
तीज पर्व महिलाहरुको लागि विशेष दिन हो । तीजको पौराणिक पक्षलाई नियाल्दा सनातन धर्म परम्परा अनुसार महिलाहरुले शौभाग्य, समृद्धि प्राप्तिको लागि मनाउने पर्वका रुपमा मनाआएको पाइन्छ । हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उन्पन्न नहोस् भनी व्रत गरेको र आफ्नो बाबा हिमालयले विष्णुसँग कन्यादान गरिदिने बचन दिएको उनलाई मन मरेको थिएन । त्यसैले उनी आफूले मन पराएको पुरुष प्राप्त गर्न जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन र पर्वतीले तपस्या गरेको एससया वर्ष पुरा भइसक्दा पनि आपूmले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले बालुवाको शिवलिङ्ग बनाइ पानी पनि नपिइकन निराहार व्रत गरेको इतिहास पाइन्छ । यस्तो कठोर तपस्या गरेको देखेर शिवजी प्रकट भइ चिताएको कुरा पुराहोस भनी आशीर्वाद दिएको किम्बदन्ती छ । पछि शिव–पार्वतीको विवाह हुन पुग्यो र त्यो दिन भाद्र शुक्ल त्रितियाको दिन परेको थियो ।
पौराणिक पृष्ठभूमि अनुसार एक आपसमा प्रेम गर्ने प्रेमील जोडीको मिलन भई विवाह बन्धनमा बाधिएको इतिहाससँग जोडिएको तीज पर्व परिष्कृत हुँदै महिला समानता र अधिकारका लागि लड्ने विशेष दिनको रुपमा विकसित हुँदै आएको छ । अहिलेको आधुनिक महिलावादी आँखाले हेर्दा पनि त्यो समयको महिला विद्रोहको स्वर सुक्ष्म रुपमा देखिन्छ । महिलाहरु आफ्ना अस्मिता र स्वतन्त्रताका लागि विद्रोह गर्थे र सफलता पनि पाउँथे भन्ने कथन छ । यति बेला पनि महिलाहरु विद्रोह र अधिकार लाई सुक्ष्म रुपले प्रकट गरेमो देखिन्छ । यसलाई एउटा सकारात्मक सन्देशको रुपमा लिनु पर्दछ । त्यति वेला गीतहरु पनि लोक परम्परा अनुसार गाइएको पाइन्छ । समय सन्दर्भ र युग अनुसार तीज पर्व विभिन्न स्वरुपमा गाउदै र मनाउदै आएका छन् ।
सदा झै यस वर्ष पनि सबैका घरघरमा रमाईलो गर्दै तीज भित्रिएको छ । आधुनिक तीज पौराणिक तथा धार्मिक पर्वका रुपमा सिमित नभएर महिला समानता, समान अधिकार र विद्रोहका रुपमा तीजका भाकामा प्रगतिशील गीतहरु गाउँ–घर, बजार–सहरमा बुलन्द भइरहेका छन् । यो सुखद समाचार र खुसीको सन्देश हो । किनकी हिजोका दिनहरुमा महिलाहरु अभाव, दुःख, पराइघरको बुहार्तन र समयमा माइत जान नपाउनुका कारणहरु खुलाई तीजलाई बेदना पोख्ने दिन बनाइन्थ्यो । पौराणिक कालमा हिमालयकी पुत्री पार्वतीले शिवलाई प्राप्त गर्न गरिएको व्रतसँग जोडिएको यो तीज पर्व समयको गतिसँग फरक रुपले प्रस्तुत गर्न पाउँदा आफूलाई खुसी लागेर आउँछ ।
अव महिलाहरुले वर्ष भरी भोगेको दुःख र बेदना भन्दा पनि सुखका स्वरहरु सुन्ने, संघर्ष र प्राप्तिलाई उत्सबका रुपमा तीजलाई विकास गर्नु पर्दछ । यसको लागि हामीहरु अझै धेरै संघर्ष गर्नु पर्ने देखिन्छ । यसका निम्ति चुप लागेर बस्न भने पाइदैन । किनकी विद्रोहका आक्रोस उकेल्दै मादल रन्काउनु पर्ने देखिन्छ । यो २१औ सताब्दिमा आउँदा पनि सधै उही–उस्तै तरिकाले माइती र घरका, सासु र बुहारीका, श्रीमान र श्रीमतीका, तीता र नमिठा दिक्कलाग्दा विभेद र पीडाका गीतहरु गाइरहदा हामीलाई इतिहासमा मात्र सिमित रहनु पर्ने हुन्छ । त्यसैले हामीले मनाइरहेको अहिलेका तीजमा महिलाका चमत्कार र साहसका कथा गाइनु पर्दछ । 
परम्परा, सँस्कृति र सस्कारलाई संरक्षण दिनु भनेको हिजोको समाजको यथास्थितिको निरन्तरता होइन बरु समाजमा रहेको अन्याय अत्याचार र महिला हिंसालाई अन्त्य गर्नका लागि गरिएका प्रयत्नहरु, उपलब्धिका घटनाहरु, संघर्षका कथाहरु जस्ता कार्यक्रमहरुलाई गीत बनाइनु पर्दछ । अनि मात्र तीज पर्वले सार्थकता पाउने छ । तीजमा मानवता नै नरहने गरी महिला माथि हुने गरेका अन्याय अत्याचार, हिंसा, बलत्कार र हत्या जस्ता घटनालाई गीत मार्फत दुनियाँको कान फुट्ने गरी थर्काउनु पर्दछ र महिला समानता ल्याउनु पर्दछ ।
तीजमा व्रत बस्नु पर्दछ भन्ने मान्यतालाई आधुनिक विज्ञान अनुसार राम्रो मानिन्छ । किनभने हामील्ो मान्दै आएको सनातन धर्म, परम्परा अनुसार तीजमा मात्र नभएर अन्य पर्व तथा कुनै तिथि विशेषमा पनि व्रत बस्तु पर्दछ भन्ने मान्यता छ । यसरी तुलना गर्ने हो भने अहिले त झन खानपिन ८–१६ घन्टाको (डाइटिङ) व्रत हुन्छ । चिकित्सा विज्ञान अनुसार कहिलेकाही निराहार बस्नु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । यहाँ अध्यात्म र भौतिकबादले खुबैसँग मेल खाएको छ । हाम्रा पुर्खाहरु निकै बैज्ञानिक थिए । किनकी आधुनिक विज्ञानले प्रमाणित गरेका अधिकतम तथ्यहरु हिजो हाम्रा पुर्खाका कार्यहरुसँग हुबहु मेल खाने गरेको पाइन्छ । मानब सभ्यताको विकास हुँदै जाँदा जीवन र जगतमा स्वभाविक रुपमा परिवर्तहरु हुँदै आएका छन् । यसलाई नकार्न मिल्दैन । हिजो महिलाहरुले आफ्नो श्रीमान र सृष्टिको कल्याणको लागि व्रत गरेको विशेष दिनहरु आज समयको अन्तरालसँग नयाँ–नयाँ विषय र अधिकारका गीतहरु गाउदै माइतीलाई होइन, राज्यसँग दिदी बहिनीहरु मिलेर अधिकार र विद्रोहका गीत मार्फत आक्रोश व्यक्त गरेका छन् ।
समयको क्रमसँगै महिलाहरुले पुरानै र तीजकै भाकामा तर नयाँ विषय र अधिकारका तीज गीत गाउन थालका छन् । तीज पर्वले अलि व्यापक आधुनिक हुँदै जाँदा महिलाहरु आफूले भोगेका पीडालाई माइती घरमा गएर दिदीबाहिनीका साथमा मात्र व्यक्त नगरेर राज्यसँग अधिकारका कुराहरु सुनाउदै गाईरहेकाछन् । हिजो दासतामा पिल्सिएका हामी महिलाहरु आज राज्यसँग फौठेजोरी खेल्ने भएका छौ । यो ठूलो परिवर्तन हो; यो परिवर्त सानोतिनो वलिदानीबाट प्राप्त भएको होईन । हिजो नालापानीको लडाइ देखि १० वर्षे सशस्त्र जनयुद्धमा महिलाहरुले त्याग र बलिदानी नगरेको भए सायद यो दिन अनुभव गर्न कल्पना मात्र हुने थियो । अहिले पनि महिलाले रोजेको र खोजेको अधिकार प्राप्त गर्न अझै केही संघर्ष गर्नु पर्ने देखिन्छ । यसकारण सम्पूर्ण महिला दिदी बहिनीहरु आफ्नो अधिकारका निम्ति मात्र होईन नेपालमा भएका दलाल, पुँजीवाद, हिंसा, अपहरण, बलत्कार र हत्या विरुद्ध तीजमा मात्र होइन अनवरत हाम्रा आवाज र संघर्ष एकरुपले बुलन्द गर्नु पर्दछ ।
दिदी बहिनीमा प्रतिष्पर्धा होइन,
हातेमालो गरेर तीज मनाआँै है ।
परम्पारा जोगाऔं, संरक्षण नि गरौ,
हातेमालो गरेर तीज मानाअै है ।
संघर्षलाई जोडौ, अधिकार खोजौ,
हातेमालो गरेर तीज मानाऔ है ।
अन्त्यमा, देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली महिला आमा, दिदीबहिनी,साथीसङ्गी तथा दाजु–भाइहरु, हजुरहरु जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्थिति अनुसार तीज पर्वलाई रमाइलो गरी मनाउनुहोस् भन्ने कामना सहित २०८२ यो हरितालिका तीजको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
कमेन्ट गर्नुहोस !