शुक्रबार, बैशाख ४, २०८३ | Friday 17th April 2026

के भन्छन् ? प्यूठान उद्योगबाणिज्य संघका अध्यक्ष पदका उम्मेद्वारहरु


जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संघ प्यूठान उद्योग बाणिज्य संघको १० औ अधिवेशन यहि ०७५ मंसिर २९ गते हुँदैछ । अधिवेशनबाट संघको आगामी ३ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित हुनेछ । अधिवेशन नजिकिए संगै यतिबेला संघको विभिन्न इलाकाहरुमा इलाका अधिवेशन सम्पन्न गर्ने तथा जिल्लाका लागि प्रतिनिधि चयन गर्ने क्रम चलिरहेको छ । नीजि क्षेत्रको बलियो संस्थाको रुपमा चिनिने प्यूठान उद्योग बाणिज्य संघको अधिवेशनलाई हरेक तवरबाट व्यापक चासोका साथ हेरिएको छ । यतिबेला व्यवसायीहरुको नेतृत्व पंक्ति संघको अधिवेशन सम्पन्न गर्न बजार बजारमा ईलाका साधारण सभामा आफ्ना उम्मेदवारलाई जिताउन प्रचार प्रसारमा जुटेका छन् भने संघको जिल्लाको नेतृत्वका लागि दुई प्यानलहरु बनाएर व्यवसायीहरु चुनावी अभियानमा जुटेका छन् । ने.क.पा., रा.ज.मो,रा.प्र.पा समर्थक व्यवसायीहरु नेपालकै प्रतिष्ठित व्यापारी एवं संघका हाल बरिष्ठ उपाध्यक्ष केदारमान कक्षपतिको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल तयार गरी चुनाब प्रचारमा भिडेका छन् भने कांग्रेस समर्थक व्यवसायीहरुको तर्फबाट युवा व्यवसायी प्रमोद पोख्रेलको नेतृत्वमा व्यावसायिक प्यानल तयार गरी व्यवसायीहरु प्रतिस्पर्धाको दौडमा छन् । चुनावी समयमा जिल्लामा व्यवसायीहरुको चुनावी सरगर्मी चलि नेतृत्व आ आफ्नो हातमा पार्न दुवै प्यानलबाट प्रचार प्रसार भई रहेको सन्दर्भमा संयुक्त व्यावसायिक प्यानलको नेतृत्व गरेका केदारमान कक्षपति र व्यावसायिक प्यानलको नेतृत्व गरेका प्रमोद पोख्रेल संग हामीले व्यवसायीहरुको चुनावी अभियान , भावी योजना प्रतिबद्धता तथा तपाईहरुको उम्मेदवारी के का लागि ? लगायतका विषयमा कुराकानी गरेका थियौ । प्रस्तुत छ हाम्रा सहकर्मी प्रकाश बैद्यले गर्नु भएको कुराकानीको सम्पादित अंश ।
व्यापारमा बिशिष्टिकरण मेरो पहिलो योजना हो ।
प्रमोद पोखे्रल
व्यावसायिक प्यानलका अध्यक्षका उम्मेद्वार
अध्यक्ष पदमा चुनावी मैदानमा भिड्नु भएको छ कस्तो लागि रहेको छ ?
मलाई प्यूठान उद्योग बाणिज्य संघको अध्यक्ष पदमा चुनावी मैदानमा जाँदै गर्दा अत्यन्त हौसला मिलेको छ । साना मझौला व्यवसायीहरुले तपाई नआत्तिनुस जित तपाईको सुनिश्चित छ भनेर हौसला प्रदान गर्ने काम गर्नु भएको छ जसले गर्दा म निकै खुशी छु ।
तपाईको उम्मेद्वारी खास के का लागि ?
मेरो उम्मेदवारीको सन्दर्भमा पहिलो बुँदामा कुरा गर्दा बजार तथा व्यापार विशिष्टिकरण गर्ने हो । त्यो भनेको के हो भने अहिले हाम्रा बजारहरु एकै ठाउँ मासु पसल छ , एकै ठाउँ ग्रील उद्योग छ , नजिकै कपडा पसल तथा नजिकै भाँडा पसल जस्ता यसरी अव्यवस्थित परम्परागत शैलीमा बजारको बिकास भएको छ यसलाई व्यवस्थित गर्नु पर्दछ भन्ने हो । औद्योगिक क्षेत्र छुट्याउने , मासु पसलहरुको क्षेत्र छुट्याउने , तरकारी बजारहरुको क्षेत्र छुट्याउने , हार्डवेयर पसलहरुको क्षेत्र छुट्याउने तथा अन्य विभिन्न व्यवसायको प्रकृति हेरी सो अनुसारको क्षेत्र छुट्याई बजार विशिष्टिकरण गर्ने र यो संग संगै व्यापार विशिष्टिकरण गर्ने पनि हो । व्यापार विशिष्टिकरण गर्ने भनेको परम्परागत शैलीमा एउटै ढोकाबाट नुन देखि सुन सम्म बेच्ने हाम्रो जुन परम्परा छ त्यसले गर्दा साना व्यवसायीहरु मर्कामा परेका छन् तीनीहरुलाई विशिष्टिकरण गरेर एउटा ढोकाबाट एउटा आइटम सामान बेच्न थालीयो भने साना ठुला सवैको व्यापारीहरुको व्यापार हुन्छ र सवैको व्यवसाय हुने भएकाले साना व्यापारी पनि माथी उठ्ने अवसर प्राप्त गर्न सक्दछन् । तसर्थ बजार तथा व्यापार विशिष्टिकरण गर्ने मेरो पहिलो योजना हो र अर्को उद्योगी व्यवसायीहरुको हक हित संरक्षण तथा प्रबद्र्धन गर्ने हो । कुनै पनि व्यवसायीलाई परेको समस्यालाई तत्काल रेस्पन्स गरी समधान गर्नका लागि मेरो पहिलो प्राथमिकता हुनेछ भने उनिहरुको व्यवसायलाई प्रबद्र्धन गर्ने काम पनि संग संगै जोडिने छ । त्यसै गरी अर्को मेरो योजना हो उद्योग मैत्री वातावरण निर्माणका लागि पहल गर्ने । अहिले हामीले बेच्ने सामानहरु बाहिरबाट ल्याएर बेच्ने गर्दछौ । अहिले साना ठुला गाडि गरी दैनिक ५० ,६० गाडि सामान भालुवाङ्गबाट प्यूठान तिर लाग्दछ तर फर्कने सवै गाडि खाली जान्छन् त्यसैले हाम्रो उद्धेश्य उद्योग मैत्री नीति बनाएर घरेलु साना तथा मझौला उद्योग सञ्चालन गरी कच्चा पदार्थ मात्रै भए पनि बेच्ने बातावरण सृजना गर्ने हो । बाहिरबाट चाउचाउ र चामल ल्याएको गाडिमा जिल्लाबाट कमसेकम अमरिसो , दालचिनी ,अलैची , अदुवा, आलु ,सुन्तला कमला आदि उत्पादन निर्यात गर्ने वातावरण गराउने उद्योग मैत्री वातावरण बनाउने मेरो उद्धेश्य हो ।

तपाईको नजरमा प्यूठानको उद्योग व्यवसायको क्षेत्रमा देखिएका प्रमुख समस्याहरु के के होलान् ?
अहिले देखिएको मुख्य समस्याका सन्दर्भमा भन्नु पर्दा यो मिस म्याच र आन्तरिक राजश्व कार्यालय संग देखिएका व्यावसायिक क्षेत्रका धेरै समस्याहरु छन् । राज्यले अण्डर विलिङ्गमा माल भण्सार देखि रोक्न नसकेका कारण व्यवसायीहरुले अण्डर विलिङ्गमा माल लिनु पर्दछ । जति रुपैयाको माल खरिद गर्यो त्यति रुपैयाको भ्याट बिल दिइदैन, बजारमा पाइदैन । यो संगै जोडिएर हामी व्यवसायीले सामान्य एउटा कर तिर्न आय विवरण पेश गर्न तुल्सीपुर जानु पर्ने लगायतका यस्ता समस्या धेरै छन् । यी समस्याहरुलाई हल गर्नका लागि प्यूठानका ९ स्थानिय तहमा ९ बजार इलाकाहरु छन् ती ९ वटै स्थानिय तहमा उपयुक्त प्रविधियुक्त सचिवालय निर्माण गरी आगामी ३ बर्ष भित्र आन्तरिक राजश्व कार्यालयको घुम्ती टोली सम्वन्धित बजार केन्द्रमै लगेर कर बुझाउने , कर चुक्ता प्रमाण पत्र सो स्थानबाटै जारी गर्ने र उद्योग वाणिज्य संघमा दर्ता हुन जो अर्खा ,रजवारा , दाङ्गवाङ्ग लगायतका दुर दराजका व्यवसायीले खलंगा आएर सदस्यता लिनु पर्ने जुन बाध्यता छ त्यो समस्या पनि इलाका स्तरबाटै सदस्यता दिने व्यवस्था मिलाउने हाम्रो उद्धेश्य रहेको छ । यी समस्या भनेका प्यूठानी व्यवसायीहरुले भोग्दै आएका ठुला समस्याहरु हुन् र यो संग संगै व्यवसायीहरुलाई आय विवरण भर्ने , लेखा विवरण राख्ने , खरिद बिक्री किताव मिलाउन नसक्ने ईत्यादि अन्य समस्याहरु पनि छन् ती समस्या हल गर्न सम्वन्धित क्षेत्रको २ जना बिज्ञ उद्योग बाणिज्य संघमा नियुक्त गरेर आम व्यवसायीहरुका लेखा मिलाईदिने , खरिद विक्री खाता मिलाई दिने देखि लिएर आय विवरण बुझ्ने काम स्वयम् उद्योग बाणिज्य संघले गर्ने गरी व्यवस्था मिलाउने पनि हाम्रो उद्धेश्य रहेको छ ।
यस बाहेक यहाँका प्राथमिकता तथा प्रतिबद्धताहरु के के छन् ?
हामीले गर्ने काम तथा प्राथमिकताका सन्दर्भमा पत्रकार सम्मेलन मार्फत हामीले १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छौ । खासमा के हो भने हाम्रो जिल्ला पर्यटकिय गन्तव्यका हिसावले अलि महत्वपूर्ण मानिन्छ । बाहिरबाट आउने पर्यटकलाई विभिन्न ट्राभल एजेन्सीको माध्यमबाट गाडिमा ल्याइन्छ र १ दिन पनि जिल्लामा नराखी फिर्ता गरिन्छ यति सम्म कि बिहानको खाना भालुवाङ्ग खाएर दिन भरी स्वर्गद्धारी घुमेर साँझ बास बस्न भालुवाङ्ग पार गरेर बास बस्ने यो बानीको जुन बिकास भएको छ यसलाई रोक्नु पर्दछ भन्ने हाम्रो प्राथमिकताको विषय हो । पर्यटकिय प्याकेज निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई कम से कम २, ३ दिन प्यूठानमा घुम्ने वातावरण तयार गर्ने हाम्रो प्राथमिकता रहेको छ । त्यसै गरी हाम्रो जिल्ला खेती योग्य हिसावले उर्वर मानिन्छ त्यसैले कृषिमा आत्मनिर्भर बनाउनका लागि स्थानिय सरकार संग पहल पैरवी गरेर स्थानिय सरकारले नीति बनाएर लगानि गर्ने र कार्यान्वयन गर्ने कुरामा बाँझो जमिन लाई खाली राख्न नपाईने नीति बनाएर उत्पादनमा बृद्धि गर्न टेवा पूर्याउने तथा बैदेशिक रोजगारमा लागेका युवाहरुलाई समेत प्यूठान फर्काउने अर्को वातावरण तयार गर्ने हाम्रो अर्को प्राथमिकता उद्धेश्य रहेको छ ।

भन्न त भन्नु भयो प्राथमिकताका कुरा एकातिर कार्य अर्कोतिर हुने गर्दछन् मतदाताले कसरी विश्वास गर्ने ?
मतदातालाई विश्वास गर्न सजिलो छ । किन भने मेरो हिजको १५,१६ बर्षको भुमिका हेरे हुन्छ । म १५,१६ बर्ष देखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छु । मैले अहिलेको समयमा पनि म मीडिया हाउस संग सम्वन्धित छु । हामीले लगानि गरेर मीडिया हाउसहरु चलाएका छौ । हामी लामो समय मीडिया क्षेत्रमा पत्रकार महासंघमा ६,७ बर्ष बिताईयो ,प्रेस युनियनमा त्यसै गरी बिताईयो , अहिले पनि म रेडियो स्वर्गद्धारीको एम.डि भएर काम गरिरहेको छु यहि उद्योग बाणिज्य संघमा पनि लामो समय काम गरिरहेको छु । ०५९ सालमा मैले उद्योग बाणिज्य संघको सदस्यता लिएको हो त्यस पछि लगातार नजिक रहेर व्यवसायीका समस्याहरुलाई नियाल्ने ,समस्या हल कसरी गर्ने , पहल पैरवी कसरी गर्ने भन्ने विषयमा लामो समय चिन्तन गर्दै आइएको छ । भोली प्रमोद पोख्रेललाई जिताए पछि प्यूठानी व्यवसायीका समस्या कति छिटो हल हुन्छन् वा अर्को उम्मेदवारलाई जिताउँदा कति छिटो हल हुन्छन् भन्ने विषयमा मलाई लाग्दछ प्यूठानी व्यवसायीहरु लाटा ुहनु हुन्न । व्यवसायीहरु अत्यन्त सचेत हुनु हुन्छ र साना व्यवसायीहरुको हितको लागि पनि मेरो उम्मेदवारी बलियो हुन्छ भन्ने मैले बुझेको छु र यी कुराहरु भनेका चुनावी नारा मात्र होइन हामी निर्वाचित भएर गए पछि हामी काम गरेरै छाड्ने छौ । यदि हामीले गर्न सकेनौ भने आगामी ३ बर्ष पछि हुने चुनावमा हामीले उठाएका प्राथमिकताका क्षेत्रमा काम गर्न सकेनौ भने फेरी व्यवसायीले हामीलाई भोट हाल्न जरुरी छैन ।
सवै राजनैतिक शक्तिहरु एकातिर तपाई एउटा शक्तिका साथ उभिनु भएको छ जित्ने आधार कतिको देख्नु हुन्छ ?
मेरो चुनाब जित्ने आधार बलियो छ किन भने राजनीतिक दलहरुले बन्द कोठा भित्र बसेर हस्ताक्षर गरेर एकता गर्या जस्तो व्यवसायीहरु त्यसरी लाग्दैनन् किन भने व्यवसायीहरुले काम गर्ने मान्छे हेर्दछन् त्यसको परिणाम अहिले विभिन्न बजार इलाकामा भएको चुनावको नतिजाबाट पनि हामीले देख्न सक्दछौ । हिजोको एमाले, हिजोको माओवादी केन्द्र, रा.ज.मो, रा.प्र.पा लगायत ४ ,५ शक्तिहरु एकातिर हुँदा पनि हामी प्रतिस्पर्धिको रुपमा हरेक बजार इलाकामा दुइ मत , चार मत , ५ मत यहि रेशियोमा हारेका छौ हारे पनि यसले पनि हामीले चुनाब जित्ने बलियो संकेत हो भन्ने देखेका छौ र अर्को कुरा जुन साना व्यवसायीहरुको हितको लागि मेरो उम्मेदवारी अत्यन्त बलियो छ । समय दिने , व्यवसायीको हक हितको लागि पैरवी गर्ने , योजना लिएर कार्यान्व्यन गर्ने कुरामा मैले जति समय उपलव्ध गराएर गर्न सक्दछु अन्यत्रबाट सो कम देख्दछु त्यसैले मेरो उम्मेदवारी बलियो छ र विभिन्न बजार केन्द्रहरुमा जाँदा व्यवसायीहरुले दिएको हौसलाले पनि म अत्यन्त हर्षित छु यी नै चुनाब जित्ने आधारहरु हुन् ।

अन्तमा केहि छ कि ?
अन्तमा प्यूठानी व्यवसायीहरुलाई म हार्दिकताका साथ के अनुरोध गर्न चाहन्छु भने यहि मंसिर २९ गते हुने प्यूठान उद्योग वाणिज्य संघको अधिवेशनमा व्यवसायीहरुको नेतृत्व छान्ने , प्यूठानी व्यवसायीहरुको हक हितका लागि लड्ने र प्यूठानी व्यवसायीहरुको व्यवसायमुलक ,उद्योग मैत्री वातावरण तयार गर्ने वातावरण सृजना गर्नका लागि मैले आफ्नो उम्मेदवारी घोषणा गरेको छु । व्यवसायीहरु अत्यन्त सचेत हुनु हुन्छ वहाँहरुले काम गर्ने खालको राम्रो टिमलाई छान्नु हुनेछ र मैले व्यवसायीहरुलाई के अनुरोध गर्न चाहन्छु भने मलाई निर्वाचित गराएर ३ बर्ष काम गर्ने अवसर दिनुस मैले आफुले गरेका १५ बुँदे प्रतिबद्धता पूर्ण रुपमा कार्यान्वयन गर्नेछु यो अवसर प्रदान गरि दिनु हुन प्यूठानका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई हार्दिक अनुरोध गर्दछु ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top