
प्रकाश बैद्य
हुन त बचत भन्ने विषय धेरैलाई थाहा भएकै कुरा हो । बचत भन्ने शव्द आफैमा सरल भएकाले पनि जो कोहि पनि आज भोली बचतका विषयमा जानकार भए जस्तै देखिन्छ । सामान्यतया पुरानो मान्यतामा कुनै पनि व्यक्तिले आफुले कमाएको निश्चित रकममा खर्च गरेर बचाएको बाँकी रहेको रकमलाई बचत भन्ने पनि गरिन्थ्यो तर आज भोली बचतको त्यो पुरानो मान्यतामा सुधार भएर आम्दानी गरेर पहिला बचत गर्ने र त्यस पछि खर्च गर्ने सिद्धान्त अनुसार जुन व्यक्तिले आफुले कमाएको आम्दानीबाट केहि बचाएर बचत गर्दछ र बचत गरे पछि बल्ल खर्च गर्दछ भने त्यसलाई बचतको रुपमा स्वीकार गर्ने प्रचलन धेरै हुन थालेको छ यो बचतको आँखाले सकारात्मक पक्ष हो ।
सुचना प्रविधीको बढ्दो विकास संगै विभिन्न प्रकारका प्रविधि तथा सुचनाको माध्यमबाट पनि मानिसहरुमा आफुले कमाएको केहि रकम बैंक ,वित्तिय संस्था तथा सहकारीहरुमा बचत गर्ने प्रचलन बढेको छ यो पनि सकारात्मक पक्ष छ । बचतका विषयमा आम नागरिकमा यतिवेला एक खालको चेतना जागृत हुने क्रम बढ्दो देखिन्छ तर यसो हुँदा हुदै पनि सहकारीमा जम्मा हुने बचत के हो ? सहकारीको बचतको महत्व के छ ? सहकारीमा बचत गरे के हुन्छ ? सहकारीमा बचत गरे बचतका अतिरिक्त के फाइदा हुन्छ भन्ने यी यावत कुराहरुको विषयमा जानकार नहुँदा कतिपय व्यक्तिहरु बचतका सन्दर्भमा अलमलमा परेको देखिन्छ त्यसैले सहकारीको बचतका सन्दर्भमा केहि चर्चा गर्न खोजेको छु ।
सामान्यतया सहकारी बचतका सन्दर्भमा विभिन्न किसिमका बैंक तथा वित्तिय संस्थाहरुले सञ्चालन गर्ने बचतका प्रकारहरु जस्तै विभिन्न सहकारी संस्थाहरुले पनि विभिन्न प्रकारका बचतका सेवाहरु सञ्चालन गरेका हुन्छन् । विशेष गरी धेरै बचतका सेवाहरु बचत तथा ऋण सहकारी संस्थाहरुले सञ्चालन गरेका हुन्छन् र सो गर्न पनि पर्दछ किन की बचत तथा ऋण सहकारी संस्थाहरु केवल बचत तथा ऋणको कारोवार गर्ने भनेर स्थापित भएका हुन्छन् । जो की अन्य सहकारी संस्थाहरुले बचत ऋण सेवालाई मुख्य कारोवारको रुपमा संचालन गर्नु हुँँदैन जुन कुरा सहकारी ऐन २०७४ मा पनि उल्लेख छ । विभिन्न किसिमका नामले सञ्चालन हुने बचत तथा ऋण सहकारी संस्थाका बचतका सेवाहरु धेरै प्रकारका हुन्छन् । बचत तथा ऋण सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको माग र रुचिका आधारमा बचत सेवाहरुको बिकास गरेका हुन्छन् । बचत धेरै प्रकारका हुन्छन् यहाँ विशेष गरेर चर्चा गर्न खोजिएको विषय सहकारीमा नियमित बचत किन गर्ने र अन्यत्र भन्दा सहकारीमा बचत गर्दा के फाइदा हुन्छ त ? मुख्य विषय यहि हो ।
सामान्यतया नियमित बचत भनेको कुनै पनि व्यक्ति कुनै पनि बचत तथा ऋण सहकारी संस्थाको सदस्य भए पछि त्यस संस्थाको विनियममा भएको व्यवस्था अनुसार सहकारीको सदस्यको नाताले प्रत्येक महिना नियमित रुपमा जम्मा गरिने बचत हो । नियमित बचत अनिवार्य बचत हो यो प्रत्येक महिना अनिवार्य गर्ने पर्दछ । आफुले महिनाको १ सय , २ सय वा ५ सय कति बचत गर्दछु भनेर कवुल गरेको छ सो अनुसार गरिने बचत नियमित बचत हो । सहकारीका सदस्यले नियमित बचत गरेकै हुनु पर्दछ यदि कुनै व्यक्ति कुनै बचत तथा ऋण सहकारीमा आवद्ध छ र बचत नियमित गरेको छैन भने त्यो सो संस्थाको असल सदस्य हुन सक्दैन । सहकारीको नियमित बचतले मानिसलाई अनुशासित बन्न सिकाउँदछ । कुनै व्यक्तिले प्रत्येक महिना मानौ ५ सय सहकारीमा बचत गर्न कवुल गरेको छ भ भने उसले ५ सय बचत गर्नै पर्दछ जसरी पनि मैले गर्नु पर्दछ , मैले कमाउनु पर्दछ भन्ने भावनाको विकास हुन्छ र मविश्यमा त्यो व्यक्तिको पेन्सनको रुपमा त्यो बचत बन्न जान्छ । मानिसको वानी जस्तो गरायो त्यस्तै हुन्छ किन की नियमित बचत गर्ने वानी वसाल्यो भने प्रत्येक महिना बचत गरिन्छ बचत जम्मा हुँदै गएर ठुलो रकम जम्मा हुन्छ त्यसैले पनि यो नियमित बचत अनिवार्य छ । सहकारीको नीतिगत व्यवस्था अनुसार नियमित बचत फिर्ता भनेकै समयमा अरु बचत जस्तो नहुने हुँदा पनि अनावश्यक रकम खर्च गर्ने प्रवृत्ति तथा बचत गर्ने वानीको विकासमा नियमित बचतले ठुलो मद्धत गरेको हुन्छ । नियमित बचत राम्रो गरेको छ लगातार गरेको छ भने सो व्यक्तिले विभिन्न आम्दानी हुने व्यवसाय गर्नका लागि ऋण पाउन सक्दछ र सो वाट कमाएर आर्थिक अवस्था मजवुत पार्न सक्दछ । बुढेसकालको सहाराको रुपमा , खर्च गर्ने वानी कम गर्न , अनुशासित बन्न,पुँजि संकलन गर्न सहकारीको बचतले सिकाउँदछ । आज देखि गरिएको बचतले भविश्यमा बालबच्चाको शिक्षा दिक्षाको लागि ठुलो सहयोग गर्न सक्दछ । त्यसैले मानिसको वानीमा सुधार तथा अनुशासित बन्न सहकारीको बचतले प्रेरित गरेको हुन्छ । बचत गरे बापत निश्चित व्याज पाउनुको साथै सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार कुनै पनि सहकारी संस्थामा बचत गर्नेले बचतको व्याजको अतिरिक्त अर्को सुविधा पनि पाउँदछन् त्यो हो संरक्षित पुँजि फिर्ता कोषको रकम पाईने । सहकारीका सदस्य आफै मालिक आफै ग्राहक हुन् । उनिहरु शेयर लगानी गरे बापत संस्थाले वर्ष भरीमा कमाएको नाफा निश्चित प्रतिशतका दरले नियमानुसार शेयर लाभांस बापत प्राप्त त गर्दछन् तर त्यति मात्र नभएर जुन सदस्यले सहकारी संस्थामा धेरै बचत गर्दछ , धेरै ऋण लग्दछ त्यस्ता व्यक्तिहरुलाई योगदानको आधारमा प्रतिफल वितरण गर्ने उक्त कोष संरक्षित पुँजि कोषको रकम आफुले गरेको योगदानको आधारमा फिर्ता पाउने व्यवस्थाले थप हौसला सहकारीमा बचत गर्ने तथा सहकारी संस्थाबाट ऋण लिने व्यक्तिलाई मिलेको छ । एकातिर सहकारी संस्थाको आफु पनि मालिक हुने हुँदा संस्थामा धेरै कारोवार भएमा सो वाट आउने लाभ तथा सेवा सुविधा आफुलाई पनि प्राप्त हुने र अर्को तिर सहकारी ऐन २०७४ मा सहकारी संस्थाले वर्ष भरी कमाएको खुद बचतबाट २५ प्रतिशत संरक्षित पुँजि कोषमा रकम छुट्याउनु पर्ने र सो कोषको रकम बचतमा पाएको व्याज र ऋणमा तिरेको व्याजको आधारमा वितरण हुने व्यवस्था झनै महत्वपूर्ण छ त्यसैले पनि सहकारी संस्थामा गरिने बचतको महत्व आम मानिसले बुझ्न जरुरी छ । संरक्षित पुँजि कोषको रकम बितरण हुने व्यवस्थाले यदि कुनै व्यक्ति संग ५ लाख रुपैयाँ छ उसले कुनै बैंकमा राखे सो ५ लाखको निश्चित व्याज पाउला तर सहकारीमा बचत गरे ५ लाखको व्याज त पाउँछनै व्याज मात्र नभएर उसले बचत गरेको रकममा पाएको व्याजको आधारमा संरक्षित पुँजि कोषको रकम थप पाउँदछ ।
बचत त्यागबाट प्राप्त हुन्छ बचत गर्न व्यक्तिमा त्यागको जरुरी हुन्छ । आफनो कमाईको स्तर विकासै नगरी ,आम्दानीको उपाए नै नखोजी कुनै पनि व्यक्तिले भविश्यमा आफ्ना बाल बच्चालाई यस्तो उस्तो बनाउछु भन्नु मुर्खता मात्र हो तसर्थ बचतको मर्म बालबच्चाको भविश्य संग पनि जोडिएको छ । यदि कुनै व्यक्तिले १५ वर्ष पछि आफनो छोरा या छोरीलाई डाक्टर पढाउने सपना देख्दछ भने उसले अहिले देखि न्यूनतम बच्चाका लागि मासिक २,४ हजार बचत गर्न सुरु गर्दछ र सो बचत गर्न सक्ने आम्दानीको उपाए खोज्दछ भने मात्र सो व्यक्तिको सपना पुरा हुन सक्दछ । व्यक्तिले बाल बच्चाको शिक्षाको लागि अहिले देखि नै सपना देख्न पर्दछ सहकारीले त्यसका लागि बचत गर्न सिकाउँदछ । नियमित बचत मात्र नभए विभिन्न प्रकारका बचतहरु जस्तै ऐच्छिक बचत , बाल बचत , तीर्थ बचत , गहना बचत , पेवा बचत जस्ता धेरै बचत सेवाहरु सहकारीले प्रदान गरेका हुन्छन् ।
अनुशासित बन्नको लािग , प्रतिफल प्राप्त गर्नको लागि , फजुल खर्च घटाउनको लागि , छोराछोरीको शिक्षाको लागि , पुँजि संकलनका लागि, आपतकाल टार्नको लागि, आयमूलक व्यवसाय सञ्चालन गर्नको लागि ,आर्थिक तथा सामाजिक जीवनस्तर उकास्नको लागि, सामाजिक आर्थिक दायित्व वहन गर्न सजिलो पार्न जस्तै चाडपर्व, विवाह, ब्रतबन्ध, सम्पत्ति बढाउनको लागि ,सामूहिक र साझेदारी भावनाको विकास गर्नको लागि , स्थानीय स्तरमा आवश्यक वित्तीय सुविधा तथा सेवाहरु उपलब्ध गर्न गराउनको लागि, भावि सन्ततिलाई आर्थिक बोझ कम गर्नको लागि पनि सहकारीमा बचत गर्नु यतिवेलाको आवश्यक्ता हो ।
कमेन्ट गर्नुहोस !