
प्यूठान — वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका रोल्पाका पूर्णलाल बुढाको परिवारलाई श्रम बीमाअन्तर्गत मृत्यु दावी भुक्तानी गरिएको छ। रोल्पा जिल्लाको सुनछहारी गाउँपालिका–२ निवासी बुढाकी श्रीमती खगी बुढालाई उक्त रकम हस्तान्तरण गरिएको हो।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका बुढाले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा बीमा गरेका थिए। तर विदेश पुगेको करिब दुई महिनामै उनको दुःखद निधन भएपछि बीमा दावी प्रक्रिया अगाडि बढाइएको थियो। सोहीअनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको विजुवार शाखाले बुधबार मृतकका परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको जनाएको छ।
शाखा प्रमुख चुरामणी पौडेलका अनुसार मृतक बुढाले गरेको बीमा बमोजिम कुल १४ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरिएको हो। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि बीमा अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता घटनामा बीमाले परिवारलाई केही राहत प्रदान गर्ने बताए। वैदेशिक रोजगारीका क्रममा हुने जोखिमलाई मध्यनजर गर्दै अनिवार्य रूपमा बीमा गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
मृतक बुढाको असामयिक निधनले परिवारलाई ठूलो क्षति पुगे पनि बीमा रकमले आर्थिक रूपमा केही सहारा पुग्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस !