
काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बस्तीहरूमा सुरक्षाकर्मीले खोज तथा उद्धार गरिरहेका छन् ।
तीनवटा सुरक्षा निकायले दुई दिनमा रसुवा र नुवाकोटबाट ९३७ जनालाई उद्धार गरेका छन् । उद्धारमा सेना, प्रहरी र सशस्त्रले आफ्नो जनशक्ति परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका ९३७ जनालाई दुई दिनमा उद्धार गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले रातोपाटीलाई बताए ।
सेनाले बिहीबार सवैभन्दा बढी प्रभावित क्षेत्र रसुवाको टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ इलाकाबाट ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ । आज २ सय जनाको जमिनी उद्धार गरिएको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए ।
उद्धार गरिएका घाइतेहरुको उपचारका लागि सेनाले त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरेको छ । सो उपचार केन्द्रमा ३३८ जनालाई उपचार गरिएको सहायकरथी बस्नेतले जानकारी दिए । उनका अनुसार खोज तथा उद्धारमा सहजता प्रदान गर्न ड्रोन र तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ ।
खोज तथा उद्धारमा ४ हजार २ सय सैनिक बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । धादिङस्थित पृथ्वी राजमार्गमा बाढीका कारण जम्मा भएको लेदो हटाउन पनि सेना खटिएको छ ।
कमेन्ट गर्नुहोस !