
जति पनि धार्मिक ग्रन्थहरु छन् ती मध्य कतिपय ऐतिहासिक कालखण्डभन्दा अगाडिको समयअबधिमा सीमित छन् र कतिपय ऐतिहासिक र भौगोलिक अवस्थितिसंग पनि जोडिएका छन् । यसरी ऐतिहासिक वा प्रागऐतिहासिक ग्रन्थहरुमा देखाएका पात्रहरु, उनीहरुका क्रियाकलापहरु आ–आफनो धार्मिक मान्यताका आधारमा परिकल्पना गरिएका छन् । यसरी परिकल्पना गर्दा आ–आफनो धार्मिक मान्यता विद्यमान भूगोल, विद्यमान वस्तु, विद्यमान संस्कृति र संस्कार अनि सामाजिक जीवनशैलीलाई आधार मानिएको हुन्छ । यी पुराण तथा ग्रन्थहरुको प्रायजसो ठयाक्कै प्रमाण त भेटिन अप्ठयारो नै हुन्छ । तर पनि आ–आफनो धार्मिक समुदायलाई विश्वास पार्ने तरिकाले लेखिएका कतिपय धामिक ग्रन्थहरु पुराणहरु तर्क र तथ्यसंगत त हो लान् तर सत्य साचो हुन् भन्न त सकिदैन । सूर्य विहान पूर्वबाट उदाउछ र साँझमा पश्चिममा अस्ताउछ, यो सत्य हो तर दशौटा घोडाले तान्ने रथमा चढेर सूर्य पूर्वबाट पश्चिम सवार हुँदा पृथ्वीमा उज्यालो हुन्छ भन्ने कुरा विज्ञानसम्मत छ र कति सत्य हो ? यही कुरालाई अर्को धार्मिक समुदायबाट लेखिएको छ भने त्यहाँ छुट्टै कुरा लेखिएको हुन सक्छ । मक्कामदिना जहाँ मुस्लिमहरु हज गर्न जान्छन् त्यहाँ त्यो मस्जिदमा गोप्य रुपमा शिवलिङ्ग स्थापित गरिएको छ र त्यही खास पूजारीहरुले पूजा गर्दछन् भन्ने भनाइ छ । यो कुरा मुस्लिम धर्मावलम्वीहरुलाई स्वीकार्य छैन । तर हिन्दूहरुले यस्तो दावी गर्दछन् । यसको मतलब सर्बधर्मभन्दा माथि हिन्दू धर्मको बर्चस्व छ भन्ने देखाउन खोजेको बुझिन्छ । यसप्रकारका कामकुरोमा अल्झिनुभन्दा समाजमा ठोस उपलब्धीपूर्ण कामकाजमा अल्झिनु बेस होला कि ?
यहाँ पौराणिक कथामा आधारित रामायणमा उल्लेख भए अनुसार राम अयोध्यामा जन्मिएको, जनक राजाकी छोरी सीतालाई नेपालबाट विवाह गरेको, चौध बर्ष वनवास गएको, यही अवधिमा लंकाको राजा रावणले सीता हरण गरेको, हनुमानले लंका पुगी सीतालाई भेटेको, राम र रावण वीच युद्ध भएको, युद्धमा बाण लागेर लक्ष्मण मुच्र्छा परेको, हनुमानले विन्ध्याचल पर्वत उठाएर रामको अगाडि लगेको, त्यो पर्वतमा पाइने जडीबुटी प्रयोग गरेर लक्ष्मणको उपचार गरेको, रावणलाई पराष्त गरी लंकाबाट सीता फिर्ता लिएको, सीताको सतीत्व जाँच गर्न अग्नि परीक्षा गरेको, सीतालाई आगोले दहन नगरेको, तर पनि रामले सीतालाई त्याग गरेर बाल्मीकी आश्रममा पठाएको प्रसङ्ग रामायणमा उल्लेख छ । यी माथिका घटनाक्रम कति सत्य र कति असत्य हुन् यो छलफल, अध्ययन र अनुसन्धानको विषय हो ।
जानकी मन्दिर जनकपुरमा अवस्थित छ । चितवनमा अयोध्यापुरी पनि अवस्थित छ । चितवनमै बाल्मीकी आश्रम पनि छ । यसकारण राम पनि चितवनको अयोध्यापुरी कै हुन कि भन्ने तर्क गर्न पनि सकिन्छ । भानु जयन्तीको अवसरमा प्र.म. केपी वलीले राम अयोध्यापुरी कै हुन् भनि दावी गरे । यसपछि नेपाल, भारत लगायत जहाँ–जहाँ हिन्दू छन् त्यहाँ–त्यहाँ यसबारेमा ठूलो चर्चा–परिचर्चा सुरु भएको छ । भारतीय योगीहरुले प्र.म. वलीको पुत्ला दहन गरेका छन् । नेपालको प्र.म. वलीलाई सत्ताच्यूत गर्ने चेतावनी दिएका छन् । वली विरुद्धको धार्मिक आदेश जारी गरिएको छ । नेपालमा पनि आफनै दलका कार्यकर्ताले नै केपीको यो भनाईप्रति विरोध जनाएका छन् ।
माक्र्सले धर्मलाई अफिमको नशाको रुपमा ब्याख्या गरेका छन् । पोपहरुले जनतालाई स्वर्ग जाने टिकट कटाउन लगाएपछि यो त अति नै भयो भन्ने आशयमा माक्र्सले यी कु्रा उल्लेख गरेको बुझिन्छ । कम्युनिष्टहरु सिद्धान्त तः भौतिकवादी हुन् । भौतिकतामा विश्वास गर्ने व्यक्तिले विष्णुको अवतार मानिने राम जुनसुकै ठाउँका हुन् वा नहुन् रामसंग के साइनो पर्छ ? धर्म निरपेक्ष देश भनेपछि प्र.म.ले धर्मनिरपेक्षताको धर्म पो निभाउनु पर्छ त । अनावश्यक टाउको दुखाउने काम प्र.म.बाट भएको देखिन्छ ।
मोदी नेपाल आउदानेपाल बुद्ध जन्मेको देश हो भन्ने र जापान पुगेपछि बुद्धभूमि इन्डिया हो भन्दा त नेपाल भारत कही पनि कुनैलाई टाउको दुखाई त भएन । बुद्ध नेपालका हुन् भन्ने सत्यतथ्य लुम्विीनी, तिलौराकोट, अशोक स्तम्भ लगायत कतिपय पुरातात्विक सामाग्रीले प्रमाण्ति गरेका छन् । तर राम अयोध्याका हुन् भन्ने सत्यतथ्य अझै प्रष्ट छैन । बावरी मस्जिद नै हो यो अयोध्याको कुनै दरबार वा मन्दिर होइन भनेर ठूलो हुलदंगा पनि भयो । अहिले त्यहाँ उत्खनन् गर्दा रामको दरबार भएको कुनै प्रमाण लाग्ने वस्तु नभेटिएको र बरु बुद्धकालिन बस्तुहरु देखिएको भन्ने सुनुवाइमा आएको छ । यस आधारमा पनि अयोध्या कहाँ हो, को हो राम राजा आदि विषयमा खासै प्रमाणिक आधार भेटिएको छैन । रामायण लेखन करिब सातौ इ.पु.भएको मानिएको छ । तत्कालिन अवस्थामा अहिले मानि आएको अयोध्या पनि भए नभ एको स्पष्ट जानकारी छैन । भारतको अयोध्याका राजा राम हुन् वा नेपालको अयोध्यापुरीका हुन् खासै के भन्न सकिन्छ र ? एक दिनमा अयोध्याबाट बाल्मीकी आश्रममा पुगेको, चौविस घण्टाभित्रमा अयोध्याबाट जनकपुर जन्ती पुगेको सन्दर्भबाट हेर्दा त चित्तौनको अयोध्यापुरीलाई नै भौगोलिक आधारमा प्रमाणले पुष्टि गर्दछ । बाल्मीकी आश्रम नेपालमा, पाणिनी व्याकरणशास्त्री अर्घाखाँचीमा जन्मेका, शिव पार्वतीको जन्मथलो कर्मथलो नेपाल भएको, व्यासक्रषि नेपालमा जन्मिएको, ठूला–ठूला अन्य क्रषिमुनिहरु पनि नेपालमा जन्मेको भन्ने बारेमा कतिपय झिनामसिना प्रमाणहरु पनि छन् । औलो र गर्मीका कारण प्राचिन मानव वस्ती हिमवत खण्डमै थियो होला भन्ने तर्क गर्न सकिन्छ । यसै सन्दर्भमा राम पनि गण्डकी नदीको किनारा आसपास हिमालयको काखमा चित्तौनको अयोध्यापुरीमा उनको जन्म तथा बसोवासलाई नकार्न पनि सकिदैन । नेपाललाई देवभूमि, तपोभूमि, पुण्यभूमि सबैले मानि आएको कुरा हो । यस्तो भूमिमा रामको जन्म नभए होला भन्न पनि सकिदैन । यसबारेमा यति नै भन्नुले पुरै प्रमाणित भयो भन्न सकिदैन । यसबारेमा खोज अनुसन्धान हुनु जरुरी छ । भारतीयहरुले भनिहाले भैगयो त भन्ने प्रवृतिबाट माथि उठन सक्नु पर्दछ । यसैबारेमा राजनीति गर्नु त्यति उपयुक्त देखिदैन । भारतीय जोगीहरुले वलीको पुत्ला दहन गर्नु, एक महिना भित्रमा प्र.म.बाट हटाइदिन्छौ भन्नुसाह्रै हेपाहा प्रवृति हो । के भारतीय जोगीहरुले वलीलाई प्र.म. बनाएको हो र ?यस्ताको पछि लागेर हो, हो गर्ने नेपाली कच्चा राजनीति खेलाडीको चाल देखेर लाज लाग्छ ।
एकजना मानिससंग वीरबलको चतु¥याँइ बारेमा थुप्रै चुटकिला बनेका छन् भन्ने कुरा चल्यो र ती मानिसले भने“वीरबल हाम्रै प्यूठानको विजुवारको हल्लीखोला गाउँमा जन्मेका हुन्, सानै उमेरमा इन्डिया गएका र त्यही लेखपढ गरी मुगल सम्राट अकबरको प्रधानमन्त्रीमा नियुक्ति भएको कुरा उल्लेख गरे ।”म दंग पर्दै भने“कहाँ त्यस्तो होला उनको त भारतमै जन्मभूमि होला नि”। फेरि उनले भने“प्रमाण केही छ ?” मैले भने“अहँः केही छैन” । अनि मैले भने“वीरवल हल्दीखोलामा जन्मिएको तपाईसंग प्रमाण छ त ?”उनले भने“अहँः छैन” । मलाई लाग्यो हामी दुवैसंग वीरवलको जन्मभूमिको खासै प्रमाण छैन । बेप्रमाणको कुरा गर्नुपर्छ भने जजसले जे–जे मन पर्छ, जस–जसलाई जेबाट फाइदा पर्न जान्छ त्यही गर्ने त हो । यस्तै कुरा हुन् रामको जन्मभूमिको सन्दर्भमा पनि । तर इन्डियाले नक्कली लुम्विनी बनाएको, जापानमा गएर मोदीले बुद्ध जन्मभूमि भारत हो भनेका विषयमा तिमी जोगीहरु किन बोल्दैनौ ? नेपालका भारतीय चम्चाहरु किन बोल्दैनौ ? इन्डियाले जे बोले पनि हुने, जसो गर्दा पनि हुने तर नेपालको प्र.म.ले अयोध्यापुरी नेपालमा पनि छ है । सायदः राम यही अयोध्यापुरीमा जन्मेका हुन सक्छन् । यसबारेमा खोज अनुसन्धान हुनुपर्छ भन्ने आशयको अभिव्यक्तिलाई तिलको पहाड बनाउनुृ पर्ने राजनीति प्रतिशोध गर्नु पर्ने जस्ता कुरा कति शोभनीय छन् सबैले बुझ्नु जरुरी छ ।
कमेन्ट गर्नुहोस !