
गत असार ५ गते रुकुम जिल्ला अदालत पुग्दा इजलास भरि भराउ थियो । बन्दाबन्दीका कारण सुनसान जस्तै भएको जिल्ला अदालत त्यस दिनभने चर्चित सोती घटनाका अभियूक्त,जाहेरवाला तथा पिडीत पक्ष र कानुन व्यवसायीहरुको बाक्लो उपस्थितिले भरिएको थियो । मुसिकोट बजारको माहोल पनि तातेको देखिन्थ्यो । हामी अदालत पुगेको केहि समयपछि जाहेरवालाको तर्फबाट सरकारी वकिलहरुले बहस सुरु गरे । ५ जना सरकारी वकिलहरुको बहस सुनेपछि सोती घटनाको तथ्यका बारेमा एक प्रकारको धारणा बन्यो । उसो त उक्त घटना घटेदेखि नै विभिन्न संचार माध्यमहरु, अधिकारकर्मी र सहकर्मी कानुन व्यवसायीहरुसंगको सम्पर्कबाट प्राप्त भएका सूचना, जानकारी र प्रतिक्रियाका आधारमा उक्त घटनाप्रति एक प्रकारको धारणा नबनेको भने थिएन । तर सरकारी वकिलहरुको बहसले तथ्यको गांभिर्यतालाई अझ नजिकबाट बुझ्न सहज गरिदियो । लेखमा ब्यक्त धारणा मेरो निजी हो । म आवद्ध भएको संस्थासंग सम्वद्ध गरी नहेरी दिनुहोला ।
दर्शनशास्त्रमा सत्ताविज्ञान (Ontology) लाई विशेष महत्वका साथ अध्ययन गरिन्छ । सत्ता विज्ञानले समाजमा घट्ने परिघटना वा बस्तु माथिको हेराइ बहुदृष्टिकोणवादी हुनुु पर्ने तर्क राख्दछ । अर्थात सत्यता एकत्ववादी दृष्टिकोणबाट भन्दा बहुलवादी दृष्टिकोणबाट हेर्दा सत्यको नजिकपुग्न सकिन्छ भन्ने मान्यता राख्दछ । अर्थात सत्यको प्रकृति फरक फरक रुपमा प्रकट हुन सक्दछ । दर्शनशास्त्रको यो प्रसंगलाई मैले सोती घटनासंग जोडेर उठाउनुको अर्थ हो सोती घटनालाई बहुआयामिक दृष्टिकोणबाट हेर्न र विश्लेषण गर्न सकिन्छ भन्ने मेरो मान्यता हो ।
अपराधशास्त्रीको आँखामा त्यो जगन्य अपराध हो । ६ जना होनाहार युवाहरुलाई कुटपिट गरी भेरी नदीमा फालेर हत्या गर्नु क्रुर र पासविक हत्या हो । यो हत्यालाई कुनै पनि वाहाना र आवरणमा दोषिलाई उन्मूक्ति दिनु हुदैन । मानिसको बांच्न पाउने अधिकार सर्वोत्तम अधिकार हो । समाजशास्त्रीको दृष्टिकोणमा सोती घटना सिंङ्गो समाज विरुद्धको अपराध हो भने जातियताको दृष्टिकोणबाट हेर्दा पनि कथित माथिल्लो जातले तल्लो जातलाई हेर्ने दृष्टिकोणको कारण पनि सोती घटना घटेको प्रारंभिक अध्ययनबाट देखिन्छ । त्यसैले यो घटना जातिय विभेद विरुद्धको अपराध पनि हो । यद्धपि कतिपयले सोती घटनालाई जातिय विभेद विरmद्धको अपराधको रुपमा विश्लेषण गर्न हुदैन भन्ने तर्क पनि राखेको पाइन्छ । यो कुरा ब्यक्तिकोे दृष्टिकोणमा भर पर्ने कुरा हो ।
घटनाको पृष्ठभूमि नवराज वि.क. र शुष्मा मल्ल बीचको प्रेम सम्बन्धबाट सुरु हुन्छ । प्रेमी नवराज वि.क.र प्रेमिका शुष्मा मल्ल बिच फेसबुक मार्फत प्रेम सम्बन्ध हुन्छ । प्रेम सम्वन्ध कै विचमा दुबैजना दुई पटक एक अर्काको घरमा आउने जाने गरेको पनि देखिन्छ । त्यसपछि क्रमशः प्रेमिका शुष्मा मल्लले केटासंगको सम्बन्ध टुटाउंदै लगेको र प्रेमी नवराज वि.क. भने प्रेमिका प्रति एकतर्फी मायांजालको मानसिक प्रेम रोगको पीडाले छट्पटाएको देखिन्छ । यही छटपटाहटको बिचमा घटना घटेको दिन प्रेमिकालिन साथीहरुसंग नवराज प्रेमिकाको घर गएको देखिन्छ । प्रेमिकाको घरमा नवराज वि.क. आउंदा प्रेमीकासंग उनको भेट हुंदैन । प्रेमीकाको आमाले फेरी आइस डुम,अस्ति प्रहरीमा गरेको कागजले पुगेन । तंलाई अब ठिक नपारी हुंदैन भन्दै हकारेपछि नवराज र उनका साथीहरु घर फर्कदै थिए । प्रेमिकाको आमाले काममा गएका आफ्ना पतिलाई फोन मार्फत केटाहरुको हुल आएको बताएपछि शुष्मा मल्लका बुवा समेतका ५० औ जना ब्यक्तिहरुले नवराज वि.क.समेतका १८ जना नौजवान किशोरहरुलाई लखटि लखटी घेरा हाली कुटपिट गरी घाइते बनाई भेरी नदी माफालेको या घाइते युवाहरुलाई चारै तर्फका सहज नाका वा बाटाहरु बन्द गरी भेरी नदीमा हाम फाल्न बाध्य पारेको अवस्था देखिन्छ । यो घटनामा ६ जना युवाको ज्यान गयो भने १२ जना युवाहरुले ज्यान बचाउन सफल भएका थिए ।
सोती घटनाको बारेमा घटनाको अबस्था विश्लेषण गरेपछि धेरैले अनुमान गर्न सक्नु हुन्छ यो घटना किन र कसरी भएको थियो ? यस प्रकारका जगन्य हत्यामा जब मानिसहरु अनियन्त्रित रुपमा समुह बांधेर मानिस माथि जाइ लाग्दछन् त्यस बेला भिडले विवेक र मानवता गुमाइ सकेको हुन्छ । एका एक जम्मा भएको भिडलाई कसैको आदेश र निर्देशनले रोक्न पनि सक्दैन । यसरी हुने हत्यामा को मूख्य अभियुक्त र कुन सहायक अभियुक्त या मतियार हो छुट्याउन पनि गाह्रो हुन्छ । सोती घटनामा पनि न्यायालयलाई यो अवस्थाआउने देखिन्छ । घटनालाई एकएक गरी मसिनो गरी केलाएपछि मात्र अदालतलाई मूख्य दोषी र सहायक दोषि छुट्याउन सहजहुने देखिन्छ । यस्ता घटनामा फौज्दारी न्यायको सिद्धान्तको बर्खिलाव हुन सक्ने र निदोर्ष ब्यक्तिले सजाय पाउन सक्ने संभावना रहन्छ । नौ जना अपराधी छुटुन तर एक जना निर्दोष ब्यक्तिले सजाय नपाओस भन्ने मान्यता फौज्दारी न्यायको सिद्धान्तले राखेकोछ ।
बाहिर आवरण र सतहमा सोती घटनाको विषयमा जुन किसिमको बहस भएको छ तर त्यो आन्तरिक रुपमा फरक ढंगले विकसित हुने खतरा बढेर गएको देखिन्छ । । जुनदिन रुकुम पश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद जनार्दन शर्माले रुकुम घटनाको विषयमा सदनमा अभिब्यक्ति दिए । त्यो अभिब्यक्तिपछि यो घटनाले नाटकीय रुपमा राजैनतिक मोड र रंग लिएकोे देखिन्छ । यसले घटनालाई सामान्यीकरण गने तर्र्फ भन्दा जटिलता तर्फ लाने संभावना देखिन्छ । जनार्दनले सोती घटनाको विषयमा संसदमा असल नियतले बोलेको भए पनि उनको भनाइलाई गलत अर्थमा बुझेको देखिन्छ । यो घटनाले अघोािषत रुपमा पूर्व माओवादीइतर समूहलाई एक ठाउंमा ल्याएको देखिन्छ । यो घटनामा देखिएको सामाजिक विभाजनले भविश्यमा अन्य घटना घट्न सक्ने कुराको पनि अनुमान लगाउन सकिन्छ ।
अदालती प्रक्रिया र न्यायिक निरुपणमा वाह्य दवावले खासै महत्व राख्दैन । यद्धपि अदालतका पछिल्ला कतिपय फैसलाहरु कानूनी र प्रचलनका दृष्टिले भन्दावाह्य भिडबाट निर्देशित र प्रभावित हुने गरेको आरोप न्यायालिका माथि लाग्दै आएको छ । यो घटना वा अपराधमा पनि न्यायाधीसले अपराधको गांभियर्ताका आधारमा आरोपित ३४ जना अभियुक्तहरुको अपराधमा पूर्ण या आंशिक संलग्नताका आधारमा अपराधीको बर्गीकरण गरी न्यायदिन सके न्यायपालिका साख र प्रतिष्ठा बच्ने र बढ्ने देखिन्छ । यदि न्यायालय भिड र सामाजिक मनोविज्ञानबाट प्रभावित भयो भने न्यायालय प्रतिको विश्वास घट्ने देखिन्छ । यस तर्फ न्यायालयले बिचार पुराउनु पर्ने हुन्छ ।
रुकुमको सोती घटनालाई सामान्य अपराधको आंखाबाट मात्र हेर्नु हुदैन । दशवर्षे जनयुद्धको थालनी भएको जिल्लाको आंखा र पृष्ठभूमिबाट पनि हेर्नु पर्दछ । रुकुम जनयुद्धमा सबै भन्दा बढी शहिद जन्माउने जिल्ला पनि हो । सदरमुकाम विवाद, गोबध मुद्धा देखि अन्य धेरै साना ठूला मुद्धाहरुमा राज्यले निर्दोष ब्यक्तिलाई मुद्धा लगाइ कैद र दण्ड सजाय गरेको इतिहांस रुकुमेली जनताले भुलेका छैनन् । सरकारले पनि इतिहांसबाट पाठ सिक्नु पर्दछ । विगत् दशवर्षे जनयुद्धको आधार क्षेत्रमा घट्ने यस प्रकारका घटनाहरुलाई राज्यले सामान्य रुपमा लिनु गल्ति हुनेछ । सरकारले राज्यसत्ताको दुरुपयोग गर्नु हुदैन । राज्य संयन्त्रको मूख्य जिम्बेवारीमा बस्ने ब्यक्तिहरुले संयता र विवेक पुराउनु आवश्यक देखिन्छ ।
विगत्मा जनयुद्ध संचालन गरेका पूर्व माओवादीहरु पनि अब पुरानो अबस्थामा छैनन् । शान्ति प्रक्रियाहुंदै नेकपामा एकीकरण भएका पूर्व माओवादीका नेता तथा कार्यकर्ताहरुले युद्धकालीन मानसिकता र दम्ब त्याग्नु पर्दछ । अपराध माथि राजनीति गर्नु हुदैन । अपराध भनेको अपराध नै हो । न्याय अन्याय छुट्याउने काम अदालतको हो । गैर न्यायिक अथवा अदालती प्रक्रिया भन्दा बाहिरबाट सोती घटनालाई हल गर्ने सोंच गरियो भने अर्को दुर्घटना निम्ताउन सक्दछ । समाजमा घट्ने कुनै घटना र घटनामा संलग्न हुने ब्यक्ति परिवार वा बिचारको नजिक हुन सक्दछ । त्यसको पछि लाग्नु हुदैन । पछि लाग्न खोजियो भने आफैलाई प्रतिउत्पादक हुन सक्दछ ।
कमेन्ट गर्नुहोस !