बिहिबार, कार्तिक ६, २०८३ | Thursday 22nd October 2026

सिमेन्ट उद्योगको ज्यादती


शिवराज पण्डित (पीएच.डी.)

प्यूठानको उत्तरी क्षेत्रको नौवहिनी गाउंपालिका वडा नं.८ मा बस्ने लुप्लुङ्गवासीहरु शुभश्री अग्नि सिमेन्ट उद्योगले संचालन गरेको चुन ढुङ्गा उत्खनन् कार्यले सिर्जित आतंकबाट त्रसित छन् । करिव ४०० घरधुरी भएको लुप्लुङ्ग गाउंको वस्तीसंग जोडिएको सामुदायिक वन र सो आसपास क्षेत्रका केही निजी जग्गाहरु समेत अधिग्रहण गरी शुभश्री अग्नि सिमेन्ट उद्योगले २०७३ साल देखि चुनढुङ्गाको उत्खनन् कार्य थालनी गरेकोछ । स्थानीय समुदायसंग खानी उत्खननका लागि करिव एक हेक्टर जग्गा क्षेत्रमा सहमति गरी उत्खनन् कार्य थालनी गरेको उद्योगले पछिल्लो चरणमा जनतासंग कुनै सरोकार नै नराखी पहिलेको भन्दा झण्डै ५ गुणा बढी क्षेत्रमा उत्खनन् गर्ने गरी नेपाल सरकारबाट अनुमति लिई उत्खनन् कार्य जारी राखेकोले लुप्लुङ्गवासी थप त्रसित र सशंकित बनेका हुन ।
खानी तथा भूगर्भ विभागबाट २०६९ सालमा अनुमतिपत्र लिई २०७३ साल देखि चुनढुङ्गा उत्खनन् कार्य गर्दै आएको कम्पनीले वन तथा वातावरण मन्त्रालयसंग भने २०७४ सालमा आएर मात्र संझौता गरेकोछ । जवकि उद्योगले वन तथा भूसंरक्षण मन्त्रालयसंग एक वर्ष अघि नै संझौता गरी सक्नु पर्ने थियो । कम्पनी ऐन अनुसार वातावरणीय प्रभावको मूल्यांकन नगरी कम्पनी संचालन गर्न पाइदैन । तर शुभश्री अग्नि सिमेन्ट उद्योगले कम्पनी ऐन २०६३, वन ऐन २०४९ तथा वन क्षेत्र प्रयोग सम्बन्धी कार्यविधि २०७४ विपरित खानी उत्खनन् कार्य गरेकोछ । थप जग्गा अधिग्रहण गरी उत्खनन् कार्य गरी रहेको उद्योगले स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समितिसंग छलफल गरी सहमति लिनु पर्ने थियो । तर संझौतालाई गुपचुप राखिएकोछ । खानी तथा भूगर्भ विभाग,वन तथा वातावरण मन्त्रालय, स्थानीय प्रशासन, जिल्ला स्थित केही नेताहरु र स्थानीय टाठाबाठाहरुलाई प्रभाव र प्रलोभनमा पारी स्थानीय समुदायको विरोधका वावजुत उत्खनन् कार्य जारी राखिएकोछ । समयमै शुभश्री अग्नि सिमेन्ट उद्योगको ज्यादतीलाई नरोक्ने हो भने लुप्लुङ्गवासी मात्र होइन सङ्गो जिल्लावासी समेत त्रसिन हुने अबस्था सिर्जना भएकोछ ।
२०६९ साल असार १ गते स्थानीय सातताले वन उपभोक्ता समितिको बैठकले शुभश्री अग्नि सिमेन्ट उद्योगलाई गाउं प्रवेश गराउंदा जनतामा वस्तीमा मोटर बाटो पुग्ने, विद्यालयको भवन तथा अन्य आयस्रोत बढ्ने,स्थानीयले रोजगारी पाउने, होटेल ब्यवसाय संचालन हुने, स्थानीय उत्पादन गाउं घरमै खपत हुने जस्ता अपेक्षा स्थानीय जनतामा बांडिएको थियो । भारतमा ज्याला मजदुरी गरेर जीवन धानेका दलित र गैर दलित सबैमा गाउंघरमै रोजगारी पाउने आसा जगाएको थियो । तर उद्योगले खानी उत्खनन् गरेर २ वर्षको अवधिमा अरबौ आम्दानी गरिसकेकोछ तर स्थानीय जनताले केही पाउन सकेका छैनन् । स्थानीय लुप्लुङ्ग मा.वि.को भवन बनाइ दिने आश्वसन दिएको उद्योग संचालकले व्यबस्थापन समितिले बारम्बार भवन बनाउन अनुरोध गर्दा आलटाल गर्दै आएको उद्योग संचालकले जिल्ला शिक्षा कार्यालय प्यूठानले बनाएको विद्यालय भवनको फोटो उतार गरीे खानी तथा भूगर्व विभागलाई आफ्नो कम्पनीले बनाएको झुट्टो विवरणको प्रतिवेदन पेश गरेकोछ । खानी तथा भूगर्भ विभागले दिएको अनुमति पत्रको वुंदा नं.२६ मा खानी उत्खनन् गर्दा समुदायसंग समन्वय गरी कार्य गर्ने,वातावरण मैत्री बनाई नकारात्मक असर न्यून पर्ने गरी कार्य गर्ने भन्ने उल्लेखछ । तर उक्त कम्पनीले स्थानीय समुदायसंग समन्वय गर्नुको सट्टा तिनै स्थानीय समुदाय जसले संझौता अनुसार काम गर भनी बारम्बार सम्वद्ध पक्षसंग आवाज उठाएकाछन् उनै स्थानीय युवा विरुद्ध सार्वजनिक मुद्धा लगाएर दण्डित गरेकोछ ।
चुनढुङ्गा उत्खनन् गर्नु पूर्व उद्योगले सम्पूर्ण पूर्वाधार तयार गर्नु पर्ने थियो । रुख काट्नु अघि वन विभागसंग संझौता गर्नु पर्ने थियो । कम्पनीले २०७० सालमा उत्खनन् कार्य स्थल सम्म जाने मोटर बाटो निर्माण गर्ने कार्य थाल्यो । तर वन तथा वातावरण मन्त्रालयसंग २०७४ साल आश्विन महिनामा आएर मात्र संझौता गरेकोछ । वन मन्त्रालयसंग गरेको संझौतामा १२५ वटा मात्र रुख कटान गर्ने अनुमति लिएको उद्योगले जिल्ला वन कार्यालय र प्रशासन समेतको मिलामतोमा उक्त क्षेत्रमा करिव एक हजार भन्दा बढी रुखहरु कटान भएको स्थानीयको भनाइछ । यसरी सरकारी संरक्षणमा सिङ्गो वस्ती, वातावरण,समुदायको जीविकोपार्जन मा समेत प्रत्यक्ष असर पर्ने गरी उद्योगले संझौता विपरित कार्य गर्दा पनि जिल्ला स्थित राजनैतिक दलहरु मूक दर्शक बनेर बसेकाछन् । नेताहरुको भूमिका द्वयद्व रहेको स्थानीयको आरोपछ । नेताहरुले जनतासंग एउटा कुरा गर्ने खानी संचालक र प्रशासनसंग अर्को कुरा गर्ने गरेको कम्पनीको ज्यादति विरुद्ध संघर्ष गर्दै आएका संघर्ष समितिका संयोजक मदन भण्डारीको भनाइछ ।
शुभश्री अग्नि सिमेन्ट उद्योगले उल्लेखित क्षेत्रमा खानी उत्खनन् गर्नका लागि वन विभागसंग २२ वुंदे (२०७४ ), खानी तथा भूगर्व विभागसंग २६ वुंदे (२०६९) र स्थानीय समुदायसंग लिखित र मौखिक गरी दुई दर्जन भन्दा बढी सहमति र सझौता गरेकोछ । स्थानीय समुदायले सिमेन्ट उद्योगको ज्यादतीका विरुद्ध आवाज उठाएपछि स्थानीय समुदाय,जिल्ला प्रशासन र उद्योग संचालकका बीच राजनैतिक दलहको रोहवरमा पनि जिल्ला प्रशासन समेत केही संझौताहरु भएकाछन् । तर ती संझौताहरु केवल कागजमा मात्र सिमीत गरिएकोछ । उद्योग संचालकले संझौता कार्यान्वयन गर्नुको सट्टा सेना प्रहरी लगाएर खानी उत्खनन् गर्ने तर स्थानीय जनताको माग र संझौता कार्यान्वयन नगर्ने तथा नसुन्ने धम्कीको भाषा प्रयोग गर्न थालेको स्थानीय समाजसेवी तथा सेवा निवृत शिक्षक जिवराज भण्डारीले गुनासो गरे । उद्योग संचालकले धम्कीको भाषा प्रयोग गर्न थालेपछि स्थानीय समुदाय थप आक्रोषित र आन्दोलित समेत बनेकाछन् ।
यो पंक्तिकारले गत महिना खानी क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । अध्ययन अवलोकन र स्थानीय समुदायसंगको छलफल समेतका आधारमा शुभश्री अग्नि सिमेन्ट उद्योगले उद्योग संचालन गर्न खानी तथा भूगर्व विभाग,वन विभाग र स्थानीय समुदायसंग गरिएको लिखित र मौखिक सहमति अक्षरसःपालना नगर्ने हो भने समुदाय र उद्योग संचालक बीच ठूलै भिडन्त हुने देखिन्छ । स्थानीय जनताले उठाएका मागहरु जायजछन् । चुनढुङ्गा उत्खनन् कार्यलाई सम्बद्ध सरोकारवाला पक्षले ब्यवस्थित नगर्ने हो भने तत्काल चुनढुङ्गा उत्खनन् स्थल( लुप्लुङ्गवासीहरु) को मात्र समस्या जस्तो देखिए पनि कालान्तरमा समग्र जिल्लाकै विकराल समस्याका रुपमा देखापर्ने देखिन्छ ।
१. उत्खनन् क्षेत्रमा पर्ने असरहरुः
क. वस्ती विनास हुनेः
खानी तथा भूगर्व विभाग र खानी सम्वद्ध प्राविधिकका अनुसार खानी क्षेत्रको भौगर्भिक अबस्थाका आधरमा १० मिटर लम्बाइ,५ मिटर चौडाई ६ डिग्री स्लापका आधारमा बक्स कटिङ्ग गरी खानी उत्खनन् गर्नु पर्ने प्राविधिकको सल्लाह या रायछ । तर उद्योगले प्राविधिकको सल्लाहलाई लत्ताउंदै अन्धाधुन्ध उत्खनन् गरेकोछ । त्यसको साथै उत्खनन् क्षेत्रको सिमाना कायम गरी बस्ती,खेतीयोग्य जमीन,घर,गोठ र उत्खनन् क्षेत्रको दूरी कम्तीमा ५० मिटर दूरी छाडनु पर्ने मापदण्ड विपरित वस्ती र खेतीयोग्य जमिनलाई प्रत्यक्ष असर पर्ने गरी करिव १० मिटर दूरी भित्र सम्म उत्खनन् गरेकोछ । सबै भन्दा बढी जोखिममा दलितका ३८ वटा घर गोठ र खेतीयोग्य जमीन पर्ने देखिन्छ । यसलाई बेलैमा नसच्याए र नसोंचे आउंदो वर्षायाममा सयौं घर गोठ र खेतीयोग्य जमिन वाढी पहिराको कारण क्षयीकरण भै ठूलो जनधनको विनास हुने देखिन्छ ।
ख.वातावरण विनास हुनेः
वन विभाग र शुभश्री अग्नि सिमेन्ट उद्योग प्रा.लि. बीच भएको संझौता अनुसार संझौताको वुंदा नं.४ मा खानी उत्खनन् क्षेत्रको जग्गामा प्रति ४.९ हेक्टर १६०० गोटाका दरले रुखहरु उद्योग कै खर्चमा रोपी ५ वर्ष सम्म उद्योगले स्याहार संभार गरी जिल्ला वन कार्यालयलाई हस्तानत्ररण गर्नु पर्ने प्रावधानछ । तर कम्पनीले खानी उत्खनन् गरेको ३ वर्ष हुंदा सम्म एउटा पनि रुख रोपेको छैन । संझौतापत्रको वुंदा नं.१ मा अग्नी सिमेन्टले वन विभागसंग १२५ वटा मात्र रुख काटने कटान अनुमति लिएकोछ, तर उद्योगले उत्खनन् क्षेत्र र बाटो निर्माण गर्दा समेत गरी झण्डै १००० भन्दा बढी रुखहरु कटान गरी सकेकोछ । यसरी वन जंगल र पर्यावरणलाई प्रत्यक्ष प्रभाव पार्ने गरी उद्योगले संझौता अनुसार कार्य नगर्दा हराभरा भएको सातताले वन क्षेत्र खण्डर भएकोछ । यसले जैविक विविधतामा समेत प्रत्यक्ष प्रभाव पारेकोछ ।
ग.चरीचरन क्षेत्रको विनास
लुप्लुङ्गवासीहरुको मूख्य पेसा पशुपालन हो । बहुसंखयक भण्डारी परिवार बस्ने लुप्लुङ्गलाई धनन्जय गोत्रिय भण्डारीहरुको उद्गमस्थल पनि हो । दलितहरु नोकरीका लागि भारत जाने र भण्डारीहरुले भैंसी पालन गरेर घ्यु र बाख्रा पालन ब्यवसाय गरेर जिवीकोपार्जन गर्दै आएका थिए । चुन ढुङ्गा उत्खनन् कार्य थालनी भएपछि सामुदायिक वनलाई उद्योगले तारबार गरेर बन्देज गरेकोछ । त्यस्तै निजी बन र खरायानहरु समेत स्कयावेटर र ट्रिपरको धुलोले गाइबस्तुले खान नमिल्ने गरी धुलाम्मे भएकोछ । यसरी परम्परा देखि उपयोग गर्दै आएको वन क्षेत्रको अतिक्रमण हुंदा लुप्लुङ्गवासीको पुख्र्यौली पेसा संकटमा परेकोछ ।
घ.सांस्कृतिक विचलनः
उद्योग संचालन भएपछि स्थानीयहरु खुसी थिए । रोजगारी पाउने,स्थानीय स्तरमा उत्पादीत बस्तु बेचविखन गरी आय आजर्न हुन्छ भनी हौसीएका स्थानीयहरुलाई उद्योग संचालकले रोजगारी होइन थप पीडा दिएकोछ । ट्रिपर चालक र उद्योगका कर्मचारीहरुले गाउंघरका सिधासाधा छोरी बुहारीहरुलाई विभिन्न प्रलोभनमा पारेर हप्ताऔं सम्म अभिभावकहरुलाई थाहा जानकारी नदिइ अनेत्र लैजानाले गरेको गुनासो स्थानीयकोछ । ट्रिपर चालकबाट छोरी बुहारी जोगाउन धौधौ भएको कुरा स्थानीय युवा ओवीराम भण्डारी वताउंछन् । यसले पारिवारिक वेमल,कलह र सांस्कृति विचलनको प्रभाव दिनानु दिन बढदै गएकोमा गाउंलेहरु चिन्तित देखिन्छन् ।
२. अन्य क्षेत्रमा पर्ने असरः
क.झिम्रुक उपत्यकामा पर्ने असरः
चुन ढुङ्गा उत्खनन् गर्दा अन्य माटो तथा ढुङ्गालाई ब्यवस्थापन ९ध्बकतभ ःबलबनझभलत ० गर्नु पर्ने प्रावधान खानी तथा भूगर्व विभागले शुभश्री अग्नि सिमेन्ट उद्योग प्रा.लि.लाई दिएको अनुमति पत्रको वुंदा नं २१ मा उल्लेख गरिएकोछ । तर उद्योगले यसको पूरै वेवास्ता गरेकोछ । जहां पायो त्यही निजी वन तथा वारीहरुमा समेत माटो ढुङ्गा थुपारि दिएकोकोछ । यसरी खनिज उत्खनन् गर्दा निस्कने अनावस्यक बस्तु यत्रतत्र फाल्दा र भौगर्भिक मापदण्ड विपरित चुनढुङ्गा उत्खनन् गर्दा निस्कने बस्तु अन्ततः ढिलो चांडो झिम्रुक फांट सम्म आइ पुग्दछ । २०७३ को वर्षायाममा फोप्लीमा ठूलो पहिरो गयो । अहिले पनि त्यो क्षेत्र आसपासमा जमीनहरु भासिएकाछन् । बाढी पहिरोका कारण आधा दर्जन भन्दा बढी ब्यक्तिको ज्यान र करोडौंको क्षति पुगेको थियो । प्राविधिकको प्रारम्भिक प्रतिवेदनका आधारमा उक्त क्षेत्र भौगर्भीक दृष्टिले समेत खानी उत्खनन्का लागि उपयूक्त मानिएको छैन । एउटा प्राविधिक अध्ययनले झिम्रुक नदिको सतह प्रतिवर्ष १ मिटरका दरले बढेको देखाएकोछ । यसको मूख्य कारण अन्धधुन्ध निर्माण हुने ग्रामिण सडक माथि दोष थुपार्दै आइएको थियो । तर सिमेन्ट उद्योगले प्राविधिक प्रतिवेदनलाई पूर्णतः वेवास्ता गरी उत्खनन् जारी राखेकोले यसबाट झिम्रुक उपत्यकालाई थप जोखिम बनाउन सक्ने देखिन्छ । यो विषयमा जिल्लाका राजनैतिक दल र अन्य सरोकारावालाहरु बेखवर जस्तै गरी मौनता सांधेर बसेकाछन् ।
ख. जिल्ला सडकमा परको असरः
लामो प्रतिक्षा पछि जिल्ला सडक ओटासील भएको हो । ओटासीलले राजमार्ग सम्म जाने समय छोटाएकोछ । यो सडक प्यूठानीहरुको गहना हो । आज त्यहि सडक जोखिममाछ । प्राविधिकका अनुसार ओटासिल सडकको भार क्षमता १५ टन सम्मको हुन्छ । खानी तथा भूगर्भ विभागले उद्योगलाई दिएको अनुमतिपत्रको बुंदा नं.१५ मा खनिज पदार्थ खानी द्वाराबाट वाहिर निकासी गर्दा सडकको भार क्षमता अनुसार ढुवानी गराउनु पर्ने उल्लेखछ । तर सडकको भार क्षमतालाई वेवास्ता गरी दैनिक १७ देखि २५ टन सम्मका ट्रिपरहरु सडकमा गुडेकाछन् । यो विषयमा न सडक डिभिजन कार्यालयलाई चासोछ न स्थानीय सरकार न जिल्लाका राजनैतिक दलहरुले चासो देखाएकाछन् । यसरी भार क्षमतालाई वेवास्ता गरी ट्रिपरलाई छाडा छाड्ने हो भने केही वर्ष भित्र जिल्लाको सम्पत्ति जिल्ला सडक कामै नलाग्ने गरी ध्वस्त हुने देखिन्छ ।
ग. वातावरणमा परेको असरः
खानी स्थल देखि गन्त्य स्थल(फ्क्याट्री) सम्म चुन ढुङ्गा ओसार पसार गर्दा ट्रिपरलाई उचित रुपमा तिर्पाल या अन्य सेफ्टी प्रयोग गरी ओसार पसार गर्नु पर्ने कानूनी ब्यवस्थाछ । संविधानले स्वच्छ वातावरणमा बांच्न पाउने हकको सुनिश्चितता गरेकोछ । तर ट्रिपर चालकहरुले लोड ट्रिपर चलाउंदा वातावरणलाई ध्यान दिएको पाइदैन । साथै बाग्दुला देखि खानीस्थल सम्मको करिव १५ कि.मि. बाटो कच्चि छ । यो बाटो आसपासका वालवालिका देखि जेष्ठ नागरिक समेत धुलो र धुंवाको सास्तीबाट आजित भै सकेकाछन । बाग्दुला देखि उद्योग स्थल सम्मको जिल्ला सडकको आसपासमा वायु र ध्वनी प्रदुषणले वातावरणलाई प्रत्यक्ष प्रभाव पारी जनस्वास्थ्यमा प्रत्यक्ष असर परेकोछ ।
घ. ट्राफिक व्यबस्थापनमा परेको असरः
प्यूठानको जिल्ला सडक सिंगल लेनको छ । जिल्ला सडकको अवस्था कमजोर र सांघुरो छन् भने सहायक सडकहरुको अबस्था झन कमजोरछन् । सवारी साधनहरुको संख्या बढी रहेको परिवेशमा सयौंको संख्यामा चुन ढुङ्गा ओसार पसार गर्ने ट्रिपरहरु संचालन हुंदा ट्राफिक व्यबस्थापनमा समस्या परेकोछ । यातायातको चांप अनुसार ट्राफिक दरबन्दी छैन । ट्रिपर संचालनको निश्चित समय तालिका पनि छैन । विहानै देखि संचालन हुने ट्रिपरबाट कलेजका विद्यार्थी देखि विद्यालय तहका स–साना वालावािलकाहरु समेत प्रत्यक्ष प्रभावित भएकाछन् । ठाउं ठाउंमा ट्रिपरले मान्छे मारेको सुनेका अभिभावकहरुले वालवालिका घर नफर्कदा सम्म ढुक्क हुने अबस्था छैन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top