शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सार्वजनिक शिक्षामा सुधार: आजको आवस्यकता



No photo description available.
नेपालको सन्दर्भमा कम चर्चा तथा प्राथमिकतामा परेको क्षेत्र हो सार्वजनिक शिक्षा । आधुनिक नेपाल (वि.सं.२००७ साल)को सुरुवातसंगै नेपालमा सार्वजनिक शिक्षाको सुधारका केही प्रयासहरु भए । तर ति प्रयासहरु प्रायः असफल नै रहे । २०६२÷०६३ पछि नयांँ व्यवस्था अनुकलको शैक्षिक व्यवस्था स्थापना गर्ने उद्ेश्यले २०७५ सालमा शिक्षामन्त्रीको अध्यक्षतामा उच्च स्तरिय राष्ट्रिय शिक्षा आयोग गठन भयो । खुबै चर्चा पाएको उक्त आयोगले आफ्नो प्रतिवेदन तत्कालीन केपी ओलीको नेतृत्वको सरकारलाई बुझायो । त्यो प्रतिवेदनको औचित्यता पूर्ववर्ति ओली सरकारले पनि देखेन र वर्तमान सरकारले पनि सार्वजनिकरण गर्न आवस्यक ठानेन । यसले शिक्षामा थप अन्योलता सिर्जना गरेको छ ।
शिक्षाका सरोकारवालाहरुले सार्वजनिक शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न तर्कहरु अघि सार्दै आएका छन् । पहिलो तर्क शैक्षिक प्रणाली नै त्रुटीपूर्ण भएकोले आमूल परिवर्तन आवस्यक छ ,दोस्रो शैक्षिक प्रणाली भित्रका संरचनाहरु,नीति नियमहरु प्रभावकारी रुपले परिचालित नभएका कारण समस्याहरु देखिएका हुन र तेस्रो विद्यालयको पाठ्यक्रम,पाठ्यपुस्तक र शिक्षणविधिका वीच तालमेल हुन नसकेका कारण विद्यालय शिक्षामा सुधार हुन नसकेको हो । यी तीन तथ्य र अवस्थाहरुमा हामी कहाँ चुक्यौं या अल्मलियौं ? प्रणालीमा ? पाठ्यक्रममा ? शिक्षण सिकाई प्रक्रियामा ? पछिल्ला दिनहरुमा केही शिक्षाविद्हरुले केही फरक र मौलिक धारणा अघि सारेको पाइन्छ । हाम्रा पाठ्यक्रमहरु स्तरीय र अन्तर्राष्ट्रितस्तरका छन् ,तर पाठ्यक्रममा भएका विषयबस्तुहरुलाई सिकारु समक्ष सहज ढंगले पुरयाउने तरिका या शिक्षणविधिमा समस्या छ , त्यसकारण सार्वजनिक शिक्षामा सुधार नभएको हो ।
विधिको सरल अर्थ हो तरिका । शिक्षणविधिलाई सिकाईको महत्वपूर्ण अंग मानिन्छ । सिकाईको सन्दर्भमा विधि भन्नाले पाठ्यक्रमले निर्दिष्ट गरेका विषयबस्तुहरुलाई सरल ढंगले निर्धारित समयमा सिकारु समक्ष पुरयाउने कलालाई बुझाउंछ । अर्थात शैक्षिक विधि त्यो साधन हो,जुन शिक्षक र विद्यार्थीका वीचमा संचालित शिक्षण सिकाइ क्रियाकलाप हो,जसको माध्यमबाट सिकाइ उद्धेश्य प्राप्त गर्न तथा सिकाइ अनुभव हासिल गर्न निर्देशित गरिन्छ । सिकाई प्रक्रिया या तरिकाका विभिन्न मान्यताहरु छन् । परम्परागत सिकाइ विधिमा शिक्षकले आफूले जानेको या घोकेको विषयवस्तुलाई कक्षा कोठामा भन्नु या व्यक्त गर्नुलाई जनाउंछ भने आधुनिक शिक्षण विधिको अर्थ आफूले सिकेका कुराहरुलाई विद्यार्थीहरुको व्यवहारिक जीवनमा लागु गर्न सिकाउनुलाई जनाउंछ । हाम्रो शैक्षिक प्रणालीको दोष यहिनेर देखिन्छ । दक्ष भनिएका शिक्षकहरुले अध्यापन गरेका विद्यार्थीहरुले कितावी ज्ञानलाई व्यवहारमा उतारेको देखिन्न । यसरी पाठ्यक्रमले निर्दिष्ट गरेका कतिपय विषयबस्तुहरु राम्रा भएपनि कक्षाकोठामा सिकेका ज्ञान सीपलाई कसरी व्यवहारिक जीवनमा जोड्ने भन्ने विषय नै नेपालको शैक्षिक प्रणालीमा देखिएको गंभीर समस्याको रुपमा लिन सकिन्छ ।
नेपालका सार्वजनिक विद्यालयहरुमा गरिएका विभिन्न अध्ययनहरुले के देखाएको छ भने नेपालका कतिपय विद्यालयहरुमा शिक्षण मात्र हुन्छ , सिकाई हुदैन , कतिपय विद्यालयहरुमा सिकाइ मात्र हुन्छ शिक्षण हुंदैन । त्यस्तै कतिपय विद्यालयहरुमा शिक्षण र सिकाइ दुबै हुंदैन । केहि सिमीत विद्यालयहरुमा शिक्षण र सिकाई दुबै हुन्छ । शिक्षण र सिकाइ दुबै हुने गरेका विद्यालयहरुको नतिजा र गुणस्तर दुबैमा अव्वल मानिदै आइएको छ । शिक्षणमा सामान्यतः के मान्यता राखिन्छ भने जवसम्म सिकाई हुंदैन तवसम्म शिक्षण भएको मानिदैन । नेपालका अधिकांश विद्यालयहरुमा शिक्षण भएपनि सिकाइ भएको देखिन्न । त्यसकारण हाम्रा शिक्षण संस्थाहरुबाट उत्पादित जनशक्ति श्रम बजारमा बिक्दैनन् ।
अघिल्लो हप्ता किंङ्स कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालले अन्नपूर्ण पोष्टको शिक्षा सम्बन्धि लेखमा अमेरिका र वेलायतका केही नाम चलेका विश्वविद्यालय र कलेजहरुका पाठ्यक्रमहरुसंग नेपालको त्रिभुवन विश्वविद्यालयले निर्धारण गरी पठन–पाठनसंग तुलना गरी लेख प्रकाशन गरेका छन् । उनको बिचारमा विकसित देशका विद्यालय÷महाविद्यालयहरmमा पठन–पाठन हुने पाठ्यक्रम र हाम्रो पाठ्यक्रममका वीच खासै तात्विक भिन्नता देखिदैन । उनले नेपालका शिक्षण संस्थाहरुमा ज्ञानलाई व्यवहारसंग जोड्ने शिक्षणविधि या सिकाइ प्रक्रिया नै प्रभावकारी छैन । यहि विधि र प्रक्रियामा उनीहरुका शिक्षण संस्थाहरु र हाम्रा शिक्षण संस्थाहरु वीच फरक देखिन्छ । उनको तर्क छ , पाठ्यक्रम,शिक्षक र विद्यार्थी तीनै पक्ष अव्वल हुंदाहंदै पनि शिक्षण सिकाईविधि अव्वल भएन भने शिक्षा व्यवहारिक र अर्थपूर्ण हुंदैन । नेपालका शिक्षण संस्थाहरुमा प्रयोगमा ल्याइएका पाठ्यक्रमहरु विदेशी विद्यालय÷महाविद्यालयहरुको समकक्षी हुंदाहुंदै पनि शिक्षण सिकाइ प्रभावकारी नभएका कारण विद्यार्थीहरुमा जुन हिसावले ज्ञान र सीपको स्थान्तरण हुनु पर्ने हो, त्यो हुन सकेको छैन ।
पश्चिमा देशहरुमा सार्वजनिक शिक्षाको विषयमा धेरै बहस र अनुसन्धानहरु भएका छन् । ती बहस र अनुसन्धानबाट प्राप्त निश्कर्षहरुले त्यहांको विद्यालय शिक्षा व्यवहारिक र जीवनपयोगी देखिन्छ । यद्धपि विद्यालय शिक्षालाई समय सुहाउंदो,सर्वसुलभ र व्यवहारिक बनाउने सवालमा निरन्तर बहस र तद्नुरुपको खोजहरु हुंदै आएको देखिन्छ । यी खोजका अधिकांश शिर्षकहरु शिक्षण सिकाइसंग सम्बन्धित हुने गरेको देखिन्छ । अमेरिकी विश्वविद्यालयका प्रोफेसर जोनहल्टको यो भनाईले पनि त्यही कुरालाई पुष्टि गर्दछ–“राम्रो व्यवस्था वास्तविक सिकाइबाट मात्र पैदा हुन सक्दछ ,त्यस्तो सिकाई जसले केटाकेटीको उत्सुकता शान्त पारोस ,जो केटाकेटीलाई आफ्नो जीवन र आफू बसीरहेको दुनियां बुझ्न सहायक होस, जसले उनीहरुको विपन्नताग्रस्त जिन्दगीलाई अलि राम्रो बांच्न लायक बनाउन मद्दत गरोस । ”
प्रोफेसर हल्टले अमेरिकी शिक्षा कमजोर हुंदै जानुका कारणहरुका बारेमा गरिएको खोजको निश्कर्ष यसरी निकालेका ंछन्–“जुन शिक्षकहरुले स्कुललाई पूर्व अमेरिकीहरुबाट हातमा लिए,ती सबै निम्न मध्यम बर्गीय,गैरबुद्धिजीवि विरोधी पृष्ठभूमिबाट आएका थिए र शिक्षालाई पनि प्रशासनिक सेवाको एउटा अंग मान्दथ्ये ,उनीहरु शिक्षामा रुची भएर वा महत्व दिएर शिक्षा सेवामा प्रवेश गरेका थिएनन् । जो मानिसहरु यस्ता क्षेत्रबाट आउंछन् तिनीहरु असल शिक्षक बन्न सक्दैनन् । उनीहरु भर्खर–भर्खर गरीवीको रेखामूनिबाट उठेका हुन्छन् त्यसैले गरीवका केटोकेटीलाई भय,घृणा र अवहेलनाको दृष्टिबाट हेर्दछन् ,चाहेर पनि उनीहरुले उनीहरुको भावनालाई लुकाउन सक्दैनन् ।”अमेरिकी विद्यालयहरुमा खस्कंदो शिक्षाको अवस्थाका बारेमा गरिएको अध्ययन नेपालको विद्यालय शिक्षामा पनि अनुकरणीय देखिन्छ । नेपालका विद्यालयहरुमा कार्यरत प्रायः सबै शिक्षकहरु निम्न मध्यम बर्गीय परिवारका,कहिकतै अवसर नपाएकाहरु रहेका छन् । उनीहरुले विद्यार्थीहरुमा नयां ज्ञान र सीप हस्तान्त्ररण गर्नुको सट्टा आफ्ना कुण्ठा विद्यार्थीहरु समक्ष राख्दछन् जसको कारण शिक्षण सिकाइ प्रभावकारी हुन सकेको छैन ।
ज्ञान जिवीत मानिसहरुको दिमागको एउटा प्रक्रिया हो । हामी के हो ? कहाँ छौं ? हाम्रो वरिपरि के भैरहेको छ ? भनेर जान्ने प्रयासमा वालवालिकाहरुलाई जति उत्प्रेरित गर्न सक्यो त्यति नै वालवालिकाहरुको ज्ञान र सीपको भण्डार बढ्दै जाने हो । ज्ञानको भण्डारलाई जोड्ने काम सिकाइ विधिबाट मात्र संभव हुन्छ । शिक्षकले विद्यार्थी÷वालवालिकाहरुलाई सिकाउने ज्ञान (सिकाइ) उसको जिन्दगीलाई जोड्ने खालको हुनु पर्दछ । सिकाइले वालवालिकाहरुको जिन्दगीलाई जोड्न सकेन भने त्यो सिकाई अपूर्ण हुन्छ । हाम्रा शिक्षण संस्थाहरुले यस्तै अपूर्ण ज्ञान सिकाइ रहेका छन् । शिक्षा व्यवहारिक र भविश्यदृष्टि हुनु पर्दछ । एउटा सिकारुकालागि शिक्षा साधन मात्र होइन साध्य पनि हो । शिक्षा आफैमा जीवन पनि हो । शिक्षालाई व्यवहारिक र भविश्यदृष्टि बनाउने काम निर्दिष्ट पाठ्यक्रमले मात्र गर्दैन । त्यसलाई जिवन्तता दिने काम प्रभावकारी सिकाइविधिबाट मात्र संभव हुन्छ ।
नेपालका विद्यालयहरुको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम दिने प्रचलनको सुरुवात नयां शिक्षा (२०२८) लागू भएदेखि हुंदै आएको छ । शिक्षक तालिमका लागि राज्यले अरबौं लगानी पनि गरेको छ , तर राज्यको लगानी बालुवामा पानी हाले जस्तो भएको छ । शिक्षकहरुले तालिमलाई व्यक्तिगत फाइदाको प्रयोजनका लागि(प्रमोसन,ग्रेड वृद्धि जस्ता कार्यका) मात्र प्रयोगमा ल्याएको देखिन्छ । शिक्षणलाई प्रभावकारी बनाउने सवालमा उनीहरुले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप वालावालिकाहरुको पठन–पाठनमा प्रयोग गरी शिक्षण सिकाइमा सुधारमा आएको देखिन्न । शिक्षकले तालिमबाट प्राप्त गरेको सीप वास्तविक शिक्षणमा प्रयोगमा ल्यायो कि ल्याएन भनी अनुगमन गर्ने प्रभावकारी संयन्त्र पनि छैन । संघीय संरचना अनुसार विद्यालय शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएपछि भने विद्यालय शिक्षा झन अस्तव्यस्त बन्दै गएको देखिन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top