
प्यूठान, प्यूठानको बिजुलीमा जन्मेका मोहनलाल आचार्य कपिलबस्तु–१ बाट विजयी भई प्रतिनिधि सभाको यात्रामा प्रवेश गरेका छन् । संघीय संसदलाई कानुन निर्माणका लागि सल्लाह दिने ठाउँमा आफै काम गर्न पुगेका हुन् । दुई विषयमा स्नातकोत्तर गरेका आचार्य चुनावी प्रचारका दौरान मतदाताका तिखा प्रश्नको सामना गर्दै ज्ञान र विज्ञता भएकालाई काम गर्न अवसर दिनुपर्ने बताउँदै आएका थिए ।
पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनीसित संविधानसभाको विशेषज्ञ भएर सात वर्ष काम गरेको अनुभव छ । उनीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या र कृषि मन्त्रालयलगायत विभिन्न सरकारी निकायका लागि कानुन निर्माण, अध्ययन–अनुसन्धान तथा बनेका कानुनको विधायिकी परीक्षणमा काम गरेको अनुभव छ । वाणगंगा नगरपालिका–४ सिद्धिपुरका ५३ वर्षे आचार्यले अन्तर्राष्ट्रिय कानुन र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् ।
संघ, प्रदेश र स्थानीय तहमा कानुन तर्जुमा, स्थानीय न्यायिक समितिको सुदृढीकरण तथा विशेष क्षमता अभिवृद्धि तालिममा विषयविज्ञ आर्चायले आफूले कृषिलाई प्राथमिकता दिएको बताए । कृषकको सम्मान, सिँचाइ र मलखादको सहज पहुँच पुर्याउने उनले बताए ।
सार्वजनिक पदलाई सेवामुखी बनाउने र नागरिकप्रति प्रत्यक्ष जवाफदेही शासन प्रणाली विकास गर्ने उनको भनाइ छ । युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, सीप विकास, स्टार्टअप प्रवद्र्धन तथा वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै अवसर विस्तार गर्ने कार्यक्रम बनाएको उनको दाबी छ ।
कमेन्ट गर्नुहोस !