शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

कृषकको हकहित एवं उत्पादकत्व बृद्धि गर्ने हाम्रो प्रमुख लक्ष्य हो ।


धेरैलाई थाहा नहुन सक्दछ प्यूठानमा केहि महिना देखि कृषि ,पशुपालन लगायतका क्षेत्रहरुमा विशेष ढंगले काम गर्ने गरी कृषि तथा पशुपंक्षि विकास कार्यालय सञ्चालनमा आएको छ । पहिले देखि नै अधिकांश जनता कृषि तथा पुशपालन व्यवसायमा आत्मनिर्भर रहेको प्यूठानमा अझ अहिलेको कोभिड १९ को कारण जनताले कृषि तथा पशुपालनलाई प्राथमिकताको रुपमा व्यवसायको रुपमा अंगाल्नुको विकल्पै छैन । यस्तो परिवेशमा कृषि तथा पशुपालन व्यवसाय अंगालेका कृषक वर्गहरुलाई लक्षित गरी उनिहरुको उत्थानको निम्ती काम गर्न कृषि तथा पशुपंक्षि विकास कार्यालय सञ्चालनमा आउनुलाई आम चासोको रुपमा लिइएको छ । कार्यालयले के कस्ता गतिविधी अघि बढाउँदछ तथा प्यूठानी कृषकको आर्थिक उन्नयनमा कार्यालयले अघि सारेका प्राथमिकताहरु लगायतका विषयमा हामीले कार्यालयका प्रमुख उत्तम आचार्य संग कुराकानी गरेका थियौ ः प्रस्तुत छ हाम्रो एकताकर्मी सुशील पोख्रेलले कार्यालय प्रमुख आचार्य संग गर्नु भएको कुराकानीको सार संक्षेप ः
प्युठान जिल्लामा पहिलो पटक कृषि तथा पशुपंक्षि विकास कार्यालय संचालनमा आएको छ यस कार्यालयको प्रमुख कार्यक्षेत्रहरु के के होलान ?
यहांको जिज्ञासाको लागि धन्यवाद । यस जिल्लामा मात्र नभएर समग्र ५ नं प्रदेशको ३ वटा जिल्ला, जसमा कृषि र पशु सेवा हेर्ने कुनै निकाय नभएको तर प्रचुर सम्भावना वोकेका जिल्लाहरुमा कृषि तथा पशु सेवाको क्षेत्रमा समग्र विकास र समृद्धिको निमित्त यस कार्यालयको स्थापना भएको हो ।
कृषि ज्ञान केन्द्रलाई किन रुपान्तरित गरियो? यसबारे बताईदिनुहुन्छ कि?
झट्ट हेर्दा र सुन्दा कृषि ज्ञान केन्द्रलाई रुपान्तरण गरेर नयां नाम दिए जस्तो लाग्दछ तर यो कृषि तथा पशु सेवाको समस्टिगत रुप हो । वास्तवमा यस्तो प्रयास विगत लगभग २०५०, ५२ साल तिर पनि तत्कालिन सरकारले गरेको थियो र हाल आएर ५ नं प्रदेशमा पनि यस किसिमका कार्यालय खुलेका छन् र यसको अर्थ यो होईन कि आगामि दिनमा यसरी समस्टिगत रुपमा सेवा दिने भन्ने तर जनशक्ति र सेवा दुवैलाई औंल्याएर ५ नं प्रदेश सरकारले कम्तिमा सेवावाट बञ्चित कृषकहरुलाई यस सेवा बाट लाभान्वित गर्न खोजेको प्रयास मात्र हो । वास्तवमा भन्नु पर्दा थोरै जनशक्तिवाट अधिकतम सेवा दिने प्रयास प्रदेश सरकारले गरेको हो । जस्तै कर्णाली प्रदेशमा त सवै जिल्लाहरुमा नै कृषि र पशु सेवाका कार्यालयहरु खुलिसकेका छन। ढिलोचांडो यस प्रदेशमा पनि त्यस किसिमका कार्यालयहरु खुल्ने आशा गर्न सकिन्छ । नेपालजस्तो बहुभौगोलिक क्षेत्र भएको ठाउंहरुमा त एक जिल्ला र अर्को जिल्लालाई समेटेर सेवा प्रवाह गर्न निकै नै कठिन हुन्छ त्यस माथि कृषि र पशु सेवाका कामहरु ।
यस कार्यालयले निर्धारण गरेका लक्षित वर्ग तथा प्राथमिकता केके हुन ?
सबैजसो कृषकहरु जसले कृषिलाई या त आफ्नो जिबिकोपार्जनको वाटो रोजेका छन या त त्यसको सहयात्री या फेरी सौखको लागि नै किन नहोस ती सवै नै हाम्रो लक्षित वर्ग हुन । अझ भनौं कृषि पेशा अंगाल्ने या केहि समय व्यतित गर्ने सवै हाम्रो नजरमा कृषक हुन र ती सवैको हकहित एवं उत्पादकत्व बृध्दि गर्ने हाम्रो लक्ष्य हो ।
अझ कोभिडको कारणले रोजगारी गुमाएका तथा स्वदेश फर्किएका हाम्रा दाजुभाई दीदिवहिनीहरु यस कृषि पेशामा आकर्षण बढाउनु पर्ने छ । र हाम्रो मूख्य उद्देश्य भनेकै जिल्लालाई परनिर्भरताबाट आत्मनिर्भरताको वाटो तर्फ लम्काउने नै हो । विगतमा हामीले एक किसानलाई व्यवसायिक बनाउन बढि समय व्यतित गर्यौं तर यस बर्ष देखि ती कार्यक्रमहरुको मोडालिटि फेरिएको छ र हामी अबका कार्यक्रमहरुमा गाउं या क्लष्टर या समुह, सहकारीलाई लक्षित गरि कार्यक्रमहरु संचालन गर्नेछौं। यसरि कार्यक्रमहरु संचालन गर्दा सिंगो गाऊं नै विकास हुन्छ र संगसंगै हामी उत्पादन, संरक्षण, सुरक्षित भण्डारण र बजारिकरण अझ भनौं राष्ट्रिय ग्रिडमा यहांका उत्पादनहरुलाई जोड्ने प्रयास गर्नेछौं ।
कार्यालय संचालन भईरहेको छ तर आम प्यूठानबासिहरुलाई जानकारि नभएको अवस्था छ यसले लक्षित वर्गको लाभान्वित हुने पक्षमा केहि समस्या रहेको देखिन्छ नि?
वास्तवमै हामी स्थापनाको समयमा देशभरि नै कोरोनाको महामारी चलिरहेको थियो र हाल पनि समस्या नै छ अझ भनौं निषेधाज्ञाको अवस्था छ जसले गर्दा आम मानिसलाई यस कार्यालयको स्थापना बारे जानकारि नभएको पनि हुनसक्छ तर हामी अवस्था समान्य हुनासाथ त्यस कुरालाई कम गर्नका लागि प्रचार प्रसार र कार्यक्रमहरु गर्ने नै छौं । तथापि हामिले जिल्ला स्थित मुख्य कार्यालयहरु एवं स्थानीय तहहरुलाई भने भर्चुअल माध्यमवाट होस या भेटघाट गरेर नै किन नहोस जानकारी गराएका छौं । अबका केहि दिनहरुमा हामिले स्थानीय संचार माध्यम एवं पत्रपत्रिकाहरुको माध्यमवाट अझ सुसुचित गर्ने कार्यक्रम बनाएका छौं ।यसमा यहांहरुको सक्रिय भुमिकाको अपेक्षा राख्दछौं ।
त्यसैगरि हामीले स्थानीय तहहरुमा भएका कृषि तथा भेटेरिनरि प्राविधिकहरुसंग अन्तरक्रिया गरि जिल्लामा रहेका पकेट क्षेत्रहरु पहिचान गरि कार्यक्रम संचालन हुनेछन जसले गर्दा हामी छिट्टै लक्षित वर्गसमक्ष पुग्ने छौं ।
कार्यसंचालन प्रक्रियामा प्यूठानमा देखिएका प्रमुख समस्या तथा चुनौतिहरु के के पाउनु भएको छ ?
हेर्नोस, हामी कार्यालय स्थापनाको सुरुवाती चरणमा नै छौं तसर्थ सम्पुर्ण समस्याहरु पहिल्याईसकेको अवस्था चांहि छैन तथापि हालको कोभिडको कारणले हामीले समस्या खेपिरहेका छौं । आशा गरौं आगामि दिनहरु सहज हुनेछन ।
यस कार्यालयले निर्धारण गरेका लक्ष्य तथा उध्देश्य सफल पार्न सरोकारवालहरुको के कस्ता सहयोगको अपेक्षा गर्नुभएको छ ?
तपाईं हामी सबैले बुझेको कुरा के हो भने सम्पुर्ण सरोकारवाला निकायहरुको साथ र सहयोग वाट नै कार्यक्रमहरु सफल हुने हो। एउटा निकाय मात्र सक्रिय भएर मात्र हुने पनि होईन तसर्थ सम्पुर्ण निकायहरुको सृजनात्मक सहयोगको हामि अपेक्षा राख्दछौं ।हाम्रा हरेक कार्यक्रमहरु समुदायमा नै सञ्चालित हुन्छन र ती कार्यक्रमहरुको दायित्व बहन पनि समुदायले नै गर्नुपर्छ भन्ने हामिलाई लाग्दछ जबसम्म कार्यक्रम हाम्रा लागि आएको हो र हामिले सफल बनाउदैनौ हाम्रो समुदाय माथि उठ्न सक्दैन भन्ने भाव समुदायस्तरमा आउंदैन कार्यक्रमको दिगोपना रहदैन । हाम्रा कार्यक्रमहरुपनि समुदायको आवश्यकतामा लक्षित भएकाले हामि सरोकारवालहरुको मन जितेर अंगाडि बढ्न सक्छौं जस्तो लाग्दछ ।
अन्तमा थप कुरा केहि छन कि ?
प्यूठान जिल्ला मध्यपहाडि भुगोल भएको र बहुसम्भावना भएको जिल्ला हो । हामी कृषि र पशु सेवालाई समस्टिगत रुपमा विकास गर्न यहांहरु समक्ष आएका छौं। विगत २ बर्ष देखि यहांकार्यालय विहिन हुंदा यहांका कृषकहरुले भोग्न ुपरेका समस्याहरु हामी राम्ररि बुझेका छौं त्यसैले आगामि दिनहरुमा जुझारु ढंगले हामी अंगाडि बढ्ने अठोट लिएका छौं । यसमा यहांहरु लगायत सम्पुर्ण सरोकारवाला निकायहरुको सक्रिय रचनात्मक सहयोगको हामी अपेक्षा गर्दछौं ।

कृषकको हकहित एवं उत्पादकत्व बृद्धि गर्ने हाम्रो प्रमुख लक्ष्य हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top