शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सहकारी सुशासनमा लेखापरीक्षण कार्य महत्वपूर्ण ः वक्ताहरु



प्रकाश बैद्य
प्यूठान ,सहकारी संस्थाहरुमा सुशासन कायम राख्न आन्तरिक र बाह्रय लेखापरीक्षण कार्य महत्वपूर्ण हुने एक कार्यक्रममा बोल्ने वक्ताहरुले औल्याएका छन् ।
जिल्ला सहकारी संघ लि. प्यूठानको आयोजनामा आज विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाको सभाहल जुम्रीमा आयोजित सहकारी सुशासनमा लेखापरीक्षकको भुमिका विषयक १ दिने अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो विषयमा जोड दिएका हुन् ।
सहकारी संस्था सदस्यहरुद्धारा आफै नियमन हुने स्वनियमन् संस्था भएकाले संस्थामा आन्तरिक लेखापरीक्षण कार्यमा लेखासुपरिवेक्षण समितिको भुमिका महत्वपूर्ण हुने तथा सञ्चालक र लेखासुपरिवेक्षण समितिले कानुन सम्वत् कार्य गरे नगरेको हेर्ने निकाय बाह्रय लेखापरिक्षक भएकाले लेखापरीक्षकले लेखापरीक्षण गर्दा संस्थाको सवै नीति नियम पालना तथा विधि सम्वत् भए नभएको हेरेर मात्र लेखापरीक्षण सम्पन्न गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । सहकारी संस्थाका हरेक कामकार्वाहीको जिम्मा लिने जिम्मेवारी सञ्चालक समितिको रहेकाले सहकारी सञ्चालक समितिले हचुवाको भरमा काम नगरी नीति ,विधि र सिद्धान्त अनुरुप गर्नु पर्नेमा समेत वक्ताहरुले सुझाएका छन् ।
सहकारी विग्रदा पहिलो जिम्मेवारी सञ्चालक समिति हुने भएकाले समितिले सुशासनका पक्षलाई आत्मसात गर्दै नियम संगत काम गर्नु पर्ने तथा गलत लेखापरीक्षण प्रतिवेदन तयार पार्ने समेतलाई कसुर मानी सजाय हुने कानुनमा व्यवस्था भएकाले लेखापरीक्षकले हेलचेक्र्याई गरेर प्रतिवेदन तयार पार्न नहुने नीति विधि प्रक्रिया सवै जाँच बुझ गरेर मात्र लेखापरीक्षण कार्य सम्पन्न गर्नु पर्ने वक्ताहरुको भनाई छ ।
कार्यक्रमका मन्तव्य राख्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले कुनै पनि सहकारी संस्थामा समस्या आउँदा पहिलो जवाफदेही सञ्चालक समिति हुने भएकाले सञ्चालक समितिले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्नु पर्ने बताए । समितिलाई कार्यकारी अधिकार कानुनले दिएको भन्दै प्र.जि.अ .अर्यालले सञ्चालक समितिले मलाई थाहा थिएन भनेर उम्कन नपाइने समेत प्रष्ट्याए । संस्थाको आन्तरिक नियमन गर्न लेखासुपरिवेक्षण समितिले चौमासिक रुपमा लेखापरीक्षण गर्नु पर्ने तथा लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदन तयार गर्दा राज्यको कानुनले दिएको मापदण्ड अनुसार गर्नु पर्नेमा समेत प्र.जि.अ .अर्यालले सुझाए । संस्थाको मुख्य कारोवार कानुन सम्वत् छ या छैन ? ,सदस्यलाई शिक्षित गरेको छ या छैन ?,नक्कली ऋण खडा गरी ऋण लगानी गर्ने प्रवृत्ति छ छेैन ,कार्य क्षेत्र वाहिरको कारोवार ,साधारण सभा सञ्चाला प्रक्रिया तथा गणपुरक संख्या ,ऋण लगानी विवरण,आन्तरिक कार्यविधि बनाई बचत ऋणको व्याज दर नियम संगत छ छैन ,सम्पत्ति शुद्धीकरण निवारण ऐन कार्यान्वयन पक्ष लगायतका पक्षहरुको विस्तृत रुपमा हेरी लेखापरीक्षकले प्रतिवेदन तयार गर्नु पर्नेमा समेत प्र.जि.अ अर्यालले सुझाए । धितो सुरक्षण राखेर ऋण दिने समुदाय केन्द्रीत सहकारीमा समस्या नआउने भन्दै प्र.जि.अ .अर्यालले कानुनले तोकेको सिमा वाहेक विना धितो ऋण दिने कार्य नगर्न अनुरोध गरे ।
कार्यक्रममा मन्तव्य राख्दै कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानका प्रमुख देवराज पोख्रेलले जिल्लामा सहकारी लेखापरीक्षणको एउटै मापदण्ड मानक बनाएर अघि बढ्न सके सहज हुने े भन्दै संघ,सहकारी संस्थाका सञ्चालक ,स्थानीय तहका पदाधिकारी,लेखापरीक्षक सहित बसेर साझा मापदण्ड बनाएर अघि बढ्न आग्रह गरे ।
पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजालले सहकारी क्षेत्रको विकास , प्रवद्र्धन र नियमन्मा स्थानीय सरकार जिम्मेवार बन्नु पर्नेमा जोड दिए । कतिपय फरक सोच भएका व्यक्तिहरुको आचरणका कारण केही सहकारीमा समस्या सृजना भएको भन्दै रिजालले स्थानीय तहले प्राथमिकताका साथ अघि बढाउन सके सहकारीका माध्यमबाट धेरै सकारात्मक उपलव्धीहरु हासिल गर्न सकिने बताए ।
जिल्ला सहकारी संघ लि. प्यूठानका केन्द्रीय प्रतिनिधि मुक्ति पोख्रेलले राज्यले एक खम्वाको रुपमा स्विकार गरेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न राज्यले आवश्यक भुमिका खेल्नु पर्ने बताए । अडिटर एशोशिएसन प्यूठानका अध्यक्ष विष्णु बहादुर बस्नेतले सहकारी संस्थाको लेखापरीक्षणका लागि एकरुपता कायम गर्न पालिकाले लेखापरीक्षकहरु संग समन्व्य गरी एकरुपता कायम गर्नु पर्ने बताए । जिल्ला सहकारी संघ प्यूठानका सल्लाहकार लोक बहादुर बस्नेतले स्थानीय तहले सहकारीलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्ड जरिवाना गर्ने अभ्यासको थालनी गर्न आग्रह गरे । लेखापरीक्षकले सुक्ष्म ढंगले परीक्षण गरी जे देखिन्छ त्यो हुबहु प्रतिवेदनमा उल्लेख गर्न बस्नेतले आग्रह गरे ।
लेखापरीक्षक घनश्याम न्यौपानेले कानुनी जटिलता धेरै भएका कारण लेखापरीक्षकलाई जोखिम रहेको ,लेखापरीक्षणको बेला केही दिनमै सवै पक्ष हेर्न सम्भव नरहेको,धैरै संस्थाहरुमा साधारण सभा व्यवस्थित रुपले सम्पन्न नभएको ,लेखा समितिको भुमिका निष्कृय रहेको ,सहकारीको दिगो विकासमा स्थानीय निकायको योजना नभएको ,धेरै सहकारी संस्थाको नीति कार्यविधि ,विनियम अद्यावधिक हुन नसकेको ,सञ्चालक तथा कर्मचारीको क्षमता विकास हुन नसक्दा समस्या देखिएको र सकारी बर्गिकरण गरी राम्रा ,मध्य र बन्द गर्नु पर्ने छुट्याएर अघी बढ्न आवश्यक रहेको बताए । त्यसै गरी लेखापरीक्षक प्रेमध्वज खड्काले सहकारी लेखापरीक्षण सम्वन्धि नियमनकारी निकायले आवश्यक समन्वय नगरेकाले समन्वय गर्नु पर्ने,सहकारीलाई राज्यले संरक्षण गर्ने नगरी फरक दृष्टिकोणले हेर्ने गरेको ,पालिका सहकारी शाखा व्यवस्थित नभएको तथा शाखामा कार्यरत कर्मचारीलाई सहकारी सिकाउन जरुरी रहेको तथा सहकारीमा कर्जा जोखिम कोषको व्यवस्था कमै मात्रामा देखिएकाले सो कार्यान्वयन गर्नु पर्ने बताए ।
कार्यक्रममा सहभागिहरुले सहकारी संस्था सञ्चालन गर्नेले नीति नियम कानुनको परिधि भित्र रहेर गर्नु पर्ने ,सञ्चालक तथा लेखासुपरिवेक्षण समिति आफ्नो काम कर्तव्यप्रति जिम्मेवार वन्नु पर्ने ,लेखापरीक्षकले लेखापरीक्षण गर्दा सवै पक्ष सुक्ष्म ढंगले जाँचवुझ गरी देखिएको विषय प्रतिवेदनमा उल्लेख गरी संस्था सुधारको बाटो पहिल्याउनु पर्ने , एउटै लेखापरीक्षकलाई लगातार पटक पटक लेखापरीक्षक चयन गर्न नहुने ,लेखापरीक्षक चयन साधारण सभाबाट मात्र गर्नु पर्ने ,नीति ,विधि र प्रविधिमा सञ्चालक अद्यावधिक हुनु पर्ने ,कर्मचारीको भुमिका इमान्दार हुनु पर्ने ,लेखापरीक्षकले बचत तथा ऋण सहकारी संस्थाको पल्र्स अनुगमन प्रणाली अन्तर्गत प्रतिवेदन तयार गर्नु पर्ने ,सञ्चालकको ऋण विवरण जस्ता सवै विवरण प्रतिवेदनमा लेखापरीक्षकले संलग्न गर्नु पर्ने ,प्राथमिक पुँजी कोषको १० प्रतिशत भन्दा बढी ऋण लगानी देखिएमा सो प्रतिवेदनमा समावेश हुनु पर्ने ,सहकारी संस्थाको भाखा नाघेको ऋण उठाउन प्रशासनले आवश्यक सहयोग गर्नु पर्ने,लेखापरीक्षकले नीति समेत हेरी नीति अनुरुप खर्च भए नभएको समेत हेर्नु पर्ने ,मुख्य खाता मात्र हेरेर प्रतिवेदन नबनाई सहायक खाता पनि भिडान गर्नु पर्ने ,ऋण लगानीको अवस्था विधि सम्वत् भए नभएको लेखापरीक्षकले हेर्नु पर्ने लगायतका सुझावहरु राखेका थिए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेत ,चिरायु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धु्रव बहादुर जि.सि.,साना किसान कृषि सहकारी संस्था बांगेशालका प्रवन्धक निमराज आचार्य,साना किसान कृषि सहकारी संस्था विजयनगरकी अध्यक्ष सर्मिला रावत ,विभिन्न स्थानीय तहका सहकारी शाखा हेर्ने कर्मचारीहरु लगायतले सुझाव राखेका थिए ।
जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोखरेलको अध्यक्षतामा जिल्लाका विभिन्न सहकारी संस्थाका अध्यक्ष ,व्यवस्थापक ,सहकारी शाखा प्रमुख एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघका सञ्चालक छन्द बहादुर बस्नेतले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top