शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

आम जिल्लावासीका प्रेरणाका स्रोत स्व बिष्टको संक्षिप्त जीवनी केलाउँदा…


लिला पुन
हाम्रो सवैका प्रिय एवम असल अभिभावक स्व. टंकबहादुर बिष्ट यतिवेला हाम्रो सामु रहनु भएन । आम जिल्लावासीका प्रेरणाका स्रोत, सबैका सर्वमान्य ब्यक्तित्व जसले कहिल्यै पनि ब्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेन । त्यस्तो ब्यक्ति आज सधै–सधैको लागि यही २०७६ साल माघको ८ गते दिनको ३ बजेर ४५ मिनेटमा सुगर तथा मुटु रोगको निहुँमा हामीबाट गुमाउनु पर्दा उहाँको परिवारजन् मात्र होइन, बन्धुबान्धव लगायत आम प्युठानबासी र सम्पुर्ण देशबासीलाई नै अपुणीय क्षति पुगेको छ । यस दुःखद् घडीमा उहाँले गाउँसमाज, देश र देशबासीको लागि गरेको अतुलनीय योगदान, सेवाभावको कुरा सम्झिदा लाखौचोटी प्रसंसा गरे पनि पुग्दैन । हाम्रो माझबाट हामीलाई उहाँले अभिभावक विहिन पारेर छोडेर जानुभयो । उहाँले कोरेर गएको असल बाटोलाई सधैभरि अनुसरण गरी रहने छौं । हो ! हामी प्युठानबासीहरु यसबेला उहाँको परिवारजन् र बन्धुबान्धव सवै अत्यन्तै शोकको घडीमा डुवेका छौं । उहाँको मृत्यृलाई हामीले सिमलको भुवासरी मानेका छैनौं ! मानेका छौं भने हामीले सगरमाथाको शिखर जस्तो उच्चमरण मानेका छौं । चाहे त्यो छोरा होस् , चाहे छोरी ! गौरवपुर्ण मरण मर्नुपर्छ भने हामीले उहाँको बाटो समाउनु पर्छ ।
उहाँको जीवनबाट हामी बाँचेकाहरुले थुप्रै पाठहरु सिक्ने गोरेटो खनिदिएर जानु भएको छ । अब त्यो गोरेटो भएर हिड्ने कि नहिड्ने त्यो कुरो हामीमाथि आएको छ । विग्रिने कि सप्रिने ! विगार्ने कि सपार्ने ! यो कुरो पनि हामीमाथि भर पर्छ । उहाँले त हामीलाई सधैको लागि छोडेर जानु भयो । अब हामी उहाँ हिडेको बाटो हिड्ने कि नहिड्ने ! आधुनिकताको नाममा आफूमात्र डुब्ने कि, सबैलाई डुबाउने ! ठूला ज्ञाताहरुले बारम्बार भनिराखेका छन्–“ज्युदो हुँदा मान्छेको लेखोजोखो हुँदैन, जब उसको मृत्यु हुन्छ, उसको गुणहरुले बाँचेकाहरुलाई घेर्न आउँछ” । अहिले हामी बाँचेकालाई त्यस्तै भइराखेको छ । उहाँ वितेर जानु भयो उहाँको गुणले हामीलाई घेर्न आइपुगेको छ । उहाँ जिवित हुँदा सायद हामीले उहाँको योगदान, सेवाभाव भुलिउँ कि ! हिजो स्वामी बुटामुनि बसेर उहाँले दिएका शिक्षा, दिक्षा कति ग्रहण गर्न सक्यौं ! उहाँ जिवित हुँदा उहाँबाट हामीले कति पाठ सिक्यौं ! अब त सिक्छु भनेर पनि सिक्न कहाँ पाईन्छ र ! किनभने उहाँले सिकेका जति पनि चिजहरु थिए, सधै–सधैको लागि आफैले लिएर गइसक्नु भयो ।
बुबा तुकमानसिंह बिष्ट र आमा लक्षिमादेवी बिष्टको कोखबाट वि.स. १९८० श्रावन २९ गते तत्कालिन् दाखा, क्वाडी गाउँपञ्चायत वडा नम्बर–५ हाल प्युठान नगरपालिका वडा नम्बर–२ मा जन्मनु भएका चारभाइ मध्धे जेठा खड्गबहादुर बिष्ट, माहिला टंकबहादुर बिष्ट, साहिला खोडसबहादुर बिष्ट, कान्छा भिमबहादुर बिष्ट सबैको देहान्त भैसकेको छ भने सबैभन्दा पछि माहिला टंकबहादुर बिष्टको यही माघको ८ गते स्वर्गबास भयो । नियतिको खेल भनौ कि भाग्यको खेल भनौं स्व.बिष्टले बाध्यताबस तीनवटी श्रीमती भित्राएका थिए तर उनीभन्दा जीवनसंगिनीहरु पहिले नै वितिहाले । आफ्नो जीवनसंगिनीहरु आफ्नै आँखा अगाडि यसरी पालैसंग सधै–सधैको निम्ति छोडेर जादा कसको हृदय रोएन होला र ! आफ्नो राजनीति जीवनसंगै आँसुको धाराले भिजेको शरिर भलडाँडा र चितिखोलाको उकालिओरालिहरुमा जीवन संगिनीहरुको सम्झनामा सायद रुदै हिडे होलान् ! उनको मुटुभित्रको चोट त्यसबेला, त्यो समयमा कसले बुझिदियो होला र ! मान्छेको जीवन, जीवनसंगिनी वितेमा अथवा जीवनसंगी वितेमा आधा हुन्छ भन्छन् , तर हामीले सायद उहाँको जीवन आधा भएको कसैले देखेनौं होला ! किनभने उहाँको जीवन जहिले पनि दुःखीगरिब, असहाय, पिडित् , उत्पिडित सबै जनको सेवामा समर्पित थियो । त्यसैले त होला नि ! माघ ९ गते उहाँलाई सतगत गर्दा उहाँको पार्थिव शरिरमा फूलको मालाको भारी, पछि–पछि मलामीहरुको जनसागर, राष्ट्रिय सम्मानसहित नेपाल प्रहरीको एक टुकडीले सलामी दिएको ! मान्छेको मरण त त्यस्तो पहाड जस्तो अजङ्गको मराई पो मराई हो ! कुकुर जस्तो मराई, के मराई भयो र !
स्व. टंकबहादुर बिष्टको चारभाइ, भाइहरुमध्धे अब कुनै जिवित हुनुहुन्न भने ६ बहिनी, बहिनीहरुमध्धे केवल स्वर्गद्वारी नगरपालिका भिग्रीका प्रमुख नेत्रबहादुर रोकायकी आमा काहिली मात्र जिवित हुनु हुन्छ । उहाँ मोहनी बोलीको धनी, जनसेवाको धनी, जनभावनाको धनीमात्र होइन, क्रमशः चारभाइ छोरा र एकबहिनी छोरीको धनी पनि हुनुहुन्छ । जेठो स्व. भुपबहादुर बिष्ट, माहिलो ईश्वरबहादुर बिष्ट, साहिलो केवलसिंह बिष्ट, कान्छो चेतबहादुर बिष्ट आ–आफ्नो पेसाप्रति समर्पित छन् । त्यसैै गरेर एक छोरी करुणा शर्मा पूर्व अनुसन्धान प्रमुख ज्वाइ देविराम शर्माकी धर्मपत्नी हुनुहुन्छ । ९७ बर्षको जीवनकालमा स्व. बिष्टले छोराहरु तर्फबाट नातीहरु ७ जना, नातिनीहरु ८ जना, छोरीतर्फबाट १ नाती, १ नातिनी, पलातिहरु छोरातर्फ–२, छोरीतर्फ–३, खलातिनी–१ पनि देखिसकेका थिए । गाउँसमाज र देशहितको लागि उहाँले आफ्नो जीवन सधैको लागि समर्पित गरेर जानुभयो । अब हामीले हाम्रो देशको राजनीतिकवृतमा आफ्नो सैद्धान्तिक पक्षमा दरिलो राजनेता र असल अभिभावक पाउन गाह्रै पर्ला ! पाउँन त पाउँला किन नपाउँने तर उहाँजस्तो निष्ठावान राजनीतिज्ञ, निष्ठावान सामाजिक अभियन्ता कहिले पाउँने छैनौ र पाएका पनि थियनौं ।
पश्चिम डडेलधुराबाट आएका हाल २७५ घरधुरी संख्या रहेको बिष्ट परिवार अहिलेसम्म भाइहरु नफुटेर मर्दापर्दा सबै तेह्रदिने जुठेभाइहरु छन् । यसरी अहिलेसम्म दाजुभाइहरु नफुटेर एउटै सहगोलमा बस्नु स्व.टंकबहादुर बिष्टको ठूलो योगदान रहेको पाईन्छ । उहाँको राजनीति जीवनको विजारोपण २०१२ सालमा सल्लाहकार सभाको सदस्यबाट सुरु भएको पाईन्छ । एकसय चारबर्षीय जहानीया राणा शासनबाट तत्कालिन समयमा भरखर छुटकारा पाएको राजनीति उतारचढावसंगै उहाँ २०१५ सालमा गोर्खा परिषद्बाट प्रतिनिधि सभा सदस्यमा उठेर हार्नु भयो । २०१५ सालदेखि २०१७ साल अगाडि नेपाली काँग्रेसको वि.पि. कोइरालाको नेतृत्वमा बनेको काँग्रेस सरकारलाई राजा महेन्द्रले २०१७ पौष १ गते अपदस्त गरेपछि २०१८ सालबाट स्व. बिष्टको राजनीति जीवन निकै सक्रिय रुपमा अगाडि बढेको देखिन्छ । राजा महेन्द्रको तत्कालिन नयाँ पञ्चायती प्रशासनको नितिनियम अनुसार क्रमैसंग तलदेखि माथिल्लो तहमा पुग्ने (गुरुमिङ) गर्ने भन्ने बैधानिक व्यवस्थालाई आधार मान्दै केही समयकोलागि जुम्रीकाँढा गाउँपञ्चायत वडा नम्बर–६ झाक्रीगाउँमा १ रोपनी जग्गा आफ्नो नाममा लिई वडा सदस्य पद हुँदै तत्कालीन जुम्रीकाँढा गाउँपञ्चायतको उपप्रधान पञ्चको जिम्वेवारी सम्हाल्नु भएको थियो । उपप्रधान पञ्च भएको केही महिना पछि प्युठान जिल्लाको जिल्ला सभापति, जिल्ला सभापति भएको, जिल्ला सभापति भएको केही महिना पछि २०१८ सालमा नै २ बर्ष कार्यकालको लागि पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य, २०२० सालमा ४ बर्षको लागि फेरी राष्ट्रिय पञ्चायतको सदस्य, २०३० सालमा तेस्रो पटक ५ बर्षको लागि राष्ट्रिय पञ्चायतको सदस्य, २०३८ सालमा चौथो पटक ५ बर्षको लागि फेरी राष्ट्रिय पञ्चायतको सदस्य हुँदै २०४० सालमा प्युठान जिल्लाबाट पहिलो प्रतिनिधित्व हुने गरी पहिलो गृह सहायक मन्त्री र फेरी निर्माण तथा यातायात सहायक मन्त्री बन्नु भयो ।
२००७ सालमा तत्कालिन प्रतिमान चन्द बडाहाकिमको पदभार ग्रहण गरेर प्रशासकको रुपमा प्युठान आएका थिए । उनी निकै जनप्रिय तथा विकासप्रेमी थिए । उनैसंगको उठाईबसाई, हिडडुल, संगीसाथीजस्तो व्यवहारिक कामकुरोले गर्दा स्व. बिष्ट प्रतिमान चन्द बडाहाकिमसंग निकै नजिक भएको देखिन्छन् । जसको कारण प्रतिमान चन्दले चालेको हर कामकुरोहरुमा काँधमा काँध मिलाएर गाउँसमाज, जनता र देशको लागि अहोरात्र खटेर विकास निमार्णका विभिन्न पदमा बसेर पदीय जिम्मेवारी पुरा गरेको देखिन्छ । उदाहरणको लागि अद्दा रातामाटा (बेसी) झार्नै पर्छ भन्ने अभियानको नेतृत्व गरेको र त्यो अभियान सफल भएर अड्डा पनि बेसी झरेको, प्रतिमान बडाहाकिम प्रशासक भएको, उनी प्रशासक हुने बेला बहादुरगन्जदेखि प्युठानसम्म मोटरबाटोको पूर्वाधार तयार पार्ने र अहिले हिड्ने गोरेटो बाटोसम्म छैन भनेर त्यसको शिलान्यास गरी त्यस बाटो समितिको संयोजक स्व. बिष्ट भएको जानकारी मुक्ति माध्यमिक विद्यालय राटामाटाका तत्कालिन् प्रधानाध्यापक हुकुमबहादुर बिष्ट बताउँनु हुँन्छ । अझै अगाडि बढेर उहाँको स्मरण गर्दै उहाँ भन्नु हुन्छ–“उहाँको पालामा पाठशाला भन्ने कुरा थिएन, उहाँ आफै खटिएर राजा त्रिभुवनबाट पाँचवटा आधारभूत भाषा पाठशालाको कोटा ल्याई सुरुमा प्युठानमा स्थापना गर्नु भयो । खलंगा कसेरी, सुन्नानी मा.वि. सुन्नानी, अहिले भाषा पाठशालाको परिमार्जित रुप अमृत जीवन मा.वि. तुषारा र हिकमतेस्वर भाषा पाठशालाको रुपमा यही क्वाडी पाठशाला बगैचामा स्थापना गरी कैयो बर्ष संचालन भयो । अहिले आएर त्यो भाषा पाठशाला रोल्पाको सिर्पमा हिकमतेस्वर उच्च मा.वि.को रुपमा परिमार्जित भई संचालनमा आइराखेको छ । तत्कालिन बडाहाकिम प्रतिमान चन्द र प्युठानका सचेत नागरिकहरुको पहलमा एउटा मा.वि.को आवश्यक भएको देखिएको हुँदा राताामाटामा “मुक्ति मिडिल स्कूल”को नामले शैक्षिक संस्था खोलियो । त्यसको संयोजकमा पनि स्व. बिष्ट नै थिए । त्यसै गरेर पछि त्यस मुक्ति मिडिल स्कूललाई स्तरिकरण गरेर “मुक्ति हाइस्कूल” राखियो । त्यसको भवन बनाउनको लागि पनि उहाँ नै भवन निर्माण समितिको संयोजक बन्नु भयो ।
जुम्रीकाँढे जनताहरु स्व. टंकबहादुर बिष्टदेखि अति क्रणी छन् । उहाँको देहान्तको खबर सुन्दा उहाँका वलिदौतरीहरुले मसंग छोरानातिहरु मार्फत फोन गर्न लगाएर थुप्रैले दुःखमनाउ गरे । सायद उहाँ यसरी जुम्रीकाँढे जनताको मनमुटुमा नभिजिदिएको भए कसले पो स्मरण गर्ने थियो र ! एकजना ७८ बर्षिय बुढा बाबाले त मसंग यो सम्म भन्नु भयो कि उहाँको हातैले प्रत्येक सावनमा साउनेसक्रान्ति मान्न गएका जति दुःखीगरिबलाई चार–चार पाठी धान भरेर दिएको अहिले जस्तो लाग्छ, दुःखको कुरो तर उहाँ हामीलाई छोडेर जानु भयो । त्यो धान दिएबाफत् हामीले हाम्रो राजिखुसीले एक–एक भारी पराल राटामाटाबाट भलडाँडाको घरगोठमा पु¥याई दिएको अहिल्यै जस्तो लाग्छ । त्यो त्यसै दिएको धान हामीले त्यसै खाएको भए त हुन्थ्यो नि ! तर हामीले अर्काको पसिना कहिल्यै खाएनौं । किनभने त्यसबेला हाम्रो मनमुटुमा धर्म थियो । अरुको पसिना, अरुको स्रम, अरुको धन त्यसै खान हुँदैन, पाप लाग्छ भन्ने मान्यता थियो । तर अहिलेका पिडी भैदिएका भए कति सकेजति लुटेर, ढाटेर खाने थिए । अहिलेको जुम्रीकाँढामा संचालित स्कूल जो पहिले श्री सिद्ध प्रा.वि. थियो त्यसको स्तरिकरण हुँदै निमावि र श्री सिद्ध मा.वि.मा परिणत भएको छ, जहाँ अहिलेसम्म ५५३ जना छात्रछात्राहरुले अध्ययन् गरिराखेका छन् । २०१६ सालमा स्व. बिष्टको पहलमा नै त्यो स्कूलको कोटा निर्धारण भई सुचारु भएको रहेछ । त्यसै गरेर हालको श्री सिद्धभूमि प्रा.वि. ढाँडछाप, श्री सरस्वती आधारभूत नि.मा.वि. प्युनपा–५ ओवाङ पनि उहाँको पहलमा स्थापना भएको रहेछ । उहाँको व्यवहारिक जीवनलाई खोज्दै अनुसन्धान गर्दै जाने हो भने गाउँसमाजमा उहाँको अतुलनीय देन रहेछ । उहाँ वितेर गएपछि मात्र बल्ल थाहा भयो । उहाँ जिउदो छदा कतै हामीले चिन्न सकेनौ कि ! यही कुरो नै दुःख लाग्दो छ ।
स्व. बिष्टको स्वच्छ छवि, ईमान्दारिता, लगनशीलता, निरन्तरताले गर्दा होला राज्य पक्षबाट पनि उहाँलाई “गोर्खा दक्षिण बाहु” “ शुभराज्य भिषेक” “सेवा पदक” “राष्ट्रपति पदक” जस्ता आलङ्कारिक विभिन्न मान, सम्मान पदवीहरुले विभुषित हुनु भएको छ । यसै विषयमा उहाँको बारेमा उहाँका ज्वाँइ राष्ट्रि अनुसन्धान विभाग पूर्व प्रमुख भन्नु हुन्छ–“उहाँ सधैभरि अन्यायको विरुद्धमा जुढिरहनु हुन्थ्यो । परिवर्तनलाई आत्मासाथ गर्न सक्ने क्षमता भएको व्यक्ति भएको हुँदा उहाँमाथि पछि फर्किने स्वभाव थिएन । उहामाथि अभिधूतवादी चिन्तन् भन्ने कुरा पट्टक्कै देखिएन । अहिलेको समाज कस्तो छ ! अहिलेको भन्दा उसबेलाको समाज झन् गए गुज्रेको थियो । गरिवी, अशिक्षा, पछौटेपन, परम्परावादी सोचविचारले ग्रसित समाजमा कसरी जनभावनाको मन बुझेर जनसेवाको काम गरे होलान् । अहिले सोंच्दा बुझ्दा अचम्मै लाग्छ । त्यस्तो अवस्थाको समाजमा पनि उहाँले दृढतापूर्वक आफ्नो समाजसेवाको भावना विना पूर्वाग्रह अगाडि बढाउनु भयो । चाहे पञ्चायती व्यवस्थामा होस् , चाहे २०४६ सालपछिको बहुदलीय व्यवस्थामा होस् । उहाँले कहिले पनि कसैलाई अथवा व्यक्तिलाई आरोप लगाएर गालीगलौचमा उत्रनु भएन । कैयो आफ्ना सहपाठी साथीहरु कम्युनिष्ट, काँग्रेसको नाममा जेल परे । ती साथीहरु जेल परे पनि उनीहरुलाई आस्था र विचारको आधारमा कहिले नराम्रो दृष्टिले हेर्नु भएन । बरु उनीहरुको झुठ्ठा मुद्दाहरु खारेज गर्न लगाएर जेलबाट बाहिर निकाल्ने काम गर्नु भयो । उहाँ साधारण लेखपढ गरेको मान्छे हो । त्यति पढेको मान्छे होइन । त्यसबेलाको जमाना न स्कूल थियो, न पाठशाला थियो ! त्यस्तो अवस्थामा उहाँका आमाबाबुले कहाँ लिएर पढाउने कुरै भएन । नपढेता पनि उहाँमा भएको प्रतिभा जुन थियो, त्यो प्रकृतिले दिएको प्रतिभा थियो । उहाँमाथि जनताको सेवा सदासर्वदा गर्नुपर्छ भन्ने भावना मैले पाए । देश ठूलो कुरो हो, देशको सार्वभौम स्वतन्त्रता भन्ने कुरो महान हो भन्ने आस्था र विचार उहाँमाथि थियो । आफूसंग भएको प्रतिभा, आफूसंग भएको क्षमता बाहिर प्रस्फुटन गर्न पिलेटफर्म चाहिन्छ । त्यो पिलेटफर्म आफ्नो लागि आफै तयार पार्नु भयो । उहाँले आफूलाई राजनीतिमा सम्लग्न, समाजसेवामा संम्लग्न गराउने दृढ इच्छाशक्ति जगाउनु भयो” ।
अन्तमा आदरणीय हाम्रा भरपर्दा र असल अभिभावक र राजनीतिक धरोहर, आस्था र विचारका दृध सङ्कल्पका धनी हामीले सधै–सधैको निम्ति गुमाएता पनि उहाँले लगाई दिएको बाटो, उहाँले खनिदिएको गोरेटोको कहिले पनि पिछा गर्न छोड्ने छैनौ । अब तपाई हाम्रो कहिले भेट होला र ! हजूरको भौतिक शरिर नास भएर गए पनि हजूरको आस्था र विचारलाई कहिले नास हुन दिने छैनौं । विस्वासिला ठूला अभिभावक, राजनीति गर्ने ठूला नेताहरुले काम गर्ने बेला सबै राम्रो काम मात्र गर्छन भन्न मिल्दैन । एक त हजूरको जीवनमा नराम्रो काम देखिएको छैन । यदि कही कतै भेटिएमा देखिएमा नराम्रा कामलाई तिलान्जली दिदै राम्रा कामलाई आत्मासाथ गर्दै अगाडि बढ्ने छौं । हामीलाई पारी डाँडाको क्षितिजबाट चियाई राख्नु ! हामीले ज्युनेको सिलसिलामा कुनै गल्ति गर्न सक्छौं । आसिरबाट दिई राख्नु ! आखिरमा हाम्रा सिखर पुरुष, स्वच्छ छविका धनी, आस्था र विचारका सतिसाल स्व. टंकबहादुर बिष्टलाई अलविदा !!! स्रोत व्यक्तिहरुः– छोराहरु– ईश्वरबहादुर बिष्ट, केवलसिंह विष्ट, चेतबहादुर बिष्ट, भतिजा हुकुमबहादुर बिष्ट, ज्वाँइ देविराम शर्मा, ईश्वरसिंह बिष्ट, विजयविराज बिष्ट, भोजराज घिमिरे ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top