
प्रकाश बैद्य
दुई वा दुई भन्दा बढी सहकारी संस्थाहरु एक आपसमा गाभीई एक हुनुलाई एकीकरण भनिन्छ अर्थात उदाहरणको रुपमा भन्ने हो भने एकीकरण भनेको पुरुष र महिलाको बिवाह भएर एउटा घर जम भए जस्तै सहकारीहरु पनि साना साना सहकारीहरु मिलेर एकै भएर नयाँ सोँच एवं नयाँ तरिकाका साथ अघि बढ्ने प्रक्रिया हो । तसर्थ एकीकरण हुनका लागि विवाहका लागि केटा र केटी पक्षको मन मिल्न जरुरी रहे जस्तै सहकारीहरु एकीकरणका लागि पनि सहकारीहरु बिच मन मिल्न जरुरी हुन्छ । केटा र केटी बिच मन मिलेर हुने बैवाहिक कार्यक्रम जस्तै एकिकरण पनि एउटा महत्वपूर्ण कार्य भएकाले आम सहकारीहरुले एकीकरणको वास्तविक औचित्य एवं आवश्यक्तालाई आत्मसात गर्नु यतिवेला जरुरी देखिएको छ ।
सहकारी ऐन २०७४ को दफा ८७ मा सहकारी एकीकरणका सम्वन्धमा प्रष्ट व्याख्या गरिएको छ साथै एकीकरण तथा विभाजन सम्वन्धी व्याख्या उक्त दफामा छ । मूलुक संघीय संरचनामा गई सवै स्थानीय तह मार्फत विभिन्न कार्यहरु अघि बढिरहेको सन्दर्भमा अब सहकारीहरुले गर्ने कार्य एवं हाम्रा सोँच ,कार्य शैलीमा पनि परिवर्तन हुन जरुरी छ । एकै स्थानीय तहमा सयौको संख्यामा विभिन्न प्रकारका सहकारीहरु सञ्चालन हुने तर वास्तविक रुपमा जनताले चाहेको सेवा दिन नसक्ने एउटा समस्या छ भने अर्को तर्फ एकै ठाउँ धेरै सहकारीहरु सञ्चालन हुने सिमित सदस्य,सिमित श्रोत साधन तथा सिमित सेवा प्रवाहले जुन रुपमा सहकारीको सेवा व्यापक रुपमा जनताले पाउनु पर्ने हो सो मा कमि भएको सन्दर्भमा दुई वा दुई भन्दा बढी सहकारीहरु एक भएर स्थानीय तहका सवै वडा सवै वस्तीमा कार्य क्षेत्र बनाएर , धेरै प्रकारका सेवाहरु जनतालाई प्रदान गर्न आवश्यक भएकाले सहकारी एकीकरण अहिलेको आवश्यक्ता हो । एकीकरणको आवश्यक्ता भए पनि नेपालको पूर्वी क्षेत्रमा सहकारीहरु एकीकरण भएर आफ्नो श्रोत बलियो बनाउने , पुँजि ठुलो बनाउने , कार्य क्षेत्र व्यापक रुपमा बिस्तार गर्ने , विभिन्न बैंकहरुले प्रदान गर्ने भन्दा पनि स्तरीय एवं जनतामुखी सेवा प्रवाह गर्ने कार्य गरीरहेको सन्दर्भमा पूर्वको तुलनामा पश्चिम क्षेत्रमा सहकारी एकीकरण जुन व्यापक रुपमा हुनु पर्ने हो त्यति भएको देखिदैन । प्यूठानको सन्दर्भमा भन्ने हो भने त झन केहि एउटै नेतृत्वले चलाएका महिला बचत तथा ऋण र कृषि सहकारी कुनै प्रक्रिया मिलाउनका लागि एकीकरण भएर बहुउद्धेश्यीय भए पनि जिल्लामा हाल सम्म त्यस्तो एकीकरणको भाव दिने उद्धेश्यका साथ एउटा पनि संस्थाहरु एकीकरण भएको अवस्था छैन ।
हुन त सहकारी एकीकरणको सवालमा राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) जस्ता छाता संघहरुवाट एकीकरणको आवश्यक्ता तथा महत्वका विषयमा जिल्लामा गोष्ठी ,अन्तरक्रियाहरु सञ्चालन पनि भएका छन् । सहकारी संघका साधारण सभा तथा बेला बेलामा सिमित समयमा हुने गोष्ठी तालिममा एकीकरणको कुरा हुने गर्दछन् तर ती सभामा सहभागि भए पनि सहकारी संस्थाहरुले जुन महत्वको रुपमा एकीकरणलाई लिनु पर्ने हो त्यति लिएको पाइदैन । सहकारी संस्थाहरु एकीकरण गरेर बर्बादै भइहाल्छ की ? भने जस्तै गरी डराएको अवस्था पनि देखिन्छ । तसर्थ आखिर एकीकरण गर्न किन डराउँछन सहकारी संस्थाहरु यसै विषयमा केहि व्याख्या गर्ने जमर्को गरेको छु ।
पहिलो कुरा त कतिपय सहकारी संस्था हाँक्ने नेतृत्वहरु एकीकरणका सवालमा गहिरो ढंगले सोँचको बिकास गरेका छैनन् तथा देशका अन्यत्र एकीकरण गरेर नमुना काम गरेका सहकारीहरुको अवलोकन गर्न तथा अध्ययन गर्न गएका छैनन् । सहकारी संस्था संचालन गर्ने नेतृत्वहरु एकीकरणको बुझाइमै प्रष्ट छैनन् । सहकारी संस्थाका सञ्चालक समितिलाई सम्वन्धित निकायबाट एकीकरणको औचित्य तथा आवश्यक्ताका सवालमा जुन रुपमा दक्षता अभिबृद्धि गराईनु पर्ने हो त्यति व्यापक हुन नसक्दा पनि सञ्चालक समितिका पदाधिकारीहरुमा एकीकरणको सवालमा बुझाईको कमी भएको हो । अर्को तर्फ सहकारी हाँक्ने सञ्चालक समितिका पदाधिकारीहरुले एकीकरण एकीकरण भनेर कहिले काँही सुन्ने मात्र नभएर नेपालका एकीकरण गरेर आफ्नो नमुना प्रदर्शन गरेका सहकारी संस्थाहरुमा गएर अध्ययन अवलोकन पनि गर्नु पर्ने हुन्छ । आखिर ती संस्था किन एकीकरण भए ? एकीकरण किन गनु पर्दो रहेछ ? एकीकरण गरेर पनि नमुना सेवा प्रदान गर्न त सकिदो रहेछ नी भन्ने कुरा ती संस्थामा गए पछि प्रष्ट हुन्छ । जस्तै टाढा जानु पर्दैन गैडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा निरन्तर साना साना सहकारीहरु एकीकरण भएर आफ्नो सेवालाई तिब्रता दिदै गएको छ । किसानले हाल सम्म १३ वटा सहकारी संस्थाहरुसंग एकीकरण गरी सकेको छ उसले प्रदान गर्ने सेवा सुविधा विभिन्न ठुला ठुला बैंक तथा वित्तिय संस्थाहरुको भन्दा बढी छ । अन्तराष्ट्रिय गुणस्तरको एक्सेस ब्राण्ड पाउन सफल संस्थाले सदस्य तथा समुदायको लागि नेपालको सहकारी अभियानमा उदाहरणिय कार्य गरेको छ । त्यस्तै बर्दियाको सृजना बचत तथा ऋण सहकारी संस्था र कोशेली बचत तथा ऋण सहकारी संस्था ,लक्ष्मी बचत तथा ऋण सहकारी संस्था पनि एक आपसमा एकीकरण भएर सिको बचत तथा ऋण सहकारी संस्थाको रुपमा सञ्चालित छ । एक्सेस व्राण्ड पाउन सफल सिकोले पनि आफ्ना सदस्य तथा समुदायमा उदाहरणिय कार्य गरेको छ । नेपालका पूर्व तर्फ पनि धेरै सहकारी संस्थाहरु एकीकरण भएर धेरै राम्रा कार्यहरु गरेका छन् जस्तै ज्योती,मिर्मीरे र सामुहिक मिलेर ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था बनेको छ जसको कार्य पनि सह्रानिय छ यसरी अन्य विभिन्न सहकारीहरु पनि एकीकरण भएर उदाहरणीय कार्य गर्दै आएका छन् । यी एकीकरण भएका संस्थाहरुवाट पनि सिक्न सकिन्छ सहकारीहरु एकीकरण गर्दा समुदाय तथा सदस्यलाई पक्कै फाइदा हुँदो रहेछ भन्ने कुरा ।
आफ्नो संस्था अरु संग एकीकरण गर्दा आफ्नो सञ्चालक पद गुम्छ की ? आफुहरुको अस्तित्व सकिन्छ की ? आफ्नो संस्था रहेको ठाउँमा कार्यालय हुँदैन की ? आफ्ना कर्मचारीहरु काम गर्न पाउँदैनन् की ? भनेका व्यक्तिलाई ऋण दिन पाइदैन की ? आफ्नो निर्णय चल्दैन की ? आफ्नो संस्थाको नाम गुम्छ की ? यस्ता प्रश्न एकीकरण भन्ने वित्तिकै सहकारी संस्था हाँक्ने व्यक्तिका मनमा उव्जने प्रश्न हुन् ।
तसर्थ एकीकरणमा यी विषयमा सहकारी संस्थाका सञ्चालकहरु प्रष्ट हुनु पर्दछ ।
दुई वा दुई भन्दा बढि सहकारीहरु मिलेर एक बन्ने प्रक्रिया एकीकरण भएकाले एकीकरण हुँदा दुवै संस्थाका सदस्यहरुवाट सञ्चालक समिति चयन हुन्छ र यदि कुनै सानो संस्थाको सदस्य पनि भविश्यमा एकीकरण भएर बन्ने बिशाल संस्थाको अध्यक्ष बन्न सक्दछ । एकीकरण हुँदा सवैलाई फाइदा हुन्छ । संस्था नीति नियमको आधारमा चल्ने हुँदा सवैलाई एकै खालको नीति लागु हुन्छ । कुनै एउटा संस्थामा नीतिको ख्यालै नगर्ने आफ्नो मात्र कुरा लाध्ने प्रबृत्ति छ भने त्यस्तोलाई यो प्रक्रिया नपच्न सक्दछ तर अन्तत्वगत्वा सहकारी संस्था भनेको सदस्यद्धारा प्रजातान्त्रिक नियन्त्रण हुने संस्था भएकाले संस्थामा सवै सदस्यलाई समान व्यवहार हुन्छ सवै सदस्यले जुन व्यक्ति संस्था हाँक्न सक्ने कुशल व्यक्ति छ त्यस्तोलाई सञ्चालकमा निर्वाचीत गर्न सक्दछन् । अर्को विषय हो कार्य क्षेत्रको विषय । कुनै पनि दुई वा दुई भन्दा बढि सहकारी संस्थाहरु मिलेर एउटै सहकारी बनि सके पछि एउटा सहकारी रहेको स्थानमा सहकारी रहदैन की भन्ने डर पाइन्छ । यसमा के हुन्छ भने त्यस ठाउँका सदस्यको पाएक पर्ने कुरालाई मध्यनजर गरेर त्यस ठाउँका सदस्यलाई सेवा लिन अप्ठेरो नहुने गरी कार्यालय राखिएको हुन्छ जस्तै सकभर कुनै एक ठाउँको संस्था एकीकरण गरेर ठुलो संस्था संग गाभिएको छ भने त्यो संस्था रहेको ठाउँमा संस्थाको सेवा केन्द्रको रुपमा कार्यालय राखिएको हुन्छ यदि अझ सवैलाई पाएक पर्ने गरी मिलाउनु पर्ने भयो भने पनि सो कार्यालयलाई केहि ठाउँ हेर फेर गरेर सोहि ठाउँका सदस्यलाई सेवा लिन सहज हुने गरी राख्ने व्यवस्था मिलाइएको हुन्छ । त्यस्तै कर्मचारीका सन्दर्भमा एकीकरण भए पछि दुवै संस्थाका कर्मचारीहरुको योग्यता ,दक्षता शिपका आधारमा जिम्मेवारी प्रदान गरिन्छ सक भर कुनै पनि संस्थाका कर्मचारीहरुलाई बर्खास्त गर्ने खालको नीति लिइएको हुँदैन । संस्थाको नामका सन्दर्भमा एकीकरण भएका संस्थाहरु मध्य संस्थाको साख ,पुँजि , व्यवस्थापन , दक्ष सञ्चालक सवै कुराको विचार गरेर नाम तय गर्ने गरिन्छ साख राम्रो भएको संस्थाको नाम राखेर पनि जान सकिन्छ । एकीकरण प्रक्रियामा दुवै संस्थाको साख बराबर जस्तै छलफल गर्दै गर्दा दुवै संस्थाको नाम जोडेर एउटै नाम राख्ने वा कुनै नयाँ नाम राखेर पनि जान सकिन्छ यी विषयहरु भनेका एकीकरण प्रक्रियामा आई सके पछि दुवै संस्था बसेर गरीने छलफलका विषयहरु हुन् यी सवैमा प्रष्ट र मञ्जुर भए पछि मात्र एकीकरणको कानुनी प्रक्रिया सुरु हुन्छ । तर यहाँ त एकीकरण भन्ने वित्तिकै डराउने प्रवृत्तिले एकीकरण अभियान जुन रुपमा जानु पर्ने हो सो ढंगले अगाडि बढ्न सकेको छैन । एकातर्फ नीतिमा नचलेर व्यक्ति पिच्छेको फरक फरक कार्यशैली तथा व्यक्तिगत मनोमानीले चलेका कतिपय संस्थाहरुमा एकीकरणका सवालमा समस्या देखिन्छ । आफ्नै तरिकाले सञ्चालन भएकोमा अर्को संस्था संग एकीकरण गर्दा आफ्नो केहि चल्दैन की ? भने अनुसार ऋण बाँड्न पाइदैन की भन्ने अवस्था पनि हो । अर्को कुरा अहिलेको बदलिदो युगमा सहकारी संस्था नीति ,विधी र प्रविधीमा रहेर सञ्चालन हुनु अहिलेको आवश्यक्ता भए पनि कतिपय संस्थाहरु नीति ,विधी प्रविधीलाई आत्मसाथ पनि नगर्ने एकीकरण गर्न पनि डराउने समस्या देखिन्छ भने कतिपयमा सहकारी ऐन नियमलाई वास्तै नगर्ने आफु खुशी संस्था चलाउने ,व्यवस्थापनको उचित उपाए अवलम्वन नगर्ने , सदस्यको रकमको दूरुपयोग गर्ने पनि समस्या देखिन्छ जसले पनि एकीकरण गर्न डराएको हो की भन्ने छ । जस्तै सदस्यले १००,५० रुपैया बचत गरेर संकलन हुने हिसावको दुरुस्त हिसाव राख्न नसक्ने , हिसाव राख्न दक्ष जनशक्ति नराख्ने , सिमित व्यक्तिहरुले आफु खुशी सो रकम चलाउने , भनेका मान्छेलाई ऋण दिने , सहकारीको नगद व्यक्तिगत काममा खर्च गर्ने , समयमा साधारण सभा नगर्ने , सदस्यलाई हिसाव किताव दुरुस्त नबताउने , सदस्यको बचत मागेको बेला दिन नसक्ने , सिमित व्यक्तिहरुको एकल निर्णयले संस्था सञ्चालन हुने , आवश्यक भौतिक पूर्वाधारको व्यवस्था नगर्ने , ऋण लगानी गरेको ऋण उठाउन वास्तै नगर्ने जस्ता कार्यले पनि कतिपय संस्थाहरु अर्को सहकारी संग एकीकरण भन्ने वित्तिकै डराएको अवस्था छ । आखिर जे जे समस्या भए पनि यदि सफा मन र सहकारी मुल्य मान्यतालाई बुझेर अगाडि बढेको संस्था छ भने संस्थामा जे जस्तो समस्या भए पनि एकीकरणले संस्थालाई समस्यावाट मुक्त हुन सहयोग गर्दछ । कुन कुन कार्यका लागि के कस्ता नीतिगत व्यवस्था गर्ने र कसरी संस्था सफल रुपले सञ्चालन हुने भन्ने वारे एकीकरणले बाटो पैदा गर्दछ । एउटै कार्य क्षेत्रमा एकै प्रकृतिका संस्था धेरै होइन एक भएर दक्ष जनशक्ति , बलियो श्रोत साधनबाट धेरै प्रकारका गुणस्तरीय सेवा दिनु अहिलेको आवश्यक्ता हो तसर्थ एकीकरण भन्दा डराउने भन्दा पनि एकीकरणको महत्वलाई बुझेर सहकारी संस्था अघि बढ्नु पर्ने बेला आएको छ । एकीकरणले सहकारी अभियानलाई मात्र नभएर सहकारी संस्थाका सदस्य र समुदायलाई प्रदान गर्ने सेवामा विस्तार गर्न झनै सहयोग गर्दछ । सहकारीले गर्ने ऋण लगानिको दायरा बढाउन देखि लिएर हरेक सेवा बृद्धि गर्न सहयोग पुग्दछ आखिर किन डराउँँदछन् एकीकरण गर्न सहकारी सँस्थाहरु ?
कमेन्ट गर्नुहोस !