शनिबार, कार्तिक ८, २०८३ | Saturday 24th October 2026

खर्चिलो र बोझिलो बन्दै संघीयता


डा. शिवराज पण्डित
मैले अघिल्लो महिनाको अन्त्यतिर प्यूठान जिल्लाको उत्तरी भेगको गाउंपालिकामा कार्यरत एकजना वडा सचिवसंग प्रश्न गरेको थिएं–‘ वडा सचिव ज्यू तपाइको वडामा विकास निर्माणको काम कसरी भैरहेको छ र स्थानीय सरकारको अनुभूति जनताले कसरी गर्दैछन् ? मेरो प्रश्नको जवाफमा उनको उत्तर थियो, विकास निर्माण त के हुनु, आज मात्र वडा प्रमुख लगाएतका अन्य प्रतिनिधिहरुलाई लाखौं रुपैयां भत्ता बांडेर आएं । एउटा वडाध्यक्षले उसको मासिक पारिश्रमिक सहित महिनामा झण्डै ६५ देखि ७० हजार सम्म बुझ्दछन् । आफै बुझ्नुस गाउंको विकास कसरी भएको छ र जनताले स्थानीय सरकारको अनुभूति कसरी गरेका छन् । यो एउटा प्रतिनिधिमुलक उदाहरणले प्रष्ठ पार्दछ कि संघीयता कसरी समुदाय र राष्ट्रका लागि खर्चिलो र बोझिलो बन्दैछ ।
नेपालमा संघीयताको वहस चल्दै गर्दा ने.क.पा. मसाल र उनका महामन्त्री मोहन विक्रम सिंहले संघीयताको विरोध गरे । हाम्रो जस्तो देशमा संघीयता आवश्यक छैन । यसले राष्ट्रियता कमजोर हुन्छ ,कमजोर अर्थ व्यवस्था भएको देशले संघीयता धान्न सक्दैन । मोहन विक्रम सिंहको कुरालाई मसाल इतरका सबैले विरोध गरे । संचार माध्यम र सभा सम्मेलनमा मोहन विक्रमकोे तेजोवोध पनि गरे । डलरजीवी तथा आइसीमा रमाउनेहरुले संघीयताको विषयमा काठमाण्डौंको पांच तारे होटेल देखि क्षेत्रीय र जिल्ला स्तर सम्म ठूलाठूला सभा सम्मेलन, प्रवचन,गोष्ठि गरेर संघीयता पढाउने काम गरे । यो पंक्तिकार पनि संघीयता पढ्न सुर्खेत पुग्यो । संघीयताको प्रखर र स्वघोषित व्याख्याता ठान्ने मेरा आदरणीय गुरु त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्र विषयका प्रोफेसर तथा भारतका लागि पूर्व राजदूत डा.लोकराज वराल,प्रा.कृष्ण खनाल,प्रा.डा.कृष्ण हताछ्यु हरुले पांच दिन सम्म संघीयताको विषयमा प्रवचन दिए । नेपालको लागि नयां विषय भएकोले मैले पनि प्रवचन तथा छलफलमा सक्रिय सहभागि भएं । त्यसपछि यो पंक्तिकार पनि मोहन विक्रम सिंहको जिल्लामा संघियताको विषयमा वहस गर्न सक्ने भयो ।
दश वर्षे जनयुद्ध गरेको माओवादीको लागि त संघीयता युद्ध विरामको मुख्य एजेण्डा र प्रस्ताव बन्यो । मलाई लाग्थ्यो यो संघीयता र माक्र्सवाद विच के सम्वन्ध छ ? वर्गिय मुद्धा संघीयताबाट हल हुन सक्दछ्न ? के माओवादीले संचालन गरेको १० वर्षे युद्धको आदर्श र अभिष्टि संघीय राज्यको स्थापनाले पूरा गर्दछ ? यस्ता थुप्रै प्रश्नहरु मेरो मनमा खेल्थ्यो । मलाई तिथिमिति हेक्का छैन मैले प्राध्यापन गर्दै गरेको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा माओवादीले एउटा कार्यक्रमको आयोजना गरेको थियो । सायद यो ०६४÷६५ साल तिर हुन सक्दछ । उक्त कार्यक्रममा पश्चिम बंगाल घर वताउने एकजना अतिथिले पनि संवोधन दिएका थिए । संवोधनको क्रममा उनले भने म छिमेकी देश चीनबाट हालसालै अएको हुं, मैले चीनको समाजवादी व्यवस्थाको वारेमा अध्ययन गर्दैछुं । मैले संघियता र माक्र्सवाद विचको सम्वन्धका वारेमा विद्यावारिधि गर्ने उद्धेश्यले समाजावादी देशहरुको अध्ययन गर्ने क्रममा चीन गएको हुं । संघीयता र समाजवाद एक अर्काको पर्याय हुन । उनले यो भने पछि मेरो मनमा थप जिज्ञासा र भ्रमहरु थपिए । मैले उनको भनाईलाई शंकाको आंखाबाट हेर्न थालें । म उनको कुराबाट सन्तुष्ट हुन सकिन । कहां समाजवाद, कहां पूजिवादी व्यवस्थाको प्रमुख अवयव र विशेषता बोकेको संघीयता । मेरो अध्ययनमा संघीयता र माक्र्सले कल्पना गरेको समाजवाद कुनै पनि हालतमा पर्याय हुन सक्दैन ।
२००७ साल देखि २०६२÷०६३ साल सम्म आउंदा नेपालको विकास जुन रुपमा हुनु पर्ने भएन । यसको दोष संसदीय र गैर संसदीय सबै दल र नेताहरुले एकात्मक राज्यव्यवस्था र राजतन्त्र माथि लगाए । एकात्मक राज्य व्यवस्थाको स्थानमा संघियता,राजतन्त्रात्मक व्यवस्थाको स्थानमा गणतन्त्र स्थापना भएपछि देशमा विकास हुन्छ,समृद्धिको लहर छाउंंछ । लाखौं विदेशीने युवाहरु विदेश जानु पर्दैन,स्वदेशमै रोजागारीका अवसर खुल्दछन्,समाजमा रहेको सदियौं पुरानो जातिय,लैङ्गिक विभेदहरु अन्त्य हुनेछन् । सबै नेपालीहरुको मुहारमा हांसो र खुसीको लहर छाउनेछ । भ्रष्टाचार र अनियमिता हुने छैन । जनताले आफ्नो आगनमा सरकार आएको अनुभूति गर्नेछन् । यो अनुभूतिले जनतामा सरकार र विकास निर्माण प्रति अपनत्व र स्वामित्वको भावना जागृत हुनेछ । यो अपनत्व र स्वामित्वले स्थानीय स्रोत र साधनको पहिचान र परिचालनमा जनताहरुको स्वतस्फूर्त सहभागिता र जागरण बढ्ने छ । यो जागरणबाट पैदा भएको जनशक्ति समुन्नत नेपालको आधारशिला निर्माण गर्ने मुख्य औजार हुनेछ । सामान्य नागरिकले गणतन्त्र र संघीयताबाट आसा गरेको यति मात्र हो । गरीव र कमजोर अर्थ व्यवस्था भएको देशमा जुनसुकै व्यवस्था ल्याए पनि तत्काल हुन सक्ने यति नै हो । रातारात कायापलट हुने अवस्था थिएन ।
एउटा भनाइ छ –एकजना सिकर्मीले राम्रो काठ लिएर राम्रो हलो बनाउंछु भनेर काठ ताछ्दा ताछ्दैे हलो होइन मुंग्रो बनेको थियो रे । कतै नेपालको संघीयता सिकर्मीले हलो बनाउंछु भन्दा मुग्रो बने जस्तै बनेको त होइन ? संघीयताको उठान तराइबाट भएको दावी तराइका नेताहरुले गर्दछन् । माओवादीले आफूलाई संघीयताको जन्मदाता ठान्दछ । कतै संघीयता प्रति असहमति राख्ने नेपाली कांग्रेस र हिजोको एमाले र संघीयता प्रति असहमति राख्दै आएका अन्य दल सम्वद्ध नेता तथा उनका आसेपासेले संघीयतालाई वदनाम गर्न पर्दा पछाडि खेल त खेली रहेका त छैनन् ? संघीयतालाई भ्रष्टीकरण गरेर यसको सुन्दर पक्षलाई कुरुप बनाउन लागी परेका त छैनन् ? मलाइ संका लाग्न थालेको छ । किन सवत्र्र संघीयताबाट नेपाली जनतामा वेखुसी बढ्दैछ । जस्तो संघीयताको विषयमा सामान्य सर्वेक्षण गर्ने हो भने संघीयता प्रति तल्लो तहको कर्मचारी खुसी छैन । सेना र प्रहरीका जवान पनि खुसी छैनन् । यो संघीयताबाट न व्यापारी खुसी छ, न युवा । दिन भरी काम गरी खाने आम जनता पनि खुसी छैन । किनकि उ जनप्रतिनिधिको तलव र भत्ताका लागि आफ्नो गास काटेर थप करको भार आफ्नो थाप्लोमा बोक्दैछ । यसरी बहुसंख्यक नागरिक बेखुस हुदैछन् संघीयताबाट ।
व्यवस्था फेरियो, पात्र र प्रवृत्ति फेरिएन । पात्र प्रवति नफेरिए पछि जनताले परिवर्तनको अनुभूति गर्न सकेनन् । फलस्वरुप दिनप्रतिदिन संघीयता बहुसख्यक नागरिकका लागि बोझिलो व्यवस्था बन्दै गएकोछ । जव जनतालाई व्यवस्था वोझिलो हुन्छ र परिवर्तित व्यवस्थामा आम जनताले खुसी देख्न सक्दैनन्, अंध्यारो देख्दछन् । त्यो व्यवस्था जनताको हुन सक्दैन । त्यो व्यवस्थाले जनताको मन जित्न सक्दैन, जनतामा घृणा पैदा हुदै जान्छ । घृणा र आस्था घट्दै गएको व्यवस्था अन्ततः पतन र विघठन हुन्छ । संसारको इतिहांस हेरयौं भने जनताको आस्था र विश्वास घटेको व्यवस्थालाई ठूलाठूला वादशाहहरुले वचाउन सकेको उदाहरण छैन । नोपलका शासकहरु संसारको इतिहांसबाट पाठ सिकेर अघि बढ्न जरmरी छ । नेपाली जनता सधै वलिदानी दिन तयार छैनन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top