शुक्रबार, बैशाख ४, २०८३ | Friday 17th April 2026

के भन्छन् ? प्यूठान उद्योगबाणिज्य संघका अध्यक्ष पदका उम्मेद्वारहरु


जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संघ प्यूठान उद्योग बाणिज्य संघको १० औ अधिवेशन यहि ०७५ मंसिर २९ गते हुँदैछ । अधिवेशनबाट संघको आगामी ३ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित हुनेछ । अधिवेशन नजिकिए संगै यतिबेला संघको विभिन्न इलाकाहरुमा इलाका अधिवेशन सम्पन्न गर्ने तथा जिल्लाका लागि प्रतिनिधि चयन गर्ने क्रम चलिरहेको छ । नीजि क्षेत्रको बलियो संस्थाको रुपमा चिनिने प्यूठान उद्योग बाणिज्य संघको अधिवेशनलाई हरेक तवरबाट व्यापक चासोका साथ हेरिएको छ । यतिबेला व्यवसायीहरुको नेतृत्व पंक्ति संघको अधिवेशन सम्पन्न गर्न बजार बजारमा ईलाका साधारण सभामा आफ्ना उम्मेदवारलाई जिताउन प्रचार प्रसारमा जुटेका छन् भने संघको जिल्लाको नेतृत्वका लागि दुई प्यानलहरु बनाएर व्यवसायीहरु चुनावी अभियानमा जुटेका छन् । ने.क.पा., रा.ज.मो,रा.प्र.पा समर्थक व्यवसायीहरु नेपालकै प्रतिष्ठित व्यापारी एवं संघका हाल बरिष्ठ उपाध्यक्ष केदारमान कक्षपतिको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल तयार गरी चुनाब प्रचारमा भिडेका छन् भने कांग्रेस समर्थक व्यवसायीहरुको तर्फबाट युवा व्यवसायी प्रमोद पोख्रेलको नेतृत्वमा व्यावसायिक प्यानल तयार गरी व्यवसायीहरु प्रतिस्पर्धाको दौडमा छन् । चुनावी समयमा जिल्लामा व्यवसायीहरुको चुनावी सरगर्मी चलि नेतृत्व आ आफ्नो हातमा पार्न दुवै प्यानलबाट प्रचार प्रसार भई रहेको सन्दर्भमा संयुक्त व्यावसायिक प्यानलको नेतृत्व गरेका केदारमान कक्षपति र व्यावसायिक प्यानलको नेतृत्व गरेका प्रमोद पोख्रेल संग हामीले व्यवसायीहरुको चुनावी अभियान , भावी योजना प्रतिबद्धता तथा तपाईहरुको उम्मेदवारी के का लागि ? लगायतका विषयमा कुराकानी गरेका थियौ । प्रस्तुत छ हाम्रा सहकर्मी प्रकाश बैद्यले गर्नु भएको कुराकानीको सम्पादित अंश ।

व्यवसायीलाई सम्बृद्ध बनाउन नै मेरो उम्मेदवारी हो ।

केदारमान कक्षपती
अध्यक्ष पदका उम्मेद्वार संयुक्त व्यवसायिक प्यानल
अध्यक्ष पदमा चुनावी मैदानमा भिड्नु भएको छ कस्तो लागि रहेको छ ?

प्यूठान उद्योग बाणिज्य संघको चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उभिदा मलाई ठिकै लागेको छ । किन की यो संस्था भनेको व्यावसायिक हक हितको लागि काम गर्न बनेको संस्था हो । व्यापारी नै यो संस्थामा लाग्नु पर्दछ भन्ने लागेर म अध्यक्ष पदमा उभिएको छु र चुनावी अभियानमा जाँदा व्यवसायीहरुबाट प्राप्त हौसला एवं सद्भावले खुशी लागेको छ र उत्साहित पनि बनाएको छ ।
तपाईको उम्मेद्वारी खास के का लागि ?
विशेष त उद्योगी व्यवसायीहरुलाई समृद्ध बनाउने उद्देश्य लिएर हिडेको हुनाले सो उद्देश्य पुरा गर्नका लागि काम गर्न मेरो उम्मेदवारी हो । धेरै व्यवसायीहरु अहिले भ्याट के हो मिश म्याच के हो भन्ने नबुझ्दा आर्थिक उपार्जन गर्ने उद्देश्यले व्यवसायमा लागे पनि मिश म्याच र भ्याटको कुरा नबुझ्दा आर्थिक मारमा परेका छन् तसर्थ व्यवसायीका यस्ता समस्या हल गर्न तथा पूर्व अग्रजहरुले थालनी गरेका प्यूठान उद्योग बाणिज्य संघका अधुरा कामहरु पुरा गर्न पनि मेरो उम्मेदवारी हो । सहिद पार्क निमार्णलाई पूर्णता दिने ,नीजि क्षेत्र र स्थानिय निकायको सहयोगमा हाइड्रोपावर निर्माणका लागि पहल गर्ने , प्रत्येक बजार इलाकामा कृषि उपज संकलन केन्द्रको व्यवस्था, चाल्नेटार बिमानस्थलको कार्य अगाडि बढाउन नेपाल सरकार संग पहल गर्ने लगायतका उद्धेश्यहरु हामीले लिएका छौ । व्यावसायिक हक हितको लागि मात्र नभएर जनतालाई कसरी समयमा गुणस्तरिय बस्तु पूर्याउने भन्नेमा गहन योजना बनाई हामी लागि पर्ने छौ । व्यावसायिक हक हित तथा समग्र जिल्लाको आर्थिक समृद्धिका लागि पनि मेरो नेतृत्वको टिमको उम्मेदवारी हो ।
प्यूठानको उद्योग व्यवसायको क्षेत्रमा देखिएका प्रमुख समस्याहरु के के होलान्
?
प्यूठानको उद्योग व्यवसायको क्षेत्रमा धेरै समस्याहरु छन् । हाम्रो नजिक इन्डिया बोर्डर छ जुन बोर्डर हुँदै हामी कहाँ आउने अधिकांश सामान ईन्डियाबाट आउदछन् जुन हामीले कर तिरेर ल्याउदछौ । कतिपय यस्ता पनि व्यक्ति छन् जसले करको दायरा पालना नै नगरी चोर नाकाबाट सामान ल्याएर सस्तोमा बेच्दा धेरै नियमसंगत व्यवसाय गर्ने व्यवसायीलाई मार परेको अवस्था छ । एकातिर नेपालीले नेपालीलाई विश्वास नगर्ने तर बाहिरको भारतीय मान्छे आएर केहि सामान बेच्न थाल्यो भने त्यसैकहाँ जाने नियम संगत माल आएको हो वा होइन ख्यालै नगर्ने , यहाँका व्यवसायीले सोहि माल सस्तोमा दिए पनि भारतीय मान्छेले ल्याएको सस्तो पर्दछ भन्ने मानसिकताले पनि व्यवसायीलाई समस्या परेको छ । उद्योगको कुरा गर्दा कच्चा पदार्थ उपलव्ध हुन नसक्दा उद्योग संचालन गर्न नसक्नु समस्या रहेको छ । हाम्रो उद्योग बाणिज्य संघ भनेको सानो निकाय हो यो संग पैसा खर्च गरेर गर्ने त्यस्तो ठुलो बजेट हुँदैन तर उद्योगको सम्भावना देखिएको स्थानमा पहल पैरवी गर्ने कार्य हाम्रो हो । मैले अगाडि भनेका समस्या लगायत जिल्लामा थुप्रै समस्याहरु छन् त्यसको निराकरण गरी उद्योग व्यवसायको क्षेत्रमा नबिनता ल्याउन र आर्थिक सम्बृद्धिका पक्षमा जिल्लालाई उच्च स्तरमा पुर्याउन मेरो प्रमुख भुमिका हुनेछ ।
यहाँका प्राथमिकता तथा प्रतिबद्धताहरु के के छन् ?
प्रतिबद्धता तथा प्राथमिकताका सन्दर्भमा भन्नु पर्दा मैले अगाडि पनि केहि कुरा भनि सके र यसका साथै हामी बिजयी भए पछि मेरो नेतृत्वमा बनेको प्यानलको तर्फबाट हामीले गर्ने कामका बिषयमा हामीले प्रतिबद्धता पत्रमा पनि उल्लेख गरेका छौ । जसमा चाल्नेटार बिमानस्थल निर्माण, स्वर्गद्धारीमा केबल कार निर्माण तथा नौमुरे जलविद्युत आयोजना नीजि क्षेत्र र नेपाल सरकारको संयुक्त लगानीमा निर्माणका लागि पहल गर्ने , जिल्ला सदरमुकामलाई पर्यटन र बहुउद्धेश्यिय अध्ययन केन्द्रको रुपमा बिकास गर्ने, व्यवसायी हित कोष सञ्चालन गर्ने, करदाता शिक्षा प्रत्येक इलाकामा अभियानको रुपमा सञ्चालन गर्ने ,दाखाक्वाडी दम्ती सम्मको बजार व्यवस्थि त गर्न बैकल्पिक मार्गको पहल गर्ने, भ्याट बिवरण दाखिला गराउन सहज व्यवस्था मिलाउने , भिंगृमा निर्माण भएको स्वर्गद्धारी धर्मशालाको तला थप गर्ने , लघु तथा घरेलु उद्योगका साथै ठुला उद्योगको स्थापना र उद्योग ग्रामको निर्धारण गर्ने , बजार बिशिष्टिकरणमा जोड दिने , संघलाई थप आधुनिकिकरण गर्दै सवै काम कम्प्यूटर पद्दतिबाट बिकास गर्दै पेपर लेस गरिने लगायतका कार्यहरु हाम्रा मुख्य प्राथमिकताका विषयहरु हुन् ।
प्राथमिकता त राख्नु भयो , कुरा एकातिर कार्य अर्कोतिर हुने गर्दछन् मतदाताले कसरी विश्वास गर्ने ?
धेरै जसो व्यापारीहरु आफ्नो काममा मात्र व्यस्त हुने सामाजिक काममा वास्तै नगर्ने भएकाले पनि यस्तो बुझाई हुन सक्दछ । बिश्वासको कुरा गर्दा हामीले गरेको कामको सवालमा गएको कार्यकालको समिक्षा गरे पुग्दछ भन्ने लाग्दछ । गएको हाम्रो कार्य समितिमा धेरै साथीहरुले समय दिन सक्नु भएन केही साथीहरुले समय दियौ र काम गर्यौ । हामीले गरेको कामको परिणाम यहाँहरुले हेर्नु भएकै छ । हामी जहाँबाट आए पनि जे जस्तो बिचार राखे पनि हाम्रो लक्ष व्यावसायिक हक हितको लागि काम गर्ने हो भनेर सवै मिलेर जानु पर्दछ भन्ने नीति मैले गएको कार्य समितिमा लिएको थिएँ जस अनूरुप परिणाम पनि राम्रै आयो तसर्थ यी कामहरुको आधारमा पनि बिश्वास गर्न लायक छ भन्ने लाग्दछ ।

यहाँहरुको प्यानलमा धेरै राजनीतिक शक्तिहरुलाई समावेश गर्नु भयो तर एउटा मात्र शक्तिलाई समाबेश गर्न नसक्नुको कारण के होला ?
राजनीतिमा हरेक व्यक्तिको आ आफ्नो सिद्धान्त बिचार फरक फरक हुन्छ हामीेले यस विषयमा धेरै प्रयास गरेका हौ । यसरी जाँदा कुनै अर्थ छैन राजनीतिक बिचार धारा एउटा ठाउँमा छ तर व्यावसायिक लक्ष प्राप्त गर्न सबै मिल्नु पर्दछ मिलेरै मात्र यो लक्ष पुरा गर्न सम्भव छ भनेर प्रस्ताव राख्दा राख्दै पनि साथीहरुले हैन तपाईको बिचार एकातिर छ हाम्रो बिचार एकतिर छ भन्दै वहाँहरुले मान्नु भएन । ठुलो प्रयास मिलाउनका लागि भएको हो । अझै पनि म के भन्न चाहन्छु भने साथीहरु केहि दिन लिन सक्नु हुन्छ भने आउनुहोस स्वागत छ । आउनुहोस मिलेर काम गरम मिलेरै धेरै काम गर्न सम्भब छ । कुनै एउटा घरमा पनि सवै दाजु भाई ,आमा बुवा एक ठाउँ मिलेर बसेका छन् भने कति फ्रि भएर सवैले आ आफ्नो काम गर्न पाउँदछन् , घुम्न फिर्न लगायत आफ्नो इच्छा अनुसारका काम गर्न सक्दछन् तर त्यहि घरमा एउटा बद्मास निक्लियो भने घरै लथालिंग हून्छ भने जस्तै यो संस्थामा पनि यस्तै हो भन्ने मलाई लाग्दछ । बिचार धारा धेरै भए पनि हाम्रा भोटिङ्ग गर्ने ठाउँ धेरै छन् यो संस्था त्यस्तो भोटिङ्ग गर्ने संस्था नभएर व्यावसायिक संस्था हो भन्ने मलाई लाग्दछ ।
यहाँ उद्योगी व्यवसायीको नेतृत्व गर्ने मात्र नभएर जिल्लाको प्रतिष्ठित व्यवसायीका रुपमा चिनिनु हुन्छ , यहाँहरुको घरबाट नुन देखि सुन सम्मको व्यापार सवै एकै ठाउँ भयो व्यापार बिशिष्टिकरण भएन भन्ने आरोप सुनिन्छ नी ?
बिशिष्टिकरण त मैले घरबाटै सुरु गरेको छु । मेरो कपडा दोकान छुट्टै छ, किराना छुट्टै छ, किरानामा पनि होलसेल र खुद्रा छुट्टै छ , दाईको फर्म छुट्टै छ , भाईको छुट्टै छ , दाईको छोराको फर्म छुट्टै छ । हामी छुट्टाछुट्टै आ आफ्नो कारोवार गर्दछौ । सवै परिवार खाना मात्र हामी संगै खान्छौ तर सवै व्यवसाय अलग अलग छ । मैले ५ बर्ष अघि देखि व्यापार बिशिष्टिकरण गरेको छु । यस विषयमा धेरै भ्रम फैलाइएको छ यथार्थता के छ भन्ने कुरा आएर हेर्दा राम्रो हुन्छ भन्ने लाग्दछ ।

अन्तमा केहि भन्न छ कि ?
अन्तमा म जिल्लाका सम्पूर्ण व्यवसायीहरुलाई यहि मंसिर २९ गते हुने चुनाबमा मेरो नेतृत्वको साझा व्यावसायिक प्यानलका सवै उम्मेदवारहरुलाई अमुल्य भोट दिई जिताउनु हुन अनुरोध गर्दछु । मलाई कुरा गर्न त्यति आउदैन किन भने हामी व्यवसायीहरु सधै व्यवसायमा मात्र व्यस्त हुन्छौ जसले गर्दा हाम्रो बानी हो भने हो होइन भने होइन भन्ने स्वभाबको हुन्छ । कुरा भन्दा कामलाई हामीले प्राथमिकताका साथ अगाढि बढाउने प्रतिबद्धता म गर्न चाहन्छु । मेरो नेतृत्वमा बनेको प्यानलमा सवै क्षेत्रबाट सक्षम काम गर्न सक्ने व्यवसायीहरुलाई हामीले समेटेर प्यानल तयार गरेका हौ । मेरो प्यानलमा वास्तविक एवं सक्षम उद्यमी साथीहरु हुनु हुन्छ जस्तै उद्योग उपाध्यक्षमा मुक्ति पोख्रेल रहनु भएको छ वहाँको कुरा गर्दा १४,१५ हजार कुखुरा पालेर जिल्लामा अण्डा उत्पादन गरी जिल्लामै अण्डा बेच्ने वहाँ वास्तविक उद्यमी हुनु हुन्छ भने अरु साथीहरु पनि सक्षम व्यवसायी भएकाले हाम्रो टिमले प्रतिबद्धता गरे अनुरुपको काम गर्दछ भन्ने कुरा आम व्यवसायीहरुलाई बिश्वास दिलाउन चाहन्छु । तसर्थ मेरो नेतृत्वको टिमलाई भारी मतका साथ बिजयी गराउन आम जिल्लाबासी व्यवसायी मतदाताहरुमा अपिल गर्न चाहन्छु ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top