शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सर्पदंश उपचार केन्द्र तत्कालै सञ्चालनमा ल्याउने तयारी



प्रकाश बैद्य
प्यूठान÷ जिल्लामा सर्पदंशका बिरामीहरुलाई उपचार गर्ने उद्धेश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि २ वर्ष पहिले प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा न. ९ लामाचौरमा सर्पदंश उपचार केन्द्र भवन बनाउन सुरु गरियो । केन्द्रका लागि स्थानीय प्रेमलाल सार्कीले १ रोपनी बढी जग्गा निशुल्कै दिए । उपचार केन्द्र भवनका लागि जिल्लाका कतिपय स्थानीय तहहरुले आ.व. ०७८÷०७९ को बजेटमा बजेट विनियोजन गरी आवश्यक सहयोग गरे भने कतिपयले सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । लामो समयको प्रतिक्षा पश्चात् गत ०७९ चैत्रमा सो उपचार केन्द्रको भवन त बन्यो तर उपचार सेवाका लागि कुनै प्रगति नदेखिएको सन्दर्भमा स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले अहिले भने सर्पदंश उपचार केन्द्र तत्कालै सञ्चालन हुने प्रतिवद्धता जनाएका छन् ।
उपचार केन्द्र कहिलेबाट सञ्चालन हुन्छ भन्ने जिज्ञासामा नगर प्रमुख भण्डारीले ढिलोमा आउँदो भदौ महिनाको पहिलो हप्ता देखी सेवा सञ्चालन हुने गरी आवश्यक तयारी गरिएको प्रतिवद्धता जनाएका हुन् ।
नगरपालिकाले उपचार केन्द्रका लागि २ जना अ.हे.व. स्तरका स्वास्थ्यकर्मीहरुलाई गोरुसिङ्गे स्थित सर्पदंश उपचारकेन्द्रमा गत जेठ १ गते देखि तालिमका लागि पठाएको साथै निज स्वास्थ्यकर्मीहरु २ महिना १८ दिनको प्रयोगात्मक तालिम सफलतापूर्वक सम्पन्न गरी फर्किसकेको नगर प्रमुख भण्डारीले जानकारी दिए । उपचार केन्द्र सञ्चालन हुने आधारहरुका सन्दर्भमा नगर प्रमुख भण्डारीले भने “ नगरपालिकाले केन्द्र सञ्चालनका लागि बजेटको व्यवस्था गरेको छ भने जिल्लाका अन्यत्र स्थानीय तहहरुले पनि बजेट सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको छ । केन्द्र सञ्चालनको मस्यौदा कार्यविधि समेत बनाएर सवै स्थानीय तहहरुमा पठाएका छौ अब चाँडै कार्यविधि पास गरेर ढिलोमा भदौ सूरुबाट सेवा सञ्चालन गर्ने तयारीमा छौ । तालिम प्राप्त स्वास्थ्यकर्मीहरु आफ्नो कार्यक्षमतामा दक्ष भएको सम्वन्धित तालिम केन्द्रका चिकित्सकबाट जानकारी पाईएको छ । केन्द्रका लागि आवश्यक श्रोत साधन ,उपकरणको व्यवस्थापन गरी सञ्चालन गर्ने तयारीमा जुटेका छौ । ”
जिल्लामा सर्पको डसाईबाट कैयनको ज्यान जाने तथा धेरैको संख्यामा गम्भिर विरामी भई उपचारको लागि जिल्ला बाहिर जानु परेको सन्दर्भमा जिल्लामा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न थालिनुलाई आम चासो एवं महत्वका साथ हेरिएको छ । त्यसो त विगतका वर्षहरुमा भन्दा क्रमिक रुपले जिल्लामा सर्पदंशका विरामीहरु बढ्न थालेको देखिन्छ । आर्थिक वर्ष ०७८÷०७९ मा सर्पदंशका विरामी २२ जना आएकोमा आ.व. ०७९÷०८० मा ३५ जना विरामी सर्पदंशका रहेको जिल्ला अस्पताल प्यूठानले जनाएको छ । यस बाहेक गाउँघरमा सर्पले डस्दा धामी झाँक्रीको भरपरी अस्पतालमै नल्याउँदा ज्यान जाने तथा विरामी के कति भए भन्ने एकीन तथ्यांक पाउन सकिदैन । यसै वर्ष पनि जिल्लामा सपंदंशको व्यवस्थित उपचार पद्धती हुन नसक्दा केही समय अघि एक बालकको ज्यान समेत गएको थियो भने जिल्ला अस्पताल र भेरी अञ्चाल अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीहरुको अथक प्रयास र मेहनतले प्यूठान नगरपालिका वडा न. १ खैराका करन र करिना वस्नेतले नयाँ जीवन पाएका छन् ।
सर्पदंश उपचार केन्द्र जिल्लाको साझा आवश्यक्ता भएकाले सवै स्थानीय तहहरुले अपनत्व पनि लिएका छन् । बजेट विनियोजन लगायत आवश्यक सहकार्य स्थानीय तहहरुले यसमा गरेको देखिन्छ । उपचार केन्द्रको आवश्यक्तालाई मनन् गर्दै प्यूठान नगरपालिकाले सर्पदंश उपचार केन्द्रका लागि ५ लाख बजेट विनियोजन गरेको नगर प्रमुख विष्णु बहादुर योगीले जानकारी दिए ।
सर्पदंश उपचार पद्धती अत्यन्त महत्वपूर्ण एवं तत्कालै उपचार गर्नु पर्ने पद्धती हो । सर्पदंशका विरामीहरुलाई जति सक्यो छिटो उपचार गर्नु पर्ने हुन्छ । गाउँघरमा धेरै बिरामीहरु स्वास्थ्य संस्थामा समयमा नलग्दा ज्यान गएको उदाहरणहर धेरै छन् । तसर्थ यी सवै पक्षलाई ध्यान दिदै सर्पदंश उपचार केन्द्रको व्यवस्थापनमा पनि उत्तिकै ख्याल गर्नु पर्ने हुन्छ ।
अस्पताल विकास समिति प्यूठानका अध्यक्ष विजय विराज विष्ट भन्दछन् “सर्पदंशको उपचारका लागि त्यो बेला समयको धेरै महत्व हुन्छ । सर्पदंशका विरामीलाई तत्काल खटिन सक्ने चिकित्सक सहितको टोली तयारी अवस्थामा रहने वातावरण निर्माण भएमा मात्र उपचार प्रभावकारी हुन्छ ”
जिल्लाका आम जनताको साझा सरोकारको विषय सर्पदंश उपचार केन्द्रको व्यवस्थित सञ्चालन हुनु नितान्त आवश्यक छ । यसका लागि सवैको ऐक्यवद्धता हुन जरुरी छ । सेवा सूरु भएर मात्र हुँदैन व्यवस्थित एवं दिगो उपचार हुने योजना सरोकारवालाले बनाउनु पर्दछ । न्यूनतम उपचार केन्द्रमा अनुभवी स्वास्थ्यकर्मी सहित ४,५ जनाको टिम,आवश्यक औषधि , सर्पदंशका विरामीलाई जतिबेला पनि तत्कालै उपचार दिन सक्ने गरी उपचार केन्द्र व्यवस्थापन गरिनु जरुरी छ । नगरप्रमुखको प्रतिवद्धता बमोजिम उपचार केन्द्र छिट्टै सञ्चालन होस् । प्रतिवद्धता प्र्रतिवद्धतामा मात्र सिमित हुनु हुदैन भन्ने जनताको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top