शनिबार, कार्तिक ८, २०८३ | Saturday 24th October 2026

बाम एकता र भावि राजनीति


डा. शिवराज पण्डित

मदन भण्डारीको भनाई थियो– ‘राजनीतिमा स्थायी सत्रु र स्थायी मित्रु हुंदैन,सामाजिक गतिशीलतासंगै अन्तरविरोध र सामाजिक सम्वन्धहरु पनि फेरिंदै जान्छन् ।’ यो भनाईले २०७५ जेष्ठ ३ गते मदन भण्डारीको २५ औं स्मृति दिवशका दिन एमाले र माओवादी (केन्द्र) वीचको एकताबाट सार्थकता पायो । झण्डै ५ दशक सम्म दुई विपरित विचार र कार्यशैली बोकेका वाम पार्टीहरु एक ठाउंमा विलय हुन पुगे । जवकि यी दुई पार्टीहरु वीच वैचारिक कटाक्ष मात्र थिएन कि १० वर्षे जनयुद्धको क्रममा वर्ग दुश्मन किटान गरी माओवादीले एमालेका धेरै कार्यकर्ताहरुको हत्या समेत गरेका थिए । त्यस्तै एमालेका कतिपय कार्यकर्ताहरुले माओवादी कार्यकर्ताहरुको हत्या र पक्राउ गराउन प्रहरी सुराकी समेत गरेका थिए । यसरी लामो समय देखि अलग अलग विचार र कार्यशैली बोकेका दुई वाम पार्टी वीचको एकताको विषयमा विभिन्न कोणबाट टिकाटिप्पणीहरु भएका छन् । दुई पार्टीहरु वीचको एकता आकस्मिक आवश्यकताको उपज हो, या दुई पार्टीहरु वीच मौलाउंदै गएको गुट व्यवस्थापन गर्न नसकेर निम्तिएको वाध्यता ? यो विषयमा पनि विश्लेषकहरुको फरक फरक धारणा रहेको छ । जे जसरी व्याख्या र विश्लेषण गरे पनि नेपाल जस्तो सानो र गरीव देशका लागि धेरै राजनैतिक दलहरु क्रियासील हुनु उपयूक्त थिएन र होइन पनि । यी दुई ठूला वाम दलहरु वीचको एकताले नेपालको भावि राजनीति वामपन्थी र लोकतान्त्रिक शक्ति गरी दुई ध्रुवमा धु्रवीकृत हुंदै अघि बढ्ने देखिन्छ ।
२०२८ सालको झापा सशस्त्र आन्दोलनबाट राजनैतिक शक्ति आर्जन गरेको ने.क.पा.एमाले र २०५२–२०६२ को शसस्त्र क्रान्तिका माध्यमबाट शक्ति आर्जन गरी स्थापीत भएको माओवादी (केन्द्र) वीचको एकता सामान्य परिघटना मात्र नभै विशिष्ट महत्व राख्ने ऐतिहासिक राजनैतिक घटनाक्रम पनि होे । वि.सं. २००६ सालमा स्थापना भै करिव ७ दशक टुटफुट, विभाजनको पीडाबाट अघि बढेका र नेपालको वामपन्थी आन्दोलनमा छुट्टै पहिचान बनाउन सफल यी दुई वाम दलहरु वीचको एकताले तत्कालका लागि माक्र्सवाद र लेनिनवाद प्रति आस्था राख्ने वहुशंख्यक कार्यकर्ताहरुलाई मलम पट्टी लगाएकोे छ । यद्धपि प्राविधिक रुपले दुई पार्टी विलय भएर नेपाल कम्यूनिष्ट पार्टीको पुनर्गठन भए पनि लामो समय देखि यी दुई पार्टीहरुले निर्माण गरेका केन्द्र देखि स्थानीय तह सम्मका पार्टी संरचनाहरु, वैचारिक र कार्यशैलीगत मतभेद र अन्तरविरोधहरु कसरी न्यायोचित रुपमा व्यवस्थापन गर्दछन् ? त्यसले मात्र दुई पार्टीहरु वीचको एकताले ब्यवहारतः सार्थकता पाउने छ । त्यसका लागि केही समय पर्खनु पर्ने देखिन्छ ।
एमाले–माओवादी केन्द्र वीचको एकताको विषयमा सार्वजनिक रुपमा सकारात्मक र नकारात्मक दुबै दृष्टिकोणबाट टिकाटिप्पणी भएका छन् । माओवादी जनयुद्धका हस्ति तथा नयां शक्ति नेपालका संयोजक बाबुराम भट्टराई आफ्नो व्टीटमा लेख्दछन् –के बांदरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन? एमाले– माओवादीले सर्वहारा अधिनायकत्व नै छाडी सकेकोले कम्यूनिष्ट मोह दर्शाउनु बेकार हुने तर्क गर्दछन् । त्यस्तै पूर्व माओवादी केन्द्रका प्रभावसाली युवा नेता तथा ने.क.पा.का केन्द्रीय सदस्य लेखनाथ पौडेलले सामाजिक संजाल फेसवुक स्टाटसमा आफ्नो भनाई पोष्ट गर्दछन््–हामी लेनिनवादी होइनौं,किन लेनिनवाद लेख्ने, शास्त्रीय रुपमा हामी माक्र्सवादी पनि होइनौं, तर नेपाली राजनैतिक बजारमा यो विक्री हुने संभावना अझै बांकी छ, त्यसकारण माक्र्सवाद लेख्ने कुरा सही हो । त्यस्तै ने.म.कि.पा.का अध्यक्ष नारायणमान विजुक्छे एमाले–माओवादी केन्द्र वीचको एकतालाई सिद्धान्त र वैचारिक आधार विना पद र स्वार्थका लागि गरिएको भागवण्डा मात्र हो, लामो समय सम्म टिक्न सक्दैन भन्ने आरोप लगाउंछन् । तर राजनैतिक विश्लेषक झलक सुवेदीको भनाई भने अलि फरक र सकारात्मक छ । सुवेदी दुई पार्टीहरु विलय भएर बनेको नेपाल कम्यूनिष्ट पार्टीको भविश्य उज्वल देख्नु हुन्छ । उनी भन्दछन्– दुई सह अध्यक्ष द्वय क्रमशः के.पी.शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पुर्नगठित पार्टी भित्रको एकता,द्वन्द्व, मतभेद तथा अन्तरद्वन्द्वलाई कसरी ब्यवस्थापन गर्दछन्, त्यसको आधारमा ने.क.पा.को भविश्य निर्धारण हुने तर्क राख्दछन् ।
प्राविधिक रुपले पार्टी एकीकरण भएको घोषणा गर्न जति सजिलो भयो र थियो, त्यो भन्दा १० गुना अफ्ठारो ने.क.पा.लाई जीवन्त राख्नका लागि छ । लामो समय सम्म अलग अलग विचार,कार्यशैली र स्कुलिङबाट आएका कार्यकर्ता तथा नेताहरुलाई केन्द्र देखि स्थानीय तह सम्मका पार्टी संरचनामा कसरी व्यवस्थापन गर्ने ? मेरो विचारमा सबै भन्दा गाह्रो काम यहि हो । नेपालको कम्यूनिष्ट आन्दोलनको मूख्य दोष र खोट भनेकै नेताहरुको व्यक्तित्व टकराव हो । विगत्मा नेताहरुले विचार र सिद्धान्तका आधारमा पार्टी विभाजन गरेका थिएनन् केवल पद र प्रतिष्ठाको मात्र लडाई थियो । समस्या स्थानीय पार्टी कमिटिहरुमा भन्दा फेरी पनि समस्या केन्द्रको नेतत्व तहमा नै हुने देखिन्छ । नेतृत्वको स्वभाव र प्रवृति पार्टी संगठन तथा जीवनमा प्रत्यक्ष पर्दछ । कहिले रसायन शेर वहादुर सित मिल्यो भन्ने कहिले ओली सित मिल्यो भन्ने प्रचण्डको स्वभाव आगामी दिनहरुमा स्थिर रहन्छ भनी विश्वस्त हुने आधारहरु छैनन् । उनकै भनाईलाई आधार मान्ने हो भने म कहिल्यै पनि दोस्रो हुन जानेको मान्छे होइन । पार्टी जीवनमा पहिलो,दोस्रो र तेस्रो हुने कुरा व्यक्ति वा नेताको चाहानाले भन्दा पनि बस्तुगत अबस्थाले निर्माण गर्ने कुरा हो । तुलनात्मक रुपमा प्रचण्डको स्वभाव भन्दा ओलीको स्वभाव अलि अन्तरमूखी छ ।
कम्यूनिष्टहरुको मूख्य हतियार विचार हो । विचारले राज्यसत्ताको वर्ग चरित्र निर्माण गर्दछ । विचारले व्यक्तिको मनोविज्ञान निर्माण गर्दछ । माक्र्सवाद,लेनिनवाद र माओवादलाई आदर्श र पथ प्रदर्शक सिद्धान्त मान्दै आएका लाखौं पूर्व माओवादी कार्यकर्ता र जनताले काठमाण्डौमा बसेर घोषणा गरेको पार्टी एकता प्रति के कस्तो प्रतिक्रिया र धारणा राख्दछन्? केही समय पर्खनु पर्ने देखिन्छ । यद्धपि एमाले–माओवादी केन्द्रको एकताले कम्यूनिष्ट आदर्श र विचारका खातिर पार्टीमा लामवद्ध भएकाहरुका लागि आत्मसम्मानमा चोट पुगेको अनुभूति गरेको मैले पाएको छुं । माओवादी आर्दशबाट प्रशिक्षित भएकाहरुका लागि एकता प्रक्रियाले प्राप्ति भन्दा हानी धेरै भएकोेको रुपमा लिएका छन् । एकता पहिचान सहितको हुनु पर्दथ्यो । माओवादी विचारलाई त्याग गर्नु उसको ठूलो कमजोरी थियो । त्यही विचार र आदर्शले नेताहरुलाई राष्ट्रिय व्यक्तित्वको रुपमा स्थापित गरयो । १० वर्षे जनयुद्धको मूल आदर्शबाट च्यूत हुनु नेताहरुको आत्मसमपर्ण र एमालेकरण नै हो । त्यस्तै हंसिया हतौडाको चुनाव चिन्ह प्रति जनताको अगाध आस्था,भावना र मनोविज्ञान जोडिएको थियो र छ, सूर्य चिन्हसंगै हंसिया हतौडा समेत राखेको भए जनताको भावना र आस्थाको सम्मान गरेको हुन्थ्यो ।
यद्धपि वाम एकताले नेपालको ७ दशक लामो कम्यूनिष्ट आन्दोलन सर्वशक्तिमान भएको छ । २० हजार (५६ प्रतिशत) भन्दा बढी निर्वाचित कार्यकर्ताहरु स्थानीय तह देखि केन्द्र सरकार सम्म ने.क.पा.मा गोलबन्द भएका छन् । यसले क्रोनिक अर्थात निको नहुने रोग जस्तो बनेकोे अस्थिर सरकारको अन्त्य भएकोे छ । नेपालको विकास निर्माण र समृद्धिका लागि मार्गप्रर्शस्त गरेकोे छ । तर ठूलो पार्टी र जन प्रतिनिधि धेरै भएर मात्र पुग्दैन, त्यसका लागि नेतृत्वले निश्चित दृष्टिकोण निर्माण गर्न आवश्यक छ । त्यसका लागि पहिलो शर्त हो, आपसि मतभेद र अन्तर्विरोधलाई हल गर्दै अघि बढनु । १० वर्षे जनयुद्ध सत्ता प्राप्तिका लागि नयां अभ्यास थियो । त्यस्तै एमाले र माओवादी केन्द्रले पूर्ववत पार्टीहरु विघठन गरी नेपाल कम्यूनिष्ट पार्टी पुर्नगठन गरी नयां पार्टी मार्फत सत्ता संचालन गर्नु पनि नयां अभ्यास हो । २१ औं शताव्दीमा विज्ञान,प्रविधिका क्षेत्रमा प्राप्त भएका उपलव्धिहरुलाई उपयोग गर्दै आम उत्पीडित वर्ग र युवा लक्षित कार्यक्रम प्रति उन्मूख हुन सके नेपालका भावि दिनहरु सुखद् र समृद्धि तर्फ उन्मूख हुने देखिन्छ । यस्तो कार्यबाट नेपालको भावि राजनीति नेपाल कम्यूनिष्ट पार्टीको वरीपरी घुम्न सक्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top