सोमवार, कार्तिक ३, २०८३ | Monday 19th October 2026

जातीय विभेदको नाममा कलिला प्रेमका फूलहरु निमोठिए


हिन्दू धर्मभित्र मानव–मानव वीचमा जातीय विभेद कालो कलंकको रुपमा तड्कारो देखिएको छ । अहिले मात्र होइन समयकाल चक्रसंगै उच्च जातीको अहंकार सोचबाट नराम्रा अपराधिक विभिन्न घटनाहरु जातीयताको नाममा समाजमा घटिरहेको कुरा सबैलाई विदितै छ । परापूर्व कालदेखि सिन्धू नदीको आसपासमा बसेर जीवनयापन गरेका हिन्दूहरु मुसलमाहरुद्वारा लखेटिए पछि लुक्दै, भाग्दै तत्कालिन हिमवत खण्डको पश्चिमी भाग मानिएको हालको कर्णाली सिंजा प्रदेश आएर बसे । त्यही स्थानलाई आफनो राज्य मानेर बसेका खस आर्यहरु पछि आएर उनीहरु हिन्दू धर्मको बलमा ब्राह्मण बन्न पुगे र त्यसैको एक हाँगो खस राजाको नाममा राज्य संचालन गर्न लागे । कालान्तरमा गएर तिनै खस राजाहरुका शाखा सन्तान मल्ल राजाहरुमा परिणत भए । सत्ता र शक्तिको भरमा हिन्दू धर्मको आधारमा मान्छेहरुको जात बाँडियो । बौद्धिक स्तरका पढे, लेखेका राजाका गुरु पुरोहित, ब्राह्मणहरु बने ।
लडाई खेल्न सिकेका, ढाल, तरवार, हात, हतियार चलाउन जानेका राजा र क्षेत्री बने र बनाइयो । मान्छेको जातलाई कर्मको आधारमा पानी चल्ने र नचल्ने गराइयो । आर्य जातीको कतिपय नश्ललाई कामी, दमाई, सुनार, सार्की, बाढी, गाइन जस्ता पानी नचल्ने जात भनेर जाती च्युत गरियो । उनै खस आर्य जातीका आसपास बस्ने मंगोलिन जातीहरु मगर, गुरुङ, राई, लिम्बु गहुँगोरो, थेप्चो नाक, होचो कद गरेका कतिपय जातीहरुलाई पानी चल्ने उपल्लो जातमा उरालियो तर काम भने भारी बोक्ने, खेतीपाती गर्ने, लडाई खेल्ने जस्ता राज्यका अप्थ्यारा काममा लगाइयो । फलामको काम गर्नेलाई कामी भनियो । जुत्ता सिलाउनेलाई सार्की भनियो । कपडा सिलाउनेलाई दमाई भनियो । सुनको काम गर्नेलाई सुनार भनियो । गाउँघरमा माग्दै सारंगी रेड्दै गाउदै जीवनयापन गर्नेलाई गाइन भनियो । नराम्रा संस्कार संस्कृतिभरि पानी नचल्ने जातमा थोपरियो । समाजमा धर्म, कर्मको जाल फिजाइयो । राम्रा कामहरु पढ्ने, लेख्ने, मिठो–चोखो खाने, पूजा–पाठ गर्ने, तल्ला जातकालाई धर्मको आधारमा शोषण–दमन गर्ने उपल्ला जात साहेबका जिम्मा भयो ।
गाउँ–समाजमा अत्यान्तै विकृति फैलियो । समयको गतिसंगै तल्ला जातले पनि जाने–बुझे, पढे, लेखे । मान्छे–मान्छे एउटै हो भन्न थाले । आफनो गुमेको हक अधिकार खोज्न थाले । राणा शासन, राजा शासन, पञ्चायती शासन हुँदै देशमा बहुदलीय शासन आयो विभिन्न दलका विभिन्न नेताहरुले शासन गरे । जनताका जीवनस्तरमा केही परिवर्तन भएन । भयो भने केवल उपल्ला जात साहेब कहलाएका ठूला–ठालू नेताहरुको नेताका आसेपासेको भयो । त्यतिकैमा जनताको नाममा गास, बाँस, कपास, शिक्षा, स्वास्थ्य ग्यारेन्टी गरिदिने भनेर २०५२ साल फागुन १ देखि जनयुद्ध नामको देशमा विद्रोह शुरु भयो । उपल्ला जात साहेब र तल्ला जातका सबै एउटै नेकपा माओवादीको राजनीति संस्थामा आवद्ध भए । देशभर विद्रोहको आगो सल्कियो । दशबर्षसम्म रक्तपात चल्यो । देशका होनहार आमाबाबाका सत्रहजार सपुतहरुले ज्यानको आहुँती दिए, रगत बगाए । नेताहरुले बर्गदुश्मनसंग सम्झौता गरे । क्रान्तिमा प्रयोग भएको सबै हतियार विसाउन लगाए । चुनाबमा हाम फाले, मिठो आश्वासन दिए । क्रान्तिको बेला साथसाथै हिन्दा, लडाईमा जादा जातभातका कुरा हरायो । पानी नचल्ने, छुवाछुतको भावना नबोक्ने मान्छे–मान्छे एउटै हो, काटे रगत आउँछ, पिटे दुख्छ भन्ने विचारहरु दिए । अन्तर्जातीय विवाह गरेर केही हुँदैन भने ।
कतिपय केटा–केटीहरुको अन्तर्जातीय विवाह भयो । देशको क्रान्किारी कम्युनिष्ट भनाउदाहरु सत्तामा गयो । उसले पनि लुट्न थाल्यो । दुनियाँको छोरा–छोरी मराएर शहीदको रगतमा होली खेल्यो । फेरी सुरु भयो, हिन्दू धर्मको चर्तिकला । हजारौं बर्षदेखि मान्छेको मनमा बाँस गरेर बसेको हिन्दूको संस्कार, संस्कृति, रितिरिवाज, रहन–सहन कहाँ जाने थियो र ! भरखर हाइ स्कूल पास गरेका, कम्युनिष्टका विचार बोकेका, जातभात केही होइन, पानी नचल्ने जात छैन, माया, प्रेम गर्नु अधिकार हो, प्रेममा कुनै जातभात छैन, यो जमानामा, यो युगमा जातीयता कुरा गर्नु मानवीय अपराध हो भन्ने विचार बोकेका नयाँ पिडीका नयाँँ युवा–युवतीहरुले अन्तर्जातीय विवाह गरे । विवाहा गर्न खोजे । तर उनका माइती पक्षबाट भाँजो हालियो, उनीहरुको प्रेममा । रुकुम पूर्व सोतीको घटना घटाइयो । रुकुम पश्चिमको भेरी नदीमा छ जना होनहार युवाहरु हिन्दू धर्मको संस्कार, संस्कृति, रितिरिवाज बचाउने नाममा उपल्लो जात साहेबहरुले, जातीय अहंकारवादीहरुले कामीले हाम्रो छोरी माग्न आयो भनेर मारेर बगाए । उफ ! कति विभत्स छ हिन्दू धर्मको संस्कार संस्कृति अभैm सम्म ।
छोरा भएन भनेर मान्छेको बली दिने, असी बर्षको बुढो लोग्ने मर्यो भनेर अठार बर्षे स्वास्नीलाई सती जाने नाममा जिउँदै पोल्ने, विभत्स सती प्रथा हटाएपछि मरेको लोग्नेको नाममा सेतो कपडा पहिरिने, रहरले लगाएको हातको रातो झिन्चुरी फोर्ने, नारीलाई सुहाउने रातो कपडा जवरजस्ति फाल्न लगाउने, मरेको आमाबाबाको नाममा डरलाग्दो गरुडपुराणको शास्त्र सुनाएर तेह्रदिने काजक्रिया बसाल्ने, बाँचेकोलाई एकछेकी खाना खुवाउन लगाएर मार्ने, मरेको आमाबाबालाई वैतरणी पार गराउने भन्दै गाईको बाच्छी दान गर्न लगाउने, लाखौं रुपियाँको कपडा र रुपियाँ पण्डितलाई दिएर अर्कालाई धनी बनाउने । यस्तो संस्कार र संस्कृतिमा हुर्केको आमाबाबु , दाजुभाइ, दिदीबहिनी, छरछिमेक समाजले संसार फेर्ने, नौलो विचार, नौलो संस्कार, नौलो रितिरिवाज सितिमिति के स्वीकार्लान । अन्तर्जातीय तिमीहरुको प्रेमको कलिलो विरुवा के हुर्कन बढ्न दिलान् । अभैm यो गाउँसमाज तिमीहरुका आमाबुबा, तिमीहरुका दाजुभाइ, दिदीबहिनीहरु, तिमीहरुका राज्यसत्तामा हिन्दू धर्मको नीतिनियमले गाँजिराखेको छ, गिजोली राखेको छ । तिमीहरुको प्रेमको नजरले जातभात र पानी नचल्ने देखेको छैन, तल्लो जातका मान्छेहरुलाई सराबर देखेको छ । तिमीहरुको प्रेमले नौलो समाज, नौलो संस्कार संस्कृति खोजेको छ, धर्मको नाममा अन्याय, अत्याचार गर्ने प्रवृतिका विरुद्ध विद्रोहको ज्वाला फुटाउन खोजेको छ ।
तिमीहरुको माया, प्रेमका नजरले हिन्दू धर्मभित्र अन्याय अत्याचार देखेको छ । ए नयाँ बन्धु–बान्धब ! ए सिंगो देशको जिम्मेवारी बोकेको युवा–युवतीहरु ! तिमीहरुले यो संस्कार यो संस्कृतिको विरुद्ध अभैm बलिदान गर्न पर्छ ! तिमीहरुका आमाबाबु, दाजुभाइ, दिदीबहिनी हिन्दू धर्मको संस्कार र संस्कृतिको कात्रोमा बाँढिएर मर्न खोज्छन् भने मर्न देऊ । तर त्यो हिन्दू धर्मको अन्यायी संस्कार र संस्कृतिको विरुद्ध धावा बोल्न नछोड ! पछि आउने तिमीहरुका छोरा–नातीको लागि बाटो खोली देऊ ! तिमीहरुलाई जस्तो जातीय विभेदमा मर्न नपरोस, भेरीमा बग्न नपरोस ! अब देशको कुना–कुनामा गएर, देशको दुरदराजको बस्तीहरुमा धाएर, गाउँसमाजमा आएर तिम्रा आमाबाबा, दाजुभाइ, दिदीबहिनीहरुलाई आवहान गर–“कामीले पिटाएको हसियाले घास नकाट ! दमाईले सिलाएको कपडाले लाज नछोप ! सार्कीले सिलाएको जुत्ता नलगाऊँ ! गाइनले सारंगी तालमा गाएको लाहुरेको गीत नसुन ! सुनारले फुलबुट्टा हानेर बनाएको कानमा मारवाडी र नाकमा बेसरी नलगाऊँ ! कामीले बनाएको खुकुरी, बन्चरो, फाली, कोदालो सबै उत्पादन कार्यमा नलगाऊँ भन ! ती भाडाबर्तनहरु प्रयोग गर्दा आरनको कामी, मझेरीको दमाई आइपुग्ला भन ! मर्यौ भने कामी, दमाई, सुनार, सार्की, बाढीले फालिदिएको दाउराले सम्म नपोल भन्नु किनभने मरेपछि तिमीहरु त हिन्दू धर्मको द्यौतासंग भेट हुन जाने हौं भन !”
तिम्रा अपराधी आमाबाबु , दाजुभाइ, दिदीबहिनीहरुलाई, गाउँसमाजलाई तिमीहरुका प्रेमका मुना निमोठ्ने हातहरुलाई कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता, महेशपुर, कोशी र महाकाली व्यारेज बचाउँन बन्दुक, खुकुरी, भाला, बर्छा बोकेर देश बचाउँन जाऊँ भन ! गाउँमा बसेर भूँडे पण्डितहरुका कुरा सुनेर गाउँसमाज नविगार भन ! चारमाना खाएर आठमानाका कुरा गर्नेहरुलाई छिमेकी भारतले अब नेपाल खाने सुर गर्न लागि सक्यो भनेर जानकारी देऊँ । सिधै नेपाल खान नसकेर हिन्दू धर्मको नाममा राम र सीताको माइत खोज्दै, नेपाललाई रावणको देश बनाइदिन्छौं भन्दै धम्की दिन लागिसक्यो भन ! बुद्ध र जनकलाई हाम्रो हो भन्दै, नेपालको विरुद्ध जे मन लाग्यो उइ बोल्दै नेपाल खाने निहुँमा विभिन्न लाल्छना लगाउदै व्यूह रचना गर्दै छ भन ! अब जातीय विभेदका कारण हाम्रा फक्रिरहेका प्रेमका पूmलहरु न निमोठ भन ! किनभने मोदीका खलक भारतीय नेताहरु पनि हिन्दू धर्मका पापी सन्तान हुन् । सर्पले सर्प खान्छ भने जस्तै कम्युनिष्ट सरकारको नाममा नेपाल खाने सुर गरेको छ । जसरी तिम्रा आमाबुबाले तिम्रो प्रेमीहरुलाई जातीय विभेदको नाममा काचै खाए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top