शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

कलाकारको दशैँ


आजबाट यसवर्षको दशैँपर्व सुरु भएको छ । आज फूलपातिको दिनबाट दशैँ पर्व सुरु भएसँगै विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरू आफ्ना आफन्तसँग भेटघाटमा रमाउने गर्दछन् । यस्तै नेपाली सेलिब्रेटीहरू पनि आआफ्नो तरिकाबाट दशैँ मनाउँदैछन् । आजको हिमालय टाइम्सको ‘मेरो दशैँ’ सेग्मेन्टमा केही सेलिब्रेटीले आफ्नो दशैँ योजना शेयर गरेका छन् ।

एकादशीमा टीका

राजेश हमाल/अभिनेता

‘दशैँको टिकाको दिन आमाको श्राद्ध परेकाले मैले अर्को दिन अर्थात् एकादशीको दिन टीका लगाउने छु । धेरैजसो दशैँ देशबाहिर हुने गर्छ यसपालि पनि त्यस्तो टुंगो त लागिसकेको छैन तर नेपालमै बसेँ भने म ससुराली जान्छु ।’

मन्दिर जान्छु

रेखा थापा/अभिनेत्री

यसपालिको मेरो दशैँ अलि विशेष हुनेवाला छ किनकी चलचित्र ‘रुद्रप्रिया’ को प्रदर्शनको तयारी नजिकिएको हुनाले चलचित्रको प्रचारप्रसारसँगै दशैँ बित्नेछ । चलचित्रको कामसँगै म दशैँमा मन्दिर जान्छु, टीका लगाउँछु, मासु खान्छु, पिङ खेल्छु, आफूभन्दा ठूलोसँग आर्शिवाद लिन्छु । त्यस्तो विशेषतः केही पनि छैन तर बच्चामा जे सिकेको छु त्यसरी नै मनाउँछु, अन्य त्यस्तो फरक भन्ने छैन ।

दर्शकसँग दशैँ

प्रियंका कार्की/अभिनेत्री

मेरो यसपालीको दशैँ ‘छक्का पंजा २’ मय हुँदैछ । ‘छक्का पञ्जा २’ फूलपातिबाट देशभर प्रदर्शनमा आउँदैछ त्यसैले पनि दशैँको बेला हामी हलहलमा दर्शकको प्रतिक्रिया लिन पुग्नेछौँ । गएको वर्ष पनि त्यसरी नै वितेको थियो यो वर्ष पनि चलचित्र टिमनै हलहलमा पुग्ने छौँ । त्यसका साथै परिवार र आफन्तको साथमा दशैँ मनाउनेछु । सपिङको कुरामा चाँही दशैँमा सपिङ गर्न छोडेको धेरै वर्ष भइसक्यो । सपिङ गर्न भनेर दशैँ कुर्ने गरेको छैन ।

घरमा खसी काट्दैनौँ

केदार घिमिरे/हाँस्य कलाकार

‘मेरो दशैँ यस वर्ष हलहलमा दर्शकहरूसँग ‘छक्का पञ्जा २’ फिल्म हेरेर मनाउने सोच छ । किनमेल त्यस्तो विशेष केही पनि भएन भन्नुपर्छ । लुगा लगाइराखेकै हो, त्यसमै १÷२ जोर नयाँ थपियो । यसपटक हामी घरमा खसी काट्दैनौँ । पहिला पहिला काटिथ्यो तर अहिले अब आफैँलाई पनि कुहिन्छ वा बिग्रन्छ कि भन्ने डर लाग्यो । मासुले गर्दा आफ्नो स्वास्थ्यलाई त बिगार्न भएन । किलोका किलो ल्याइन्छ खान मन लागुञ्जेल खाइन्छ । त्यति भएपछि खसीको पनि टेन्सन भएन ।’

बस्तीमै हुनेछु

सीताराम कट्टेल/हाँस्य कलाकार

केही दिनअघिमात्रै रौतहटको सन्तपुरमा बाढी पीडितका लागि नयाँ बस्तीको शिलान्यास गरेको छु । त्यसैले यसवर्षको दशैँमा म सन्तपुरवासीसँगै हुनेछु । बस्ती निर्माणकार्यमै व्यस्त हुनेहुनाले बस्तीकै दाजुभाइ दिदीबहिनीसँग दशैँ मनाउनेछु ।

यस वर्ष अष्ट्रेलियामा

मञ्जु पौडेल/गायिका

‘यस वर्षको दशैँमा म र मेरी छोरी स्नेहा अष्ट्रेलियामा हुनेछौँ । मैले छोरीलाई टीका लगाइदिएर एकदमै धेरै आर्शिवाद र ५ डलर दिनेछु । हाम्रो परिवारहरू पनि अष्ट्रेलियामै हुनुहुन्छ त्यहाँ हामी एकदमै रमाइलो गर्नेछौँ ।’

मामा घर जान्न

कोमल वली/गायिका

म यस वर्षको दशैँमा काठमाडौंमै हुनेछु । सांगीतिक कार्यक्रमका लागी फूलपातिसम्म काठमाडौंबाहिरकै कार्यक्रममा व्यस्त रहन्छु । तर यस वर्ष पाली मामा घर भने जान्न, मामा बित्नुभएको छ ।

ऐश्वर्यमय हुनेछ

रमेश उप्रेती/अभिनेता

यस वर्ष मेरो निर्माण र अभिनयमा निर्माण भएको चलचित्र छठपर्वसँगै प्रदर्शनमा आउँदैछ । त्यसैले यो दशैँ मेरो ऐश्वर्यमय हुनेछ । साथै चलचित्रको प्रमोशन पनि गर्नुपर्ने भएकोले दशैँमा आर्शिवाद दिदा पनि ऐश्वर्य प्राप्तीको होस् भनेर दिने सोचमा छु किनकी आर्शिवादसँगै चलचित्रको प्रमोशन पनि हुन्छ ।

घरमै हुन्छु

पशुपति शर्मा/गायक

यस वर्षको दशैँमा म घरमै हुनेछु । दशैँ विशेष विभिन्न कार्यक्रममा व्यस्त हुने हुनाले घरमा भने फूलपातिको साँझमात्रै पुग्छु । साथीभाइ र इष्टमित्रसँग भेटघाट गरेर दशैँ मनाउने योजना छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top