बिहिबार, कार्तिक ६, २०८३ | Thursday 22nd October 2026

बिहे पछिको मेरो पत्रकारिता


राधिका भुसाल
यस वर्षको बिवाहको सिजन महिना अन्तिम अन्तिम हुदै थियो । एकदिन एका विहानै घरबाट आमाले फोन गर्नु भयो । म पनि खुसी हुंदै हत्तपत्त मोवाइल हातमा लिए र कल रिसिभ गरे “छोरी मैले चिना हेराए नी यसै वर्ष उत्तम छ रे” उताबाट आमाले भन्नु भयो । सानै देखि धर्मशास्त्र अर्थात ज्योतिष्लाई हेराउने कुरामा म त्यति विश्वास त गर्थिन । तरपनि आमाले हेराएको भनेपछि ज्योतिषले के भने होलान त ? मेरो मनमा खुलदुल हुन थाल्यो र जान्न मन लाग्यो । सोधे–“आमा के भने त ज्योतिष् गुरुले” म विश्वस्त थिए पक्कै पनि आमाले मेरो विवाहको कुरा गर्नु हुनेछ । नभन्दै आमाले मैले सोचे अनुसारकै कुरा सुनाउनु भयो र भन्नु भयो –“छोरी तिम्रो बिवाहको लगन यस वर्ष अति उत्तम छ रे” मेरो मनमा विभिन्न सवाल उत्पन्न हुन थाल्यो अनि आमासंग प्रश्न माथि प्रश्न तेस्राउन थाले । कसरी ? किन ? कहिलेसम्म ? आमाले ज्योतिष् गुरुको भविश्यवाणी सुनाउदै भन्नु भयो “यहीवर्षमै उत्तम साइत जुरेको छ रे अबको पछिल्ला वर्षहरुमा त्यति राम्रो लगन देखिएन रे तिम्रो विवाह यसैवर्ष हुन्छ रे” म मौन थिए । फेरि आमाले सम्झाउदै हुनुहुन्थ्यो छोरी मान्छे सबैले आफ्नो जन्म घर एक न एक दिन छोड्नै पर्छ । त्यसैले तिमि पनि यो कुरालाई सहजै स्वीकारिदेउ । म यो कुरामा जवाफ विहिन भए । पछि सोंचेर जवाफ दिन्छु भन्दिए । मेरै चिना हेराएको हुंदा आमालाई फेरि सोधे– “अरु के के भने नि ज्योतिष् गुरुले” अझ मैले सोंच्दै नसोचेको कुरा आमाले सहजै भन्नु भयो –“बिहेपछि तिम्रो पतिले यो काम छोडाएर अरु पेशामा लगाउछन् रे” आमाले ज्योतिष्को भविश्यवाणी सुनाउदै हुनुहन्थ्यो त्यता तर्फ मेरो ध्यान गएन । मेरो ध्यान त केवल आमाको पछिल्लो उत्तरमा आएको “विवाहपछिको मेरो पत्रकारितामा” पूर्णविराम !
सुरुवाती दिनहरुमा मेरो परिवारले पत्रकारिता पेशामा जोखिम बढि हुने कारणले पटक पटक अरु पेशामा आवद्ध हुन आग्रह गरेका थिए । आजका मितिसम्म म आफ्नो परिवारलाई विश्वस्त गराइ अवसरका गोरेटाहरु देखाउदै पत्रकारिता पेशामा आवद्ध भइरहेकी छु । तर, जीवनको अर्को घुम्ती विवाह गर्ने वित्तिकै म पत्रकारिता पेशाबाट पलायन हुनु पर्ने कुराले मेलै पत्रकारिताको लागि गरेको दुख्ख, रातदिन नभनि फिल्डमा खटिदा भोगेका पीडाहरु अनि मेरो पत्रकारिताको लगानी, मेरो मेहनतको हिसाव किताव कहाँ होला त ? एकातर्फ ह्या ज्योतिष्ले जे पनि भन्दिन्छन् नि १ भन्ने लाग्छ अनि ज्योतिष् प्रति रिस उठेर आउछ । र, अर्को तर्फ साच्चिकै मेरो विवाह भएपछि मैले पत्रकारिता पेशामा हात धुुन पर्ने पो हो की ? यो पेशाप्रति मेरो पतिदेव र त्यो परिवार सन्तुष्टि हुंदैन कि ? भन्ने जस्ता सवालहरु तछाड मछाड गर्दै उब्जिन्छन् । यतिकैमा आमालाई घर सल्लाह अनुसार परिवारको खुसीका लागि आफन्त र बुबाको वचन नकाट्ने जवाफ फर्काइदिदै टेलिफोन सम्बादबाट आमाछोरी छुटिन्छौं ।
केही दिन पछि बुबाआमा र आफन्तहरुको रोजाइ अनुसारको केटासंग मेरो विहेको तिथिमिति तय भएको खबर आउछ । मलाई विहे हुने कुराले भन्दा पनि विहेपछि मेरो पत्रकारिता के होला ? मेरो मनको एक कुनामा नमेटिने छाप थियो । मैले बैवाहिक सम्बन्ध र मेरो पत्रकारितालाई कसरी समायोजन गरेर लैजान सकुला ? यस्तै–यस्तै प्रश्नहरुको भिडभाड चल्दै थियो अन्तत ः मैले मेरो परिवारको खुसीका लागि विहे गरिदिनु पर्ने वाध्यता पनि हुन्छ र, मेरी आमाले भने जसरी नै म छोरीबाट बुहारीमा परिणत हुन्छु ।
एकाएक मेरो काधमा ठुलै जिम्मेवारी थपिन जान्छ । उता परिवारमा बुहारीको भुमिका निर्वाह गर्नु, श्रीमानको ख्याल राख्नु, आफन्त वा परपाहुनाहरुको सत्कार गर्नु त, यता अफिस म्यानेजमेन्ट देखि कार्यक्रमहरुमा सहभागिता जनाउदै, फिल्डमा खटिदै समाचार लेखनलाई निरन्तरता दिनु । बैबाहिक सम्वन्ध पछि परिवार र पत्रकारिता महिलाको लागि निकै अप्ठ्यारो हुने तथ्य मेरासामु खडा हुन्छ । मेरी आमाले भनेको कुरा जायज भएको महसुश हुन्छ ।
अहिले म प्यूठानका सञ्चार माध्यममा पत्रकार महिलाहरुको सहभागिता र निरन्तरताको प्रशंग थोरै जोड्न चाहन्छु । २०६० सालमा स्थापना भएको पत्रकार महासंघ शाखा प्यूठानमा क्रियाशिल पत्रकार महिलाको उपस्थिति न्यून रहेको छ । १ सय १६ जना सदस्य संख्या रहेको प्यूठान शाखामा २६ जना पत्रकार महिलाको उपस्थिति देखिन्छ । संख्यात्मक रुपमा हेर्दा केही आशालाग्दो उपस्थिति देखिए पनि क्रियाशिलताको हिसावले अत्यन्तै न्यून संख्यामा मात्र पाउन सकिन्छ । जिल्लाको सञ्चार माध्यमको तथ्यांक हेर्दा ७ वटा रेडियो, १७ वटा साप्ताहिक पत्रपत्रिका, ६ वटा मासिक पत्रिका, एउटा टेलिभिजन र ६ वटा अनलाईन पत्रिका दर्ता भएको देखिता पनि अधिकाशं सञ्चारमाध्यमहरु हाल सञ्चालनमा देखिदैनन् । यसरी सञ्चार माध्यमले नै निरन्तरता पाउन नसकिरहेको अवस्थामा पत्रकार महिलाको पत्रकारिता टिकाउ नहुनु स्वभाविक पनि हुन जान्छ । त्यसमाथि पत्रकार महिलाहरु फिल्डको रिर्पाेटिङ, समाचार लेखनमा भन्दा पनि सामान्य रेडियो कार्यक्रम सञ्चालन तर्फ मात्र आफुलाई सहभागि गराउने हुंदा पत्रकारिता नेतृत्व क्षमता विकास नभई रहरको पेशा जस्तै भएको छ । मेरी आमालाई ज्योतिष्ले भनिदिएजस्तै विवाह पछि पत्रकारितालाई निरन्तरता दिने महिलाको संख्या निकै न्युन रहेको छ । यो तथ्यलाई ४ वर्ष यता प्यूठानका रेडियोहरुमा कार्यरत पत्रकार महिलाको आँकडाले नै पुष्टि गर्छ ।
केही समय अगाडि प्रसंग हो रेडियो माण्डवीमा निकै मेहनतका सामाचार शाखा देखि कार्यक्रम प्रस्तोतसम्म जिम्मेवारी सम्हालेका ३ पत्रकार महिलाको विवाह भयो । तर, ति तिनै जना साथीहरु विवाह भएकै दिन देखि पत्रकारिता पेशा चटक्कै छाडेर अरु पेशा अंगाल्न बाध्य भएका छन् । रेडियो माण्डवी जस्तै अन्य सबै सञ्चार माध्यममा पत्रकार महिलाको अवस्था दिर्घकालिन रुपमा टिक्नै सकिरहेको छैन् । त्यस्तै अर्को मुख्य समस्या भनेको काम गरे अनुसार पारिश्रमिक नपाउनु पनि हो । यसरी पत्रकारितामा महिलाको उपस्थिति केही समयको लागि मात्र हुने गरेको तितो यथार्थ हाम्रो सामु छर्लङ्ग छ ।
मिडिया प्रति समर्पित संलग्नाता नहुनुु, आफ्नै लागानीमा मिडिया सञ्चालन गर्न नसक्नु, घरपरिवारको साथ सहयोग नमिल्नु, रेडियो वा टेलिभिजनमा विज्ञापनको रुपमा काम लगाइनु, मिडिया हाउसले उपयोगको लागि मात्र पत्रकार महिलालाई सहभागि गराउनु, मिडिया सञ्चालकहरु आफैमा कमजोर हुनु, क्षमता विकास र सशक्तिकरणमा महिला अलि पछाडि हुनु, पत्रकार महासंघले पत्रकार महिलाका लागि क्षमता विकास कार्यक्रमहरु सञ्चालन नगर्ने र संख्या देखाउनको लागि मात्र महासंघमा सहभागिता गराउनुले मार्केटिङ देखि स्टेशन र सम्पादक देखि हकर सम्म काम गर्न पत्रकार महिलालाई ओत लगाई पुरुषहरु समाजका अगाडि देखिन जाने हाम्रो सस्कारले आज सिंगो सञ्चार माध्यममा आधा हिंसा ओगडेका पत्रकार महिलाहरुको भुमिका न्युन देखिएको छ ।
२–४ वर्ष पत्रकारिता ग¥यो अनि आर्थिक सर्पोट राम्रो नभएपछि कतै अनेत्र काममा लाग्यो । अधिकाशं पत्रकार महिलाहरु त विवाह बन्धनमा बांधिए पछि आर्थिक कुराको समस्या हुंदो रहेछ अनि पत्रकारिता पेशा छाड्न बाध्य हुंदा रहेछन् । यति मात्र होइन् मिडियामा उचित स्थान नदिंदा, पत्रकारिता गरेर आर्थिक अवस्था चलाउन र घर परिवारलाई सन्तुष्टी गराउन नसक्दा, मिडियामा आफ्नो पहुंच नहुंदा, आफुले भने जस्तो लगानी लगाएर काम गर्न नसक्दा, निणार्यक क्षेत्रमा नहुंदा, श्रम गरे अनुसार तलव नहुंदा, महिला मैत्री मिडिया हाउस नहुंदा, मिडिया मालिक देखि सहकर्मीको पुरुषवादी साेंच हावी हुंदा यावत कारणले पत्रकार महिला पलायन हुन बाध्य हुन्छन् । जति पुरुषहरुले पत्रकारिता क्षेत्रलाई पेशाकै रुपमा अंगालेका छन् त्यसरी नै पत्रकार महिलालाई पनि हातेमालो गर्दै लैजाने हो भने प्यूठानका महिलाहरु आफ्नो अधिकारबाट बञ्चित हुन पर्ने थिएन । अनि मात्रै पत्रकार महिलाहरुले पत्रकारितालाई नै पेशाको रुप दिएर आजिवन पत्रकार बन्न सक्छन् र नयाँ पत्रकारलाई सहज वातावरण सृजना हुन सक्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top