु हुन्छ । यो कथा सर्बसाधारण मान्छेको होइन, हालको विश्व व्यवस्थाको जिम्मा लिएको अमेरिकाको सोह्रौ राष्ट्रपति अब्राहम लिंकनको हो ! जसले जीवनमा सुख भन्ने कुरा देखेनन् । अब्राहम लिंकन ९ बर्षको हुँदा उनलाई जन्म दिने आमा नेन्सीको मृत्यु भयो । उनले बाल्यकालमा पाउने आमाको न्यानो माया पाउन सकेनन् । अब्राहम लिंकनको बाबुको नाम थोम्स लिंकन थियो । उनी साह्रै गरीब थिए । वनमा गएर दाउरा चिरी बोकेर बजारमा ल्याएर बेचेर खान्थे । श्रीमतीको देहान्त भैसकेपछि नयाँ जीवन धान्न धौ–धौ भएर उनले साराह जोनस्टन नामको महिलासंग दोस्रो बिवाह गरे । दोस्रो बिवाह गरिसकेपछि साराह जोनस्टन ‘साराह लिंकन’मा परिणत भइन् । अब्राहम लिंकनको बाल्यकालको नाम एबि थियो । एबि आफ्ना साथीभाइसंग बाहिर खेल्न जान्थे । उनका साथीभाइले आमा भनेको सुन्दा उनलाई आमाको सम्झना आउथ्यो, उनी आमालाई सम्झेर एक्लै बसेर कति रोए कति !
साराह लिंकन पढेलेखेकी सभ्य र सुसंस्कृत महिला थिइन् । आइमाई भनेर के गर्ने ! अरुको मनको भावना बुझ्ने, अरुको दुःखसुखमा साथदिने, मानवीय भावनाले भरिएको महिला थिइन् । शायदः एबिको जीवनमा साराह सौतेनी आमा भएर नआई दिएको भए अब्राहम लिंकन बर्तमान अवस्थामा सपनाको देश भनिने अमेरिकाको राष्ट्रपति पदमा पुग्ने थिएनन् । आफ्नो बाबुको गरिवीको कारण अब्राहम लिंकनको पढाई छुटिसकेको थियो । उनका बाबुले छोरालाई हातमा कापी र कलम दिएर स्कुल पठाउने बेलामा हातमा दाउरा काटने बन्चरो, कुममा नाम्लो बोकाएर आपूmसंग वनजंगलमा लैजान्थे । सकिनसकि दाउरा बोकेर आउथे, बजार बेच्न लैजान्थे । त्यही पैसाले साँँझको खाना किनेर ल्याउँथे अनि रात काट्थे । एकदिन साँझको कुरो हो, एबि बच्चाहरुसंग खेलेर घरमा आए, घरभित्र छिर्ने वित्तिकै पानी पिएर सिधै घरपछाडि गए । उनको सौतेनी आमाले उनको खोजगुहार गर्न थालिन् । उनले खोज्दै जाँदा एबि दुईवटा घँुडाको बीचमा टाउको छिराएर रोइरहेको पाइन् । एबिले आफ्नी आमा आएको पनि थाहा पाएनन् । छोराको यस्तो अवस्था देखेर उनी एबिको मनको गहिराइसम्म पुग्ने विचार गरिन् । साराह लिंकनले उनको छेउमा बसेर उनको टाउको माथि उठाउदै भनिन्–“छोरा एबि तिमी किन यहाँ एक्लै बसेर यसरी रोइरहेका छौं ? तिमी घरको जेठो छोरो हौँ । तिमी रोएको देखेर तिम्रो भाइ बहिनी पनि रुन थाल्ने छन् अनि तिमी के गर्नेछौँ ? “मलाई आमाको धेरै सम्झना आउँछ ! एबिले भने ।”
अनि साराह लिंकनले एबिलाई उठाएर काखमा राखिन् र छातीमा टास्दै भनिन् “आजदेखि म तिम्री आमा हुँ र सौतेनी आमा नसोच्नु ! मबाट सौतेनी आमाको व्यवहार हुँदैन । तिमीले आफ्नो मनको कुरा सबै नलुकाएर भन्नेछौँ । “म बाचा गर्छु , तिम्रो दुःखपीर म आपैm पिउनेछु । तिमीलाई अलिकति पनि दुःख दिने छैन ।” सौतेनी आमाको, आफ्नी आमाको जस्तै बचन सुनेर एबि भावुक भए, आमाको छातीमा टासिएर धेरैबेरसम्म रोइरहे ।” त्यस दिनदेखि आफ्ना सौतेनी आमाको सबैभन्दा प्यारो छोरो भएर बसे । आफ्नो प्रेम र आफ्नो असीम ममताले सौतेनी आमाले एबिको मन जितिन् । उनले आफ्नी आमालाई विर्सन थाले र सौतेनी आमालाई पूर्ण रुपमा आमा स्वीकारे ।” साराह लिंकनले सबैभन्दा पहिले अब्राहम लिंकनलाई स्कुल पढाउनमा जोड दिइन् । यसबेलासम्म अब्राहम लिंकनले सातवटा स्कुल बदलिसकेका थिए । अब्राहम लिंकनको जीवनमा उनको सौतेनी आमा आइन् । लिंकनलाई पढाइन् लेखाइन् ठूलो बनाइन् अन्तमा अमेरिकाको राष्ट्रपति बनाइन् । सौतेनी आमा पनि आमा नै हुन् भन्ने इतिहास कोरेर गइन् । सबै पुरुष जातिलाई साराह लिंकनजस्ति सौतेनी आमा मिलोस् यही कामना !!
कमेन्ट गर्नुहोस !