मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

संकटमा स्वर्गद्वारी आश्रम


डा.शिवराज पण्डित
नेपाल सरकारले संसदमा दर्ता गर्ने तयारीमा रहेको गुठी सम्बन्धी विधेयकको विषयमा चौतर्फी बहस सुरु भएकोछ । यो विषयमा संसद देखि सडक सम्म आवाजहरु पक्ष र विपक्षमा उठेका छन् । सरकारले सरोकारवाला र सम्बन्धित क्षेत्रका विज्ञहरुको परामर्शविना संसदमा पेश गर्ने क्रममा रहेका गुठी र मिडिया विधेयक समेत गरी करिव १ दर्जन विधेयकहरुको विषयमा विभिन्न विरोधहरु भएको देखिन्छ । यिनै विधेयकहरु मध्ये सरकारले संसदमा पेश गर्ने तयारीमा रहेको गुठी सम्बन्धी ऐ्नले प्यूठानको भूगोलमा रहेको नेपालकै चारधाम मध्येको एक धाम भनेर परिचित स्वर्गद्वारी आश्रम संकटमा पर्न सक्ने भनी आश्रम सम्बद्ध सरोकारावालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
नेपालमा लिच्छिवीकाल देखि नै विभिन्न नामका गुठीहरु राख्ने प्रचलन रहंदै आएको देखिन्छ । हाल नेपालमा राजगुठी र निजी गुठीका नाममा हजारौं विघा जमिन रहेको पाइन्छ । पछिल्लो सरकारी तथ्यांक अनुसार नेपालमा ५००० नीजि गुठी रहेको देखिन्छ । यिनै नीजि गुठीहरु मध्ये स्वर्गद्वारी आश्रमको नाममा रहेको निजी गुठी महत्वपूर्ण गुठीका रुपमा चिनिन्छ । स्वर्गद्वारी आश्रमको नाममा दांङ्ग जिल्लामा मात्रै १०५० विघा जग्गा रहेकोछ । १०५० बिघा जग्गा मध्ये ७७६ विघा जग्गामा मोहीयानी हक स्थापित भएको देखिन्छ ।
लामो समय देखि आश्रमको जग्गा भोग चलन गरी आश्रमलाई आश्रमले तोकेको निश्चित कुत (पैसा वा अनाज) तिर्दै आएका मोहीहरुको मोहीयानी हक वि.सं. २०४५ देखि २०४९ साल बीचमा भएको स्थापित भएको देखिन्छ ( आश्रमको अभिलेख, २०७६) । आश्रम सम्बद्ध ब्यक्तिहरुका अनुसार ७७६ बिघा जग्गाका विषयमा कुनै समस्या छैन । मोहीहरु बीचको छलफलबाट समस्या हल गर्न सकिन्छ । बांकी २७४ बिघा जमिन मध्ये ५० बिघा जग्गा स्वर्गद्वारी आश्रम स्वंयमले भोग चलन गर्दै आएको र २२४ बिघा जग्गा विभिन्न ब्यक्तिहरुले अतिक्रमित गरी घर, प्लटिङ्ग तथा ब्यवसायिक महलहरु निर्माण गरेको र सो अतिक्रमण रोक्न गरिएका प्रयासहरु असफल भएको स्वर्गद्वारी आश्रम अभिलेखालयका कर्मचारी हरि न्यौपाने रहेको छ । सरकारले तिनै अतिक्रमित ब्यक्तिहरुको पक्षमा गुठी ऐन ल्याउन खोजेको स्वर्गद्वारी आश्रमका महन्तहरुले चिन्ता ब्यक्त गरेकोे पाइयो ।
स्वर्गद्वारी आश्रमको नाममा रहेको दांङ्ग जिल्लाको महत्वपूर्ण ब्यापारिक केन्द्रहरु लमही,घोराही र रामपुरमा उल्लेखित विवरणको २२४ बिघा रहेको देखिन्छ । अतिक्रमित जग्गा को कसको नाममा कसरी रहेको छ,त्यसको फेहरिस्त आश्रम संचालकसंग छैन । स्थलगत निरीक्षण गर्दा उक्त जग्गामा विभिन्न पेशवर जग्गा दलालहरुले आश्रमको जग्गा पल्टिङ्ग गर्ने देखि ब्यवसायिक महल निर्माण समेत गरी अतिक्रमण गरेको देखिन्छ । प्रस्तावित गुठी सम्बन्धी ऐनको विधयकले तिनै अतिक्रमण गर्ने ब्यक्तिहरुलाई लक्षित गरी ऐन ल्याउन खोजेको देखिन्छ । प्रस्तावित गुठी सम्बन्धी ऐनको दफा २४ ले आश्रमको जग्गा अतिक्रमण गर्ने ब्यक्तिहरुले २५ प्रतिशत न्यूनतम मुअब्जा तिरे जसले जहां घर बनाएको वा कुनै संरचाना निर्माण गरेको छ, त्यो उसैको हुने भन्ने ब्यबस्था गरेकोछ । गुठी सम्बन्धी प्रस्तावित ऐनको दफा २३,२४ र ६४ गुठी जग्गा संरक्षणमा वाधक रहेको ति ऐनका दफाहरु खारेज हुनु पर्ने तर्क गुठी संचालकहरुको छ । यो ऐन जस्ताको त्यस्तै पारित भए स्वर्गद्वारी आश्रमको नाममा रहेकोे २२४ बिघा मूल्यवान जग्गा ब्यक्तिको नाममा नामसारी हुने देखिन्छ ।
सम्मानित सर्बोच्च अदालतबाट मिति २०६२ चैत्र १४ गते सर्वोच्च अदालतको फूल बेन्चबाट स्वर्गद्वारी आश्रम विशेष प्रकारको नीजि गुठी हो । यसको सम्पूर्ण जायजेथा नीजि गुठीको स्वामित्वमा रहने छ भनी विशेष प्रकारको फैसला गरेको थियो । स्वर्गद्वारी आश्रमको जग्गा राजगुठीको रुपमा रहने ब्यवस्था होस भनी मुद्धा परेकोमा सर्वोच्च अदालतको फैसलाको ठहर खण्डमा भनिएकोछ –“ स्वर्गद्वारी आश्रमको अखण्ड महायज्ञ कुनै ब्यक्ति वा ब्यक्तिहरुको समुहको हितका लागि स्थापना गरिएको नभै विश्व कल्याणका लागि स्थापना र संचालन गरिएको एउटा महत्वपूर्ण धार्मिक सम्पदा हो । उक्त गुठीको सम्पूर्ण जग्गा स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको नीजि लगानी र परिश्रमबाट आर्जन गरिएको भन्ने समेतको विस्तृत ब्याख्या भएको छ । सर्बोच्च अदालतको फैसला र ब्याख्याले स्वर्गद्वारी आश्रमको जग्गाको संरक्षणका लागि भरपर्दो र वलियो कानूनी आधार स्थापित भएको थियो ।
स्वर्गद्वारी प्यूठानको भूगोलमा रहे पनि आश्रमबाट फाइदा लिने दंगालीहरु नै थिए र छन् । आश्रम संचालन र ब्यवस्थापनमा पनि दंगालीहरुकै हलिमुहाली छ । दंगालीहरुलाई एकछत्र रुपमा हलिमुहाली गर्न दिने वातावरण प्यूठानीहरुले निर्माण गरेका हुन । आफ्नो भूगोलमा रहेको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएको स्वर्गद्वारीको विकास र संरक्षणमा प्यूठानीहरुले चासो नदिएको कारण दंगालीहरु हावी हुने अवसर पाए । प्यूठानीहरुले कम्युनिष्टको आंखाबाट हेर्ने काम गरे स्वर्गद्वारीलाई जुन कुरा गलत थियो । समयमै प्यूठानीहरुको पहल र हस्तक्षेप भएको भए २२४ बिघा जग्गामा दंगालीहरुले व्रम्ह लुट गर्नेे थिएनन् । स्वर्गद्वारीको महिमा र जायजेथा प्यूठान र प्यूठानीहरुको साझा हित र विकासका लागि महत्वपूर्र्ण आधार बन्न सक्दथ्यो ।
विश्वको कूल जनशंख्याको १३.७ प्रतिशत मानिसहरु हिन्दु धर्म प्रति आस्था राख्दछन् । हरेक ब्यक्ति कुनै पनि धर्म मान्न स्वतन्त्रछ । स्वर्गद्वारी समस्त हिन्दुहरुको आस्थाको केन्द्र हो । धार्मिक पर्यटनको माध्यमबाट स्थानीय,प्रदेश र संघ सरकारले समेत स्वर्गद्वारीबाट मनग्य आम्दानी गर्न सक्दछ । तसर्थ स्वर्गद्वारीलाई विघठन वा क्षयीकरण गरेर होइन आश्रम ब्यवस्थापनमा देखिएका कमि कमजोरीहरुलाई हटाइ पारदर्शी र चुस्त ब्यवस्थापनका उपायहरु अबलम्वन गरी आश्रमलाई अघि बढाउन सम्बन्धित क्षेत्रका सरोकारवालाहरुको ध्यान जान जरुरीछ । त्यसमा पनि प्यूठानीहरुले स्वर्गद्वारीको विकास र संरक्षणमा चासो र निगरानी राख्नु पर्ने दायित्व थपिएको छ । साथै सरकारले प्रस्तावित गरेको गुठी ऐनको विधेयक स्वर्गद्वारी आश्रम लक्षित भएकोले सो विधेयक स्वर्गद्वारीको आश्रमको पक्षमा हुने गरी संशोधन गर्न आश्रमको पक्षमा जन दवाव सिर्जना गरौं ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top