
सुशील पोखरेल
प्यूठानमा पछिल्ला वर्षमा महोत्सव प्रति मोह जागेको पाइन्छ । कतिपय ब्यक्ति र समूहले एकल वा सानो टीम खडा गरेर यो वा त्यो ढंगले महोत्सवका नाममा जुन प्रकारको पैसा कमाउने धन्दा चलाइएको छ यो साँच्चिकै महोत्सवको परिभाषा अनुरुप छ, छैन त्यो यहाँका जानकारहरुले बुझ्ने र अनुभूत गर्ने कुरा हो । त्यसो त अहिले देशभरि महोत्सवका नाममा फेशन नै चलिरहेको छ । यसको प्रभाव अहिले प्युठानमा पनि नराम्ररी झांगिन थालेको छ । महोत्सवका नाममा चलाइएका यस प्रकारका गतिबिधिले आगामी दिनमा के कस्ता परिणाम भित्रिने हुन् सरोकारवालाहरुमा यसप्रति ध्यान जान नसक्नु दुखद विषय छ ।
वास्तवमा महोत्सव सजधजपूर्वक गरिने विशेष कार्य हो । यो बृहत् खालको समारोह हो । हरेक क्षेत्रका समुदायलाई अपनत्वको भाव महशुस गराई सबैले आफ्नै उत्सवको रुपमा लिएर निश्चित उद्धेश्य पूरा गर्न गरिने उच्च प्रकारको दिवस हो, तर आज महोत्सवको परिभाषा तोडमोड गरिंदैछ । त्यसैले गर्दा यसको महत्व र गरिमा हवात्तै घट्न थालेको छ । प्यूठानमा २०६३ सालमा कालिका विकास केन्द्रले रजत वर्षको अवसरमा एउटा उत्सव मनायो साँच्चिकै त्यो मिनी महोत्सव थियो । त्यस पछाडि निजी क्षेत्रको प्रतिनीधित्व गर्ने संस्था प्यूठान उद्योग वाणिज्य संघले जिल्लाका सबै पक्षलाइ समेटेर कृषि, पर्यटन र उर्जाका क्षेत्रमा विकास गर्न जागरण ल्याउने उद्धेश्य अनुरुप महोत्सवको थालनी गरेको थियो । त्यस पछाडि प्यूठान उद्योग वाणिज्य संघको संयोजनमा ३ पटक महोत्सव सम्पन्न गरिएका छन् । परिणाम र उपलव्धिका दृष्टिले ती महोत्सव के कति फलदायी रहे, प्रतिबद्धताहरु कति कार्यान्वयन भए र हुँदैछन् त्यो एउटा समीक्षाको बिषय छ तर आज महोत्सवको जसरी देखासिकी विकास हुन थालेको छ, कतै कतै फलानाले गर्न सक्ने हामीले किन नगर्ने प्रतिशोधको मानसिकता विकास हुदैछ परिणामतः जुनसुकै व्यक्तिले अनि समूहले महोत्सवलाइ ठेक्का सिष्टमबाट आयोजना गर्ने परिस्थिति तयार हुनु बडो अचम्मको विषय बन्न थालेको छ । अहिले बिभिन्न वहानामा अनि ब्यानरमा एउटा नारा दिएर जुन प्रकारको लुटतन्त्रको बिकृति भित्रिंदै छ । यस्ता महोत्सव के कस्ता सामाजिक पृष्ठभूमि र सामाजिक प्रतिष्ठा भएका व्यक्तिवाट नेतृत्व गरी फेशनको रुपमा बिकास हुदैछन् भन्ने प्रति स्थानीय जनप्रतिनिधि, राजनीतिक दल अनि सरकारी निकायका साथै सरोकारवाला पक्षको ध्यान जान नसक्नु विडम्वनाको बिषय हो । जोसुकैले पनि महोत्सवको नाटक मञ्चन गरेर प्रस्ताव ल्याउदैमा त्यसका नकारात्मक सकारात्मक पक्षहरु नकेलाइकन स्वीकृति दिने परिपाटी झन् घातक छ ।
बुझ्नु पर्ने कुरा यो हो कि कुनै पनि संस्थाबाट महोत्सवको नाममा कार्यक्रम आयोजना गरिन्छ भने स्वीकृति दिने पक्षले आफ्नो संस्थाको बिधानमा के कस्तालाइ कसरी र कहिले स्वीकृति दिने यस पक्षमा ख्याल समेत नगरिकन अनुमति दिने परिपाटी बसाल्ने हो भने अव जो जस्ले जतिबेला पनि यस खालका कार्यक्रम गर्दै जाने संस्कारले जिल्लाको स्थिति कहाँ पुग्ला ? प्यूठानमा रहेका बिभिन्न उद्धेश्यमा आधारित जे जति संस्था छन् , ग्रुप छन् ् , कलव छन् ती सवैले यस्ता गतिबिधि गर्न इजाजत पाउनुले महोत्सवको गरिमा के, अर्थ के ?यसको परिणाम बिद्यार्थीको पढाइ चौपट,सकी नसकी बिपन्न परिवारले जुटाएको पैसा चौपट, जाँडरक्सीको बेथिति , छाडा संस्कृति भित्र्याउने कलाकारहरुको प्रस्तुतिले आजका बालबालिकाहरुको मनोबिज्ञानमा पर्ने असर त झन् भयावह हुनुको साथै जिल्लाको ठूलो धनराशि बाहिरिने लगायत यस्ता थुप्रै चित्र देख्न सकिन्छ । अब गाउँ गाउँमा महोत्सव, टोलटोलमा महोत्सव, नयाँ शैली र बहानामा महोत्सव, बर्षैपिच्छे, महिनै पिच्छे महोत्सव यस्ता गतिबिधिलाई प्रोत्साहन गर्नमा, अनमति दिनमा जोडिएका निकायका ब्यक्तिहरुको स्वार्थले पनि महोत्सव प्रति मोह जागेको त छैन ? सचेत प्यूठानी जनताले गहिरो रुपमा समीक्षा गर्नुपर्ने वेला आएको छ ।
कमेन्ट गर्नुहोस !