
बद्रीनाथ गैह्रे
प्रमुख जिल्ला अधिकारी
प्यूठानमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै गर्दा कस्तो अनुभुति भएको छ ?
प्रमुख जिल्ला अधिकारी नेपाल सरकारको केन्द्रीय प्रतिनिधिको रुपमा जिल्लामा रहने गर्दछ । हालको परिवर्तित शासन प्रणाली अनुसार संघीय सरकारको स्थानिय प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइदैछ । संघीय प्रादेशिक र स्थानिय सरकार बीच समन्वय गर्ने जिम्मेवारी पनि प्रजिअको काँधमा आएको छ । प्यूठान जिल्ला राजनैतिक, ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक दृटिकोणले महत्वपूर्ण छ । मुलुकका अन्य पहाडि जिल्लामा जस्तै सुशासन, विकास र परिवर्तनको अनुभुति खासै हुन नसकेको यस जिल्लाका आम नागरिकमा परिवर्तनको अनुभुति दिलाउनु पर्ने आवश्यकता देखिन्छ । प्यूठान जस्तो महत्वपूर्ण र सुन्दर जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न पाउंदा खुसी लागेको छ । जिम्मेवारी संगसंगै यस जिल्लामा केही सकारात्मक कार्यहरु गरेर देखाउने चुनौती समेत आएको महसुश गरेको छु ।
यस भन्दा अगाडि प्रमुख जिल्ला अधिकारीको अनुभव पनि छन् कि ?
यस भन्दा अघि मैले कालिकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी भइ कार्य गरेको थिएँ । उक्त जिल्लामा रहंदा गत २०७४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने लगायतका केही चुनौतीपूर्ण जिम्मेवारी वहन गरेको अनुभव छ ।
प्यूठानको बारेमा कसरी अध्ययन गर्दै हुनुहुन्छ ? अहिले सम्मको बुझाइमा प्यूठानका समस्याहरु के के देख्नु भयो ?
प्यूठान जिल्लामा म हाजिर भएको एक हप्ता पनि पूरा भइसकेको छैन त्यसैले अध्ययन कै क्रममा छु । यद्यपी जिम्मेवारी सम्हाली सकेपछि मैले जिल्लामा क्रियाशिल राजनीतिकदल, पत्रकार, कार्यालय प्रमुखहरु, सुरक्षा निकाय, स्थानिय तह, उद्योग व्यवसायी लगायतका विभिन्न पक्षसंग भेटघाट छलफल तथा अन्तरक्रिया गर्दै आइरहेको छु । त्यसैगरी जिल्लाका विभिन्न स्थानमा स्थलगत भ्रमण गरी जिल्लाका बस्तुस्थिति अध्ययन गर्ने कार्य शुरु गरिसकेको छु ।
हाल सम्मको अध्ययनबाट मैले प्यूठान जिल्लामा निम्न समस्याहरु महसुश गरेको छु ः
–सामाजिक अपराध (बहुविवाह, बाल विवाह, यौनजन्य हिंसा, आदी) मा बृद्धि, घरेलु तथा गुणस्तरहिन मदिराको उत्पादन, सेवन र विक्रि वितरण, प्राकृतिक विपद् (आगलागी, बाढी पहिरो), संविधान विरोधी समुहको गतिविधि, बजार नियमन अभाव÷उपभोक्ता हक हितको अभाव, यातायातको सहज पहुँचको अभाव, साघँुरो सडक, सडक दुर्घटना, विकास गतिविधमा समन्वयको अभाव, निर्माण कार्यमा ढिलासुस्ती, गुनासो सुनुवाइको अभाव र सरकारी नियम प्रतिको नकारात्मक बुझाइ रहेको पाए ।
अब जिल्लामा तपाईका प्रमुख प्राथमिकताहरु के के हुने छन् ?
मैले यस जिल्लाका सरोकारवालाहरुसंगको छलफल तथा आफ्नो अध्ययन विश्लेषण गर्दा पहिचान गरिएका समस्याहरु समाधान गर्दै जिल्लामा शान्ति, सुरक्षा, सुव्यवस्था कायम गर्न “शान्ति, सुरक्षा, सुशासन, समुन्नत र सभ्य प्यूठान” भन्ने मुल मन्त्र लिइ देहायको ६ ‘स’ लाई प्राथमिकताका साथ अघि बढाउने सोँच बनाएको छु ।
त्यस अनुसार
– सवल शान्ति सुरक्षा – चुस्त सुरक्षा व्यवस्था, सुरक्षा निकायको सवलीकरण, दुर्घटना र हिंसाजन्य घटनाको न्यूनिकरण, घटनाको यथाशिघ्र रेस्पोन्स गर्ने ।
– सदाचार र सुशासन ः सेवा प्रवाहमा सरलता, सहजता र प्रभावकारीता, भ्रष्टाचार नियन्त्रण, घुम्तीसेवा सञ्चालन, गुनासो सुनुवाइ, पारदर्शितामा बुद्धि, निरन्तर अनुगमन गर्ने ।
– समन्वय, सहयोग र सहजीकरण ः संघीय, प्रादेशिक र स्थानिय सरकारबीच समन्वय गर्ने, विकास निर्माणमा सहयोग र सहजीकरण गर्ने, राजनीतिकदल, नागरिक समाज, सञ्चार क्षेत्र लगायत सम्बद्ध पक्षसंग निरन्तर छलफल तथा समन्वय गर्ने ।
– सार्वजनिक सम्पतिको संरक्षण ः जिल्ला भित्रका सार्वजनिक सम्पति र महत्वपूर्ण प्रतिष्ठानहरुको विवरण अद्यावधिक, दुरुपयोग नियन्त्रण, उचित संरक्षणमा जोड दिने ।
– सभ्य समाज निर्माण– मदिरा नियन्त्रण र नियमन, सामाजिक हिंसामा न्यूनिकरण , जनचेतना बृद्धि गर्ने ।
– सकारात्मक सोंचको विकास – सरोकारवाला पक्ष तथा स्थानिय समुदायसंग छलफल तथा अन्तरक्रिया मार्फत जनमानसमा सकारात्मक सोंचको विकास गर्ने लगायतका जनसरोकारका विषयमा मेरो मुख्य ध्यान जाने छ ।
यि यस्ता प्राथमिकताहरु पुरा गर्न कार्य योजना कसरी अगाडि सार्दै हुनुहुन्छ ?
प्यूठान जिल्लामा मैले लिएका प्राथमिकताहरु पुरा गर्न सरोकारवाला वर्गसंगको छलफल, अन्तरक्रियाबाट आवश्यक राय सुझाव लिई वार्षिक कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने सोंच बनाएको छु ।
प्रतिवद्धताहरु धेरै गर्ने तर, कार्यान्वयन भने भएको पाइदैन नी ? यस विषयमा के भन्नु हुन्छ ?
पक्कै पनि घोषणा गर्न र कार्यान्वयन गर्नमा ठुलो अन्तर हुन्छ । प्रतिवद्धता गर्न सजिलो हुन्छ तर, त्यसको पूर्ण कार्यान्वयन गर्न कठिन हुन्छ । मैले गर्न नसकिने प्रतिवद्धताहरु गरेको छैन तर, यि सबै प्रतिवद्धताहरु केवल मेरो एक्लो प्रयासमा मात्र पुरा गर्न सकिदैन । यसका लागि स्थानिय तह लगायत सम्वद्ध सबै सरोकारवालाको पूर्ण साथ र सहयोग आवश्यक पर्दछ । म पूर्ण रुपमा विश्वस्त छु कि सबैको साथ र सहयोगमा यि प्रतिवद्धताहरु पुरा गर्न सक्षम हुनेछु ।
अहिले सम्मको इतिहास हेर्दा प्रमुख जिल्लाहरु जिल्लाको अवस्था बारेमा बुझ्दा बुझ्दै सरुवा प्रक्रियाले काम गराइमा अपूर्ण र प्रभावित हुने गरेको पाइन्छ । यसमा के भन्न चाहानु हुन्छ ?
यो हाम्रो मुलुकको समग्र कर्मचारीतन्त्रमा देखिएको मुल समस्या हो । मुलुकमा हुने राजनैतिक अस्थिरताको शिकार कर्मचारीतन्त्र पनि हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी लगायत अन्य कार्यालय तथा योजना प्रमुखहरुको छिटो छिटो सरुवाले मुलुकमा सुशासन र विकासले गति लिन सकेको छैन । तर, अहिले मुलुकमा स्थिर सरकार निर्माण भएको हुंदा यो समस्या पनि कमी आउने लक्षण देखिएको छ ।
अन्त्यमा प्यूठानवासी जनताहरुलाई केही भन्नु छ कि ?
अवश्य पनि, म प्यूठानवासी जनताको सेवा गर्न कै लागि आएको छु । म आफ्नो कार्यकालको समयभरी प्यूठानवासी जनतालाई केन्द्रविन्दूमा राखी आफ्नो क्षमताले भ्याएसम्म सेवा गर्ने अठोट पनि लिएकोे छु । यहाँका जनताको खुशी नै मेरो खुशी हुनेछ । आफ्ना समस्या तथा गुनासाहरु निर्धक्कसंग राख्न मसबैमा अनुरोध गर्दछु, जसको म अधिकतम समाधान गर्ने प्रयास गर्नेछु । साथै मेरो सकारात्मक प्रयासमा जिल्लाका राजनीतिक दल, स्थानिय तह, नागरिक समाज, सञ्चारजगत, उद्योगी व्यवसायी लगायत सम्पूर्ण प्यूठानवासीहरुको भरपूर्ण साथ र सहयोग हुनेछ भन्ने अपेक्षा गरेको छु ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेसंग (२०७५ साउन १९ गते शनिवार) हाम्रो एकताकर्मी राधिका भुसालले गरेको कुराकानी
कमेन्ट गर्नुहोस !