शनिबार, कार्तिक ८, २०८३ | Saturday 24th October 2026

आरोह र अवरोहमा वाम एकता


डा. शिवराज पण्डित
ने.क.पा.(माओवादी केन्द्र) र ने.क.पा. एमाले विच हुने भनिएको बहु प्रचारित पार्टी एकता यो पंक्ति तयार पार्दा सम्म आरोह र अवरोहका वीचबाट अघि बढेको छ । संघ र प्रदेश सभाको निर्वाचन घोषणासंगै चर्चामा रहेको दुई पार्टी वीचको पार्टी एकताले मूर्त रुपमा लिन सकेको छैन । दिन ढल्केपछि अग्राख पलाउंछ भने जस्तो दिनहरु वित्दै जांदा एकता हुन्छ भन्ने विषयमा शंका उव्जिन थालेको छ । त्यसका साथै माओवादी केन्द्र र एमाले वीच पार्टी एकता होइन, विलयकोे चर्चा चलेको छ । अर्को पनि चर्चा छ माओवादी केन्द्रले एमालेसंग विचारको विषयमा आफ्नो अडान राखेको छ्र्रैन, बरु उसले त महत्वपूर्ण पद हत्याउन एमालेसंग सौदावाजी गर्दैछ । यी र यस्ता थुप्रै प्रश्नहरुको माझमा दुई दलका अध्यक्षहरु वीचमा इलभ तय इलभ छलफल चलेको सार्वजनिकीरण भएको छ । दुई अध्यक्ष वीच भएको छलफल र सहमतिलाई गोप्य राखिएको छ । दुई अध्यक्ष वीच के के विषयमा सहमति भए र के के विषयमा सहमति हुन वांकी छ, सो विषयमा दुई दलहरुले निर्माण गरेको पार्टी संयोजन समिति समेत बेखवर छ । दुई अध्यक्षहरुको निर्णयलाई अति गोप्य राख्नुलाई कतिपयले अर्थपूर्ण रुपमा समेत हेरेका छन् ।
काठमाण्डौंको सिटी हलबाट नेताहरुले चुनावी गठबन्धन हुंदै पार्टी एकतासम्मको उद्घोष गर्दै गर्दा धेरै वाम विश्लेषकहरुले एमाले र माओवादी वीचको पार्टी एकतालाई अप्राकृतिक र सत्ता वा चुनाव केन्द्रीत भन्ने आरोप लगाएका थिए । तर स्वंय एकताका पक्षधर पार्टीले भने आकस्मीक आवश्यकताको सिद्धान्तमा आधारीत एकता भनेर पार्टी एकताको बचाउ गरेका थिए । वाम गठबन्धनलाई आकस्मीक आवश्यकताको उपज भनी गठबन्धनको औचित्यता सावित गर्ने बाबुराम भट्टराई भने सिटी हलबाट गठवन्धनसभा घोषणा भएको एक महिना नपुग्दै गठबन्धनबाट बाहिरिएको घोषणा गरे । कतिपयले वामगठवन्धनबाट बाबुरामको वहिगमर्नलाई वाम गठवन्धनको भविश्यको अशुभ संकेतको रुपमा लिएका थिए । भलै यो विषयले क्षणिक चर्चा पाए पनि लामो समय सम्म चर्चा पाउन सकेन । यसको एउटा मात्र कारण थियो बाबुरामको पार्टीको जनाधार कमजोर थियो, प्रचण्ड र ओलीको पार्टीको जनाधार शक्तिसाली थियो । अहिले तिनै जनाधार वलशाली भएका दुई पार्टीहरुको लागी पार्टी एकता फलामको च्यूरा चबाए जस्तो भएको छ ।
अलग अलग पृष्ठभूमि र विचारबाट निर्देशित पार्टीहरु वीचको एकतालाई जसरी शीर्ष नेताहरुले स्वभाविक र सहज रुपमा लिए र अथार्ए यो आफैमा असहज र चुनौतिपूर्ण थियो । विपरित परिवेश र पृष्ठभूमिबाट जन्म भएका परिपक्क नेताहरुले जसरी एकतालाई अपरिपक्क र केटौलेपनले व्याख्या गरे त्यो उनीहरुको अदुदर्शि निर्णय थियो भन्ने कुरा समयक्रममा पुष्टि हुंदैछ । दुई पार्टीका शीर्ष नेताहरु मिल्दैमा सिङ्गो पार्टी संगठन र विचार सहज रुपमा एक अर्को पार्टीमा सहज रुपमा विलय हुन्छ भन्ने सोंच राख्नु आफैमा मूर्खता थियो । शीर्ष नेताहरु मिलेर मात्र सम्र्पूण संगठन र विचार पार्टीको भुंई तह सम्म सहज रुपमा मिल्न वा विलय हुन संभव थिएन । त्यसैको सकस हो दुई पार्टी वीचको एकता । उपरी तहमा शीर्ष दुई अध्यक्षहरु वीच सैद्धान्तिक रुपमा पार्टी एकता सहज देखिए पनि व्यवहारिक तथा कार्यान्वयन तहमा दुबै पार्टीको संगठन र विचारलाई भूंई तह देखि सर्व स्वीकार्य र सबै तहका कार्यकर्ता र समर्थकहरु समेतलाई जीत जीतको महशुस हुने गरी पार्टी एकता गर्न सहज छैन ।
त्यस्तै अर्को तर्फ विपरित हित र स्वार्थ समुहहरुको प्रतिनिधित्व गर्दै आएका पार्टीहरुलाई सहज रुपमा एकता हुन नदिने व्यक्ति र समुह समेत सकृय रुपमा क्रियासील भएको देखिन्छ । पार्टी एकतालाई व्यक्तिगत फाइदा र नाफाको विषय बनाएकाहरुका लागि पनि वामपन्थीहरुको एकता असहज लाग्न सक्दछ । त्यस्तै पश्चागामी र पुनरुत्थानवादीहरुका लागि पनि वामपन्थी एकता र वामपन्थीहरुले निर्माण गर्नेे सरकार कष्टकर तथा असहज लाग्न सक्दछ । वामपन्थीहरुको एकता नचाहानेहरुको चलखेलले पनि एकता प्रक्रियाको परिदृश्य आरोह अवरोह जस्तो देखिएको छ ।
२०२८ सालको झापा आन्दोलनको घाउ सुकी सकेको छ । १४ वर्ष जेल बस्ने ओलीले पनि जेल बसे वापत राष्ट्रले धेरै पटक सम्मान र अवसर दिई सकेको छ । १० वर्षे जनयुद्धका कमाण्डर प्रचण्डले पनि दुई दुई पटक प्रधानमन्त्री हुने अवसर पाइ सकेका छन् । दुबै नेताहरुको लागि सिंहदरवार नौलो छैन । किनकि दुबै नेताहरुको फोटो सिंहदरवारमा झुण्डी सकेकोछ । त्यसैले उनीहरुका लागि अव लिनु केही छैन । दुबैले कार्यकारीणी प्रधानमन्त्रीको पदको परख गरी सकेका छन् । तर जो विचार र परिवतर्नको लागि ज्यानको आहुति दियो,अपांग घाइते र वेपत्ता भयो उनी र उनको परिवारका लागि १० वर्षे जनयुद्ध कालन्तर सम्म निको नहुने पीडादायी घाउ बनेर बसेको छ । उनीहरुले दुई पार्टी वीचको एकतालाई सहज रुपमा लिएका छैनन् । उनीहरुले एमालेको जनताको बहुदलीय जनवादमा माओवादी केन्द्रको आदर्श र विचार विलय भएको देख्न र हेर्न चाहान्नन् ।
कम्यूनिष्ट पार्टीका लागि विचार र आदर्श महत्वपूर्ण मानिन्छ । विचार र आदर्शमा कमजोर भएको पार्टीले समाज र देशलाई अग्रगमनको मार्ग तर्फ दिसा निर्देश गर्न सक्दैन । माओवादीको सुन्दर पक्ष भनेको उसको विचार र उसले उठाएका मुद्धाहरु हुन । माओवादीले यी दुई कुरामा कसैसंग संझौता गर्न हुंदैन । माओवादीले आफ्नो विचार र मुद्धाहरुलाई विर्सेर पद र व्यक्तिगत प्रतिष्ठालाई प्रमुखता दियो भने यो उसको लागि भविश्यमा ठूलो पश्चाताप हुनेछ । त्यो पश्चातापको पहिलो सिकार अध्यक्ष प्रचण्ड हुनेछन् भने दोस्रो पश्चाताप ती नेता तथा कार्यकर्ताहरुलाई हुनेछ जसले विनाशर्त पद,पैसा र प्रतिष्ठाका लागि आफनो गौरवपूर्ण इतिहांसलाई मेटाएर माओवादी विचार र उसले उठाएका मुद्धाहरुलाई त्यागी विनाशर्त एमालेमा विलय गराउन प्रेरित गरी रहेका छन् ।
माओवादीका शीर्ष नेताहरुले के कुरा भुल्न हुदैन भने शीर्ष नेता एमालेमा विलय हुंदैमा सिंङ्गो पार्टी पंक्ति स्वतस्फूर्तमा एमालेमा विलय हुन्छ ? त्यो संभव छैन । किनकि माओवादी पार्टी मात्र थिएन त्यो आन्दोलन थियो । माओवादीले उठाएका मुद्धाहरु नेपालको राष्ट्रिय जीवनसंग जोडिएका अभिन्न अंगहरु थिए भलै माओवादीका केही उच्चस्तरका नेताहरुको स्वार्थ, पद र प्रतिष्ठाका कारण उसले आफूले उठाएका मुद्धाहरु छाडदै गएको छ । यी मुद्धा छाडेकै कारण पार्टी विभाजन भयो । मूलधारको माओवादीले उठाएका मुद्धाहरु जीवन्त थिए । ती मुद्धाहरुको सान्दर्भिकता सकिएको छैन । मूलधारको माओवादीले उठाएका मुद्धाहरुको सान्दर्भिकता नसकिएकोले ती मुद्धा र विचारलाई निरन्तरता दिंदै वैद्य र विप्लवको पार्टी प्रति जनताको आकर्षण बढन थालेको छ । यही जनताको मनोविज्ञान र आकर्षणलाई क्यास गर्दै उनीहरु कार्यगत एकता गर्दै पार्टी एकताको अभियानमा जुटेका छन् ।
यद्धपि यतिहुंदाहुदै पनि पार्टी एकताको पक्षमा दुबै दलहरु इमान्दार हुनुको विकल्प छैन । किनकि यी दुबै दलहरुले गत् संघ र प्रदेशको निर्वाचनमा जनतासंग मत माग्दा एकताको लागि समेत मत मागेका थिए । तसर्थ अबको बाटो भनेको दुबै पार्टीहरुले उठाएका मुद्धाहरुलाई समय सापेक्ष परिमार्जित गर्दै महाधिवेशनको माध्यमबाट हल गर्नु पर्ने हुन्छ । त्यसका लागि दुबै पार्टीका नेताहरु इमान्दार हुन आवश्यक छ । महाधिवेशन सम्मको अवधिका लागि नीति,विचार र नेतृत्वको अन्तरिम व्यवस्थापन गर्दै एकले अर्काको विचारको सम्मान गर्नु पर्दछ । विचार र संगठनलाई चुस्त र पारदर्शी बनाउदै निर्वाचनको समयमा यी दुई दलका नेताहरुले जनता सामू गरेको प्रतिवद्धता पूरा गर्ने तर्फ प्रतिवद्ध भए मात्र दुई दल विचको एकताको औचित्यता पुष्टि हुन सक्दछ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top