
सर्वप्रथम ‘हैन र हेय’ भन्ने भावनाबाट माथि उठौँ। ‘म त एउटा सानो मान्छे हुँ, मैले केही गर्न सक्दिनँ’ भन्ने दरिद्र मानसिकता त्यागौँ। आफूलाई कमजोर ठान्नुको सट्टा ‘म एक जिम्मेवार नागरिक हुँ’ भन्ने आत्मबोध गरौँ। आफ्ना नागरिक अधिकार सुरक्षित गर्दै आफ्नो कर्तव्य निर्वाह गर्ने संस्कार विकास गरौँ।
एक्काइसौँ शताब्दीको सभ्य समाजमा मालिक र नोकरको मानसिकता सुहाउँदैन। नागरिकका रूपमा सबै समान छन्। कर्मयोगको क्षेत्रमा सबै श्रमजीवीको सम्मान बराबर हुन्छ। न आफूभन्दा माथि कोही ठूलो, न आफूभन्दा तल कोही सानो। फरक केवल जिम्मेवारी र भूमिकाको हो।
तर समानताको अर्थ अनुशासनहीनता भने होइन। संस्थागत विकासका लागि अनुशासन अपरिहार्य हुन्छ। आफूले सम्हालेको पेशागत जिम्मेवारीलाई मर्यादित र इमानदार ढङ्गले पूरा गर्नु हरेक व्यक्तिको दायित्व हो। सार्वजनिक स्थलमा हामी सबै नागरिक हौँ, तर कार्यस्थलमा आफ्नो पेशागत मर्यादा र जिम्मेवारीभित्र रहनुपर्छ।
इज्जत मागेर पाइँदैन, व्यवहारबाट कमाउनुपर्छ। अरूले आफूलाई सम्मान गरून् भन्ने चाहना राख्नुअघि आफूले आफूलाई सम्मान गर्न सिक्नुपर्छ। व्यक्तिगत सरसफाइ र प्रस्तुतिले पनि व्यक्तित्व निर्माणमा ठूलो भूमिका खेल्छ। मुख धुन पानी किन्नुपर्दैन। कपाल कोर्न महँगो काइयो चाहिँदैन। सामान्य टुथपेस्टले लामो समय दाँत सफा राख्न सकिन्छ। सफा कपडा, स्वच्छ शरीर, व्यवस्थित कपाल र सभ्य व्यवहारका लागि ठूलो धनराशि आवश्यक पर्दैन। सफा र सुसंस्कृत प्रस्तुतिले व्यक्तित्वमा आत्मविश्वास थप्छ।
सभ्य समाज निर्माण गर्न धन हुनेले मन खोल्नुपर्छ, बुद्धिजीवीले विवेक प्रयोग गर्नुपर्छ र शक्ति तथा प्रभावमा रहेका राजनीतिक नेता–कार्यकर्ताले ‘सिस्टम’ र विधिको सम्मान गर्न सिक्नुपर्छ। ‘मैले जे देखेँ, त्यही ठीक’, ‘मैले जे सोचेँ, त्यही जायज’ र ‘मेरो दृष्टिकोणबाट जे देखिन्छ, त्यही नै सत्य’ भन्ने मानसिकताबाट समाज अघि बढ्न सक्दैन।
कुनै विषयमा धारणा बनाउँदा आफ्नो आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न सक्नुपर्छ। यही नागरिक चेतनाको महत्वपूर्ण पक्ष हो। कसैको आलोचना गर्नुअघि एकपटक उसको दृष्टिकोणबाट पनि विषयलाई हेर्ने प्रयास गरौँ। अर्को पक्षको दृष्टिकोणबाट हेर्दा पनि गल्ती स्पष्ट देखिन्छ भने मात्र आलोचना गरौँ। सुनेको भरमा, हल्लाको पछि लागेर वा विषयको गहिराइमा नपुगी गुनासो, आरोप र आलोचना गर्ने प्रवृत्तिले समाजलाई सकारात्मक दिशातर्फ लैजाँदैन।
हतार सबैलाई हुन्छ। तर हतारको समाधान धाक, रवाफ वा पालो मिच्नु होइन। आफ्नो पालो पर्खन सक्नु सभ्य नागरिकको परिचय हो। सार्वजनिक ठाउँमा आफ्नो सुविधा मात्र खोजेर अरूको अधिकार खोस्नु सचेत नागरिकको व्यवहार हुन सक्दैन।
हामीले आजैदेखि अरूको प्रशंसा गर्ने संस्कार विकास गरौँ। कसैले राम्रो काम गरेको छ भने खुलेर राम्रो भनौँ। कसैको सफलताबाट ईर्ष्या गर्ने होइन, प्रेरणा लिने बानी बसालौँ। प्रशंसाले सकारात्मक ऊर्जा दिन्छ। गालीले गाली निम्त्याउँछ भने तालीले ताली निम्त्याउँछ। ईर्ष्या र जलनले अरूलाई भन्दा पहिले आफूलाई नै दुःखी बनाउँछ।
कसैले मेहनत गरेर दुई पैसा कमाएको छ भने उसको सफलतालाई शङ्काको दृष्टिले हेर्नुभन्दा त्यसबाट प्रेरणा लिएर आफूले पनि केही गर्ने जाँगर विकास गर्नु राम्रो नागरिकको परिचय हो। काम गर्नेलाई काम गर्न नदिने प्रवृत्तिको अन्तिम पीडा समाजले नै भोग्नुपर्छ। त्यसैले राम्रो काम गर्नेलाई राम्रो भन्नु र मेहनत गर्नेलाई स्याबासी दिनु हरेक नागरिकको कर्तव्य हो।
हामी प्रायः राज्यलाई गाली गरेर मात्र सबै समस्या समाधान हुन्छ भन्ने ठान्छौँ। तर राज्य केवल सरकार होइन। नागरिक, कर्मचारी, शिक्षक, प्रहरी, प्रशासन, व्यवसायी, पत्रकार, स्वास्थ्यकर्मी, राजनीतिकर्मी—सबै राज्यका महत्वपूर्ण अङ्ग हुन्। त्यसैले जिम्मेवारी पूरा गर्ने सवालमा हरेक व्यक्तिले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ।
एउटा पसलेले उचित नाफा राखेर गुणस्तरीय वस्तु बिक्री गरिदिए मात्र पनि समाजमा ठूलो योगदान हुन्छ। व्यापारीले ग्राहकलाई नठगे मात्र पनि नागरिक कर्तव्य पूरा हुन्छ। सार्वजनिक स्थलमा अनियमित क्रियाकलाप नगरे मात्र पनि समाज व्यवस्थित बन्छ। एउटा छिमेकीले अर्को छिमेकीको पीरमर्का अलिकति बुझिदिए मात्र पनि सामाजिक सम्बन्ध बलियो हुन्छ।
शिक्षकले अनावश्यक राजनीतिक आग्रह–पूर्वाग्रहबाट टाढा रही विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिए मात्र पनि समाजको भविष्य बलियो हुन्छ। उम्मेदवारले निर्वाचनपछि भित्तामा टाँसिएका प्रचार सामग्री हटाइदिए मात्र पनि सार्वजनिक स्थानप्रतिको जिम्मेवारी पूरा हुन्छ। सरकारी कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरे मात्र पनि सेवाग्राहीले राहत पाउँछन्। पत्रकारले आफ्नो अन्तरात्मा र व्यावसायिक आचारसंहिताअनुसार सत्य र तथ्य लेखे मात्र पनि समाजले सही सूचना पाउँछ।
मन्त्रीले गर्नुपर्ने निर्णय विधि र नियमअनुसार गरे मात्र पनि शासनप्रति विश्वास बढ्छ। चिकित्सक र नर्सले खटाइएको ठाउँमा इमानदारीपूर्वक सेवा दिए मात्र पनि नागरिकको जीवनमा ठूलो अर्थ राख्छ। प्रहरीले कानुन मान्ने नागरिकलाई अनावश्यक दुःख नदिई कानुन उल्लङ्घन गर्नेलाई निष्पक्ष रूपमा कानुनी प्रक्रियामा ल्याए मात्र पनि राज्यप्रतिको विश्वास बलियो हुन्छ। राजनीतिक नेतृत्वले अपराध र गलत प्रवृत्तिलाई संरक्षण नदिए मात्र पनि विधिको शासन बलियो हुन्छ।
यी सबै काम असाधारण होइनन्। यी त आ–आफ्नो ठाउँमा निर्वाह गर्नुपर्ने सामान्य नागरिक कर्तव्य हुन्। जब प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न थाल्छ, समाज स्वतः व्यवस्थित हुँदै जान्छ। त्यसपछि जीवन पनि सहज र सलल बग्न थाल्छ।
हामी विदेश जाँदा त्यहाँका चालक, वेटर, सफाइकर्मी, सुरक्षा कर्मचारी वा अन्य श्रमजीवीलाई सम्मानपूर्वक व्यवहार गर्छौँ। उनीहरूको श्रमलाई सम्मान गर्छौँ। तर प्रश्न उठ्छ—के त्यही सम्मान हामी आफ्नै नेपाली श्रमजीवीलाई दिन सक्छौँरु
सभ्य समाजको पहिचान भवनको उचाइ, धनसम्पत्ति वा आधुनिक प्रविधिले मात्र
क्गअजबलब
हुँदैन। सभ्य समाजको वास्तविक पहिचान नागरिकको व्यवहार, श्रमप्रतिको सम्मान, कानुनप्रतिको निष्ठा, अरूको अधिकारप्रतिको संवेदनशीलता र आफ्नो कर्तव्यप्रतिको इमानदारीबाट हुन्छ।
त्यसैले परिवर्तन अरूबाट खोज्नुअघि आफैँबाट सुरु गरौँ।
अधिकार मागौँ, तर कर्तव्य पनि पूरा गरौँ।
आफ्नो सम्मान खोजौँ, तर अरूलाई पनि सम्मान गरौँ।
आलोचना गरौँ, तर तथ्य बुझेर गरौँ।
सफलतामा ईर्ष्या होइन, प्रेरणा खोजौँ।
र सबैभन्दा महत्वपूर्ण कुरा—‘म के पाउँछुरु’ भन्दा पहिले ‘मैले समाजका लागि के गरेँरु’ भनेर सोच्ने संस्कार विकास गरौँ।
यही सोच, यही व्यवहार र यही नागरिक चेतनाले मात्र हामीलाई साँच्चिकै सभ्य, जिम्मेवार र बस्न योग्य समाजतर्फ लैजान सक्छ।
कमेन्ट गर्नुहोस !