
लिला पुन
छोरा भएन भनेर मान्छेले धार्मिक परम्परा अनुसार पूजापाठ गर्छन् । बर, पीपल लगाउँछन् । भगवानसंग छोराको “वर” माग्छन् । मठ, मन्दिर घुम्छन् । हात हेराउँछन् । हरेक हप्ताको एक बार उपास बस्छन् । दिन हेरेर दान दक्षिणा गर्छन् । अरुको छोरा देखेर मेरो पनि कति यस्तै छोरा भए हुन्थ्यो भनेर लोभिन्छन् । चिरपरिचित सबै देवताको मन्दिर थान घुम्छन् । छोरा बनाईदेऊ भनेर दिनरात भगवानको प्रार्थना गर्छन । जसले जे बुद्धि र जस्तो बाटो लगाई दिन्छन् सबै काम गर्छन ! केवल छोराको लागि भनेर ! छातिमा हात राखेर भन्नुहोस् । अहिलेसम्म कुन आमाबाबुले बुढेसकालको बेला अन्तिमको मायाको सहारा हुने र पालनपोषण गर्ने जिम्मा लिने मायालु छोरीको वर माग्यो ! थाहा पाउँनु भएको छ ! पढे लेखेका छोरा कहलिएका दाजुभाइहरुले !
बाबु त बाबु नै भयो ! ऊ पुरुष जाति हो, स्वार्थी जात हो । उसले हिन्दुधर्मको परम्परा अनुसार मरेमा छोराले काजक्रिया गरेर पिण्डपानी दिएमा स्वर्ग गईन्छ ! गति परिन्छ ! भनेर आफ्नो धेरै थोरै जे जति धनसम्पत्ति भए पनि छोरालाई सुम्पिएर आफ्नो रगतको विडो थाम्न चाहन्छ तर अचम्मको कुरो छ ! आमालाई न आफ्नो रगत र नामको विडो थाम्नु छ न आफ्नो नामबाट छोराको कामले नाम कमाउँनु छ ! छोरा जन्माउने बेला जति पिडा थियो त्यो भन्दा बेसी पिडा त पक्कै भएन होला किनभने ठुलो भएनि सानो भएनि पिडा त उही नै होला ! छोरा जन्मायर जति हुर्काउन बढाउन समय लाग्यो उति समय समग्र रुपमा छोरीलाई पनि लागेकै होला । बाबुले छोरीको वर मागेनन्–मागेनन्, आमाले सम्म छोरीको वर देवी देवता र भगवानसंग मागेनन् ! मठमन्दिर घुमेनन् ! पूजापाठ गरेनन् ! चिरपरिचत देवताको मठमन्दिरमा भाकल कबुल गरेनन् ।
कथंकदाचित यसरी देवीदेवता र भगवानसंग भाकल कबुल गरेर स्वास्नीले छोरा नजन्माएर छोरी–छोरी जन्मायो भने, छोरा नजन्माएको मार अब स्वास्नी भएर आमा भएकी नारी जातिले खाने हो । त्यसबेला जे पनि हुनसक्छ ! छोरा नजन्माउने स्वास्नी, लोग्ने र सासूससुराको आदेशमा जन्मिएको छोरीहरुसहित घरबाट निकालिन सक्छे ! अर्कि सौता थपि माग्छे ! दिनरात छोरा जन्माएनस भनेर लोग्नेबाट गालिगलौच र कुटाई खान सक्छे ! यति मात्र कहाँ हो र मट्टी तेल खनाएर जलायर मारिन सक्छे ! छोरा नपाएको निहुँमा जे पनि हुन सक्छ ! त्यो दुःख त्यो पिडाको बेला छाति चिरेर छोरी जन्माउन सक्ने आमा महतारीले किन भगवानसंग प्रार्थना गर्दैनन् कि–“भगवान यो संसारमा छोरीको जुनी नदिनु र छोरी भएर नजन्मनु” ! किन आउँदैन आमा तिम्रो मुखबाट तिमीले जन्माएको छोरीहरुको दुःखको पार लगाउँने शब्द ! के तिमीले गर्ने न्याय यही हो ! के तिमीलाई अझै छोराको माया छ !
थाहा पाएनौं आमा ! छोरा जातिहरुले भाउजूको न्यानो काख पाएर भगवानसंग बरदान मागेर पाएको छोराले घरबाट निकालेको ! औषधि गर्ने निहुँमा चौपारीमा राखेर म अलिबेरपछि आउँछु आमाबाबु भनेर वेपत्ता भएको कथा र कहानि ! घरमा लालनपालन गर्न नसकेर दिसापिसाब, रेयालसिंगानबाट घिन मानेर, महिनाको पन्ध्रहजार तिरी आमाबाबुलाई वृद्धाश्रममा छोडेर आएको ! जत्ति बाल्यकालमा छोराछोरीलाई बाबाको भन्दा आमाको आवश्यक हुन्छ त्यति नै बुढेसकालको बेला छोराछोरीको आवश्यक हुन्छ । भन्नुस आमाबुबा कुन छोरीले तपाईहरुलाई घरबाट निकाल्यो ! कुन छोरीले वृद्धाश्रम पुरायो ! कुन छोरीले ज्वाइतिर लागेर तपाईहरुको अवहेलना गरयो ! बरु ज्वाँइलाई घर ज्वाँइ बनाएर छोरी जातले आमाबाबुको स्याँरसंभार गर्न लगायो ! आमाबाबा, दाजुभाइ छोरीचोलीको इतिहास पनि पढिदिनुहोस ! उनीहरुको पीर मर्का र दुःखपीरको कथा व्यथा पनि बुझिदिनुहोस !
भगवानसंग वर मागेर बल्ल–बल्ल पाएको बुढेसकालको छोरो आमाबाबुको अत्यान्तै प्यारो बन्छ । ऊ रुन मात्र पर्छ, उसको अगाडि खानादेखि लिएर नानासम्मका हर चिजहरु टक्रिन्छन् । उसले खान सक्न पर्यो लाउन सक्न पर्यो । पालनपोषणमा उसलाई केहीबाट कमि हुँदैन, हुन्छ भने उसैको कम्जोरीबाट हुन्छ । यसरी पालेर हुर्काएको छोरो जब पाँच बर्ष पुग्छ, आमाबाबाले भविष्यको रसिलो कल्पना बोकेर नजिकको स्कुल, बोडिङमा भर्ना गरिदिन्छन् । हाम्रो छोराले पढ्ला लेख्ला, जान्ला, बुझ्ला, टाठो बाठो बन्ला ! यो देशको असल नागरिक बन्ला ! देशहित र समाजहितको निम्ति आदर्श नागरिक बन्ला भनेर आफूहरुले खाइनखाई जम्मा गरेको पैसाले राम्रो स्कुल र बोडिङ पठाउँने हो तर एकहोरो पढाईले गर्दा छोरो कति अव्यवहारिक नैतिकहिन भइसकेको छ भन्ने कुरा आमाबाबुले थाहा पाउँदैनन् ! भगवानसंग बरदान मागेर पाएको छोराको चर्तिकला त्यसैबेला देखिन्छ, जब उसको महमत्त बैंस आएको हुन्छ । अनि त आमाबाबुलाई टेर्दैन, आमाबाबुलाई उसले भुसुनासरी गन्छ, आमाबाबुले कमाएको धनपैसामा मोजमस्ति गर्छ । अहिले मात्र होइन, उहिलैदेखि आईमाई जातिले झिल्के र मिल्के हेर्ने त्यही झिल्केको पछि आउँछ, उमेर हुँदाभरि दुईचार बर्ष रमाइलो र मोजमोस्ति गर्छ, ऊबाट दुईचार बहिनी छोरीहरु मात्र जन्मन्छ ।
छोरी जन्मेको निहुँमा लोग्ने स्वास्नीको विचमा झगडा हुन्छ, स्वास्नीले अर्को केटो समाउँछ, पोइल जान्छ, ऊ भन्दा म के कम भन्छ, लोग्नेले स्वास्नी ल्याउँछ, फेरी अरु बालबच्चा हुन्छ ! फेरी स्याँहाने पालो आमाबाबुको आउँछ । स्वास्नी पोइल गएको निहुँमा साँझ–साँझ रक्सी धोकेर आउँछ । तिमीहरुको कारणले गर्दा मेरी स्वास्नी पोइल गएको हो भनेर आमाबाबुसंग झगडा गर्छ । घरमा स्वास्नी भए पनि साँझ स्वास्नी सम्झेर घरमा आउँदैन ! आए पनि रक्सीको भरमा आउँछ, चुरोट, खेैनी, विडी मुखको गोजामा बोकेर आउँछ । स्वास्नी के हो ! उसको ईच्छा र आकक्षा के हो, यो बुझ्दैन । देशहित र समाजहितको लागि मैले के गर्ने हो त्यो कुरा सोच्दैन । घरलाई क्रणव्यवहारले च्यापिसकेको हुन्छ, आफूले कमाएको पैसा हो भन्दै साँझ होटलमा राईथाने बन्छ तर घरमा स्वास्नी र छोराछोरी आमाबाबुको बेहाल भैसकेको हुन्छ । साँझ हुन्छ, गोजीमा रोयालस्टक, फिल्टर चुरोट, खैनी, पुकार बोकेर आउँछ ।
त्यति मात्र कहाँ हो र ! आमाबाबुले गिट्टी कुटेर कमाएको पैसाले किनेको नयाँ जिनको पयन्तमा अफ्रिकाको संस्कार संस्कृति बोकेर आएको हुन्छ । सिंगो पयन्टलाई घँुडामा चिरेर, कालो कपालमा रातो मेहन्दी लगायर, कानमा मुन्द्रो छिरायर पश्चिमी भिकारी सभ्यता देखाउँन आउँदछ । थाहा छैन किन त्यस्तो चिरेको पायन्ट लगाएको भनेर ! युरोपियन युनियन र अमेरिका साम्राज्यवादले चुसेको देशमा लाउँन खान नपायर च्याँठिएको कपडा लगाउँदै भिख माग्दै हिड्ने, भिखारीको संस्कार र संस्कृति छिराउँने हाम्रो भगवानसंग बरदान पाएर जन्मेको छोराहरुलाई के गर्ने ! न यिनीहरुको आमाबाबु प्रति जिम्मा छ, न छोराछोरी र स्वास्नीप्रति जिम्मा छ, न देशहित र गाउँसमाजप्रति जिम्मा छ ! छ भने आफ्नो व्यक्तिगत स्वार्थ र आफ्नो भुँडी भर्नलाई मात्र छ ! यस्ता देश र समाजको लागि निमक हराम छोराहरु कोही पनि नबाँचे ठिक छ ! बाँचेर नेपाल आमालाई नै बोझ हुन्छ भने बाँचेको के सार भयो र ! यसैले गर्दा आमाबाबाहरु छोरा पाउँनको लागि देवी देवता, भगवानसंग छोराको कहिले बरदान नमाग्नु ! यो कलियुगमा जति बरदान मागे पनि श्रवणकुमार जस्तो छोरा कहिले पाउँने छैनौं ! यसैले त म भन्छु छोरा पायन भनेर बर, पीपल लगाउँने, देवी, देवताको पूजा गर्ने हातहरु काटेर फाल्नु राम्रो होला !
कमेन्ट गर्नुहोस !