बिहिबार, कार्तिक ६, २०८३ | Thursday 22nd October 2026

सस्तो लोकप्रियता र प्रचारवाजीमा प्यूठान अगाडि


डा. शिवराज पण्डित

प्यूठानी समाजमा दुईवटा कुराले बढता चर्चा र प्रचार पाउने गरेकोछ । पहिलो घोषणासभा र महोत्सव र दोस्रो कार्यालय प्रमुखको सरुवा र आगमन । गत श्रावण १३ गते प्यूठान नगरपालिकाको आयोजनामा स्वर्गद्वारी बहुमुखी क्याम्पसमा ५–१२ वर्ष उमेर समुहका वालवालिकाहरुको पूर्ण भर्ना सुनिश्चितता सम्वन्धी घोषणासभा भयो । त्यसै हप्ता प्यूठान जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेको सरुवा भयो । यी दुबै विषयले पछिल्लो हप्ता सामाजिक संजाल र मिडियामा खुबै चर्चा पाए । यी दुबै विषयलाई जुन रुपमा चर्चा परिचर्चा र महत्व दिइयो त्यो विषयले केही प्रश्नहरु उब्जाएको छ । वास्तविक र यर्थाथ तथ्यांकविना हचुवाको भरमा विद्यालय र गैर सरकारी संस्थाहरुको तथ्यांकका आधारमा केही सिमित व्यक्ति विशेषको लहडमा गरिने यस प्रकारका घोषणासभाले जिल्लाको वास्तविक र बस्तुगत यथार्थततालाई ओझेलमा पार्ने संभावना हुन्छ । जिल्ला शिक्षा समन्वय एकाईले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा प्यूठान जिल्लामा गत्वर्ष भन्दा कम विद्यार्थी संख्या भर्ना भएका र विद्यालय उमेर समुहका विद्यार्थीहरु पनि कम भर्ना भएको देखिएकोछ । सामाजिक संजालमा केही तथ्यांकहरु बाहिर पनि आयोे । त्यसको टिकाटिप्पडी पनि भयो । तर प्यूठान जिल्लाको त्यही नगरपालिका भित्रका विद्यालयहरुमा विद्यालय उमेर समुहका सत्प्रतिशत वालवालिकाहरु विद्यालय भर्ना भए भनेर तामझाम गरेर घोषणासभा गरियो । घोषणासभा गर्दा ल्याइएका आधार र सूचकहरुकोे चित्तबुझ्दो जवाफ नगरपालिकाले दिनु पर्दछ । घोषणासभा गर्नु पूर्व सरोकारवालाहरुसंग जुन रुपमा वृहत् छलफल र अन्तक्र्रिया हुनु पर्ने हो, त्यो भएको देखिएन ।
मेरो जानकारीमा भए अनुसार २०६५ पछि प्यूठानको विजुवार स्थित खेलमैदानमा ३ वटा महोत्सव,भिंगृमा १, जनतामा माध्यमीक विद्यालय बाग्दुलामा १ र जुम्रीमा गरिएको र्धािर्मक महायज्ञ समेत गरी ६ वटा महोत्सव् सम्पन्न भएकाछन् । यी महोत्सवहरु मध्ये जनता माध्यमीक विद्यालयमा सम्पन्न भएको महोत्सव तुलनात्मक रुपमा पारदर्शी र उपलव्धिपूर्ण रहयो । त्यो वाहेक अन्य ५ स्थानमा भएका महोत्सवहरु अपारदर्शी र उपलव्धिपूर्ण हुन सकेनन् । मूलतः यी महोत्सवहरुमा आर्थिक अपारदर्शिता रहेको जनगुनासो पनि त्यत्तिकै रह्यो । महोत्सवले केही व्यक्तिहरुलाई चर्चामा ल्यायो भने केही व्यक्तिहरुलाई पैसा कमाउने माध्यम बन्यो । मनोरन्जनका साधनहरु भित्राउने सेवा प्रदायकलाई फाइदा पुग्यो । जिल्लाको ठूलो धनरासी बाहिरियो । महोत्सवबाट जिल्लावासीले प्रत्यक्ष रुपमा के फाइदा पाए ? महोत्सवबाट प्राप्त भएको आम्दानीले जिल्लाको कुन संस्था बन्यो ? यो विषय प्यूठानी जनताका सामु घाम जत्तिकै छर्लङ्ग छ,धेरै चर्चा गर्न आबश्यक छैन ।
२०६५ साल देखि २०७५ साल सम्म खुला दिसामुक्त घोषणा देखि वालवालिकाहरुको पूर्ण भर्ना सुनिश्चितता को घोषणा सम्म आउंदा ४ वटा अभियानहरु प्यूठानमा सम्पन्न भएका छन् । ४ वटा मध्ये ३ वटा जिल्ला स्तरीय र १ नगरपालिकास्तरीय घोषणा । शुरुको खुल्ला दिसामुक्त घोषणासंग पछिल्ला घोषणाहरु विषयबस्तुका दृष्टिले फरकफरक भए पनि सिकाइका दृष्टिले अन्तरसम्वन्धित छन् । खुल्लादिसामुक्त घोषणाका अभियन्ताका नेतृत्वदायी व्यक्ति र प्रर्वतक तत्कालीन प्यूठान जि.वि.स.का स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्ट थिए । उनी चतुर विकास प्रशासक थिए । उनले प्यूठानका केही टाठावाठा, एनजिओकर्मी,पत्रकार र स्थानीय नेताहरुलाई आफ्नो पकडमा लिन सफल भए । जिल्लाको वास्तवीक यर्थाथता भन्दा भिन्न आंकडालाई आधार मानेर खुल्ला दिसामुक्त घोषणा गरियो । संघ÷संस्था र नेपाल सरकारबाट आएको करोडौं रुपैंया भोज भतेर,अविर मालामा सकियो । खुल्लादिसामुक्त घोषणाबाट प्रत्यक्ष फाइदा लिएका फूल र अविरका भोका विचौलियाहरुको उस्काहटमा अन्य कार्यालय प्रमुखहरुले पनि घोषणालाई निरन्तरता दिए । खुल्लादिसामुक्त घोषणापछि दोस्रो घोषणासभा पूर्णखोप, तेस्रो पूर्ण साक्षर जिल्ला घोषणा चौथो र अन्तिम प्यूठानगरपालिकाको पूर्ण भर्ना सुनिश्चितता घोषणा । यी घोषणासभा गर्देगर्दा प्यूठान जिल्ला विकास सुचकांकका दृष्टिले नेपालका ७५ वटा जिल्लाहरु मध्ये ४५ औं स्थानमा पर्दथ्यो । विकास सुचकांक मापन गर्ने आधार मानिसको चेतना,प्रतिव्यक्ति आय, जीवनस्तर,पहुंच आदि हुन । अन्य जिल्लाको सुचकांकको दृष्टिले कमजोर रहेको प्यूठान जिल्लामा उल्लेखित घोषणाहरु गर्नका लागि सबै आधार र सूचकहरु पूरा भएका थिए ?जवकि प्यूठान जिल्ला भन्दा विकास सुचकांड्डका दृष्टिले अव्वल मानिएका जिल्लाहरुमा समेत यस्ता कतिपय घोषणा हुन सकेका छैनन् ।
प्यूठानमा अक्कसर चर्चा हुने अर्को विषय हो प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुखको सरुवा र आगमन हुंदा गर्ने उत्ताउलो स्वागत । यो स्वागत होइन । स्वागत भित्र चाकडी र चाप्लुसी लुकेको छ । सरुवा भै जाने र जिल्ला भित्रिने प्रशासकलाई सामान्य स्वागत सत्कार गर्ने प्रचलन आफैमा नराम्रो होइन । तर हप्तौं दिन सम्म सेवाग्राहीको काम अवरुद्ध गरेर उत्ताउलो पाराले गर्ने यस्तो सत्कार तराइका केही जिल्ला वाहेक अन्य जिल्लाहरुमा भेटिदैन । कहिं नभएको जात्रा हांडीगाउंमा भने जस्तो प्यूठानमा हुने गर्दछ । पत्रकार देखि जनप्रतिधि समेतका व्यक्तिहरुले कार्यालयमा बोलाइ बोलाई नाक सम्म नदेखिने गरी माला र अविर लेपन राम्रो होइन । व्यवस्था फेरिएको छ । फेरिएको सन्दर्भ र परिवेशमा प्रमुख जिल्ला अधिकारी नागरिक प्रशासक हुन । नागरिक प्रशासकलाई चाकडी गरिरहनु पर्दैन । जिल्ला भित्रिनै प्रशासक आमजनताको सेवक भन्दा पनि तिनै विचका विचौलियाहरुको प्रभावमा परेको देखिन्छ । प्रशासकका कतिपय क्रियाकलापहरु अपारदर्शी,गैरकानूनी समेत हुने गरेका छन् । तर पनि प्यूठानमा कार्यरत हुन आउने प्रशासकहरुलाई एउटा समुहले संरक्षण र पुरस्कृत गरेको कारण उनीहरुका गलत क्रियकलापहरु आम जनताको जानकारीमा आउंदैनन् ।
प्यूठानमा प्रशासकहरुलाई चाकडी गर्ने प्रचलनको इतिहांस झण्डै ६४ वर्ष पुरानो छ । वि.सं. २०११ मा तत्कालीन बडाहाकिम प्रतिमान चन्द वोहोरालाई राज्य व्यवस्था विभागले अर्को जिल्लामा सरुवा गरेपछि उनको स्थानमा मनमोहन मिश्र प्यूठान जिल्लाको नयां बडाहाकिम भएर आएर । प्यूठानी जनताको विच प्रतिमान चन बोहोरा लोकप्रिय थिए । लोकप्रिय हुनुको धेरै कारणहरु मध्ये प्रतिमानचनले खलंगामा रहेको प्यूठानको सदरमुकाम विजयनगरमा स्थानान्तरण गर्नु थियो । मनमोहन सरुवा भएर त प्यूठान आए, तर अधिकांस प्यूठानी जनताले मनमोहनको विरोध गरे । विरोध गर्नुको एउटै कारण थियो प्यूठानी जनताले प्रतिमानको जागिरको थमोति प्यूठानमा होस भन्ने थियो । मनमोहनको विरोध गरेपछि सरकारले प्रतिमानको सरुवा वदर गर्दछ भन्ने थियो । तर मनमोहनको सरुवा वदर भएन । विरोधको वावजुत मनमोहन मिश्र सेनाको वलमा वडाहाकिम मनमोहन मिश्रले रातामाटा सारिएको सदरमुकाम पुनः खलंगामा सारे । खलंगामा सार्दा स्थानीयवासीहरुले नगद र जिन्सी उपहार दिई मनमोहनको स्वागत गरे । साथै खलंगावासीले बस्न र सरकारी भवनको समेत उचित प्रवन्ध समेत मिलाएका थिए भन्ने भनाई विजुवार टारी निवासी समाजसेवी जेष्ठ नागरिक लोक बहादुर भण्डारीको छ । प्यूठानीले प्रशासकहरुको चाकडी गर्ने प्रचलनको सुरुवात यहिंबाट गरेका थिए । व्यवस्था फेरियो प्रशासकलाई चाकडी गर्ने प्यूठानीको संस्कार फेरिएन ।
सस्तो लोकप्रियताका लागि,कुनै अमुक व्यक्ति वा समुहको फाइदाका लागि गरिने यस प्रकारका महोत्सव् र उत्सवमा जनताले निगरानी बढाउन जरुरीछ । यस्ता उत्सव र महोत्सवको आयोजना गरेर केही व्यक्तिहरुलाई अवसरको प्लेटफर्म बन्न सक्दछ । मनग्यै आम्दानी हात लाग्न सक्दछ । नेता र प्रशासकहरुबाट मेडल र आर्शिवाद मिल्न सक्दछ । तर आम जनताले प्रत्यक्ष केही पाउंदैनन् । क्षणिक नेताको उदारो भाषणले प्यूठानी जनताको जीवनस्तर फेरिदैन । यर्थाथ र बस्तुगत तथ्यांड्डविना गरिने यस्ता घोषणासभाले जिल्लामा भित्रिने अवसरलाई वंचित गर्न सक्दछ । जस्तो खुल्लादिसामुक्त घोषणाले सौचालय र सरसफाइको लागि आउने अनुदान कटौति हुन सक्दछ । पूर्ण साक्षर घोषणाले साक्षरताका लागि आउने अनुदान कटौति हुन सक्दछ । यसरी कटौति हुने रकमको प्रत्यक्ष असर सिमान्तकृत समुदाय अथवा लक्षित समुदायमा पर्दछ । मिथ्यांड्ड वा गलत सूचनाले विकास निर्माणमा तत्कालिन र दीर्घकालिन असर पर्दछ । किनकि विकास निर्माणको योजना बनाउंदा तथ्यांकलाई आधार मानेर गरिएको हुन्छ । सारमा यस्ता यथेष्ट आधार र प्रमाणविना गरिने कार्यक्रमहरुले विचौलियाहरुलाई प्रत्यक्ष फाइदा पुग्दछ । गरीखाने आमजनता र जिल्लालाई घाटा हुन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top