
काठमाडौँ, भदौ २३ – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र देशभर मौलाइरहेको भ्रष्टाचारविरुद्ध सोमबार राजधानीमा जेन–जी पुस्ताका युवाहरूले ठूलो प्रदर्शन गरेका छन्।
माइतीघर मण्डलाबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरसम्म पुगेको छ। सहभागी युवाहरूले ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लगायतका नारा लेखिएका ब्यानर बोकेर शान्तिपूर्ण तर प्रभावकारी ढंगले प्रदर्शन गरेका थिए।
‘जागौँ नेपाल अभियान’ नामक समूहले गरेको प्रदर्शनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थियो। आयोजकहरूले यो आन्दोलन कुनै पनि दल–विशेषसँग सम्बन्धित नभई स्वतन्त्र नागरिकको आवाज भएको बताएका छन्।
केवल काठमाडौँमै नभई दाङलगायतका जिल्लामा समेत आजै युवाहरूले समान खालको प्रदर्शन गरेका छन्। उनीहरूले भ्रष्टाचार अन्त्य गर्न र अभिव्यक्ति स्वतन्त्रता सुरक्षित गर्न सरकारलाई तत्काल कदम चाल्न चेतावनी दिएका छन्।सरकारको निर्णयसँग असन्तुष्ट युवा पुस्ताको सडक प्रदर्शनले राजनीतिक वृत्त र सरोकारवालाको ध्यान तानेको छ। आन्दोलन शान्तिपूर्ण भए पनि यसको प्रभाव सरकारको नीति तथा आगामी राजनीतिक घटनाक्रममा पर्ने सम्भावना विश्लेषकहरूले गरेका छन्।
कमेन्ट गर्नुहोस !