
आज देश कोभिड–१९ को कहरमा छ । अधिकांस ठाउँमा बाँढी, पहिरोले जीउधनको क्षति गरिरहेको छ । लामो समयको लकडाउनले अर्थतन्त्र डामाडोल छ । अझै पुगेन भनेर देशको विभिन्न ठाउँमा सलह आएर अन्नबाली ध्वस्त गरिरहेको छ । कोरोना भाइरस संक्रमितले राम्रोसंग उपचार पाएको छैनन् । यो रोगको चेकजाँच गर्र्ने उपकरणहरु नै नक्कली छन् भनेर भनिन्छ । ज्वरो आयो, सामान्य रुघाँखोकी लाग्यो भनेर हस्पिटल गयो भने डाक्टरहरु नै तर्सिन्छन् र उसको चेकजाँच नै हुँदैन । यसैबेला भारतीय शासकले नेपालको नयाँ नक्सा निकालेकोले नेपालसंग टक्कर गर्न खोजिरहेको स्थिति छ । दिनका दिन सीमानामा भारतीयले नेपालको जमिन कब्जा गर्दै लगिरहेका छन् । अझ भारतीयहरु नेपाल प्रवेश गरेर नेपालका सुरक्षाकर्मीमाथि हातपात.गर्ने हरकत गरिरहेका छन् । यस विषयमा नेपाल सरकारले मुखतोड जवाफ दिन सकिरहेको छैन । कोरोना भाइरस संक्रमितले राम्रो उपचार पाएका छैनन् भन्ने यत्रतत्र गुनासो पनि सुनिन्छ । कोरोनाका नाममा देशमा ठूलो भ्रष्टाचार भएको छ भन्ने खबर चारैतिर व्याप्त छ । गरिब, दुःखीलाई राहत वितरण गर्दा पनि हेराफेरीको आधारमा गरियो भन्ने गुनासो अत्यान्तै व्यापक छ । यस सन्दर्भमा खर्च गरिएको रकमको पारदर्शिता पनि नभएको गुनासो पनि व्याप्त छ । यसो हेर्दा देश अत्यान्तै काहाली लाग्दो स्थितिमा गुज्रिरहेको छ भन्नुमा अत्युक्ति नहोला । यस्तो कठिन परिस्थितिमा सबै नेपालीहरु एकआपसमा मिलिजुली गरेर समस्यासंग जुझ्ने बेला हो । देशमा एकता छ है भनेर देखाउने बेला हो । लिम्पियाधुरा, लिपुलेक लगायतको क्षेत्र नेपालको नक्सामा समेटेर नक्सा प्रकाशन गर्ने सन्दर्भमा पार्टी–पार्टी वीच जसरी एकता प्रदर्शन गरिएको थियो, त्यस्तै एकता यो आपत्तिको घडीमा देखाउनु पर्ने र नक्सामा समेटिएको भू–भाग भारतबाट फिर्ता नलिएसम्म नेपालीहरु एकढिक्का छन् भनेर अन्तराष्ट्रिय क्षेत्रमा देखाउनु पर्ने स्थिति हो । तर यहाँ अब कुर्सीको खेल सुरु भएको छ । ‘अरुलाई अरुको रन्को, घरज्वाँइलाई खानको रन्को’ भनेभैmँ लोभी, पापी, स्वार्थी, भ्रष्टाचारी, दलालहरुलाई कुर्सी तानातान गर्ने रन्को लागेको छ । लाज, सरम पचेका नकचरोहरुलाई यही मौका छोप्नु पर्छ भनेर होला सरकार ढाल्नेतिर मरेर लागेका देखिन्छन् । सरकार ठूलो हो कि जनता ठूलो हो, सरकार ठूलो हो कि भारतले हडपेको भू–भाग ल्याउने कुरा ठूलो हो, सरकार ठूलो हो कि जनतालाई परेको दैवी आपक्ति ठूलो हो ? जवाफ दिनु पर्दैन ? बाजा बजाउनु छोडेर टयाम्कुली बजाउनु कुन प्रभावकारी हुन्छ ?यी सबै लोभी, पापी, स्वार्थीले नबुझेको होइन, बुझी–बुझी बुझ पचाएको हो । विदेशीका नूनपानी खाएकाहरुले यो त नूनपानीको सोझो गरेको हो । कतिपय विदेशी नून नखाएका पनि छन् होला तर तिनीहरु पनि खास नून खानेकै चंगुलमा फसेर नूनखानेवालाकै पछाडि डौडिरहेका छन् । भनिन्छ नून खानेको नाम किटान गर्न प¥यो । प्रमाण देखाउनु प¥यो । यस्ता सटाकसुटुकको प्रमाण देखाउन तुरुन्तातुरुन्ती केही गाह्रो पनि हुन्छ । यस्ता कुरा लक्षणले बुझ्नु पर्छ, क्रियाकलापले बुझ्नु पर्छ र उसको लगाबले बुझ्नु पर्छ । हाम्रो आफ्नै सामाजिक परिवेशकै कुरा गर्ने हो भने कुनै पनि केटाकेटीको सटाकसुटुक प्रेम उनका घरका दुवै तर्फका आमाबाबालाई थाहै हुँदेैन । कि त पोइल गएपछि वा पेट बोकेपछि मात्रै थाहा हुन्छ । अनि त्यसबेला हामी भन्ने गर्छौ–ए, तिनीहरुको सटाकसुटुक प्रेम त पहिलेदेखि रहेछ र त अहिले यो घटना घट्यो । विदेशीको नूनखानेहरुको तरिका पनि यस्तै हो । कुनबेला यिनले देशलाई गल्र्यामगुर्लुम पार्छन् भन्ने बारेमा यिनीहरुको क्रियाकलाप, यिनीहरुको लगाब, यिनीहरुले बेलाबेलामा देखाउने लक्षणको जनताले जहिले पनि निगरानी गरिरहनु पर्छ ताकि भोली देशमा कुनै अनिष्ट नहोस् । तर नेपालमा विदेशी नूनपानी खाने मध्धे भारतको नूनपानी खाने धेरै छन् । यिनीहरुको लक्षण र क्रियाकलापले देखाउदै आएको छ । कोशी, गण्डकी, टनकपुर, महाकाली, अपर कर्णाली लगायतका सन्धि सम्झौता र १९५० को भारतसंगको सन्धि लगायतले के भारतको नून खाएको संकेत गर्दैन त ? यी नूनपानी खाने भित्र पनि कुर्सीको निम्ति आन्तरिक प्रतिष्पर्धा छ । कुनबाट बढी स्वार्थ लिन सकिन्छ त्यही नूनपाने पात्रलाई भारतीय शासकले निकट राखेको देखिन्छ र त्यसैलाई नेपालको कुर्सी थमाउने उसको प्रयास रहन्छ । यसरी विदेशीका गोटी बन्दै आएकाहरुबाट नेपालको सत्ता संचालन भएको अवस्थामा यस्ता व्यक्तिहस्लाई जनताको र देशको के चासो ?कुसी पकड्ने, खानेपिने, रमाउने, भ्रष्टाचार गर्ने, मालिकलाई रिजाउने, जनतासंग झुटको खेती गर्ने–यही हो यिनीहरुको काम ।
कमेन्ट गर्नुहोस !