शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

सबैका अविभावक बने टंक बहादुर बिष्ट


गोबिन्दराज पोखरेल
अविभावक बन्नु सामान्य कुरा होइन त्यसमा पनि पञ्चायती राजनीतिक जीबनमा लामो यात्रा भोगेका व्यक्तित्व हुन टंक बहादुर बिष्ट । पञ्चायती राजनीतिमा सामेल भएपनि उनको भेट सामान्य भन्दा सामान्य मान्छे देखी देशको उच्च ओहोदामा पुगिसकेका व्यक्तिहरुले पनि उनको सादा जीवन माथि अत्यन्त सकारात्मक भाव व्यक्त गरेको पाइन्छ । जिल्लाका सबै जसो राजनीतिक पदमा रहेका व्यक्तिहरु उहाँसंग भेटेर नै जाने गरेको देखिन्छ । राष्ट्रिय पञ्चायतको सदस्य हुँदाका बखत पनि उनले अन्य राजनैतिक सोंच राख्ने व्यक्तिहरुलाई कसैले सुराकी दिइ दुःख दिएको अबस्थामा प्रतिवाद गर्दथे । अरुको कहिल्यै कुभलो नचाहने व्यक्तिको रुपमा परिचित बिष्टको सम्झना आज सबै प्युठान बासीहरुले गरिरहेका छन ।

बाल्यकाल शिक्षादिक्षा र परिवार ः बि.सं. १९८० श्रावण २९ गते आमा लक्ष्मी देबी र बुवा तुलासिंह बिष्टको माहिलो छोराको रुपमा जन्म लिनु भएका बिष्टको बाल्यकाल दाखाक्वाडीको भलाइडाँडामा नै बित्यो । सानै उमेर देखि नै अरु माथि दया गर्ने र अरुको दुःखको अबस्थामा साथ दिने भएकोले बुवाको आज्ञाकारी छोराको रुपमा रहनु भएको थियो । घरमै शिक्षा आरम्भ गर्नु भएका बिष्टले औपचारिक शिक्षा भने हासिल गर्नु भएको थिएन । उहाँको श्रीमती र जेठाछोराको निधन भइसकेको छ भने हाल तीन छोरा र एक छोरी छन ।
राजनैतिक यात्रा ः राजा त्रिभुवनको पालामा उहाँ सल्लाहकार सभाको सदस्यको रुपमा नियुक्त हुनु भएको थियो । सल्लाहकार सभा तत्कालिन अबस्थामा संसदकै झल्को दिने खालको थियो । शुरुमा ६५ सदस्यीय सल्लाहकार सभा पछि ९१ सदस्यीय बनाइएको थियो । २०१६ सालमा सल्लाहकार सभा बिघटन गरिएको थियो । सल्लाहकार सभाको बिघटन पछि उहाँ तत्कालिन दाखा पञ्चायतको प्रधानपञ्च निर्वाचित हुनु भयो र पछि प्रधानपञ्चबाट प्युठान जिल्ला पञ्चायतको सभापति हुनु भएको थियो । पञ्चायती व्यबस्था लागु भएपछि पञ्चायतका प्रतिनिधिहरुबाट राष्ट्रिय पञ्चायतको सदस्य हुने दौरानमा २०३२ साल र २०३४ सालमा प्रधान पञ्च एवं जिल्ला पञ्चायतका सभापति जस्ता प्रतिनिधिहरुबाट निर्वाचित हुने नियम बमोजिम पनि राष्ट्रिय पञ्चायतको सदस्य हुनु भएको थियो भने २०३६ सालको बिद्यार्थि आन्दोलन पछि २०३७ मा भएको नेपालको संबिधान २०१९ को तेस्रो संसोधन पछि २०३८ सालमा भएको बालिग मताधिकारमा पनि निर्वाचित भइ तेस्रो पटक राष्ट्रिय पञ्चायतको सदस्य हुनु भएको थियो । २०४० सालमा लोकेन्द्र बहादुर चन्दको प्रधानमन्त्री कालमा गृहसहायक मन्त्री हुनु भएको थियो । उहाँ नै प्युठान जिल्लाबाट मन्त्रीपरिषदमा सामेल हुने पहिलो व्यक्ति पनि हो । मन्त्री परिषदको पुर्नगठन हुँदा पछि उहाँ यातायात सहायक मन्त्री पनि हुनु भएको थियो । २०४६ को जनआन्दोलन पछि केही समय तटस्थ रहनु भएका बिष्ट २०५१ सालमा भएको मध्याबधी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उमेदवार खडा भई पराजित भए पछि उहाँ कुनै पनि पार्टीको छायाँमा पर्नु भएन स्वतन्त्र सामाजिक जीबन बिताउनु भयो ।
सामाजिक संघसंस्थामा आबद्ध ः प्युठान जिल्लाको नेपाल रेडक्रस सोसाइटीको संस्थापक अध्ययक्ष , मुक्ति माध्यामिक बिद्यालयका व्यबस्थापन समितिका संस्थापक अध्यक्ष , बिभिन्न सरकारी एवं गैरसरकारी संघसंस्थाको अध्ययक्ष एवं सदस्य रहनु भएका बिष्टले बिभिन्न संघसंस्थाहरुले कदरपत्र, प्रशंसापत्र र सम्मान पत्र पाउनु भएको छ ।
बिभुषण तथा सम्मान ः गोरखा दक्षिणबाहुबाट बिभुषित , गणतन्त्र पश्चात सामाजिक सेवापदकबाट विभुषित बिष्टलाई जिल्लाका बिभिन्न संघसंस्थाहरुको संरक्षकको भूमिकाबाट सम्मानित हुनु भएको थियो ।

साधकी जीवनः बिष्टको जिवन नै साधकी थियो । सामान्यतया नेपाली खाना दाल भात तरकारी माछा मासु दुधदही खान रुचाउने उहाँले आफनो खल्तीमा चक्लेटहरु खल्तिमा राख्ने र आफनो नजिक कुनै केटा केटी देखे चक्लेट दिइहाल्ने बानी थियो त्यसैले उहाँको अघिपछि केटाकेटीहरु जुम्मिने गर्दथे । कुनै व्यक्ति आफनो घर अगाडि खान नपाएको , जाडोले छटपटाएको देख्ने बित्तिकै आफुलाई पकाएको खाना र न्यानो लुगा लिएर त्यस्ता व्यक्तिलाई पछि आफुलाई शान्त भएको महशुष गर्नुहुथ्यो । माओवादीको जनयुद्धको समयमा उहाँलाई “माओवादीले कत्ति सताएका छन” भनि कसैले सोधेमा उहाँ सहजै उत्तर दिनुहुन्थ्यो अहिले पनि तुलासिंको सम्पत्तिले कोट किनेको छु केही गरी अपहरण गरे टाउकोमा जाडो भए टाउकोतिर खुट्टातिर जाडो भए खुट्टातिर ओढेर बस्छु मलाई त्यसमा पनि आरामै हुन्छ भन्नु हुन्थ्यो । जिल्लाका बामपन्थी हस्तीहरु मोहन बिक्रम सिंह , मोहन बैद्य, बामदेव गौतम, प्रजातान्त्रिक नेताहरु डा.गोबिन्दराज पोखरेल,मुक्तिप्रसादशर्मा र अन्य कुनै पनि पार्टीका नेताहरुले बरोबर भेटघाट गर्ने र उहाँको साधकी जीवनलाई प्रशंसा गर्दथे । राजनीतिमा छेपारे राजनीतिलाई व्यङग्य गर्दै भन्नु हुन्थ्यो बिहान उठदा काँग्रेस , दिउसो नेकपा र राती माओवादी भन्ने राजनीतिक चरित्र र पैसा पाइन्छ भने आफनै छोरी चेलीलाई पनि बिक्री गर्न पछि नपर्ने राजनीतिक संस्कार बोकेका राजनैतिक चरित्र भएका व्यक्तिहरु अगुवाई गरे देश भडकालोमा जान्छ भन्ने गर्नुहुन्थ्यो । जीवनको अन्तिम घडीसम्म पनि देश बिकासको आकंक्षा राख्ने उहाँले त्यस्तो कार्य गर्नसक्ने राजनैतिक चरित्र भएका व्यक्तिहरुले देशको नेतृत्व गर्नुपर्छ भनिरहनु हुन्थ्यो । चिन भ्रमणमा जाँदा माओत्सेतुङसंगको भेटमा माओले देखाएको सदभावलाई प्रशंसा गरिरहनु हुन्थ्यो कसैले पनि पार्टी अंकित नाम राखेर पार्टी योद्धा हुने होइन उसका व्यबहार र आचरणले बामपन्थि र प्रजातन्त्रवादी हुने हो भन्ने कुरामा विचार राख्नु हुन्थ्यो । उहाँ देश प्रेम प्रगाढ थियो । कालोबजारी र भ्रष्टाचार गर्नेहरुवीचबाट बामपन्थी र प्रजातन्त्रबादीको आँचरण गर्नेहरुलाई व्यँग्य गर्दै २ रुपैयाको सामानलाई १०० रुपैया भन्ने , प्युठानको फाँट मासेर कृषि क्रान्तीको कुरा गर्ने , भ्रष्टाचार गरेर देशलाइ कंगाल बनाउनेहरुबाट सावधान हुनु पर्छ भन्ने गर्नुहुन्थ्यो ।
अन्य राजनैतिक पार्टीका नेता कार्यकर्तालाई संरक्षण ः २०३६।०३७ सालमा रुकुममा अध्यापन गरिरहनु भएका मोहन गिरीलाई बामपन्थि भएकै कारण रुकुमबाट निकाला गरियो । पछि राजा बिरेन्द्रसंग सिधा सम्पर्क गरी त्याहाका माननीय राजेन्द्र बिक्रमशाह मार्फत उहाँका सम्पुर्ण सामान लिन पठाई मोहन गिरीलाई उपलब्ध गराउनु भएको र उहा माथि लागेको मुद्दा खारेज गर्न लगाउनु भएको थियो । बामपन्थि नेता दीपक केसीलाई तुल्सीपुर जेलबाट अड्डासार गर्दै सल्लयान लैजानलागेको समयमा तत्कालिन अञ्चलाधिशसंग झगडा गरी जेलबाट छुटाई जिल्ला भित्राउनु भएको कुरा उहाँहरुकै अगाडि पटक पटक भनेको कुरा यो पंक्तिकारले पनि सुन्ने गरेको थियो । माननीय भएको समयमा धेरैजसो बिद्यार्थिहरु बाटाखर्च पनि नभए उहाँकै शरणमा पुग्ने र बाटाखर्च दिएर पठाउने गर्नाले पनि सबै राजनैतिक सोंच राख्ने बिद्यार्थिहरुले उहाँ प्रति सकारात्मक सोंच राख्ने गर्दथे । पञ्चायतको समयमा सबै राजनैतिक कार्यकर्तालाई आफनै पार्टीका हुन भन्ने र कसैलाई गिरफतार गरिहालेमा पनि आफै जवानी बसेर निकाल्ने गर्नु हुन्थ्यो त्यसैले पनि जिल्लाका काँग्रेस र कम्युनिष्ट कार्यकर्ताले त्यतिबेला पनि उहाँलाई सम्मान र माया गर्दथे । राजनैतिक रुपमा कसैप्रति पनि प्रतिशोध नगर्ने बानी भएकै कारण उहाँ सबैका लागी आदरणीय पात्रको रुपमा रहीरहन पुगे ।
अन्तिम सम्मान ः लामो समयदेखी किडनी र सुगरको बिरामी हुनु भएका बिष्ट २०७६।१०।०८ गते भैरहवाको गौतम बुद्ध अस्पत्तालमा बेलुका ४ बजे निधन भएको हो । उहाँलाई जिल्लामा भित्राएपछि उहाँको पार्थिव शरिरमा उहाँकै निवासमा माल्र्यापण गरिएको थियो । नेपाल प्रहरीबाट समेत सम्मान गारत टक्राइ अन्तिम श्रदाञ्जली दिइ जिल्लाका हजारौ मानिसहरुको समुपस्थितिमा प्युठान नगरपालिका २ चितिखोलाको पुच्छार झिमरुक नदीमा २०७६ साल माघ ९ गते भावपुर्ण श्रदाञ्जलीका साथ अन्तिम सम्मान टक्राइएको थियो । प्युठान नगरपालिका ४ का ९८ बर्षीय भुपाल सिंह कार्की, प्रदेश साँसद कृष्णध्वज खडका , प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाका प्रमुख र उपप्रमुखले नेपालको राष्ट्रिय झण्डा ओढाइ श्रदाञ्जली र सम्मान गरेका थिए । सबैजसो राजनैतिक पार्टी , आफन्तजन र सामाजिक अभियन्ताहरुबाट अलविदा अविभावक भन्ने भाव प्रकट भएको देखिन्थ्यो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top