नेतृत्व शब्द निकै छोटो छ । यद्यपी यो जति छोटो छ उत्तिकै बलवान पनि छ । अहिले हरेक क्षेत्र र निकायमा नेतृत्वको बिषयले अहं भूमिका खेलेको पाइन्छ । अझ हाम्रो जस्तो दलीय संरचनाको लोकतान्त्रिक राज्य शासन प्रणालीमा दलहरुमा हुने राजनीतिक नेतृत्व देखि संघसंस्था, कार्यालय , सरकारी देखि गैरसरकारी निकाय लगायत सवै क्षेत्रमा नेतृत्व नै प्रमुख मियोको रुपमा रहेको हुन्छ । जस्तै हाम्रो शरीरको तापक्रम नाप्न धर्मामिटरको प्रयोग गरिएजस्तै नेतृत्वको कार्यकुशलता र भूमिकाले नै त्यो निकायको क्रियाशिलता जीवन्ततालाई मापन गर्न सकिन्छ ।
हो, नेतृत्व केहो कस्तो हुनु पर्दछ भन्ने बिषयमा चासो राख्दै गर्दा यो नेतृत्व शब्द नेताबाट आएको हो । नेता भन्ने बित्तिकै राजनीतिक दलका कार्यकर्तालाई मात्र बुझ्न थालियो भने यो कुरा गलत हुन्छ । नेता भनेको त कुनैपनि समुहलाई अगुवाई गर्ने, निर्देशन दिने, प्रोत्साहित गर्ने र बाटो देखाउने ब्यक्तिलाई बुझिन्छ । नेताले कुशलतापूर्वक आफ्ना अनुयाइहरुलाई सामुहिक लक्ष्य तर्फ उन्मुख गराउदछ भने उसको त्यो अगुवाई भूमिका नै नेतृत्व हो । साथै नेतृत्व भनेको समुहलाई प्रभाव पार्ने र नेताले सोंचे अनुरुप काम प्रोत्साहित गर्ने कला या प्रयास हो । अर्थात नेतृत्व भनेको परिस्थिति अनुसार लक्ष्य प्राप्त गर्नका लागि ब्यक्तिलाई प्रोत्साहित गर्ने क्षमता हो ।
यता यसो भन्दै गर्दा आजको हाम्रो समाजमा नेता भनेका ठूलो स्वरमा भाषण गर्ने, आफ्नो गुट बनाउने, अर्को पक्षलाई चर्को स्वरमा गाली गर्ने, आफ्नो अगाडि पछाडि जयजकार गर्नेहरुको भीड बोकेर हिड्ने चाकरी चाप्लुसीमा प्रफूलित हुने समाजका सर्वेसर्वा हुन् , मालिक हुन भन्ने आभाष आउन थालेको छ । यो भनेको दुषित मानसिकता हो । समुहको नेता हुनु भनेको त आफूलाई मालिक संझने होइन । म आदेश दिन्छु तिमी हजुर भन्नु भन् ल भनेर भने जस्तै जिरे खुर्शानी कार्यक्रममा सुनिने गर्दथ्यो गोबिन्दे भन्दा बित्तिकै हस साप त्यस्तै भन्ने शैली र सोंचको बिकास नेतृत्व गर्ने ब्यक्तिमा हुनु हुदैन । समुहलाई घोडा ठान्ने र आफूले रथ हाँक्ने त्यस्तो प्रबृति नेतामा हुनु हुँदैन । नेतामा त धर्म हुनु पर्दछ । धर्म भनेको अरुको ख्याल गर्नु हो । जंगलमा बस्ने जनावरले आफ्ना सन्तान बाहेक अरुको ख्याल गर्दैनन् । तर मानिसले अरुको ख्याल गर्ने हुँदा मानिसलाई सामाजिक अनि बिशिष्ट प्राणीको रुपमा मानिएको हो । त्यसैले समुहको नेताले आफ्ना समुहका सवै सदस्यको सदैव ख्याल गर्नु पर्दछ । नेतृत्वका लागि नैतिक शक्ति महत्वपूर्ण पुँजी हो । यसको अभावमा उ प्रेरक बन्न सक्दैन । नैतिकताको अर्थ अन्धाधुन्ध कुनै निश्चित नियमहरुको सुची पालन गर्नुमात्र होइन । यसको अर्थ नीतिपूर्ण मार्ग अवलम्वन गर्नु लाभकारी हुन्छ भन्ने कुराप्रति बिश्वस्त हुनु सक्नु पर्दछ । नैतिकताको दृढ अभ्यासले नै हामीलाई सवैसंग मित्रतापूर्ण संबन्ध बनाउन सहयोग गर्दछ । फेरी अर्को कोणबाट हेर्दा बिचार बिनाको नेतृत्व भनेको लगाम बिनाको घोडा जस्तै हो । जुन जतिखेर पनि घातक हुन सक्दछ । नेपालमा कतिपय घटनाक्रममा बिचार बिनाको राजनीति प्रकट भएको देखिन्छ । यस्तो राजनीति मिथ्यामात्र हो भन्ने कुरा बिभिन्न समयका घटनाक्रमले पुष्टि गर्दै आएको छ । । त्यसैले दैनिकी धान्ने नेतृत्व होइन दैनिकी बदल्ने नेतृत्व आजको आबश्यकता हो । नीति प्रधान बन्नुपर्ने नेतृत्व जव आत्मकेन्द्रित र स्वार्थमा अल्झिन्छ त्यसले सिंगो देश र जनतालाई असर गर्दछ । अहिले समाजमा रहेका कैयन संघसंस्था वा निकायमा पदका लागि तछाड मछाड गर्ने पदपनि लिई हाल्ने तर समय दिन नसक्ने ठूलो घातक प्रबृति देखा परिरहेको छ । त्यो प्रबृतिले स्वयम त्यो ब्यक्तिका लागि कुनै बिशिष्टीकृत क्षमताको बिकास हुन नसक्ने खाली यता र उता रित्तो दिमाग बोकेर मिटिङ भन्दै दौडिने एउटा घातक अभ्यास त छनै उसका कारणले स्वयं त्यो पात्र सदस्य मात्र नभएर उसले आगटेको संस्था नै निक्रिय भइरहेको छ , साथै त्यसको कार्यप्रणाली नै गहिरो रुपमा प्रभावित भइरहेको हुन्छ तर त्यसले ( त्यो पात्रले ) बुझिरहेको हुदैन । यसकारण ब्यक्ति आफूलाई नै केन्द्रमा राखेर गरिने नेतृत्वको आयू भनेको अल्पायू हो । यसले नेताका स्वार्थ घुलित सपना मात्र साकार हुन्छ र भइरहेका छन् । नेता बन्न लाखौ मानिसको भीडलाई पछाडि लगाउनु पर्दछ भन्ने पनि होइन । अहिलेको परिबेशमा नेतृत्व लिन चाहने ब्यक्तिहरुका गलत अभ्यास र परम्पराले समग्र समाजको बिकासक्रमलाई प्रभावित पारिरहेको छ । आफूले लिएको संस्थागत जिम्मेवारी भन्दा ब्यक्तिगत स्वार्थका चाङले गर्दा नेतृत्व, नेतृत्व जस्तो बनिरहेको छैन । हाम्रो राजनीतिक संस्कारले नै त्यो देखाइरहेको छ । कतिपय पार्टीमा पुस्तौ बित्दा सम्म पनि नेतृत्वमा पुस्तान्तरणका सवालमा चासो नदेखाइनु पार्टी संस्थाको गतिशीलतामाथी ठूलो क्षेती हो । आजको नेपाली समाजले खोजेको आबश्यकता अनुसार कस्तो नेतृत्व गर्ने र यसको ब्यवस्थापन कसरी गर्ने ? यो अवको लागि बहसको बिषय बन्नु जरुरी छ ।
यसर्थ, असल नेता हुन उसमा बलियो इच्छाशक्ति आत्मबिश्वास, अरुलाई अभिप्रेरित गर्न सक्ने क्षमता, जिम्मेवारी र समर्पित सोंच र उत्तरदायित्वको भावनालाई प्रभावकारी संचारसीप, इमान्दार सोंच र चरित्रमा अनि त्यागको भावना जस्ता गुण हुन जरुरी छ । घरका भान्सा, चौकादेखि राज्यसंचालनको उच्च तहसम्म सवैका लागि कुशल नेतृत्व चाहिएको यो बेला । दखद पक्ष त के भने नेतृत्व कसरी गर्ने, कस्तो ब्यक्तिबाट गर्ने यसको दक्षता अभिबृद्धिमा भने खासै ध्यान दिएको पाइएको छैन । यसैले नै मुलुकमा सुशासनका बदलामा अन्य बेथिति साथै ब्यक्तिको सांस्कृतिक आचररणका पक्ष, अनुभव दक्षता, योग्यता जस्ता कुरामा ख्याल नगरिंदा कैयन सवालहरु उठेका छन यो बेला । त्यसैले अवको युगमा नेतृत्वको बारेमा गंभीर रुपमा बहस चलाऔं । तपाई हामी जुन निकायमा आबद्ध छौं त्यहाँ कुशल नेतृत्व पंक्ति निर्माण गरौं, देशलाई समृद्धिको मार्गमा पुरयाउने आखिर नेतृत्व नै मुख्य पक्ष हो भन्ने बुझौं ।
कमेन्ट गर्नुहोस !