
अग्निधर चन्द बोहोरा
मानिसले आफ्नो गच्छे, इच्छा र क्षमता अनुसार जीविकोपार्जन गर्न विभिन्न पेशा व्यवसाय अपनाएको हुन्छ । कतिपय आर्थिक उर्पाजन, व्यक्तिगत हित वा स्वार्थका खातिर मात्र गरिन्छन् भने कतिपय व्यक्तिगत हितसंगै सिंगो देश, समाज र जनताको पक्षमा हित हुने खाले पेशा अपनाइएको हुन्छ । ति पेशा मध्ये पत्रकारिता पेशा पनि एक हो । यो केही हदमा पेशागतका साथमा सेवामुखी पनि हुन्छ । जनतालाई सञ्चारको माध्ययमबाट भुगोलका कुना काप्चामा गइ कनिकुथी गरेर सही एवं सत्य तथ्य कुरो बाहिर ल्याउने काम पत्रकारिता हो भने सो जटिल काम गर्ने कर्ता चाँही पत्रकार हो । त्यो चाहे लेखेर होस्, चाँहे फोटो खिचेर वा ध्वनी संयोजन वा अन्य विविध उपायद्धारा गरिएको होस् ः सो सूचना मुलक वा चेतना मुलक कार्य चाँही पत्रकारितामा पर्दछ । यहाँ पत्रकार र पत्रकारिताका बारेमा केही संक्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।
नेपालमा पत्रकारिताको विकास क्रम विशेष गरी २०४६ सालको प्रजातन्त्रको पुनर्बहाली पश्चात केही मौलाएको पाइन्छ । त्यसपूर्व बहुदलका अगुवाहरुले लुकिछिपि छद्म नामबाट तत्कालिन शासनलाई झटारो हान्ने तथा भण्डाफोर गर्ने गरेको पाइन्छ । तिनताक जनताले लेख्ने बोल्ने अवस्था थिएन । वर्तमान समयमा भने प्रेसले धेरै फड्को मारेको छ । पत्रकारिताको पूर्ण पालन र धर्म निर्वाह नभएपनि अधिकांश रुपमा देश र जनतालाई यथासक्दो सुसुुचित पार्ने काम भएको आभास पाइन्छ । यद्यपी पत्रकारिताको नाममा बढि व्यापारीकरण र पार्टीकरण तथा प्रचारीकरणले पत्रकारिताको जुन ओत छ, त्यो पनि कता कता धुमिल हुन लागेको हो कि भन्ने आशंका र गन्ध आइरहेका छन् । उता तर्फ सरकारी पक्षबाट पनि ‘जुन जोगी आएपनि कानै चिरेको’ भने झैं सत्तामा जुन पार्टी गएपनि यो वा त्यो निहु वा बहाना वा घुमाउरो पाराबाट मिडियालाई धेरथोर कटौती गर्ने वा अंकुश लगाउने काम भइरहेको छ । पछिल्लो चरणमा यस्तै परिघटनाहरु देखिन थालेका छन् । खासमा प्रेस भएको राज्यको आँखा हो । त्यसैले भनाइमा राज्यको चौथो अंग भनेर पनि भनिन्छ । तर यही प्रेसलाई आफ्नो पक्ष वा ओडमा भएन भने प्रकाशन गृहमा ताला ठोक्ने तथा निहत्था पत्रकारहरुलाई अभद्र व्यवहार गर्ने र उस्तै परे ज्यान समेत लिने गरिन्छ । यि व्यवहार र परिघटनाले नेपालमा प्रेस वा पत्रकारिता मौलाए पनि खुल्ला र सुरक्षित छैनन् भन्ने कुरा बुझ्न कठिन पर्दैन । यथार्थ समाचार लेखे विभिन्न पक्षबाट खप्कि तनाव र उस्तै परे अभद्र व्यवहार सहित कुटामारी पाइने ! नलेखे जनताबाट आलोचना र विश्वनियताको हुनाले पत्रकारहरुलाई यो व्यवसायी विडो थाम्न निकै चुनौतीपूर्ण छ । तर, सत्यतथ्य र यथार्थ खबर लेख्नको लागि रतिभर पनि पत्रकार चुक्नु, झुक्नु र लुक्नु हुँदैन । तर, समाचार संकलनका नाउँमा फाल्टु र झुट्टा समाचार छाप्नु, कोठे पत्रकारिता गर्नु भनेको स्वयम सूचना र मिडियाकै धज्जी उडाउनु र अवमुल्यन गर्नु हो । आजभोली कतिपय मिडिया तथा सामाजिक सञ्जालहरुमा कतिपय गलत सूचनाहरु आउने गरेका छन् जसले सिंगो प्रेस प्रति जनताको विश्वास घट्न जाने र प्रश्न चिन्ह् खडा हुने हुंदा यस प्रति जो सुकै पत्रकारहरु सजग हुनै पर्छ । पत्रकारले पत्रकार आचार संहिताको पनि पूर्ण पालन गर्दै अरुलाई समेत खबरदारी गर्नु पर्छ । अझै पनि सूचना तथा समाचारको लागि विकसित पश्चिमा राष्टमा झै नेपालमा सहज व्यवस्था नभएकोले थोरै हित र बढि जोखिम छ भन्दा अत्युक्ति नहोला । तर, पनि आफ्नो बलबुता र क्षमताले भेटाएसम्म नेपाली मिडियाकर्मीहरु आ–आफ्नो पक्षबाट तल्लिन रहेको कुरालाई नकार्न सकिन्न । र, सरकारी पक्षबाट श्रमजीवि पत्रकारहरुको हकहितको लागि कोरा आश्वासन र केही टालटुले काम बाहेक खासै केही नहुंदा मिडियाकर्मीहरु पलायनको बाटो रोज्न बाध्य हुन्छन भने पत्रकारिताको नाममा अन्य व्यवपारी बनेका छन् । कतिपयका सवालमा योे बाध्यता हो भने कतिपयको सवालमा हेलचक्राई ! त्यसकारण यस्तो परिस्थितिमा सम्बन्धित पक्ष ध्यान जानु पर्ने देखिन्छ ।
सन्दर्भलाई तन्काउदै लैजाँदा नेपाल लगायत प्यूठानको हदमा पत्रकारिताको विकास हुन थाले पनि समग्रमा आझै अधुरो नै छ । पत्रकार र पत्रकारिता भनेको प्रचार वा आफैमा बखान मात्र हुनु होइन त्यो सम्पूर्ण जन–जनहरुको मन–मनमा छाइनु पर्दछ । पत्रकारहरु त्यस्ता कालिगड हुनु पर्छ कि विग्रेको ढुंगा कुँदेर मुर्ति बनाउनु पदर्छ । पत्रकारिता गोजी पत्रकारिता होइन कि बृहत खोजी पत्रकारिता हुनु पर्छ । पत्रकारहरुको व्यवसायीक कर्तव्य आफ्नो स्वार्थ हेतु समाचार लेख्नु, बेच्नु र विज्ञापनीकरण मात्र गर्नु होइन कि स्वतन्त्र र निश्पक्ष ढंगबाट जनतालाई सुसुुचित पार्नु हो । नेपालको सन्दर्भमा हेर्दा पत्रकारिताको नाममा विज्ञापनीकरणमा बढि जोड दिएको देखिन्छ । हुन त यो समसामयिक र प्रेसको बाध्यात्मिक अवस्था होला । यद्यपी यसलाई हल्का संसोधन गर्नैपर्ने देखिन्छ । जस्तै सामाचार भन्दा भन्दै लामो विज्ञापन, टेलिभिजन प्रसारण हुंदै जाँदा व्यापारिक विज्ञापन, कुनै कार्यक्रमको टाइटल देखाएर १०–१५ मिनेटसम्म विज्ञापनको कार्यक्रम र पत्रिका पल्टायो की चौतर्फी विज्ञापन हुनाले मानिसहरुको मिडियाप्रति निक्रिस्टता भइरहेको छ । यसो हुन नदिनको लागि सरकारले मिडिया प्रति नम्र र सहयोगी व्यवहार प्रदर्शन गर्न जरुरी छ । उनीहरुको आत्मानिर्भरको लागि समान विज्ञापन प्रणालीको व्यवस्थापन गरी सदा मिडिया मैत्री हुनु आजको टड्कारो आवश्यकता हो । किन भने यो धुव्र सत्य हो कि । पत्रकारिता भनेको सरकार तथा सरकारी निकायहरुको सम्पूर्ण गतिविधि यावत रुपमा जनसामु प्रदर्शन गर्नु हो ।
आजकोे २१ औं शताब्दि विज्ञान तथा प्रविधिसंगै सूचना तथा सञ्चारको दु्रततम विकासको युग हो । अहिले सञ्चार क्षेत्रमा छापा माध्ययमका अलावा विद्युतिय प्रविधिबाट विभिन्न सामाजिक सञ्जालहरुका साथै अनलाईन मिडिया पनि प्रचुर मात्रामा विकसित भएका छन् । यस्ता प्रविधिको विकासले प्रेस जगतमा गुणात्मक छलाङ मानिए पनि त्यसको प्रमुख जरो वा माउ भनेको छापा माध्यम कै हो । यसको गरिमालाई कम आंकलन मिल्दैन । मिडियाले वास्तवमा समाज व्यक्ति र मुलुककै युगान्तकारी परिवर्तन गर्दछ । त्यसैले पत्रकारहरु फुर्सदको पत्रकार नभएर स्वर्तस्फुर्त तथा स्वचालित मेसिन जस्तै हुनुपर्दछ । हामी पत्रकारहरु नाम मात्रका होइन व्यापारी, किसान पत्रकार होइन की जोन रिड, लुस्युन र भारतिय पुर्व राष्ट्रपति पत्रकार अब्दुल कलाम जस्तै मेहनती, चङ्खु र पर्खर हुनु पर्दछ । भनाई वा सुनाइको भरमा मात्र समाचार संग्रह नगरि सम्बन्धित घटना स्थल वा वारदातमै उपस्थित भए मात्र जनताको विश्वस्त हुन सकिन्छ । उसो त मिडिया मात्र होइन नेपाली जनताहरु पनि अझै सम्म पनि मिडिया र मिडियाकर्मी प्रति त्यति सकारात्मक भएको देखिएन । पत्रकारहरु देशका प्रकाश वा आँखा हुन भन्ने कुरा नबुझि आफ्नो पेट पाल्ने खेताला तथा व्यवसायी हुन भन्ने र बाटोघाटो, अफिस आदीमा पत्रकारहरु देखिदा ‘लौ अब आयो के भन्छ वा विज्ञापन तथा के लन्डो लगाउछ भनेर लुक्ने वा कुुलेलम ठोक्ने जस्तो गतिविधिले पक्कै पनि मिडिया क्षेत्रको विकास हुने छैन । यस प्रति सम्पूर्ण जनमानस पनि सहयोगी तथा मिडिया मैत्री भइ यसमा भरमग्दुर सहयोग गर्नु पर्छ । यही सन्दर्भमा ५ नम्बर प्रदेश अन्तरगत नेपा पत्रकार महासंघ प्यूठानको साधारण सभा निर्विरोध रुपमा सम्पन्न भएको छ । यस साधारण सभाले उपलब्ध पत्रकार र मिडियालाई सशक्त, र उर्जावान बनाउन सक्दो वातावरण सिर्जना गरेको छ । साथै आफ्नो कलमरुपी हतियारलाई तिखार्दै अगाडि बढ्नमा टेवा पुग्ने छ भन्दै प्रदेश नम्बर ५ वाला पत्रकारका पदाधिकारीहरु प्रति सफल कार्यकालको सगर्व शुभकामना ।
कमेन्ट गर्नुहोस !