मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

हाम्रो देश अमेरिका नबनोस !


लिला पुन।
यो भन्दा केही महिना अगाडि नेपालीको निम्ति त्यस्ता दिनहरु पनि थिए, जुन दिनले छोराबुहारी, छोरीज्वाँइहरु कहाँ छन् त भनी सोद्धा अमेरिका भनेको सुनियो भने भन्ने अभिभावकको नै गौरवको विषय बन्थ्यो । गाउँसमाजमा उसको छुट्टै मानमनिटो र सम्मानको विषय बन्न जान्थ्यो । भए पनि नभए पनि ऊसंग डलरको पोका छ भन्ने शंका गर्थे, उनलाई देख्नेहरु ! धनीमानीमा गनिन्थे । सबै जानेको बुझेको, जिउदै स्वर्ग देखेको छोराबुहारी वा छोरीज्वाँइले अमेरिका घुमाउन लगेको ! छोराबुहारी, छोरीज्वाँइ त त्यस्तो पो हुनुपर्छ । फलानाले भाग्यमा लेखेर आएको रहेछ, भन्थे मान्छेहरु ! छोराबुहारी, छोरीज्वाँइहरु अमेरिका पुगेको निकै गर्व थियो ती अमेरिका पठाउने तागत भएका अभिभावकहरुलाई ! कत्ति पनि पश्चाताप थिएन, आफ्नो आमाबाबु, दाजुभाइ, दिदीबहिनी, संगीसाथी र स्वर्ग जस्तो शुन्दर देश छोडेर विदेश गएकोमा ती अभिभावकहरुलाई ! पश्चातापको बदला गर्व थियो उनीहरुमा आफन्तलाई अमेरिका पठाएकोमा ! उनीहरुसंग थुप्रै गाउँले मान्छेहरु आउथे, मेरो छोरालाई पनि अमेरिका पठाईदेऊ भनेर विन्तिभाउ जोर्न !
समयले पनि कस्तो कोल्टो फे¥यो ! के सोचेको के भई दियो ! कहाँको मान्छे कहाँ पुगे ! कस्ता मान्छे, कस्ता भए ! के दिन आयो, के जमाना आयो यस्तो ! कुनबेला को मर्ने हो ! कसैलाई केही थाहा छैन यसबेला ! संसार हल्लाएर बसेको, संसारभर साँढे भएर मन्द्राएको देश अमेरिका ! विचरा अहिले कोरोना भाइरसको कारणले गर्दा बाँचेकाहरुले मरेकाहरुलाई दिनहुँ मसानघाटमा ओसारी राखेका छन् ! तै पनि आफन्तले होईन, अस्पतालबाट सेना, पुलिस, डाक्टरहरुले सैनिक तरकमा राख्दै लासहरु ओसार्दै डोजरले खनेको खाल्डोमा एकमाथि अर्को गरेर पुर्दै अस्पताल फर्केका छन् सरकारी बाँचेका मलामीहरु ! सारा देश लकडाउनको अवस्थामा पनि कोरोनाले आफ्नो वृद्धि दर कत्ति पनि कम गरेको छैन । दिन दुईगुना, रात चौगुनाको हिसाबले अगाडि बढिराखेको छ कोरोना भाइरस ! अमेरिकामा के छैन् सबै चीज छ ! के पाईदैन सबै पाईन्छ । के को अभाव छ सबै पुर्ति हुन्छ । जे चाह्यो त्यही पाईन्छ तर पाएर धनी भएर मात्र हुँदोरहेन छ ! बुद्धी, बल, धन, कल गरेर हुने भए यो अवस्थामा डोनाल्ड ट्रम्पले संसारको कुन देशलाई बाँकी राख्थे र !
डोनाल्ड ट्रम्पको यही अहंकारी, घमण्डी, अदुर्दर्सी र अविवेकीपनाको कारणले गर्दा नै अहिले अमेरिकी जनताले यो दुःख खेपि रहेका छन् । कुनै पनि देशको राष्ट्रप्रमुख लाचारी भैदियो भने त्यसको परिणाम जनताले भोग्न पर्छ । अहिले अमेरिकामा त्यही भईरहेको हो । चीनमा कोरोनाको माहामारी पैmलिएको बेला दुःखमा साथदिनुको सट्टा धनको घमण्डले मातिएर चीनियाँ जनतालाई विश्व रंङ्गमञ्चबाट नङ्गाउन विभिन्न नानाभातिका भए नभएका आरोपहरु लगाउँदै चीनियाँ सरकारसंग राजनीति प्रतिशोध साँधिरहेका बेला के ट्रम्पलाई कोरोना भाइरसको विपत्ति हाम्रो देशमा पनि आउँछ भन्ने कुरा अलिकति पनि हेक्का थिएन र ! चीन र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सम्बन्धि जानकारी दिइरहदा ट्रम्पले कानमा तेल हालेर बसेका थिए र ! अहः केही पनि हालेका थिएनन् ! हालेका थिए भने केवल धन र शक्तिले महमत्त भएको अहंङ्कारी, घमण्डी, अदुर्दर्सी, लाचारीपनाले भिजेको कपास हालेका थिए ।
अहिले कोरोनाको कारणले गर्दा अमेरिकामा दिन र रात गरेर १५ सयदेखि २५ सयको हाराहारीमा मान्छेहरु मरिरहेका छन् । संक्रमित संख्या अझ द्रुत गतिले अगाडि बढिराखेको छ । वितेका केही दिन यता भने कोरोनाको संक्रमित संख्या अलि कम देखिएको छ । यो लेख तयार पारिरहँदा अर्थात २०७७ साल बैशाख ६ गते दिउसो ५ बजेसम्म विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमित संख्या २,२६०,८६२ छ भने ज्यान गुमाउनेको संख्या १५४,७१४ छ । विगतका दिनहरु भन्दा यसपटक विश्वमा नयाँ केस कम देखिएको छ, जसमा धयचमियmभतभचक वल्र्ड मिटर को आधारमा ११,९९९ मात्र संक्रमित संख्या देखाएको छ । त्यसै गरेर उपचारपछि निको भएको ५७८,७९९ छ भने सिरियस केस ५७,१३६ पुगेको छ । हालसम्म अमेरिकामा संक्रमित संख्या ७१०,२७२ र ज्यान गुमाउनेको संख्या ३७,१७५ उपचारपछि घर फर्केको ६३,५१०, सक्रिय केस ६०९,५८७ सिरियस केस १३,५०९ छ भने जम्मा जाँच ३,५७९,७९७ गरिएको छ । यी माथिको डाटाले के जनाउँछ भने अमेरिकामा तिब्रगतिमा वृद्धि भईरहेको कोरोना भाइरसले सजिलो तरिकाले छोड्दैन । यसले अमेरिकामा ठूलो आर्थिक मन्दी, गरिवी, भोकमरी, अनेक रोगव्याधि, अनिकाल सबै मानवीय जीवनमा प्रभाव पार्ने कारकतत्व छोडेर जानेछ । अमेरिका जस्तो शक्तिसम्पन्न देशलाई त यो हालतमा पुरायो भने अमेरिकाको गतिमा कोरोना भाइरसको वृद्धि अन्य तेस्रो विश्वको विकाशसोन्मुख देशमा भयो भने के हालत होला ! सरकारले यो कुरा बेलैमा सोच्नु पर्छ । कोरोना भाइरसको पीडाभन्दा जनतामाथि भोकको पीडा झन् ठूलो हुने छ । त्यो भोकले सबैभन्दा पहिले राज्यसत्तामाथि हालीमुहाली गर्ने नेताहरुलाई नै निल्ने छ भने त्यो भोको पेटमा जनताले जे पनि गर्न सक्ने छन् ।
डलर कमाएर आफ्नो जीवनलाई संसारको सुखमा राख्ने लक्ष बोकेर गएका कतिपय नेपाली नागरिकहरु अहिले अमेरिकामा भोकै, नाङ्गै बस्नु पर्ने अवस्था आएको छ । नेपालमा उनका आमाबुबा, आइआफन्तहरुले प्रदेश गएका छोराबुहारी, छोरीज्वाँइलाई कसरी नेपाल ल्याउँने र त्यही बसे पनि कोरोनाबाट कसरी सुरक्षित राख्ने भनेर भगवान पशुपतिनाथसंग हात जुहार्ने उपाए सिवाए अब केही छैन् । स्वदेशमा जीवन धान्ने रोजगारी नपाएपछि बाद्यता र विवशताले आफ्नो आमाबाबु , छोराछोरी, जहानपरिवार पाल्न अमेरिकामात्र होईन, विश्वको कुन देशको कुन कुनामा पुगेका छैनन् र अभागी नेपालीका अभागी छोराछोरीहरु ! अहिले कोरोनाले विश्वको दुईसय देशभन्दा बढीमा संक्रमित गरिसकेको छ, कोरोनारहित कुनै देश खाली छैन ! छ भने केवल त्यति मात्र छ, कुनै देशमा बढी प्रभाव, कुनै देशमा कम प्रभाव ! अहिले पश्चिमा देशमा घरबाट अस्पतालबाट लास ननिकालेको कुनै दिन छैन । जहाँकतै, जताततै रुवाबास र हाहाकार छ ! छोराबुहारी, छोरीज्वाइ, नानातिना पठाउने आमाबाबा, सासूससुुरा, बाजेबजैको मनमा डहन पीरले बास गरेको छ आजकल नेपालमा ! विचरा असीको घरानमा पुगेका आमाबाबुले लठ्ठीको सहारामा धारोबाट पानी थापेर ल्याउँछन् आटो, सागसिस्नो घरमा जे पाईन्छ त्यही पकाएर खान्छन् । बुढेसकालको बेला उनीहरुलाई सहारा दिने कोही छैन । खेतबारी बाजै छन् ! मकै, गहुँ, जौ हुने बारीमा दुबो उम्रिसकेको छ !
गाउँमा कोही कसै मरे भने लास बोकेर घाट जाने मान्छे छैन । बाउबाजेले बनाएका पुराना घरगोठहरु भत्किसके ! नभटकेकाहरु भत्किन तयार छन् । पितापुर्खाले जनतन धानेको संस्कार, संस्कृतिमाथि पनि आधुनिकताको नाममा विदेशी संस्कृतिले रजाई गरिसक्यो ! गाउँघर फर्केका दुईचार जना गाउँका युवाहरुले नेपाली गीत गाउलान् , नेपाली बाजा बजाउलान् भन्दा कम्प्युटर, ल्याकटप, मोवाइल, युटुवबाट रक र पप गीतहरु सुन्छन् । त्यसैमा नाच्छन् , गाउँछन् रमाउँछन् । आफ्नै देशमा बस्ने, आफ्नै देशको सेवा गर्ने, खेतबारी बाँझो नराख्ने, यही उत्पादन गरेर यहीको आटो, ढिडो, साग, सिस्नो खाने भन्ने सोच त आधुनिक युवा जमातको दिमागमा कसैको पनि छैन । सारा विश्वभर कोरोनाको माहामारीले हाहाकार पारेको छ ! कोरोनाले एकतिर मान्छेको ज्यान खाएको छ, अर्कोतिर बाँचेका सबैलाई गतिलै पाठ सिकाएको छ । मर्दा, पर्दा, दुःखपीर आईलाग्दा त आफ्नै देश, आफ्नै मात्रृभूमि, आफ्नै आमाबाउ, आफ्नै जन्म ठाउँ चाहिने रहेछ भन्ने सबक सिकाएको छ । यतिबेला विदेशीयका युवायुवतीहरु मर्ने र बाँच्नेको दोसाँधमा छन् । कोरोना भाइरससंग पौथेजोरी खेलिराखेका छन् । आफ्नो देश, आफ्नो घर फिर्ता हउन् जमिनदेखि लिएर आकाससम्मको यातायातका साधनहरु सबै लकडाउनमा परेका छन् !
नआउन् के खाने ! कहाँ बस्ने ! आफ्नै देश, आफ्नै गाउँघर आए पनि गाउँले आफन्तले शंका गर्ने ! सरकारले पुलिस, सेना लगाई छोपेर चौधदिने क्वारेन्टाइनमा राख्ने, दोस्रो दर्जाका नागरिकको व्यवहार गर्ने ! हाम्रा पुराना जिनाघाटुले भन्ने गर्थे–“शत्रुलाई सजाय दिनु छ भने मारेर सजाय दिने होईन, जिउदै तड्पाई–तड्पाई मानसिक यातना दिएर मार्नु पर्छ, सही सजाय त्यही हो” । कोरोनाले मात्रृभूमि छोडेर विदेश गएका युवा, युवतीहरु लगाएत सबैलाई त्यस्तै गराएको छ । जिउदै तड््पाई–तड्पाई मारेको छ र मार्न लगाएको छ ! अमेरिका, इटाली, स्पेन, फ्रान्स, जर्मन जस्ता विकसित देशहरुलाई कहाँ जाऊँ, कसो गरु भन्ने गराएको छ । रुनु न हाँस्नु , मर्नु न बाँँच्नु गराएको छ । अमेरिका, इटाली, स्पेनको हालत अहिले कस्तो होला ! भनि नसक्नु छ, पत्याई नसक्नु छ ! सुन्दा पनि आङ सिरिङ हुने धर्तीको वेदना बोकेका छन् , अमेरिकी, इटाली जनताहरुले ! समाचार सुन्दा मात्र त शरिर काम्छ भने प्रत्यक्ष आँखाले देख्दा कस्तो होला ! जतिसुकै शत्रु भए पनि यस्तो हालत कसैको देख्न नपरोस ! यस्तो वेदना र व्यथा कसैको सुन्न नपरोस ! गर्दासम्म गर्ने हो ! गर्दा–गर्दै भएन भने अन्तमा भगवानसंग हात थाप्ने हो ! त्यो सिवाए अरु विकल्प के छ र ! मेरो यही कामना छ ! हाम्रो देश बर्तमानको अमेरिका, इटाली नबनोस !!

हाम्रो देश अमेरिका नबनोस !

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top