देवीराम पाठक
प्रमुख प्रशासकीय अधिकृत
सरुमारानी गाँउपालिका, गाँउ कार्यपालिकाको कार्यालय, प्यूठान
१) सरुमारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ, अनुभूति कस्तो भैरहेको छ ?
स्थानीय सरकारको कार्यानुभव मेरो पहिलो भएको हुँदा म उत्साहित नै छु । एउटा सिङ्गो सरकारको कर्मचारी प्रशासन प्रमुखको जिम्मेवारीमा छु त्यसैले पनि अलि बढी जिम्मेवारी, कार्यबोझ र चुनौती महशुस गरेको छु ।
२) आर्थिक वर्ष २०७९÷०८० को अन्त्यतिर आउँदै गर्दा कार्य प्रगति र खर्चको अवस्था कस्तो छ ?
वार्षिक वजेटमा समेटिएका कार्यक्रमहरु केही कार्यान्वयन भै सम्पन्न समेत भैसकेका छन् भने केही कार्यान्वयनकै क्रममा रहेका छन् । आर्थिक वर्षको अन्त्यतिर हामी रहेको हुँदा कार्यान्वयनकै क्रममा रहेका कार्यक्रम तथा योजनाहरुलाई तोकिएको समयमै सम्पन्न गर्न तदारुकताका साथ लागिरहेका छौँ । भौतिक प्रगति अलि धेरै नै भएता पनि सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको अन्तिम भुक्तानी भै नसकेको र केही भुक्तानीकै क्रममा रहेको हुँदा वित्तीय प्रगति हालसम्म ५५ प्रतिशतको हाराहारीमा रहेको अवस्था छ ।
३) गत आ. व. मा शुन्य वेरुजु हुनेमा देशकै उत्कृष्ट पालिकाको रुपमा कायम रहेको यस पालिकामा चालू आ. व. ले कस्तो सन्देश देला ? भन्ने लाग्छ ।
शुन्य वेरुजु बनाउने कुरा वित्तीय अनुशासनसँग सम्बन्धित विषय हो । सरुमारानी गाउँपालिकाले प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्ने गराउने कार्यलाई कडाईका साथ अवलम्वन गरेकै कारण शुन्य वेरुजु कायम गर्न संभव भएको हो । विगतका वर्षहरुमा जस्तै चालू आर्थिक वर्षमा पनि शुन्य वेरुजु गाउँपालिका बनाउन वित्तीय अनुशासनका महत्वपुर्ण विषयलाई ध्यानमा राखी कार्य सम्पादनमा जोड दिएका छौँ । त्यसैले फेरी पनि हामी हाम्रो गाउँपालिकामा शुन्य वेरुजु कायम गर्न सफल हुने नै छौँ ।
४) यस पालिकामा विकास निर्माण प्रक्रियामा तय गरिएका मुख्य प्राथमिकताहरु के के हुन ?
सबै जसो स्थानीय तहका विकास निर्माणका प्राथमिकताहरु मिल्दा जुल्दा नै रहने गरेको पाईन्छ । त्यसैको सेरोफेरोमै हामी छौँ । यहाँले उठाए जस्तो विकास शब्दले सबै प्रकारको विकासलाई बुझाउँछ । त्यसैले हामीले पनि सर्वाङ्गिण विकासमा जोड दिएका छौँ । भौतिक पूर्वाधारको विकास, मानवीय विकास, सामाजिक विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र गाउँपालिकाका विकासका प्राथमिकताका क्षेत्र हुन । यी क्षेत्रमा नै वार्षिक वजेट तथा कार्यक्रम केन्द्रित रहेका छन् ।
४) विकास वजेट परिचालन प्रक्रियामा देखिएका मुख्य चुनौती तथा भोगाईहरुबारे केही बताईदिनु हुन्छ की ।
सबैको ध्यान विकास वजेटमै हुन्छ । आफ्नो आयोजना वार्षिक वजेटमा समावेश गर्न सकियो कि सकिएन या पर्यो परेन भन्ने विषय वजेटको मुख्य आकर्षण नै रहन्छ । विकास बजेटको कार्यान्वयन प्रकिया पनि अलि जटिल छ । सार्वजनिक खरिद ऐन तथा नियमावलीको पूर्ण परिपालना गरी ठेक्का लगाउनु पर्ने ठूला आयोजनाहरु ठेकेदारको ढिलासुस्ती र लापर्वाहीले गर्दा समयमा काम नहुनुका साथै काम नगरी भाग्ने प्रवृत्ति प्रमुख चुनौतीको रुपमा रहेको छ । यसै गरी उपभोक्ता समितिबाट कार्यान्वयन गरिने आयोजनाहरु तर्फ पनि ढिला गरी उपभोक्ता समितिको गठन हुने, उपभोक्ताको तर्फबाट गर्नुपर्ने योगदानको हिस्सा प्रभावकारीरुपमा परिचालन नगरी पेश्की रकम नलिए सम्म काम प्रारम्भ नगर्ने प्रयास गर्ने लगायतका समस्याहरु विकास वजेटको परिचालन र प्रयोगमा देखिएका केही समस्याहरु हुन । त्यसैले विकास वजेट परिचालनमा प्रभावकारिता ल्याउन यी पक्षमा सुधार गर्नुपर्दछ ।
४) यस पालिकामा जनप्रतिनिधि र कर्मचारीवीचको सम्बन्धले कामकारवाहीमा असहज त भएको छैन ?
छैन । जनप्रतिनिधि र कर्मचारीका वीचमा सुमधुर सम्वन्ध नै छ । दुवै पक्षले प्रशासन र राजनीतिवीचको सीमा रेखा प्रष्टसँग देखेपछि र एकले अर्कोको सीमा नमिचेपछि सम्बन्ध विग्रँदैन र सम्बन्ध जति सुमधुर हुन सक्यो त्यति बढि कामकारवाहिमा सहजता हुने हुन्छ । प्रचलित नीति नियम तथा ऐन कानुनको परिपालना गरी कार्य सम्पादन गर्न कर्मचारीहरुलाई जनप्रतिनिधिहरुबाट अनावश्यक दवाव सृजना भएको छैन त्यसैले पनि यि दुई पक्षको वीचमा चिसोपना छैन ।
६) पालिकाको आर्थिक समृद्धिका लागि के कस्ता अभाव र खाँचो महशुस गर्नुभएको छ ?
आर्थिक समृद्धिका लागि आर्थिक पक्षनै महत्वपूर्ण हुन्छ । स्वायत्त सरकार भएतापनि स्रोत साधनमा स्वायत्त हुन नसक्नु नै प्रमुख चुनौती हो । गाउँपालिकाको वजेटको आधार संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम भएको हुँदा गाउँपालिकाको आफ्नै राजश्वको बलियो आधार नभएसम्म सरकार बलियो हुन सक्दैन र साधन स्रोतमा बलियोपन नभएसम्म विकासले गति लिँदैन र सर्वाङ्गिण विकास हुन नसक्दासम्म आर्थिक समृद्धि पनि प्राप्त नहुने भएको हुँदा मुख्यतः आर्थिक स्रोतको न्यूनता नै पालिकामा आर्थिक समृद्धिको बाधक हो जस्तो मलाई लाग्दछ । प्रस्तुती ः सुशील पोखरेल
कमेन्ट गर्नुहोस !