सोमवार, कार्तिक ३, २०८३ | Monday 19th October 2026

कतिपय महामहिमको ठुटे अंग्रेजी र दलाली


भाषा भनेको मनको भाव अरु समक्ष प्रेषण गर्ने एउटा सशक्त्त माध्यम हो । बोलेर, हावभाव प्रकट गरेर, लेखेर कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई आफ्नो मनको भाव व्यक्त गर्दा अर्को व्यक्तिले पनि त्यो भाव ग्रहण गर्दछ भने त्यहाँ भाषिक व्यवहार भएको ठहरिन्छ ।
भाषिक व्यवहारमा कतिपय व्यक्तिमा एउटा त मातृभाषा अनिवार्य रुपमा हुन्छ भने अर्को सम्पर्क भाषा । मातृभाषा आमाको काखमा आमाकै मुखबाट उच्चारित भाषाको सिकाइ हो भने सम्पर्क भाषा आपसी सम्पर्कको माध्यमबाट र पुस्तक अध्ययनको माध्यमबाट सिकेको भाषा हो । मातृभाषा मौलिकता र हार्दिकतासंग निकट हुन्छ । यो भाषाभित्रको गहनता, भावुकता र प्रमानन्द उत्कृष्तताको वर्णन गर्न पनि गाह्रो छ । मातृभाषामा हृदयको रस निचोरिएको हुन्छ र यसको मज्जा छुट्टै हुन्छ । तर सम्पर्क भाषाको माध्यमबाट वार्तालाप गर्दा त्यहाँ सम्पूर्ण भाव व्यक्त नभएको अनुभूत हुन्छ । केवल काम चलाऊको लागि मात्र बोलेको जस्तो भान हुन्छ । त्यहाँ हृदयको सम्पूर्ण भाव नपोखिएको जस्तो लाग्दछ ।
विश्वमा सम्पर्क भाषाको रुपमा अंग्रजीलाई स्वीकार गरिएको छ र यसलाई दोश्रो भाषा पनि भनिन्छ । यो भाषा दोश्रो भाषा हुनाको कारण व्रिटिश साम्राज्यवादको प्रभाव, अंग्रजी भाषीबाट विज्ञानको आविष्कार सम्बन्धी प्राविधिक र पारिभाषिक शब्दहरु, कतिपय साहित्य लेखन, दर्शनशास्त्र र अन्य जीवन उपयोगी पुस्तक अंग्रजीमै लेखिएकोले यो भाषाको साम्राज्य विस्तार विश्वमा देखा परेको छ । अंग्रेजी भाषा जान्नेले विश्वको जुनसुकै ठाउँमा गए पनि कतिपय मानिससंग अंग्रजीको माध्यमबाट भाषिक व्यवहार गर्न सक्छ । यसकारण पनि अंग्रजीलाई दोश्रो भाषा मानिएको हो ।
अंग्रेजी भाषा बोलाइ, सिकाइ, लेखाइ सम्बन्धमा विश्वको अन्य मुलुकको बारेमा मैले चर्चा गरिन । केवल नेपालकै सन्दर्भमा केही भन्न गइरहेको छु । हामी नेपालीहरुले अंग्रजी भाषा अनुवाद गर्ने तरिकाले सिक्ने र बोल्ने गरेका छौं । यसको लागि सामान्यतया आधारभूत व्याकरण, अंग्रजी मिनिङको सिकाइलाई प्रमुखता दिएका हुन्छौं । मिनिङ सिकाइ गर्दा हामीले प्रनाउनसियसनलाई ध्यान दिदैनौं र हाम्रो उच्चारण लगभग रोमन टाइपको हुन्छ । अको कुरा शब्द कन्ट्रयाकशन गरेर बोल्ने अभ्यास पनि हुँदैन । शब्द उच्चारण गर्दा कुन सिलेबल र कुन शब्दमा स्ट्रेश (स्वराघात) गर्ने भन्ने अभ्यास पनि गदैनौं । वाक्यमा कहाँनेर राइजिङ टोन र फलिङ टोन प्रयोग गर्ने भन्ने अभ्यास पनि गदैनौं । कुनै पनि भाषा दुई–तीन बर्षको अवधिमा कुनै पनि भाषिक समुदायमा रहेर अभ्यास गर्दा सिकारुले लगभग काम चलाऊको भाषा सिक्न सक्छ । तर नर्सरीदेखि माष्टर लेभलसम्म अंग्रेजी पढेर पनि अधिकांस हामीले अंग्रजीभाषीसंग राम्ररी अंग्रेजी बोल्न सक्तैनौं । बरु अंग्रजी लेखेको बुझ्दछौं । यसको मतलब माथि उल्लेखित कम्जोरीकै कारण हो र अंगे्रजी भाषिक समुदायसंगको हेलमेल नहुनु नै हो ।
तर हामीले नजानी–नजानी पनि अंग्रेजी बोल्नुलाई गर्वको महसुुस गर्दछौं । अंग्रेजी बोलेपछि आपूmमा उच्चता बोध हुने डरलाग्दो रोग हामीमा छ । आफ्नो भाषालाई नीच सम्झनु यो पनि एउटा लघुताभाष नै हो । उच्चताबोधको महसुुस हुनाको कारण हाम्रो नेपालका ठूला– बडा भनाउदाहरु विदेशीसंग अंग्रेजी मै वार्तालाप गर्ने प्रयास गर्दछन् र कतिपय यस्ता व्यक्तिहरु विभिन्न अवस्थामा चुक्ने गर्दछन् । नजानी नबुझी विदेशीसंग औपचारिक रुपमा वार्तालाप अंग्रेजी भाषाकै माध्यमबाट गर्नु पर्छ भन्ने केही छैन । कतिपय देशका राष्ट्रपति, प्रधानमन्त्री र अन्य उच्च ओहोदाका मानिसले आफ्नै मातृभाषामा वार्तालाप र भाषण दिने गर्दछन् । सिजीपिङले जहाँ गए पनि आफ्नै भाषामा भाषण दिएको हामीले देखेका र सुनेका छौं । बरु उनीहरुले इन्टरप्रेटरको सहयोग लिने गर्दछन् । हामीलाई थाहा छ कि हाम्रा कतिपय महामहिमहरुलाई नजानी–नजानी अंग्रेजी बोल्नु पर्ने हुन्छ । बेलुकी तारे होटलमा बसेर अंग्रेजी जुस खाएपछि यस–यस, नो–नो, थ्याङ्क यु जस्ता अंग्रेजी बोल्ने बानी परेका महामहिमहरु कतिपय सन्धि–सम्झौता विषयक छलफलमा अंग्रेजीमै वातालाप गर्ने प्रयत्न गर्दछन् । खासगरी इन्डियालगायत् कतिपय देशसंगको सन्धि–सम्झौतामा नेपाल ठगिएको प्रष्टै देखिन्छ । विषय वस्तुको ज्ञानको अभाव, अंग्रेजी भाषामा दक्ष नहुनु, विज्ञ र विशेषज्ञको सहभागिता नहुनु र यथेष्ट होमवर्क नगरी कुनै पनि विषयमा सन्धि–सम्झौता गर्नु भनेको देशलाई खाडलमा हाल्नु नै हो । असल मनसाय भएको भएता पनि ज्ञान र राम्रो तयारीको अभावमा गलत सन्धि–सम्झौतामा नेपालको तर्पmबाट हस्ताक्षर गरेको पाइएको छ । अर्को मुख्य कु््रो त के छ भने कतिपय नेपाली महामहिमले जानी–बुझी पनि कमिसनको चक्करमा, विदेशीको आशीर्वादमा सत्ता टिकाउने चक्करमा, विदेशी जासूसी संस्थाको तलब–भत्ता पचाउने चक्करमा, हरप्रकारले विदेशीको दलाली गर्ने चक्करमा नेपालले कतिपय सन्धि–सम्झौतामा हस्ताक्षर गरेको पाइन्छ । उदाहरणको लागि गण्डक सम्झौता, कोशी सम्झौता, टनकपुर सम्झौता, महाकाली सम्झौता, अपर कर्णाली सम्झौता, एम.सी.सी. सम्झौता आदि इत्यादि हामीले भोग्दै आएको कु्रा घाम जस्तै छर्लङ्ग छ । नेपालले विदेशीहरुसंग विभिन्न सन्धि–सम्झौता गरे बापत् नेपालले ठूलो धनराशि आर्जन गर्न सक्छ भन्नेहरुले जवाफ दिन प¥यो ताकि कति धनराशि जम्मा भयो, त्यसबाट नेपालमा के कस्ता उद्योग–धन्दा खोलियो, के कति पूर्वाधारहरु निमार्ण भए, प्रतिव्यक्ति आयवृद्धि कति भयो ? पानी बेचेर सुन कमाइन्छ भन्नेहरुले जनतालाई प्रष्ट पार्नु प¥यो ।
यहाँ भन्न खोजिएको कुरो के छ भने हामी नेपाली विदेशीसंगको सन्धि–सम्झौतामा नियतवश ठगिन पुगेका छौं र कतिपय अवस्थामा अंग्रेजी भाषा ज्ञानको अभावमा ठगिएका छौं ।
अब म यहाँ अंग्रेजीमा ट्रान्सलेशन गर्ने सम्बन्धको एउटा जोक प्रस्तुत गर्दछु । एउटा नेपाली गाइडले अमेरिकनलाई गाउँ घुमाउदै रहेछ । गाउँमा बाबु मरेपछि काजक्रियामा बसेका मानिस देखेपछि अमेरिकनले गाइडलाई सोधेछ–“वट आ देइ डुइङ् ।” गाइडले जवाफ दियो–“ देअर फादर डाइड एण्ड दे आर डुइङ् देअर फादर्स भर्व ।” अब अमेरिकनले के बुझे होला ? ट्रान्सलेशनको तरिकाले गाइडले भनेको “फादर्स भर्व”(बाबुको क्रिया) त ठीकै हो तर यसको अर्थतात्विक हिसाबले निकै फरक पर्छ । यस्तो तरिकाको अंग्रेजी बोलाइबाट अंग्रेजी भाषी र हाम्रो वीचको भाषिक व्यवहार कति फलदायी होला ? यस्तै–यस्तै कुरा हाम्रो दैनिक जीवनमा खट्किरहेका छन् । नेपालमा अंग्रेजी भाषा बोल्ने कतिपय दक्ष मानिस नभएको पनि होइन । त्यस्ता व्यक्तिहरु अधिकाँश नीतिनिर्माण तहमा पुग्न सकेका छैनन् । अधिकांस भाषिक हिसाबले अर्धदक्ष मानिसह्ररु त्यो तहमा पुगेका छन् । यस्तै मानिसहरुका कारण विदेशीसंगको भाषिक व्यवहारमा कतिपय ठाउँमा हामी ठगिन पुगेका छौं । अहिले यो कोरोना भाइरसको माहामारीमा सरकारले सामाजिक दूरी “social distancing    ” कायम गर्ने उर्दी जारी गरेको छ । अंग्रेजी भाषिले यो शब्दको अर्थलाई व्यक्तिगत दूरी “  individual distancing   ”को रुपमा बुझ्ने र अर्थाउने गर्दछन् । तर नेपालमा सोझो ट्रान्सलेशनको तरिका अपनाएर सामाजिक दूरी भन्न पुगेको यथार्थलाई नकार्न सकिदैन । नेपाली भाषिक अर्थका दृष्टिले भन्नु पर्दा सामाजिक दूरी कायम गर्नु भनेको विल्कुलै अशोभनीय मानिन्छ । मानिस सामाजिक प्राणी हो । समाजबाट अलग भएर मानिसको जीवन निर्वाह हुन सक्तैन । कोरोना भाइरस छुवाछुतबाट एकबाट अर्कोमा सर्न सक्ने भएकोले छुवाछुतबाट अलग हुने कुरो स्वभाविक हो । तर यो सामाजिक दूरी कायम गर्ने भन्ने शब्द उपयुक्त देखिदैन । वास्तवमा भन्ने हो भने यस्तो बेलामा सामाजिक सहयोग, सौहाद्र्धता सहानुभूति अति आवश्यक हुन्छ । यसकारण सामाजिक दूरी कायम गर्ने भन्ने शब्द नै उपयुक्त छैन । social distancing लाई सामाजिक दूरी भन्नु र father,s verb लाई बाबुको क्रिया भन्नु उस्तै–उस्तै हो । अंग्रेजीलाई नेपालीमा उल्था गर्दा भाव पक्षको प्रयोजनलाई पनि ध्यान दिनु पर्ने हुन्छ । हूवहू शब्दको उल्था गर्ने तरिकाबाट यस्ता गल्ति हुने गर्दछन् । यस्तै रोगले ग्रसित कतिपय व्यक्तिहरु नीतिनिर्माण तहमा हुनुले हाम्रो समाजमा एउटा अन्यौलता सिर्जना गरेको छ । यस्तो स्थिति नेपालमा छ । यो पनि अंग्रेजीको कमाल हो । हाम्रा कतिपय माहामहिमको ठुटे इङलिस बोल्ने र बुझ्नेको परिणाम हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top