प्यार अलि खाँन
नेपाली मुस्लिम समुदायको सघन बसोबास तथा उपस्थिति देशका हरेक जिल्लाहरुमा भएको पाईन्छ । मुस्लिम समुदाय प्राय व्यापारका सिलसिलामा देशका हरेक कुनाकाप्चाहरुमा पुगेका छन र उनिहरुले विशेषत् कपडा फेन्सी तथा कस्मेटिक्स आदीको कारोवार गरेको पाईन्छ ।
म यस आलेख मार्फत विशेषत् सुर्खेत स्थित विरेन्द्रनगर नगरपालिका वडा नं. १० पिपिरामा अवस्थित मुस्लिम बसोबासबारे केही चर्चा गर्न गईरहेको छु । ५० वर्ष अघि दैलेखबाट बसाईसराई गरी पिपिरामा मुस्लिम समुदाय आएर बसोबास गरेको हामीलाई जानकारी प्राप्त भएको थियो । केही दिनअघि सुर्खेत पिपिरमा त्यहाँका स्थानीय हाम्रा आदरणीय दाजु सौकत अलिको नेतृत्वमा त्यहाँको बस्तुस्थितिबारे हामी बुझ्न गएका थियौँ । यो सबै कार्यक्रमको समन्वय एंव संयोजन मेरा प्रिय मित्र बुटवलमा कपडाको थोक व्यापार गरि बस्ने सुर्खेतकै स्थानीय अझँ भनौ भने दाजु सौकत अलिकै जेठा छोरा रजीउल्ला हुसैन्ले गरेका थिए ।
सुर्खेतको चर्चा देशैभरी भनेझै, मेरो पहिलो यात्रा त्यो रमणीय ठाँउमा, अझ भनौँ भने त्यसमाथि त्यहाँको वर्षौ अघिको सामुदायिक मुस्लिम बसोबास..भ्रमण अत्यन्तै यादगार रहने निश्चित् प्रायःनै थियो । २०२६ सालबाट पिपिरामा मुस्लिम बस्ती बस्न सुरु भएको त्यहाँका अगुवां समाजसेवी एंव स्थानीय मदरसा–मदिना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहमद रजाले जानकारी दिए । पिपिरामा हाल २ सय भन्दा बढी घरधुरीका करिब १ हजार ५ सय जनसंख्या रहेको रजा बताउँछन् । चेतनाका मामिलामा अत्यन्तै चनाखो त्यहाँको मुस्लिम समुदाय आर्थिक पाटोमा भने अत्यन्तै कमजोर रहेकोमा रजाले चिन्ता गरे । बिरलै मात्रामा संम्भव हुने मुस्लिम मदरसालाई नेपाली पाठ्यक्रमलाई संगसंगै लगेर स्वीकृत माध्यमिक विद्यालय चलाउन सक्ने त्यहाँको स्थानीय मुस्लिम समुदायको आर्थिक जिवन किन बलियो हुन सकेन त? प्रश्न गम्भीर छ । पिपिरा देखि १० कदम अगाडी रहेको सुर्खेतको मुख्य बजार केन्द्र विरेन्द्रनगर बजार, वर्षौ अघिको उनिहरुको नजिकैको बसोबास तर गरिबि जस्ताको त्यस्तै ज्याला मजदुरीमा भर पर्नुपर्ने त्यहाँका मुस्लिम युवा बर्गको नियती आखिर किन? हामीलाई यो प्रश्नको जवाफ खोज्न कौतुहुल्ता जाग्यो । वास्तवमा मुस्लिम जाती अलि टाठो–बाठो, चतुर, व्यापार व्यवसाय गर्नमा अब्बल जाती भनेर अन्य जातीहरुले पनि मानिरहेको र भनिरहेको सन्दर्भमा आखीर त्यहाँको समुदाय किन आर्थिक प्रगतिको मामिलामा तल्लोस्तरमा रह्यो त? अहमद रजा भन्छन्, “व्यापारमा यहाँका मुस्लिम समुदाय लागेनन् पूर्खापुर्वजहरु कृषिमा नै आधारित रहे ।” रजाले भने, “व्यापार व्यवसायमा युवापुस्ताको लगाव नै रहेन् ।” विहान कमाउने साँझ खानेमा नै सिमित रहेको रजाले बताए । २०६३ साल देखि पिपिरामा कक्षा १ देखि मदरसा मदिना सामुदायिक विद्यालयको सुरुवात गरिएको रजा बताउँछन् । २०७२ मा माध्यमिक तहको विद्यालय संचालन अनुमति पाएको मदरसा तथा मदिना विद्यालयमा २ सय ८५ विद्यार्थी संख्या रहेको छ । अधिकांस मुस्लिम विद्यार्थी बाहुल्य रहेको विद्यालय संचालनमा स्थानियहरुले वर्षेनी चन्दा संकलन गरि विद्यालय चलाउँँदै आएका छन् । “नीजि स्रोतबाट १० जना शिक्षकलाई तलबभत्ता दिँदै आईरहेका छौँ ।” रजाले भने, “विद्यालय चलाउन आर्थिक समस्या जटिल बन्दै गएको छ ।”
अनौठो कुरा त्यहाँका मुस्लिमहरु चुरेटा भाषा बोल्दैनन् उनिहरु नेपाली भाषा मात्र बोल्दछन् । हामीले सोेध्यौँ तपाईहरु किन हाम्रो चुरेटा भाषा नबोलेको? जवाफमा त्यहाँका अगुवा युवा सज्जत खाँनले भने, “हाम्रो बुवा–आमा पनि बोल्नु भएन ।” खाँनले भने, “हामीलाई त त्यो भाषा बोल्नै आउदैन् तर केही पार्सी सब्दहरु भने बुझ्छौँ र प्रयोग पनि गर्दछौँ ।” सज्जत पढाईमा भने स्नातक हुन् केही समय अघि एनजिओमा काम गरेपनि हाल भने उनि बेरोजगार नै छन् । यहाँका युवापुस्ताहरु किन व्यापार व्यवसायमा नलागेको त? भन्ने प्रश्नमा खाँनले जवाफमा भने, “पँुजीको अभाव र अनुभव पनि भएन् ।” सज्जतले भने, “हामीलाई व्यापार भन्ने कुरा नै सिकाईएन्, हाम्रा अग्रजहरुले नै व्यापार गरेनन् र हामी पछि पर्यौँ ।”
अन्यत्र जिल्लाका मुस्लिम समुदायहरुमा व्यापारमा पुस्ता हस्तान्त्रण हुने गरेपनि पिपिराको हकमा भने ज्यालादारी मजदुरी दैनिकी बनेको उनले दुखेसो पोखे । पछिल्लो समय भने फाट्टफुट्ट मात्रामा केहीले पिपिरा बजार र विरेन्द्रनगर आसपासमा पसल गर्न थालेको सज्जतले बताए ।
दैलेखबाट आएर बस्ती बस्यो
करिब २ सय वर्ष अघिबाट दैलेखमा मुस्लिम बसोबास भएको पाईन्छ । ४ पुस्ता बित्दै अहिले यहाँ सम्म आईपुगिएको मुस्लिम अगुवाहरु बताउँछन् । दैलेखमा र दैलेखबाट सुर्खेत पिपिरामा आएका मुस्लिम सुमदायहरुले गैर मुस्लिमहरुसंग पनि बिहेबारी गर्दै आएका छन् । पिपिरामा यसको समस्या व्याप्त रहेको अहमद रजाले बताए । चेतना र शिक्षाको अभावले यस्ता विकृतिहरु मौलाउँदै गएको रजाको बुझाई छ । पिपिरामा नेपाली सुन्नी मस्जिद गुलशने मदिना अध्ययन केन्द्र समेत रहेको छ । बाग्लुङको बलेवाबाट करिब २ वर्ष अघि दैलेखमा पुर्वजहरु आएर बसेको इतिहासले बताँउछ ।
शैक्षिक अवस्था
पिपिरामा करिब १५ जनाले प्लस टु, आइए, ५ जनाले स्नातक र १ जनाले स्नाकोत्तर पुरा गरेको पाईएको छ । स्वास्थ्य क्षेत्रमा २ जना मुस्लिम नारीहरुले स्टाफ नर्स तर्फ जागिरे छन् भने ५ जना विद्यायमा शिक्षक तथा लेखापाल पदमा कार्यरत् रहेका छन् ।
सामाजिक तथा सांस्कृतिक सम्बन्ध
पिपिराका स्थानीय मुस्लिम युवा तथा युवतीको विहेबारी विशेषत् सल्यान, बर्दिया, दैलेख, वाँके जिल्लामा हुँदै आईरहेको छ । पिपिराका मुस्लिम समुदायहरुले नामको पछाडी थर मिँया लेख्दैनन् उनिहरुले बक्स, खाँन र सैयद लेख्दै आएका छन् ।
सुर्खेतमा अर्घाखाँचीका मुस्लिम
सुुर्खेतमा सर्वप्रथम अर्घाखाँची मुलका पहिलो मुस्लिम सौकत अलि २०४६ सालमा पुगेका थिए । व्यापारकै शिलशिलामा अलि सुर्खेत पुगेका हुन् । हाल अर्घाखाँचीबाट सुर्खेतमा व्यवसाय गर्न २० घरधुरी पुगेको अलि बताउँछन् । समग्र सुर्खेतमा बसोबास गर्ने मुस्लिम समुदायको हक, हित र अधिकारका लागि सर्वदलिय रुपमा जिल्ला मुस्लिम समन्वय समितिको गठन भएको छ र सौकत अलि त्यसका संस्थापक अध्यक्ष पनि हुन् । पिपिराको विकास र मुस्लिम समुदायको पक्षमा अलि सदैव क्रियासिल हुँदै अग्रभागमा उभिदै आएको अहमद रजा बताउँछन् । पिपिरामा पहिले कब्रस्थानको समस्या थियो । कब्रस्थानमा कब्रहरुले भरिएपछि त्यहाँ समस्या एंव चिन्ता छायो तर सौकत अलिकै सहोदर भाई हबिब हुसैनको नेतृत्वमा हाल करिब ३० लाख बराबरको जग्गा कब्रस्थानको लागि खरिद गरिएको छ । कब्रस्थान व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका हबिब हुसैनले भने, “करिब १०÷१२ लाख बराबरको थप जग्गा पनि खरिद गर्ने तयारीमा छौँ ।” हुसैन बिरेन्द्रनगरमा अवस्थित मस्जिद व्यवस्थापन समितिको उपाध्यक्ष पदमा समेत रहेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस !