
के.बि. मसाल
हामीले प्राकृतिक रुपमा रहेका सम्पदाहरुलाई नै अहिले पर्यटनको गन्तब्य भन्दै आएका छौ । आजभोली धेरै पर्यटकहरु प्राकृतिक जैवीक विविधता को क्षेत्रमा भ्रमण गर्न रुचाउछन । यो मानवको स्वभाव पनि हो, विविधतामा रमाउने । नयाँ ठाउँ र नयाँ बस्तु हेर्न पर्यटकहरु मन पराउछन् । पर्यटकलाई आकर्षणको गन्तब्य भनेको हामीसंग भएको प्राकृतिक सौन्दर्य र जैविक विविधता, ऐतिहासिक तथा साँस्कृतिक सम्पदाहरुनै हुन ।
प्रदेश नम्वर ५ मा पर्ने प्युठान र अर्घाखांचिको सिमानामा ऐरावती पर्दछ । ऐरावती गाउँपालिका वाडनं १ मा पर्ने ऐरावती धार्मीक पर्यटकियस्थल हो । ऐरावतीमा पुग्ने पर्यटकहरुले धार्मीक मात्र नभएर जैविक विविधताको अध्यन गर्न पाउछन । ऐरावती प्राकृतिक, जैविक र सांस्कृतिक हिसावले समेत मनोरम तिर्थस्थल हो । ऐरावती प्युठान जिल्लाको स्वर्गद्वारी पछिको प्रशिद्ध धार्मीकस्थल मानिन्छ । ऐरावतीमा रहेको अमरेश्वर महादेबको मन्दिर ऐतिहासिक हो । जुन स्थानमा सतीदेबीको अगं पतन भएको मानिन्छ । ऐरावतीमा स्नान गर्नाले पुण्य कमाईने बैकुण्ठ धाम जान सकिने जन बिश्वास छ । हिन्दुहरुको धार्मिक ग्रन्थ अनुसार सत्य युगमा इन्द्र ऐरावत नामको हात्तीमा चढेर झिमरुक र माडी को संगम स्थलमा आएकोले त्यस ठाउँको नाम ऐरावती राखिएको बिश्वास गरिन्छ ।
ऐरावतीमा आजभोली पर्यटकहरु को लागि जैविक विविधता अध्यनको गन्तब्य बनेको छ । प्युठान, अर्घाखाँची र दाङ जिल्लाका मानिसहरु बनभोज र मनोरन्जनका लागि पनि ऐरावती पुग्ने गरेका छन् । भालुवाङ–प्युठानको सडक खण्डको २४ कि.मीं. मा पर्ने बडडाडाँ देखि ऐरावती करिव २२ किलोमिटरको दुरीमा पर्दछ । बडडाँडा देखि ग्रामिण कच्ची सडक भएकोले बर्षामा भने ऐरावती पुग्न अली कठिन हुन्छ । बडडाडाँ बजारबाट कास्कोट, हँसपुर दुमहि हुदैँ ऐरावती सममको यात्रामा वरपरको प्राकृतिक वातावरणले पर्यटक रमाउने गर्दछन । बडडाँडाबाट जीपमा १ घन्टाको यात्रामा झिमरुक र माडी मिसिएको ठाउँ ऐरावती पुग्न सकिन्छ ।
बडडाँडाबाट ऐरावती जादाबाटोमा ऐतिहासिक ढुङेगढी पर्दछ । ढुङेगढी सरुमारानी गाउँपालिकाको वाडनं.४मा पर्दछ । बडडाँडा बजारबाट करिव आधा घन्टा पैदल यात्रामा पुगिने ढुङेगढी भुरेटाकुरे राजाहरुको पालामा प्युठानका भित्रीकोटे राजाहरु हिउदको बेलामा शासन चलाउने थलो थियो । यो ठाउँ अहिले भग्नावशेष मात्र बाकी छ । त्यहा भएका ऐतिहासिक महत्वका बस्तुहरु हराएका छन । स्थानीय बासिन्दाहरु को संरक्षण हुन नसक्दा ढुङेगढी दरवारका ढुङगा समेत स्थानीयहरुले प्रयोगमा ल्याएका छन । तर पनि ढुङगेगढी पर्यटकहरुको लागी प्राकृतिक र ऐतिहासिक स्थल बनेको छ । ढुङेगढी पुगे पछि जो कोहि पर्यटकहरु एकैछिन सुन्य आकासमा हराएको भान हुन्छ । ढुङेगढीको भग्नावशेष दरवार परिसरबाट अर्घाखाँचीको जलुकेका लौरी सिद्धारा, रातामाटा, लामाताल लगायत सुन्दर गाउँ र बस्तीहरु, राप्ती नदीको नागवेली आकार,प्युठानको बाग्लेसालको समथर बस्ती दृष्यावलोकन गर्न सकिन्छ । ढुङेगढीबाट उत्तर तर्फ फर्केर हेर्ने हो भने दाङवाङ, धुवाङ, वरौला, पकलाको दक्षिण भूभागका गाउँ र सुन्दर डाँडाकाडा समेत देख्न सकिन्छ ।
भालुवाङबाट ऐरावती पुग्नको लागी बडडाँडा नपुगेर पनि जान सकिन्छ । कतिपय पर्यटकहरु यहि बाटो भएर जान रुचाउछन । भालुवाङ–प्युठान सडकको १२ कि.मी. मा पर्ने दरबानबाट बाग्गेसाल हुदै ऐरावती पुग्न सकिन्छ । दरबान देखि ७ कि.मी को यात्रामा बाग्गेसाल–लामाताल– कालिवन हुदै झिलिवाङ सम्म आफ्नो साधन हुनेले मोटरमा पुग्न सकिन्छ । झिलिवनबाट करिव २ घन्टाको पैदल यात्रामा ऐरावती पुगिन्छ । आजभोली अर्घाखाँची र प्युठान पनि सडक सञ्जाल जोडिएको छ । बुटवल तीरबाट सुपादेउराली दर्शन गर्न जाने धार्मींक पर्यटकहरु मोटर मार्गबाटनै ऐरावती पुग्न सक्दछन । अर्घाखाँचीको ठाडा–जुकेना–सानाढुमरे हुदै प्युठानको माझीदमार सम्म हिउदमा जीप चल्न थालेको छ ।
धुलो, धुँवा र प्रदुषणयुक्त सहरी वातावरणबाट केहि दिनलाई भने पनि आनन्द लिन धेरै पर्यटकहरु आफ्नो भ्रमण जैविक विविधता भएको क्षेत्रमा जान रुचाउछन । ऐरावती क्षेत्रको भ्रमणले पर्यटकहरुलाई केवल धार्मीक र ऐतिहासिक मात्र नभएर जैविक विविधता र पर्यावरण संम्वन्धी धेरै जानकारी लिन सक्दछन । ऐरावतीमा मिसिन आउने झिमरुक र माडी खोलाको बारेमा अध्यन गर्न सक्दछन । आफ्नो भ्रमण अबधि लम्वाउन चाहने पर्यटकहरुले माडी र झिमरुकखोला किनारमा रहेका गाउँ बस्ती र जैविक विविधतामा रहेका वन जगंलको बारेमा अध्यन गर्न सक्दछन ।
रोल्पा–बाग्लुङको सिमानामा पर्ने कालाशेषबाट बग्दै आउने लुङग्री खुङग्री खोलाको पानी र रोल्पाकै राँकको जायाचौरबाट बग्दै आएको माडी खोला चतुर्भुजमा मिसिएर माडिखोला भएर बग्दछ । प्युठान जिल्लाको अर्खा, रजवार र गौमुखीबाट मुहान भएको झिमरुक खोलामा गर्दन खोला, छोपेखोला, खप्रङखोला आदि स–साना खोला नालाहरु मिसिएर ऐरावतीमा माडी र झिमरुक मिसिन्छ । ऐरावतीको दोमहिबाट राप्ती नदीको नामाकरण हुन्छ । ऐरावतीको महत्व झिमरुक र माडीको संगमस्थल मात्र छैन । ऐरावतीले झिमरुक र माडी नदीलाई मात्र जोडेको छैन, सल्लीकोट, डावर,सिरसेनी, धाबोट, कोलबाोट, बेलबोट र दमारा जस्ता गाउँ र बस्तीहरुलाई पनि जोडेको छ । प्यूठानको दाङवाङ र हंसपुर तथा अर्घाखाँचीको जलुके ऐरावतीसँगै जोडिएको रमणिय गाउँ छन ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ऐरावती रमणीय त छँदैछ । धार्मिक, साँस्कृतिक, एवं पर्यटकीय दृष्टिकोणले ऐरावती उत्तिकै महत्वपूर्ण पनि छ । प्रशिद्ध शिला अर्थात चट्टानमा निर्मीत ऐरावत हात्ती र गणेशका सुढको आकृतीले ऐरावतीको महत्व बढाएको छ । माडी र भिमरुकको संगम स्थलमा ठूलो पत्थरमा हात्तीको आकृति देख्न पाउदा ऐरावती पुग्ने पर्यटकहरु आश्चर्य चकित हुन्छन । नदीमा पौडिखेल्ने सिप भएका पौडिवाज पर्यटकहरु का लागि ऐरावती थप रमणिय स्थल बन्दछ । सलसल पानीमा खेलिरहेका माच्छा संग पौडी खेलेको दृष्यको सेल्फी लिनेहरुको पनि कमि हुदैन । माघे सक्रान्तीमा पुग्ने पर्यटकले त मेलामा प्रर्दशन गरिने स्थानीय नाचहरु, मारुनी, सोरठी, भजन समेत देख्न सक्दछन ।
ऐरावतीमा पर्यटकहरु को लागी बस्न खान कुनै होटल छैन । ऐरावतीको चारैतिर उच्च श्रृंखलाहरुको डाँडाकाडाका गाउँ र बस्तीमा मानिसको बसोवास छ । ऐरावती पुगिसके पछि कतिपय पर्यटक डाडाँकाडाका बस्तीहरुमा भ्रमण गर्न रुचाउछन । गाउँमा पेइङ गेष्टको रुपमा रात बिताउने गर्दछन । ऐरावती क्षेत्रमा गाउँमा वसोवास गर्ने जनजातिहरुको आफनै रहन सहन, भेषभुषा सहितको जीवनशैली छ । दाङवाङको शिरसेनीका गुरुङ समुदायको ल्होसार पर्व र घाटुनाचले ऐरावती पुग्ने जोसुकै पर्यटकहरुलाई नौलो अनुभुती हुन्छ । तर घाटु नाच हेर्न भने उनीहरुको पर्वमानै पुग्नु पर्दछ । सहर बजारबाट भ्रमणमा पुगेका पर्यटकलाई ती सबै परिवेस थप अध्यनको बिषय बन्दछ ।
बेला–बेलामा चर्चामा आउने नौमुरे परियोजनाको बाँध ऐरावती भन्दा २ किलोमिटर नजीक पर्दछ । ऐरावती पुग्ने पर्यटक अथवा अन्य मानिसहरुले पनि नौमुरेको बारेमा चासोका साथ अध्यन गर्दछन । नौमुरे नेपालको बहुउद्देशिय परियोजना मानिन्छ । यो परियोजना भनेको, माडि र भिमरुकको पानीलाई नौमुरेमा ९० मिटर अग्लो बाँध बाँधी दुई सय ४५ मेगावाट बिजुली उत्पादन गर्ने हो । विद्युत गृहबाट निस्किएको पानीलाई अर्घाखाँची जिल्लाको शितगंंगा नगरपालिकामा पर्ने लापे माथीको पहाड, लौरी सिताराको पहाड, र धानखोला नजिकका पहाड मुनी सुरुङमार्ग बनाएर राप्तीको पानी सुराइखोला बाट भारत पु¥याउने योजना भारतको छ । यो परियोजना सुरु भयो भने माडी र झिमरुक दुबैखोलामा करिव २० किलो मिटर सम्म डुबान अर्थात पानीको ताल हुन्छ ।
झिमरुकखोला तिर दाङबाङको छेडा, सीमपानी, चाक्लीघाट, पतेरी, जुडा हुँदै साझबोटसम्म पानीको ताल बन्ने छ । त्यसै गरी माडी खोलामा दुमई लामीदमार, मछेडी, चिदीदमार,खारापकला, सुजीनपुर, आहाले, पनाहा, चुना, ब्योरे, बैके, सिमलचौर र देविस्थानको जस्पुरसम्म डुबान अर्थात पानीको ताल बन्ने छ । अर्घाखाँची जिल्लाको भूगोलमा जलुके, धनचौर, नुवाकोट र खिल्जीका झिमरुकतिर पर्ने भागहरु डुवानमा पर्नेछन् । प्यूठान र अर्घाखाँचीका ४ हजार घरधुरी डुवानमा पर्नेछन् । डुबानमा चार सय हेक्टर जमिन आवादी पर्नेछ । ऐरावती पुग्दा रुचि भएका पर्यटकहरु को लागी नौमुले परियोजना स्थलगत अध्यन गर्न समेत सक्ने छन ।
जैविक विविधताको अध्यन गर्ने पर्यटकहरुका लागी ऐरावतीमा माडी र झिमरुकखोला किनारका बस्ती र वन जंगलहरु अध्यनका विषय बन्न सक्दछन । त्यहाँ छोटो दुरिमा धेरै भौगोलिक संरचनाहरु पाइन्छ । भिन्न भिन्न हावापानी पहाडी श्रृखलाका भीर, पहरा, गल्छी र पातलो मानव बस्तीहरु छन् । ऐरावती वरपर उत्तर–दक्षिण दुवैतिर फर्केका डाडाँका पाखाहरु, एकातिर घामलाग्ने र अर्कोतिर ओसिलो हुने धेरै ठाउहरु छन । यी क्षेत्रमा जैविक विविधता को अनुभव गर्न सकिन्छ । पहिलो पटक ऐरावतीको क्षेत्रमा पुगेको पर्यटक ती सबै दृष्य देख्दा रमाउछ । आफ्नो क्यामारामा प्राकृतिक दृष्यलाई कैद गर्दै एकैछिन भएपनि प्रकृति संग भावनात्मक संम्वन्ध राख्न खोज्दछ ।
ऐरावतीको भूगोल सुन्दर छ । पर्यटकहरुलाई अध्यन गर्ने धेरै क्षेत्रहरु छन । तर भरपर्दो सडक यातायात छैन । सडक यातायात खुल्नु भन्दा पहिले दाङवाङ, वरौला, पकला र धुवाङ वरपरका गाउँलेहरुले ऐरावती हुदै सलिकोट भएर नुन र तेल बोक्ने गोरेटो बाटो समेत नासिन थालेका छन । ऐरावतीलाई पर्यटनको विकास गर्न अव स्थानीय तहका जन प्रतिनिधिहरु लाग्नु पर्दछ । गाउँमा पर्यटक भित्राउन आवस्यक पुर्वाधार निर्माण गर्नु पर्दछ । कम्तीमा गाउँमा पुग्ने पर्यटकहरुको लागि खाना बस्नको लागी होटलको सुविधा हुन जरुरी छ । ऐरावती क्षेत्रमा पर्यटन भित्राउन अब गाउँपालिकाले वृहत योजना सहित सडक, स्वाथ्य चौकी, सन्चार र सुरक्षाको लागी प्रहरी चौकी समेत स्थापना गर्दै जान पर्दछ । गाउँघरमा सरसफाइको वातावरण दिलाउदै गाउँमा होमस्टे सन्चालन गर्ने सोचको बिकास गर्न जरुरी छ ।
होमस्टे सन्चालन गर्न त्यती सजिलो भने छैन । धेरै जिल्लामा स्थान र जनजातीहरुको नामसंग जोडिएर होमस्टे सन्चालन आएका छन । सरकारले होमस्टे संचालन गर्नका लागी कार्यविधि २०६७ ल्याएको छ । कार्यविधि ऐनले होमस्टे सन्चालन गर्नको लागी के–के प्रावधान पु¥याउनु पर्दछ भन्ने कुरा बुझाइ दिएको छ । होमस्टेले ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुन्छ । गाउँमा स्वरोजगारका अवसरले आम्दानीका अवसरहरु बढछ । आम्दानीले मानिसको जीवनस्तरमा सुधार ल्याउने अवसर सृजना हुन्छ । होमस्टे भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा हो । यसको उद्देश्य होमस्टे संचालन गरी पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पु¥याउने हो । अर्को तर्फ होमस्टे संचालन गरी ग्रामिण क्षेत्रका जनताहरुलाई पर्यटन सेवामा सहभागि गराउने पनि हो । जुन कारणले गर्दा ग्रामीण समुदायको आयश्रोत बढदै जान्छ र जीवनस्तर मा सुधार आउछ ।
होमस्टे संचालन गरी पर्यटकहरुलाई ग्रामीण जनजीवन साथै संस्कृतिका वारेमा जानकारी दिन सकिन्छ । होमस्टे आवास मात्र नभएर पर्यटकहरुलाई रितिरिवाज, कला संस्कृति र रहन सहनको बारेमा जानकारी दिन सकिन्छ । होमस्टे सन्चालन भएका ग्रामणि क्षेत्रमा सांस्कृतिक कार्यक्रममा गाउँमा आएका पर्यटकहरुलाई सहभागी गराउन सकिन्छ । गाउँमा पुग्ने पर्यटकहरुलाइ जंगल ट्रेक, इको ट्रेक तथा दृश्यावलोकनको कार्यक्रमको व्यवस्था गर्न सकिन्छ । यो बाहेक होमस्टेले स्थानीय सांस्कृतिक नाचगान तथा फुलमालाका साथ पर्यटकको स्वागत गर्न सकिन्छ । होमस्टे संन्चालन भएका गाउँमा जाने पर्यटकहरुलाई स्थानीय कृषि, घरेलु तथा हस्तकला प्रविधि मा सहभागी गराई पर्यटक तथा स्थानीय जनता वीच जीवनशैली, कला संस्कृति आदी विषयमा अनुभव तथा ज्ञानको आदान प्रदान गराउन सकिन्छ ।
ग्रामीण क्षेत्रका पर्यटनस्थलमा पुगेपछि त्यहा पुग्ने पर्यटकहरुले केहि न केहि त्यस क्षेत्रको चिनो स्वरुप बस्तुहरु ल्याउन चाहन्छन । ऐरावती क्षेत्रलाई ग्रामीण पर्यटनको बिकास गर्नको लागी स्थानिय बासिन्दाहरु मा कला र शिपको बिकास हुन जरुरी छ । जुन शिपले आय आर्जन गर्न सकोस, अर्थात उनिहरु को शिपले उत्पादन गरेका बस्तुहरु त्यहा जाने पर्यटकले किन्न सकुन । अनिमात्र हुन्छ गाउँमा पर्यटनको बिकास ।
मिती ः– २०७४ भाद्र १७ गते दाङ
कमेन्ट गर्नुहोस !