
सुशील पोखरेल
त्यतिवेला म पत्रकार महासंघ प्यूठानको सभापति थिएँ । तत्कालीन समयमा महासंघलाई गतिशील नेतृत्व प्रदान गर्न हामीलाई ठुलो चुनौती थियो तथापी नेतृत्व व्यवस्थापन संगै बहुआयामिक पक्षबाट महासंघको गरिमा र छवी उचो पार्नु थियो । मेरा सहकर्मीहरुको उच्च मनोवल र अग्रजहरुको पे्ररणाले काम गराइको शिलशिलामा शाखाको ऐतिहासिकता र समय सन्दर्भलाई जीवित राख्न मुखपत्र प्रकाशन त्यतिबेलाको कार्यसमितिले आवश्यकता बोध ग¥यो । हामै्र कार्यकालमा महासंघको प्रकाशन ‘सूचना’को नामाकरण गर्नु अनि २०६५ बैशाख २० र २१ गते काठमाण्डौंमा सम्पन्न महासंघको केन्द्रीय महाधिवेशनमा प्रमुख अतिथि तत्कालिन प्रधानमन्त्री स्वर्र्गीय गिरीजा प्रसाद कोइरालाको बाहुलीबाट विमोचन गर्न पाउनु पनि हाम्रा लागि ठुलो अवसर थियो । हामीले त्यतिवेला सूचना प्रकाशनलाई बार्षिक रुपमा प्रकाशन गर्ने प्रण गरेका थियो तर, भनाइ र गराई धेरै टाढाको विषय हुंदो रहेछ । समस्या व्यवस्थापनमै आएर अड्किंदो रहेछ । २०६४ माघ २५ गते पहिलो पटक शाखा सभापतिमा निर्वाचित भएता पनि मेरा लागि ६० को दशक कार्य समितिको नेतृत्व तहमै रहेर बित्यो तर, एउटा अंक भन्दा बढि निरन्तरता दिन सकिएन । त्यस पछाडि छैठौं अधिवेशनवाट निर्वाचित महाविर रानाको नेतृत्वले स्तरयुक्त सामाग्री सहित दोस्रो अंक सूचना प्रकाशन ग¥यो साथमा मिडिया डायरी पनि । अहिले ०७५ बैशाख २९ गते १२ औं साधारण सभामा जुटिरहंदा तेस्रो अंक प्रकाशन गर्ने र यसका लागि जिल्लाका आमसञ्चार माध्यमका व्यवस्थापकीय पक्षका बारेमा केही विषय वस्तु उठान गर्न शाखा सभापति रानाजीले गर्नु भएको आग्रह अनुसार केही खोतल्न प्रयास त गरियो तर, विषय बस्तु अलि अप्ठ्यारो जस्तो पनि लाग्यो् किनकी फेरी मिडियाकर्मी साथीहरुको व्यवस्थापकिय पक्ष वा अन्य कुनै प्रवृतिहरुको वारेमा कुरा उठाउनु आफ्नै शत्रु कमाउनु हो जस्तो पनि लाग्छ जे भएपनि यथार्थता पस्कनु हाम्रो पेशागत धर्म हो । व्यवस्थापन शब्द सुन्दा जति सरल र चुस्त छ तर, व्यवस्थापकीय जिम्मेवारी पुरा गर्न कैयन कठिन छ । त्यसो त व्यवस्थापनको विकास भने कुनै नयाँ अवधारणा होइन । प्राचीन काल देखि नै व्यवस्थापनका बारेमा दृष्टीकोण विकास हुंदै आएको छ यो मानव सभ्यताको विकाससंगै हुंदै आएको हो । जीवनका हरेक क्षेत्रमा जोडिएको व्यवस्थापन, घरमा एउटी गृहिणीले गर्नु पर्ने घर व्यवस्थापनको सवालमा होस, वा विद्यार्थीेले आफ्नो विद्यार्थी जीवनमा पढाइका लागि गर्नु पर्ने व्यवस्थापन होस्, डाक्टरले विरामी जाँच्ने प्रक्रियामा होस्, उद्योगी व्यवसायी, संघ संस्था, राजनैतिक दल, जो सुकैका लागि पनि कुशल व्यवस्थापन विना उस्का लक्ष्य सफल बन्न सक्दैन यो आम स्वीकारोक्ति हो ।
वास्तवमा व्यबस्थापन संगठित प्रयासको मुटु हो । यसले साधनहरुको समन्वयात्मक प्रयोगद्धारा कामहरु गर्ने गर्दछ ,अनि गराउछ । कामहरु गरेर संगठनका लक्ष्यहरु हासील गर्दछ । साधनहरु मानवीय, आर्थिक, भौतिक र सूचनामूलक हुन्छन् । ब्यबस्थापनले नै गतिशील वातावरणमा दक्षता र प्रभावकारिता पूर्वक लक्ष्यहरु पुरा गर्न सक्दछ । हो यो व्यवस्थापनको खाँचो मिडियाको सन्दर्भमा पनि लागु हुन्छ । किनकी आजको युगलाइ संचारको युग भनिन्छ । संचारमाध्यमहरुको संगठन र व्यबस्थापन अत्यन्त चुस्त र व्यबस्थित हुनु पर्दछ । संगठन र व्यबस्थापनका क्षेत्रमा ख्याल गर्न नसक्दा कैयन संचार माध्यम लथालिंग छन् भने व्यवस्थापनको क्षेत्रमा भएका प्रगतिले कैयन सञ्चार माध्यमले राम्रो सफलता हासिल गरेका छन् । सञ्चार क्षेत्रको सिर्जना र त्यसलाई ग्रहण गर्नेहरु बीच नदेखिने पुलको रुपमा काम गर्ने, पर्दा पछाडि रहेर सधै क्रियाशिल रहिरहने, सञ्चार सस्थाका हर अवयवहरुलाई निरन्तर कसरत गराइरहने र व्यवस्थापनलाई भुल्नाले यो क्षेत्र सधै पछाडि पर्छ भन्ने तर्फ सम्झिने वा ख्याल गर्ने गरेको पाइदैन । यसैले सञ्चार क्षेत्रको संख्यात्मक रुपमा विस्तार भएको तर, भरपर्दाे व्यवसायको रुपमा अगाडि बढ्न नसकेको, सञ्चारकर्मीहरुको संख्यामा वृद्धि भएको तर, तिनीहरुको सिर्जनाले नागरिकको प्रतिष्पर्धी चाहनालाई पूर्ण गर्न नसकेको धेरै अन्यौलमा परेका छन् । व्यवस्थापनका सन्दर्भमा दिएका जोड र प्राथमिकतालाई केलाएर हेर्ने जमर्को गरेको देखिदैन । यदी व्यवस्थापनको पक्षमा सुक्ष्म दृष्टि दिन सकेमा मात्र पनि सञ्चारका क्षेत्रमा व्यापक परिवर्तन गर्न सकिने सम्भावनाहरु छन् ।
आज हाम्रो मुलुकमा सञ्चार माध्यमको स्थापना र सञ्चालन भएको सय वर्ष भन्दा लामो अवधी वितिसकेको छ । यस वीचमा सयौं पत्रपत्रिकाहरु प्रकाशन सुरु भए र व्यवस्थापनको अभावमा उत्तिकै मात्रामा बन्द समेत भएका छन् तथापी केही वर्ष यता व्यवस्थित संगठन र व्यवस्थापनको प्रयोग गरेर नेपालमा पत्रपत्रिका रेडियो र टेलिभिजन जस्ता थुप्रै सञ्चार माध्यमले ठुलो पुँजी प्रवाह गरेर प्रतिस्पर्धाका साथ चल्न थालेका छन् । यसरी मिडिया सञ्चालनमा व्यवस्थापनको अपरिहार्यता बारे विषयवस्तु उठान गर्दैगर्दा प्यूठानको मिडिया व्यवस्थापनमा देखिएको सकस प्रस्तुत लेखको मुल आशय हो ।
२०१३÷०१४ साल देखि प्यूठानमा पत्रकारिताको जग खडा भएपनि ०४६ साल पश्चात मात्र प्यूठानको पत्रकारिता क्षेत्रमा नयाँ ढंगले जागरण आएको पाइन्छ । यससंगै २०५८÷०५९ देखि स्थानिय स्तरमा सञ्चार माध्यमहरु दर्ता हुने र सञ्चालनमा आउने शिलशिला थालिए पछि प्यूठानका हाल दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक, पत्रपत्रिका एफ.एम. रेडियो, केवल टेलभिजन र अनलाइन जस्ता सञ्चार माध्यमहरु एक पछि अर्को जन्म हुने केही समय सञ्चालनमा हुने, अनि वन्द हुने लहर नै चलेको देखिन्छ । यि मध्येका अधिकांश सञ्चार माध्यमहरुको गतिलो व्यवस्थापन नै छैन, भने कतिपयको छदै छैन भनेपनि हुन्छ । मिडिया सञ्चालन गर्ने सञ्चालकहरुमा नीति, विधि, पद्धती, दुरगामी दृष्टिकोण, आवश्यक संगठन जस्ता व्यवस्थापकीय पक्षमा न्यूनतम जानकारी राख्ने सोंचको विकाससम्म भएको पाइदैन । दुखको कुरा समाचारमुलक पत्रकारिताको पहिलो मानिने प्यूठान समाचार अहिले पूर्णरुपले बन्द नै छ । उक्त पत्रिकाले दैनिक, अर्ध साप्ताहिक, साप्ताहिक सबै अनुभव हासिल ग¥यो । यस्तै रेडियो लिस्ने पनि सञ्चालनमा आउन छोडेको छ भने पछिल्लो समय केही हदसम्म स्रोताहरुको ध्यान खिच्न सफल भएको रेडियो स्वर्गद्धारीले पनि निरन्तरता दिन सकेको छैन । प्रशारणमा रहेका प्रायः रेडियोहरु समाचारमूलक भन्दा पनि मनोरञ्जनमुखी छन् । त्यस्तै साप्ताहिक रुपमा स्वर्गद्धारी, लिस्ने, प्यूठान टाइम्स लगायतका पत्रिकाहरु पनि प्रकाशनमा आउन छोडेको लामो समय भैसक्यो । मासिक पत्रिकाको कुरै नगरौं कैयन बन्द नै भइसकेका छन् भने केही पर्व वा मौसम विशेषमा स्वरोजगारमुखी उद्देश्यका लागि सिमित छन् । त्यस्तै कुनै बेला केवल टेलिभिजनको पनि जगजगी नै चल्यो । अहिले भने स्वर्गद्धारी, गौमुखी र माण्डवी नाम गरेका टेलिभिजन पनि सञ्चालनमा आउन छाडिसकेका छन् । समय र परिस्थितीले नयाँ आवश्यकताको जन्म दिन्छ भने झैं अहिले फेरि अनलाईन तिर पनि पत्रकारहरुको रहरको खेती सुरु भएको छ । यी अनलाईन मिडिया पनि केवल औपचारीकतामै सिमित छन् ।
प्यूठानमा सञ्चार माध्यममा देखिएको यो उतारचढावले यहाँका सचेत वर्गमा विश्वासको संकट पैदा हुंदै गएको छ । हाल केही सञ्चार माध्यमहरु सञ्चालनमा त छन् तर, ति सञ्चार माध्यमहरुमा पनि गुणस्तरियताको अभाव छ । रेडियोहरुले गुणस्तरयुक्त स्थानिय समाचार सामग्री पस्कन सकेका छैनन् । पत्रपत्रिकाहरुको हकमा प्रेस काउन्सिलको वर्गिकरणमा परेका पत्रिका मात्र नियमित प्रकाशन भएको देखिन्छ । तर, ति पत्रपत्रिकाहरुको वितरण पक्ष फितलो नै छ । समग्रमा हेर्दा जिल्लामा रहेका आमसञ्चार माध्यमहरुको विगत देखि वर्तमान सम्मको स्थिति विश्लेषण गर्ने हो भने व्यवस्थापकीय पक्ष अत्यन्तै निराशाजन रहेको पाइन्छ । लगानी विनाका व्यक्ति पिच्छेका सञ्चारमाध्यम तर, यि भनेका देखाउनको लागि मात्र भएको पाइन्छ । भौतिक पूर्वाधार पक्ष र मानव संशाधनको पक्षमा कुनै व्यवस्थापन छैन, सम्पादक तथा संचालकहरुको अध्ययनशीलता हवात्तै घटेको छ । सम्पादक तथा सञ्चालक हुनेहरु आफै पलायन भएर बैकल्पिक पेशा वा रोजगारको खोजीमा छन् तर विडम्बना राजनीतिक अभिष्ट पुरा गर्न पत्रकार महासंघको सदस्यताको लागि लामो लिस्ट तयार गर्ने र सूचना विभागमा फर्जी नियुक्ती पत्र पेश गरेर रातो कार्ड लिने प्रयोजनका लागि यहाँका सञ्चार माध्यमका सञ्चालकहरु तल्लिन छन् तर, यस्ले दुरगामी असर र परिणाम के निम्त्याउछ भन्ने तर्फ कत्तिपनि ख्याल गरेको पाइदैंन । मिडिया सञ्चालकमा व्यवस्थापन भन्दा पनि देखासिकी र प्रतिशोधले जरा गाडेको पाइन्छ । विशेष गरी मिडिया सञ्चालकमा म किन र के लागि मिडिया संचालन गर्दै छु भन्ने भिजन र मिसनको अभाव, मिडिया सञ्चालनमा एकल प्रयास हुनु, कमजोर प्राविधिक पक्ष, जनशक्ति, योग्यता, आचरण र पलायनका समस्या, व्यवसायिक सोंच र संस्थागत प्रयासको अभाव जस्ता व्यवस्थापकीय सीपको कमीले जिल्लाको मिडिया सञ्चालनमा सकस परेको देखिन्छ ।
अन्त्यमा,
यसरी मिडिया पनि सेवामुलक व्यवसाय हो भन्ने बुझन जरुरी छ । कुनै पनि व्यवसाय सञ्चालन गर्नका लागि राम्रो उद्देश्य, आवश्यक पुँजी र दक्ष जनशक्तिका साथै उपयुक्त वातावरण पनि आवश्यकता पर्दछ । सफल मिडिया सञ्चालनका लागि आन्तरिक र वाह्य वातावरणका बारेमा पनि राम्रो जानकारी हुनै पर्दछ । छोटो शब्दमा भन्ने हो भने, मानिसलाई बाँच्नका लागि हावा, पानी र माटोको जति आवश्यकता पर्छ त्यसैगरी मिडिया सञ्चालनका लागि पनि कुशल व्यवस्थापनको खाँचो छ । संचार संगठनका गुणहरु लक्ष्य निर्धारण, जनशक्ति, संरचना, प्रविधी र निरन्तरता संगै जिल्लाका मिडिया सञ्चालकले सामाजिक लेखा परिक्षण अनि सामाजिक उत्तरदायित्वको पक्षलाइ ख्याल गर्दै मिडिया संचालनमा उचित ध्यान दिनु आवश्यक छ ।
कमेन्ट गर्नुहोस !