नारायण प्रसाद अधिकारी माओबादी केन्द्र प्यूठानको इन्चार्ज । गत जनयुद्धकालमा नेतृत्व गर्दा अजितसिंहका रुपमा चिनिने अधिकारी प्यूठानको राजनीतिक आन्दोलनका बिभिन्न घटनाक्रममा एक अबिचलित र निष्ठावान ब्यक्तित्व र नेतृत्वको रुपमा चिनिन्छन् । २०६४ सालको संबिधानसभा निर्वाचनमा प्यूठानको क्षेत्र नं १ बाट निर्वाचित भई संबिधानसभा सदस्यको अनुभव समेत लिएका अधिकारीले अहिले बिभिन्न जिम्मेवारीसंगसंगै पार्टीको केन्द्रिय सदस्य र जिल्ला इन्चार्जको भूमिकामा रहेर नेतृत्व गर्दैगर्दा अहिले माओबादी पार्टीले थालेको संगठन सुदृढीकरण र जनकेन्द्रित अभियानका सन्दर्भमा हाम्रो एकता साप्ताहिकका सम्पादक सुशील पोखरेलले केही धारणा लिनु भएको थियो । प्रस्तुत छ अन्र्तबार्ताका सम्पादीत अंशहरु ।
१– प्रमुख प्रतिपक्षी भूमिकामा रहेको माओवादी केन्द्र अहिले के गर्दैछ ?
– माओवादी केन्द्र अहिले देशव्यापी रुपमा संगठन निर्माणमा केन्द्रित छ । वडा र पालिका अधिवेशन सम्पन्न भईरहेका छन् र यो ६ महिनामा २ बटा अभियानमा केन्द्रित ही गतिबिधिहरु तेजोबोध रुपमा चलिरहेको छ । पहिलो अभियान हुलाकी राजमार्ग केन्द्रित छ भने दोस्रो अभियान मध्ये पहाडी लोकमार्ग केन्द्रित हुनेछ । अभूतपूर्व उत्साहका साथ माओवादी जनताको बीचमा छ र यसले माओबादी र जनताको बीचको सामिप्तालाई गहिरो रुपमा जोड्दै लगेको छ ।
२– संगठन निर्माण अभियानमा केन्द्रीत रहदै गर्दा अहिलेको देशको राजनैतिक अवस्था कस्तो देख्नु हुन्छ ?
– नेपालको राजनैतिक अवस्था तीव्रतम रुपमा ध्रुवीकृत भइरहेको छ । एकातिर देशलाई पछाडि धकेल्ने र अर्कोतिर देशलाई अग्रगमतिर लैजाने शक्तिहरु बीचको संघर्ष गर्नुपर्ने अवस्था परिस्थितिले सृजना गरेको छ । अहिले यतिबेला सत्तारुढ ने.क.पा एमाले र नेपाली कांग्रेस भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने,सार्वजनिक सम्पत्ती बेच्ने कानुन बनाउने,प्रेस र वाक स्वतन्त्रतामा अंकृश लगाउने,महिला,दलित,मधेसी, आदिको सविधान प्रदत्त अधिकार खोस्ने कार्यमा योजनाबद्ध रुपमा लागेका छन् भने अर्कोतिर नेकपा (माओवादी केन्द्र) भ्रष्टाचारका विरुद्ध,जनअधिकारका रक्षा तथा राष्टिय सम्पत्तीको संरक्षणको लागि लगातार जनदबाव सृजना गरि राखेको छ ।
३– अहिले देशको राजनीतिमा दुईतिहाईको संख्यामा रहेको प्रमुख दल काग्रेस र एमालेको सत्तामा सहकार्य अनि मैदानमा भने प्रतिस्पर्धा नै देखिन्छ । यो बेला सरकारको आयूको विषयमा धेरै प्रश्न पनि उठ्ने गरेको छ । तपाई एउटा राजनैतिक विश्लेषक समेत भएकोले अब यो सरकारको आयूको दृष्टिले हुने सम्भावित राजनैतिक चित्र कस्तो देख्नु हुन्छ ?
– अहिलेको सरकार भित्र धमिराले खाएको बाहिरबाट अजंगको देखिने सुकेको बुढो रुख जस्तै हो । संख्यामा २ तिहाई जस्तो भएकाले बाहिरबाट ठूलो भएता पनि भित्रवाट इतिहासकै सवभन्दा कमजोर र सवभन्दा बदनाम सरकार हो यो । बुढो रुखलाई आफना हाँगाविंगँ भारी भए जस्तै यसलाई आफनै सिट संख्या भारी भएको छ र त्यसैले थिची राखेको छ । बहुदलीय राजनैतिक प्रतिस्पर्धाको इतिहासमा यो अप्राकृतिक,असंस्कृतिक र अवैधानिक सरकार हो । यो खालको सरकार संसार भरी खोज्नु भयो भने कहिकत्तै पाउन गारो छ । यो सानो धक्का दिने हो भने जतिवेला पनि ढल्छ । यद्यपी प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) यो सरकारको यो खेलमा छैन । यो २०८४ सम्म जनताको विचमा गएर आफनै तागतमा सुदृढ सरकार बनाएर राष्ट्रको समस्या समाधान गर्ने पक्षमा छ । बाहिरबाट वा आन्तरिक रुपले भित्रबाट सानो धक्का दिने वित्तिकै जतिवेला पनि ढल्छ यो सरकार ।
४– माओवादी नेतृत्व अस्थिर र ढुलमुले भएको कारणले पनि सत्तामा यो समिकरण बन्न गयो र यो भोगाई उत्पन्न भएको विश्लेषण छ यसमा के भन्न चाहनु हुन्छ ?
–पहिलो कुरा नेपालको राजनैतिक आन्दोलनका गहिरो संग विश्लेषण गर्नु भयो भने अध्यक्ष प्रचण्ड जस्तो गतिशिल नेतृत्व भेटाउन सकिदैन । आफनो जीवनकालमा शसस्त्र संघर्ष,शान्तिपूर्ण संघर्ष र राष्ट्र निर्माणको अभियानको समेत नेतृत्व गर्ने शक्ति माओवादी नेतृत्व हो । माओवादी नेतृत्वमा गतिशिलता नभएको भए न जनयुद्ध हुन्थ्यो,न जनआन्दोलन,न संविधानसभा,न गणतन्त्र नै हुन्थ्यो । यसकारण अस्थिर र ढुलमुले होइन गतिशिल नेतृत्वको रुपमा बुझनु पर्दछ । दोस्रो कुरा माओवादी नेतृत्वमा जस्तो दृढता अरु कुनै नेतामा पाउन सक्नु हुन्न ,दृढ नभएको भए दमनको प्रवाह नगरीकन जनयुद्धमा हाम फाल्न कोही सक्थ्यो ?दृढ नभएको भए परिस्थिति बदली सकेपछि पार्टी भित्रको अन्तरविरोध र फुटलाई प्रवाह नगरे शान्तिको बाटोमा अगाडि बढ्न कोही सक्थ्यो ? दृढ नभएको भए सरकार ढल्ने कुरा जान्दा जान्दै भ्रष्टाचार विरोधी कार्वाहीमा दृढतापूर्वक अगाडि कोही बढ्न सक्थ्यो ? यसकारण माओवादी नेतृत्वलाई अस्वीकार र ढुलमुले होइन दृढता र गतिशिलतामा बुझनु पर्छ ।
५– पहिल्लो समयमा राजावादीहरुको चलखेल बढ्ने खोजेको देखिन्छ फेरी प्रतिगामी शक्तिहरुले टाउको उठाउन खोज्ने यो उत्पन्न परिस्थितिको जिम्मेवार को हो ?
– भ्रष्टाचारीलाई अंगालो हाल्ने,देशको सम्पत्ति ब्रहलुट गर्ने,जनताको टाउकोमा दैनिक ऋणभार थोपार्ने,जनताका अधिकार खोस्ने खोज्ने बर्तमान सत्ताधारी गठवन्धन नै यो परिस्थितिको जिम्मेवार हुन् ।
६– देशको शान्ति सुरक्षा अमनचयन र सुशासनका सवालमा लोकतन्त्र र गणतन्त्रवादी शक्तिहरुको कमजोर भूमिकाले नै यो परिस्थिति उत्पन्न हुन पुगेको होइन र ?
– गणतन्त्रको १८ बर्षको यो अवधिमा जन्ताको इच्छा अनुसारका भूमिका निर्वाह गर्न नसक्नुका केही सिमा र समस्या हाम्रा बीचमा पनि रहन गए । तर बर्तमानको जनआक्रोस वर्तमान सत्ता गठवन्धनको नालायकी पन नै हो ।
७– आगामी क्रान्तिकारी शक्तिहरुको एकता र धु्रविकरणको बहस पनि उठेको छ यो सार्थक होला ? कि यो बहसका लागि बहस मात्र हो ?
– क्रान्तिकारीहरुको बीचको एकता अहिलेको आवश्यकता हो । तत्काल बसेको हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकले माओवादीहरु बीचको एकतालाई पहिलो प्राथामिकतामा राखेको छ । हामीलाई विश्वास छ निकट भविस्यमै सकारात्मक परिणाम आउने छ ।
८– प्रशंग बदलौ प्यूठानमा पार्टीको सांगठनिक पक्ष खुम्चदै गएको देखिन्छ यो हुनुको मूल कारण के देख्नु हुन्छ ?
– २०६४ सालको तुलनामा जन समर्थनको हिसाबले हेर्दा प्यूठानमा हाम्रो पार्टीको जनसमर्थन घटेको छ । यो प्यूठानको सन्दर्भमा साथै राष्ट्रकै सन्दर्भमा पनि सत्य हो । यसो हुनुको पहिलो कारण पार्टी टुटफुट र विभाजन हो भने दोस्रो कारण हामी पार्टीका कार्यकर्ताको क्रियाकलाप र जनतामा समर्पित भावनामा कमि आउनु पनि हो । तर वर्तमानमा त्यो अवस्था भंग हुदैछ र पार्टीको वरिपरि जनलहर तीव्र रुपमा बढ्दै छ र हामीले वर्तमानमा गरिरहेका पार्टीका अधिवेशनका गतिविधीले त्यो कुरा प्रमाणित गरि राखेका छन् ।
९–प्यूठानमा माओवादी केन्द्रमा अन्य पार्टीका भन्दा प्रभावशाली राजनैतिक व्यक्तित्व अर्थात नेताहरु छन् तर जनता र कार्यकर्ताले साथ छोड्नुमा नेताहरु एक ठाउँमा एकताबद्ध हुन नसक्नु हो भन्ने भनाई छ , यसलाई कसरी चिर्नुहुन्छ ?
– तथ्यले के देखाउछ भने जनता र कार्यकर्ताले माओवादीको साथ छोडेको छैनन् । एउटा नगरपालिका र २ वटा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ । तपाइकै पत्रिका अनुसार कार्य सम्पादन मुल्याङकनमा प्यूठान जिल्लामा पहिलो स्थानमा प्यूठान नगरपालिका आएको छ । अर्कोतिर पार्टीहरु मध्ये प्यूठानमा एकताबद्ध पार्टी त माओवादी केन्द्र नै हो । काग्रेसको रमिता र एमालेको गुटवाद त जिल्लाका बच्चा बच्चालाई थाहा छ ।
१०– विभिन्न क्षेत्रका प्रतिभाशाली युवाहरु भन्दा गोजीका मान्छेलाई नै प्राथामिकता दिने नेताहरुको प्रवृत्तिले यी समस्या देखा परेको बताइन्छ नी ?
– अहिले माओवादी केन्द्रका अधिवेशनबाट निर्वाचित नेताहरु हेर्नु भयो भने अधिकासं युवाहरु नै छन् । नेता हनु त कार्यकर्ता साथ र समर्थन हुन प¥यो नी ? प्रतिस्पर्धा गरेर आउन सक्नु प¥यो नि ? कार्य क्षमतालाई दोब्बर बनाएर आउनु प¥यो । क्षमतावान युवाहरुलाई पार्टीमा स्वागत गर्न हामी तत्पर छौ । गोजावाट नेता जन्मिने कुरा गलत हो हामी जनताबाट नेता जन्मीने कुरामा विश्वास गछौ ।
११– समग्रमा प्यूठानको पार्टीलाई पुरानो लयमा फर्काउने यहाँको योजना र दृष्टिकोण के छ ?
– हामी ६४ मा फर्किने त होइन ८४ मा जाने हो । अहिले हाम्रो पार्टीको लक्ष ८४ मा विजय प्राप्त गर्ने हो । यसको लागि हामीले बिभिन्न ढंगले तयारी गर्दैछौ जस्तै कि
माओवादी घर फर्क अभियान– हाम्रो पार्टीवाट निष्कृय भएका र विचलित भएर अर्को पार्टीमा गएकालाई पुरानो घरमा फर्काउने कामको सुरुवात गरिएको छ त्यसैगरी
माओवादी एकता अभियान– विभिन्न समुहमा विभक्त भएका माओवादी संग स्थानीय रुपमा पनि एकता अभियान संचालन गर्न गइरहेका छौ ।
र युवा विद्यार्थी संग माओवादी– अहिले युवा विद्यार्थीको हाम्रो जिल्लामा आकर्षण बढ्दो रुपमा छ । अखिल क्रान्तिकारीको सदस्य संख्या ६ हजार भन्दा बढी छ । हामी वाई.सि.एल को संख्या दश हजार पु¥याउदै छौ यी लगायत
पार्टी संगठन सुदृढ अभियान– बडा देखि पालिका सम्म अधिवेशन गरेर पार्टी सुदृढ गरिएको छ भने टोलसम्म पार्टी सृदृढकरण गर्ने अभियान तीव्र पारिएको छ । यस्तै विभिन्न जनवर्र्गीय संगठन र मोर्चा संगठनलाई व्यापक बनाएको छ र २०८४ सम्म एक घर एक माओवादी उत्पादन गर्ने लक्ष पुरा गरिने छ ।
१२– अन्त्यमा केही भए –
– २० बर्ष सम्म लगातार जनताको पक्षमा विचार प्रवाह गर्दै आएको हाम्रो एकता साप्ताहिकले यसरी नै निरन्तरता दिंदै जाओस सफल भविष्यको शुभकामना ।
कमेन्ट गर्नुहोस !